Kathmandu Press

‘बालेनजीले उपमेयर र वडाध्यक्षसँग समन्वय गर्नुपर्छ, नत्र काम गर्न समस्या हुन सक्छ’ 

राजनीतिक दृष्टिकोणबाट नहेरी प्रमुखले उपप्रमुखलाई सहयोग गर्नुपर्छ । सोही समन्वय उप–प्रमुखबाट पनि प्रमुखका लागि हुनुपर्छ, नत्र काम गर्न समस्या हुन्छ।
‘बालेनजीले उपमेयर र वडाध्यक्षसँग समन्वय गर्नुपर्छ, नत्र काम गर्न समस्या हुन सक्छ’ 

‘रानीपोखरी तालाकाण्ड’ले काठमाडौं महानगरपालिका पूर्वउपप्रमुख हरिप्रभा खड्गीलाई चर्चामा ल्याएको थियो। भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीको पुनर्निर्माणमा सिमेन्ट, रडलगायत आधुनिक सामग्री प्रयोग गरिएकामा उनले विरोध मात्रै गरिनन्, पुरानै शैलीमा बनाउन आवाज उठाइन्। आफ्नो आवाजको सुनुवाइ नभएपछि उनले २०७४ पुसमा रानीपोखरीमा ताला लगाएकी थिइन्। त्यसको केही घन्टापछि प्रमुख (विद्यासुन्दर शाक्य)ले ताला खोलेका थिए। 

एक वर्षअघि काठमाडौं प्रेससँगको वार्तामा उनले भनेकी थिइन्, ‘यसमा मलाई अनावश्यक विवादमा ल्याउन खोजियो।’ ‘जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स’ नामक ठेकेदार कम्पनीका मनोजकुमार भेटवालले खुलामञ्चमा बनाएका ५१ वटा सटर भत्काउने आन्दोलनमा पनि खड्गीको भूमिका थियो। त्यसबारे महानगरपालिकाको बोर्ड बैठकमा कुनै छलफल र निर्णय नभएको उनको गुनासो थियो।

यसपालिको कुराकानीमा उनले हामीलाई भनिन्, ‘मलाई त काम गर्नै दिइएन। न्यायिक समितिदेखि अनेक् विषयमा पूर्वमेयरले रोक लगाए।’ यतिखेर काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपप्रमुखमा एमालेबाट सुनिता डंगोल निर्वाचित भएकी छन्। अघिल्लो कार्यकालमा के कति काम भए, अबका जनप्रतिनिधिले कसरी काम गर्नुपर्ला भन्ने विषयमा पूर्वउपप्रमुख खड्गीसँग काठमाडौं प्रेसकर्मी प्रबिता श्रेष्ठले कुराकानी गरेकी छन्। प्रस्तुत छ, पूर्वउपप्रमुख खड्कीसँगको वार्ताको सम्पादित अंश :

Hardik ivf

समग्रमा तपाईंको पाँच वर्षको कार्यकाल कस्तो रह्यो? यहाँको अनुभवमा, नवनिर्वाचित जनप्रतिनिधिले तत्काल गर्नुपर्ने काम के हुन् ? 

हाम्रो पाँच वर्षे कार्यकालमा महानगरपालिकाका लागि आवश्यक ६० वटा ऐन–कानुन बनेका छन्। त्यसमै केही समय व्यतीत भयो। संविधानको अनुसूची–८ ले स्थानीय तहका लागि २२ वटा अधिकार दिएको छ। सोही अधिकारभित्र बसेर काम गर्नुपर्ने हुन्छ। नवनिर्वाचित जनप्रतिनिधिले अधिकार क्षेत्रभित्र रही आवश्यक पर्ने ऐन–कानुन बनाउन सक्नुहुन्छ। 

विकास निर्माणका केही काम हाम्रो कार्यकालमा पनि भए। केही कामले पूर्णता पाउन सकेनन्। जस्तो: ढल निर्माण कार्य। ढलसँगै प्रदूषण हटाउने, खानेपानीको व्यवस्था, ट्राफिक जामको व्यवस्थापन, हरियालीयुक्त र फोहोरमुक्त काठमाडौं पहिलो प्राथमिकतामा आउनुपर्छ। अबका लागि फोहोरलाई मोहर बनाउनेदेखि ढल व्यवस्थापन, खानेपानीको व्यवस्था, शिक्षा, स्वास्थ्यमै बढी केन्द्रित हुनुपर्छ। 

