Kathmandu Press

बलात्कारमा हदम्याद : पीडित महिलाले न्याय पाउन कानुन संशोधन हुनैपर्ने हो ?

मानवअधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारी यौनहिंसा तथा जबर्जस्ती करणीको मुद्दामा कानुनी रूपमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद भए पनि पीडितले प्रहरीमा उजुरी दिएमा अनुसन्धान हुनुपर्ने बताउँछिन् ।
बलात्कारमा हदम्याद : पीडित महिलाले न्याय पाउन कानुन संशोधन हुनैपर्ने हो ?

काठमाडौं, जेठ ८ : बुधबार सामाजिक सञ्जालमार्फत एक युवतीले आठ वर्षअघि आफूमाथि यौनहिंसा भएको बताइन्। ‘खुला सोच बनाएर मलाई सुनिदिनुहोला’ भन्दै टिकटकमा सेयर गरिएका २० वटा भिडियो क्लिपमार्फत उनले सौन्दर्य प्रतियोगिताका एक आयोजकले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी हुन्। 

सन् २०१४ मा भएको एक  साैन्दर्य प्रतियोगितामा उनी सहभागी भएकी थिइन्। जसमा दोस्रो स्थान हासिल गरेपछि आयोजकमध्येका एक व्यक्तिले ‘सक्सेस पार्टी’ भन्दै एभरेस्ट होटलमा बोलाएर बेहोस पारी आफूमाथि यौन दुर्व्यवहार गरेको उनको भनाइ छ। 

उनले भिडियोमा भने अनुसार, सक्सेस पार्टी भनेर बोलाइए पनि त्यहाँ कोही थिएन। केही छिनपछि सबै आउँछन् र पार्टी सुरु हुने भनी उनलाई पर्खन लगाइयो। वेलकम ड्रिंक भन्दै लेमनेड खुवाइयो। लेमनेड खाएको केही बेरमा असहज महसुस गरी उनले घर जाने बताइन्। ती आयोजक पुरुषले उनलाई भने, ‘तिमीहरुलाई गाह्रो हुन्छ भनेर मैले होटलमा कोठा लिएको छ, त्यहीँ आराम गर, सबैजना आएपछि तिमीलाई बोलाउन पठाउँछु।’ 

Hardik ivf

यसरी आफूमाथि यौन हिंसा भएको उनले बताएकी छन्। त्यस रात तस्बिर खिचेर ब्लाक मेल गरेको उनको भनाइ छ। यो घटना आठ वर्ष पुरानो भएको र एक वर्षभित्र उजुरी गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले आफूले न्याय नपाउने भन्ने त्रास उनले भिडियोमा व्यक्त गरेकी छन्। 

के उनले न्याय पाउँलिन् ? 

यो घटना बाहिरिएसँगै विभिन्न कलाकार, अधिकारकर्मी लगायतले सामाजिक सञ्जालमार्फत घटनाको छानबिन हुनुपर्ने माग समेत गरेका छन्। यसै सन्दर्भमा हदम्यादको विषय पनि चर्चामा छ। 

मानवअधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारी यौनहिंसा तथा जबर्जस्ती करणीको मुद्दामा कानुनी रूपमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद भए पनि पीडितले प्रहरीमा उजुरी दिएमा अनुसन्धान हुनुपर्ने बताउँछिन्। ‘जबर्जस्ती करणीका घटना जहिले आए पनि उजुरी लिनुपर्छ भन्ने कुरामा बहस भइरहेको छ,’ मानव अधिकारकर्मी एवं अधिवक्ता अन्सारी भन्छिन्, ‘कतिपय देशमा यस्ता घटनामा हदम्याद छैन। नेपालमा पनि हदम्याद हुनुहुँदैन भन्ने कुरामा बहस भइरहेको छ, पीडितले हिंसामा परेका कुरा सुनाएपछि अनुसन्धान तथा पीडकलाई कारबाही गरिनुपर्छ।’

