Kathmandu Press

महिलामाथि खराब छुवाइदेखि जघन्य अपराध : समाजको चेतनामा कमी कि कानुनी अभाव ?

‘महिलाहिंसाका सन्दर्भमा कानुनी कारबाहीको सट्टा हुने गरेका मिलापत्र अर्को समस्या हो । केही दिनअघि नायिका मिरुनामाथि भएको अभद्र व्यवहारमा पनि मिलापत्र भयो । आपराधिक घटनामा मेलमिलाप हुन सक्दैन।’
महिलामाथि खराब छुवाइदेखि जघन्य अपराध : समाजको चेतनामा कमी कि कानुनी अभाव ?

काठमाडाैं, जेठ २४ : आठ वर्षअघि ‘ब्युटी पेजेन्ट’को नाममा यौनहिंसामा परेकी एक युवतीका भिडियो क्लिप भाइरल भएसँगै उनको न्यायका लागि सामाजिक सञ्जाल, सञ्चारमाध्यमसँगै काठमाडौंको बालुवाटार र माइतीघर मण्डला क्षेत्र समेत तातियो। ब्युटी पेजेन्टका आयोजक पुरुषले आफूलाई एभरेस्ट होटलमा बोलाई झुक्काएर औषधि खुवाई लठ्याएर यौनहिंसा गरेको उनको भनाइ छ। यतिखेर प्रहरीले आरोपित मनोज पाण्डेलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। यस घटना सेलाउन नपाउँदै यस हप्ता महिलाहिंसाका अनेकन् रूप देखिए।

चितवनस्थित खैरहनी नगरपालिका–१० कठारस्थित मुसहर बस्तीकी ३८ वर्षीया गीताको यही १६ जेठमा निधन भयो। उनलाई ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते कुटपिटसँगै योनि र मलद्वारमा लौरो छिराएर घाइते बनाएका थिए। गीताको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

प्रहरीले उनका श्रीमानलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।

Hardik ivf

जेठ १५ मा नायिका मिरुना मगरले सार्वजनिक स्थलमा आफूमाथि अभद्र व्यवहार भएको भनी मुगुका फुर्वा तामाङविरुद्ध प्रहरीमा उजुरी गरिन्। काठमाडौंस्थित सिभिल मलमा आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै उनले तामाङलाई झापड हानेकी थिइन्, त्यसपछि उनी प्रहरीमा पुगेकी थिइन्। प्रहरीले तामाङलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। आरोपित युवक लामा भएकाले यस घटनाले धार्मिक र जातीय रूप लिन पुग्यो। सोही अनुरूपको विरोध तथा प्रदर्शन समेत भए। अन्ततः प्रहरी अनुसन्धानमा रहेका तामाङलाई रिहा गरी मिलापत्र गरियो। यस घटनालाई लिएर सामाजिक सञ्जालमा मानिसले विविध मत जाहेर गरिरहेका छन्।

जेठ १८ मा सेतोपाटी न्युज पोर्टलमा पत्रकार कञ्चन न्यौपानेले ब्लग लेखी एक पत्रकार पुरुषबाट आफूमाथि मानसिक हिंसा भएको सार्वजनिक गरिन्। प्रेम प्रस्तावलाई सौहार्दपूर्वक अस्वीकार गरेपछि पनि अनेक बहानामा आफ्नो पिछा गरेको र त्यसले आफूलाई तनाव थपेको बेहोरा उनको ब्लगमा उल्लेख छ।

महिलाहिंसामा दण्डहीनता

उपरोक्त प्रसंगमा ब्याड टच, प्रेम प्रस्ताव र अस्वीकृतिपछिको व्यवहार, बलात्कारदेखि कुटपिटबाट मृत्यु हुनेसम्मको हिंसामा महिला परेका छन्। र, यतिखेर कानुनी हदम्यादको विषय जोडतोडले उठेको छ। कानुनमा नाबालिग हिंसामा परे बालिग भएको एक वर्षभित्र र महिलाहरु हिंसामा परे घटनाको एक वर्षभित्र उजुरी गर्नुपर्ने व्यवस्था छ।

हिंसाका घटनामा महिलाले तत्कालै प्रतिकार गर्दा पनि समाजले अस्वीकार गर्ने, ढिला गरी साहस जुटाएर बोल्दा पनि ‘यत्तिका वर्ष कुन स्वार्थले चुप बसिस्’ भन्ने आम सामाजिक प्रवृत्ति यतिखेर देखिएको छ।  

महिला अधिकारकर्मी नितु पाण्डे समाजको यस्तो खालको प्रवृत्तिलाई पितृसत्ताको उपज मान्छिन्। ‘पुरुषप्रधान समाजमा महिलालाई उपभोगको वस्तुका रूपमा दाँज्ने मनोवृत्ति छ,’ उनी भन्छिन्, ‘यस्तोमा जति प्रभावशाली वा पुपलर महिला भए पनि समाज उसैलाई दोषी देखाउन प्रयत्नरत हुन्छ।’