नवनिर्वाचित मेयर लगायत जनप्रतिनिधिसँग आफ्नै योजना होलान्, हुनु पनि पर्छ। दूरदर्शिता सोचेर विकासका योजनामा लाग्नुपर्‍याे । काठमाडौंका जनताले त्यति धेरै सपना देखेका छैनन्। काठमाडौं सफा होस्, हरेक स्थानमा हरियाली होस्, पार्किङको व्यवस्था होस्, ट्राफिकजाममुक्त सहर होस्, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा होस्, युवा लक्षित रोजगार कार्यक्रम आओस्— यही नै काठमाडौंवासीको माग हो, यसमा नवनिर्वाचित प्रतिनिधिहरू लाग्नुपर्छ। 

विकास निर्माणमा पाँच वर्षको कार्यकालमा हामीले महानगरपालिकाका गल्ली निकै बनाएका छौँ। पूर्ण हुन नभएका वा निर्माणाधीन कार्य अब पूरा हुनेछ।दरबारमार्गलाई सुन्दर बनाउनुपर्ने मेरो जोड थियो। मैले पूर्वमेयरलाई पनि पटकपटक भनेकी थिएँ। त्यहाँ राता, नीला लगायत झिलिमिली बत्ती जडान गरेर मात्रै राम्रो देखिने होइन। बत्तीले त दरबारमार्गको वास्तविकता लुकाएको छ। त्यहाँकै स्थानीयबाट पनि यी विषयमा कुरा आएका थिए। तर, पूर्वमेयरले यस विषयमा चासो देखाउनुभएको थिएन। यस विषयमा नवनिर्वाचित मेयरको ध्यानाकर्षण होस्। 

यहाँको अनुभव र बुझाइमा स्वतन्त्रबाट निर्वाचित मेयर बालेन साहका लागि काम गर्ने अवसर र चुनौती के छन्? 

स्वतन्त्र भएकाले नवनिर्वाचित मेयर बालेन साहलाई कसैको दबाबमा बसेर काम गर्नुपर्ने म देख्दिनँ। जनताको जुन मत र विश्वास जितेर प्रमुख भएर आउनुभएको छ, मतको कदर गरेर काम गर्नुप¥यो। सबैभन्दा ठूलो कुरा जनतासँग सहकार्य गरेर काम गर्नुप¥यो। जनताको आवश्यकतालाई परिपूर्ति गरेर अघि बढ्नुपर्‍याे । 

यसो भन्दै गर्दा उहाँ एक्लैले नगरपालिका चलाउने होइन। मेयर स्वतन्त्र रूपमा जानुभएको छ भने, कांग्रेस, एमाले र नेकपा एसका पनि जनप्रतिनिधि हुनुहुन्छ। बहुमतमा नेपाली कांग्रेस छ। यसकारण बहुमतको साथ र अल्पमतमा भएका सबैसँग सहकार्य गरेर काम गर्नुपर्ने हुन्छ। एक्लै केही गर्न सकिँदैन। 

कार्यपालिका सदस्य चयन, ठूला बजेटका कार्यक्रम कार्यान्वयनदेखि प्रशासनमा व्यावहारिक चुनौती आउन सक्छन्, बहुमत चाहिन सक्छ। यस्ता चुनौती धेरै छन्। कतिपय कार्य तथा निर्णयमा बहुमत आवश्यक हुन्छ। यस्तोमा उहाँले कांग्रेससँग सल्लाह तथा सहकार्य गर्न सक्नुहुनेछ। 
बहुमतका सन्दर्भमा पूर्वमेयरलाई पनि हामीले स्थान दिएका थियौँ। प्रजातान्त्रिक विचार धारा भएको कांग्रेसले काममा विरोध गर्दैन। कम्युनिस्ट विचारधाराका पदाधिकारीले भने पार्टीको विधारधारालाई प्राथमिकता दिन्छन्। यसकारण नवनिर्वाचित मेयरले कांग्रेसलाई हातमा लिएर हिँड्नुपर्छ। 

पछिल्लो समय पालिकाहरूमा प्रमुख र उपप्रमुखबीच अधिकारको टकराब पनि देखिँदै आएको छ, यसमा नवनिर्वाचित मेयर र उपमेयरलाई यहाँको सल्लाहसुझाव के रहन्छ? 