यौन हिंसाका कुरामा हदम्याद लागु हुनु नहुने उनको भनाइ छ। राज्यका संरचना महिलामैत्री नभएकाले यौनहिंसाका घटना हुँदा छिटै उजुरी नपर्ने उनी बताउँछिन्। ‘यौनहिंसाका घटना बाहिर आउँदा पीडित नै दोषी अथवा महिला ब्ल्याकमेलर हुन् भन्ने गरिन्छ,’ उनी भन्छिन्, ‘यस्ता घटनामा राज्यका निकाय र समाजले पीडितलाई सहयोग कमै गरेको देखिन्छ।’ 

अधिवक्ता कुञ्जनी परियार प्यासीका अनुसार, हाडनाता करणीका हकमा जुनसुकै बेला उजुरी दिन सकिन्छ, तर अन्य यौनहिंसाका उजुरीका लागि एक वर्षको हदम्याद छ। 

बालबालिका सम्बन्धी ऐन, २०७५ मा ‘बालबालिका विरुद्धको कसुरको सम्बन्धमा मुद्दा दायर गर्ने हदम्याद त्यस्तो बालबालिका १८ वर्ष पूरा भएको मितिले एक वर्षसम्म कायम रहने’ व्यवस्था छ। 

यस घटना पीडित युवती १६ वर्षको हुँदा घटेको र पीडित युवती १८ वर्ष पुगेको पनि केही वर्ष भएको देखिन्छ। बालबालिका ऐन अनुसार अगाडि बढ्न पनि समय घर्केको अधिवक्ता प्यासी बताउँछिन्। ‘कानुनी हदम्यादले पीडितलाई न्याय पाउनका लागि रोक्छ,’ उनी भन्छिन्, ‘गम्भीर मानव अधिकार उल्लंघनका घटना तथा यौनहिंसाका मुद्दामा हदम्याद हुनहुँदैन भनी बहस भइरहेका छन्। हदम्यादको सिद्धान्त प्रमाण लोप नहोस् भनेर ल्याइए पनि यसलाई हटाउनुपर्छ।’ हाडनाताका करणीलाई जत्तिकै अन्य यौन हिंसालाई पनि गम्भीर रूपमा लिनुपर्ने उनी बताउँछिन्। 

महिला अधिकारकर्मी तथा अनुसन्धानकर्ता रीता साह यस्ता घटना बाहिर ल्याउन मिटु आन्दोलनले केही हदसम्म सहज बनाएको बताउँछिन्। अहिले पनि यौनहिंसामा परेकी युवतीले लामो समयपछि भए पनि सार्वजनिक गरेकी छन्,’ साह भन्छिन्, ‘ढिलै भए पनि बोल्ने हिम्मत गरेकी छन्। यस्ता घटनाले समाजको चित्रण गर्छ। यस्ता घटनामा पीडित कति समयसम्म लड्न सक्छिन् र साथ पाउँछिन् भन्ने कुरामा न्याय निर्भर रहन्छ।’

‘युवती सम्पर्कमा आए उजुरी लिन सक्छौँ’ : प्रहरी प्रवक्ता

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी यस घटना सामाजिक सञ्जालमा चर्चामा रहे पनि पीडित अहिलेसम्म प्रहरीको सम्पर्कमा नआएको बताउँछन्। ‘पीडितले सामाजिक सञ्जालमा भनेकै आधारमा केही गर्न सकिँदैन। प्रहरीसमक्ष पीडित आएपछि मात्र वास्तविक कुरा बाहिर आउँछ,’ उनी भन्छन्, ‘पीडित युवती सम्पर्कमा आएमा घटनाको प्रवृत्ति हेरेर उजुरी लिन सकिन्छ। यस घटनासँग अन्य कुरा जोडिएका हुन सक्छन्, युवतीले सम्पर्कमा आएपछि मात्र घटनाले कस्तो रूप लिन्छ भनेर भन्न सक्छौँ।’ 

उनका अनुसार, पीडित युवतीलाई सम्पर्कमा ल्याउन खोजिएको छ। युवती सम्पर्कमा आएपछि मात्र घटनाको जानकारी लिई घटनामा छानबिन गरिन्छ। पीडित नै सम्पर्कमा नआएकाले अहिले घटनाको बारेमा केही भन्न नसक्ने उनको भनाइ छ। 

 

 

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्