महिलाहिंसाका घटनामा बढ्दो दण्डहीनताले पीडितको मनोबल गिर्दो र पीडकको मनोबल बढ्दो रहेको उनी बताउँछिन्। ‘हिम्मत जुटाएर आफूमाथि भएको हिंसाविरुद्ध बोल्ने सेलिब्रेटी महिला नै कहिले होस्टाइल त कहिले मिलमिलापको सिकार हुन पुग्दा साधारण महिलाले आफूमाथि भएको हिंसाबारे बोल्नुअघि पटकपटक सोच्नु पर्ने स्थिति छ,’ उनले भनिन्, ‘अब विद्यालयस्तरदेखि नै कानुनी ज्ञान तथा महिला सशक्तीकरणको पाटोलाई अझ बलियोसँग अघि बढाउनुपर्छ।’

अधिवक्ता अनन्तराज लुइँटेल दण्डहीनताका कारण महिलाहिंसाका घटनाले प्रश्रय पाइरहेको बताउँछन्। ‘महिलाहिंसाका घटना भइरहेका छन्। जसमा एक त उजुरी नै न्यून छ,’ अधिवक्ता लुइँटेल भन्छन्, ‘अर्कोतिर, दर्ता भएका सबै मुद्दामा कारबाही हुँदैन। जसकारण स्टेट अफ इम्प्युनिटी अर्थात् दण्डहीनता बढ्छ।’ कानुनी उपचारबाट अपराधी उम्केसँगै उक्त अपराधी मात्र नभई अन्य आपराधिक मनोवृत्तिलाई अझ प्रोत्साहन मिल्ने उनी बताउँछन्।

अधिवक्ता लुइँटेलका अनुसार, महिलाहिंसाका सन्दर्भमा कानुनी कारबाहीको सट्टा हुने गरेका मिलापत्र अर्को समस्या हो। केही दिनअघि नायिका मिरुनामाथि भएको अभद्र व्यवहारमा पनि मिलापत्र भयो। आपराधिक घटनामा मेलमिलाप हुन सक्दैन। ‘यो त पहिले–पहिले गाउँघरमा पञ्च भलादमी राखेर गराउने मेलमिलाप प्रक्रियाजस्तो भयो,’ उनले भने, ‘उजुरी परेपछि कानुनी प्रक्रियामा गई सूक्ष्म अनुसन्धानबाट न्याय हुनुपर्छ।’

अर्कोतिर, पटकपटक फोन गर्नु, असहज हुने गरी ‘स्टल्क’ अर्थात् लामो समय पिछा गर्नु साइलेन्ट ह्यासमेन्ट भएको उनी बताउँछन्। ‘तर यस्ता विषयमा कानुनमा स्पष्ट केही तोकिएको छैन,’ उनले भने, ‘यसमा नयाँ कानुन आवश्यक छ। कहिले कानुनले समाजलाई डो¥याउँछ, कहिले समाजले कानुनलाई। परिस्थिति अनुसार कानुनलाई बन्छन् र सोही कानुनलाई अभ्यासमार्फत परिष्कृत गर्दै लैजानुपर्छ।’

‘कानुन बुझाउनुपर्छ’

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि शर्मा महिलाहिंसाका विविध घटना बढ्नुमा सरकारी पक्षसँगै नागरिक समाज, मिडिया र सम्बन्धित मानिसको समेत कमी–कमजोरी भएको बताउँछन्।

‘चितवनको खैरहनीमा जुन घटना भयो, यसमा महिलाको सशक्तीकरणमा सरकार चुकेको देखिन्छ। वैवाहिक सम्बन्ध महिला दबिएर बस्ने गर्छन्। सामान्यदेखि हिंस्रक अत्याचारमा महिला दमित हुँदा यस्ता घटनाले प्रश्रय पाउँछन्,’ उनले भने, ‘पीडित आफैँले पनि आफूमाथि भएको हिंसाविरुद्ध आवाज उठाउने आँट गर्नुपर्छ।’

हरेक हिंसाका घटनाको आफ्नै प्रकृति हुने उनी बताउँछन्। पछिल्लो समय प्रेम सम्बन्धका नाममा मतभेद र विवाद उत्पन्न हुन थालेको पनि उनको बुझाइ छ।

‘महिलाहिंसाका घटना न्यूनीकरण गर्न नागरिकलाई कानुन बुझाउनुपर्छ,’ उनले भने, ‘घटना घटेपछि कारबाहीको क्षेत्रमा गृह मन्त्रालय कदम लिने गर्छ। यासँगै यस्ता घटना हुन नदिन हामी सजग हुनुपर्छ।’

 

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्