हाल निर्वाचित प्रमुख र उपप्रमुख दुवै युवा हुनुुहुन्छ। दुवैको ध्येय काठमाडौंलाई बनाउने हो। स्वतन्त्रबाट आउनुभएका मेयर बालेन साह र उप–प्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलमा मेरो पालाको जस्तो पार्टीगत समस्या नआउला। 

उप–प्रमुखका लागि अधिकार क्षेत्र छ। न्यायिक समिति, अनुगमन समिति, बजेट तथा तर्जुमा समिति र राजस्व परामर्श समिति गरी चार समितिको अधिकार उपप्रमुखलाई हुन्छ। ‘अनुगमन समिति’ नाम सामान्य सुनिए पनि यसभित्र काम गर्नुपर्ने क्षेत्र धेरै छन्। यसअन्तर्गत अपांग, वृद्धवृद्धा, ज्येष्ठ नागरिक, शिक्षा, स्वास्थ्य लगायत धेरै विषय आउँछन्। मेयर स्वतन्त्रबाट आएकाले नवनिर्वाचित उप–प्रमुखलाई काम गर्न मलाई जति असहज नहोला।

No description available.

मलाई त काम गर्नै दिइएन। न्यायिक समितिदेखि अनेक विषयमा पूर्वमेयरले आफ्नो पार्टीगत सिद्धान्तका आधारमा रोक लगाए। अनुगमन समितिअन्तर्गत खुलामञ्चमा राखिएका ५१ फुटपाथ पसलका विषयमा मिटिङमा उहाँको सहभागिता कहिल्यै रहेन। अहिले भने यस प्रकारको बाधा–व्यवधान आउँदैन होला। राजनीतिक दृष्टिकोणबाट नहेरी प्रमुखले उपप्रमुखलाई सहयोग गर्नुपर्छ। सोही समन्वय उप–प्रमुखबाट पनि प्रमुखका लागि हुनुपर्छ, नत्र काम गर्न समस्या हुन्छ।

राजधानीमै ठूला भनिएका दल पराजित भए। स्थानीय स्तरको विकासमा रैथाने उम्मेदवार हुनुपर्ने भाष्य चलिरहँदा स्वतन्त्र आउनुले कस्तो सामाजिक सन्देश दिएको पाउनुहुन्छ ?

नवनिर्वाचित मेयर युवा हुनुहुन्छ, पेसाले इन्जिनियरिङ हुनुहुन्छ, केही गर्ने योजना लिएर आउनुभएको छ। त्यसैले होला जनताले उहाँलाई चुनेको। उहाँबाट महानगर बन्नेमा जनता आशावादी छन्। नत्र लामो समय काठमाडौंमा नेवार समुदायको जनप्रतिनिधि आउनुपर्ने भाष्य थियो। यसपालि यहाँका मतदातामा जातीय भावनाभन्दा बढी परिवर्तनको भावना देखियो। त्यस्तै जनतामा पार्टीप्रतिको वितृष्णा पनि हुन सक्छ। 

अबका लागि दलहरूले राम्रो इमानदार कार्यकर्ता चिन्न सके भने पार्टी रहन सक्छ। दलहरूले समयमै आफूलाई मूल्यांकन गर्न र सच्याउन सकेन्न भने भोलिका दिन दलहरूका लागि अझ जोखिमपूर्ण छन्। 

नवनिर्वाचित जनप्रतिनिधिबाट कतिको आशावादी हुनुहुन्छ?

यसपालि युवाको टिम छ। यो टिमले मिलेर काम गरे काठमाडौंवासीले कल्पना गरेको, आशा गरेको काठमाडौं साकार हुन सक्छ। आफू विजयी भएर जाँदा मलाई पनि मतदाताको मतको कदर गर्नुपर्छ भन्ने बोध सदैव रह्यो। नयाँ टिममा पनि त्यो भावना र बोध देखिन्छ। उहाँहरूले बस्नयोग्य सुन्दर काठमाडौं बनाउनुहुनेछ भन्नेमा म आशावादी छु, र मेरो शुभकामना पनि छ। 
 

प्रकाशित मिति: १६:११ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्