Kathmandu Press

अघिल्लोपटक उपाध्यक्षमा हारेकी मीनाले यसपालि अध्यक्ष जितिन् 

‘गाउँघरमा सामान्य स्वास्थ्य सेवा पाउन निकै गाह्रो छ । गाउँपालिकाको समस्याको पहिचान हामीले गरेका छाैँ । यी समस्या समाधानका लागि स्वास्थ्य व्यवस्थापन समिति, कर्मचारी तथा स्थानीयसँग छलफल गरी अघि बढ्नेछौँ।’ 
अघिल्लोपटक उपाध्यक्षमा हारेकी मीनाले यसपालि अध्यक्ष जितिन् 

काठमाडौं, जेठ १३ : सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मीना कार्की बस्नेत निर्वाचित भएकी छन्। नवनिर्वाचित गाउँपालिका अध्यक्ष कार्की ०७४ अघिसम्म शिक्षण पेसामा आबद्ध थिइन्।

२०४५ देखि हिमगंगा माविमा अस्थायी शिक्षकका रूपमा कार्यरत कार्कीले स्थानीय तह निर्वाचन– ०७४ मा उपाध्यक्ष पदको उम्मेदवार बन्न शिक्षण पेसाबाट राजीनामा दिइन्, त्यतिबेला उनी निर्वाचित हुन सकिनन्। त्यसपछि उनले कांगे्रसको १४औं महाधिवेशनमा लिखुपिके गाउँपालिका सभापतिका लागि उठिन्, यसमा पनि उनले हार बेर्होनुपर्‍याे ।

०७४ मा गाउँपालिका उपाध्यक्षमा हार बेहारे पनि यसपालि उनलाई पार्टीले अध्यक्षका लागि टिकट दियो। ‘पार्टीले मलाई विश्वास गरेर यसपटक पनि टिकट दिएको थियो,’ उनी भन्छिन्, ‘चुनाव तथा अधिवेशनमा लगातार पराजित भए पनि पार्टीप्रतिको बफादारिताकै कारण यसपटक मैले अध्यक्षका लागि टिकट पाएकी हुँ।’ 

Hardik ivf

दुईपटकको हारपछि पनि यसपालि टिकट दिइँदा पार्टीका अन्य प्रत्याशीबाट तपाईंले कुनै विरोधको सामना गर्नुपरेन ? हाम्रो प्रश्नमा उनले भनिन्, ‘मैले टिकट पाउँदा आन्तरिक विरोध र विवाद नभएको होइन। तर, पार्टीको आन्तरिक कुरा बाहिर ल्याउन मलाई उचित लाग्दैन। यो एउटा प्रक्रिया हो।’
विद्यार्थीकालदेखि नै राजनीतिमा झुकाव राखेकी कार्कीको राजनीतिक यात्रा ०४६ सालबाट सुरु भएको हो। ०४५ सालमा शिक्षण पेसामा आबद्ध भएसँगै राजनीतिमा पनि उनको सक्रियता बढ्न थाल्यो। शिक्षणसँगै उनी शिक्षक संगठनमा लागिन्। ‘शिक्षककै हकहितका लागि म सक्रिय रूपमा संघमा आबद्ध भएँ,’ कार्की भन्छिन्, ‘मेरो सक्रिय राजनीतिक जीवनको सुरु पनि संघबाटै भयो।’ 

०५१ सालमा प्रवीणता तह उतीर्ण गरेकी कार्की महिला भएकै कारण राजनीतिमा लाग्न समस्या नभएको बताउँछिन्। ‘गारोसारो हरेक क्षेत्रमा हुन्छ। तर, महिला भएकै कारण राजनीतिक गतिविधिमा सक्रिय रूपमा लाग्न असहज भएको अनुभव मसँग छैन,’ उनले भनिन्, ‘जनयुद्धकालमा भने निष्क्रिय रहेँ।’

खानेपानी र शिक्षा प्राथमिकतामा

खानेपानीको व्यवस्था र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको योजना छ। ‘शिक्षण पेसाबाट आएकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने सोचेकी थिएँ,’ उनले भनिन्, ‘तर, गाउँमा माहोल अर्को रहेछ। चुनाव प्रचारका लागि जति स्थानमा गएँ, त्यहाँ सबैभन्दा बढी माग खानेपानीको पाएँ। व्यवस्थापन जटिल विषय हो, एकैपटकमा कायापलट हुँदैन। सहजीकरणको बाटो खोज्दै जटिल समस्याको सम्बोधनमा प्रयासरत रहनेछाैँ।’ शैक्षिक तथा खानेपानी क्षेत्रका व्यवस्थापन समितिसँग समन्वयन गरेर अघि बढ्ने उनको योजना छ। 

‘गाउँघरमा सामान्य स्वास्थ्य सेवा पाउन निकै गाह्रो छ। गाउँपालिकाको समस्याको पहिचान हामीले गरेका छाैँ,’ कार्की भन्छिन्, ‘यी समस्या समाधानका लागि स्वास्थ्य व्यवस्थापन समिति, कर्मचारी तथा स्थानीयसँग छलफल गरी अघि बढ्नेछौँ।’ 

नगदेबालीमा जोड

नवनिर्वाचित कार्कीका अनुसार, लिखुपिके गाउँपालिकाको प्रमुख उत्पादन अलैँची हो। नगदेबाली अन्तर्गत यस बालीको प्रवद्र्धनमा योजना बनाउने कार्की बताउँछिन्। ‘यहाँ अलैँची उत्पादन राम्रो छ, तर बालीमा लाग्ने रोगका कारण उत्पादनमा ह्रास आइरहेको छ,’ कार्की भन्छिन्, ‘यसका लागि स्थानीय तथा कृषि विज्ञसँगको छलफलका आधारमा हामी अघि बढ्नेछौँ।’ त्यस्तै, चियाको उत्पादनमा पनि आफूले सम्भावना देखेको उनी बताउँछिन्।

उनका अनुसार, यस पालिकामा महिला, अल्पसंख्यक, उत्पीडित वर्गमा जनचेतनाको कमी छ। उनीहरूको क्षमता अभिवृद्धि गर्न सीपमूलक तालिमका व्यवस्था गर्ने उनको योजना छ। ‘मैले आफूले यो गर्छु भन्दा पनि जनताको अभिमत र सरोकारवाला निकायसँगको सहकार्यमा आगामी पाँच वर्षको कार्यकाल अघि बढाउनेछु,’ उनी भन्छिन्, ‘पालिकावासीले विश्वास गरेर मत दिनुभएको छ। मैले पनि पालिकावासीको सेवा–सुविधामा आफ्नो क्षमताले भ्याएको र कानुनले दिएसम्मका काम गर्नेछु।’
 

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्