Kathmandu Press

‘सांस्कृतिक नगर घोषणाको अधिकार प्रदेश सरकारसँग मात्र छ, प्रदेशबाट सहजता भइरहेको छैन’

‘यद्यपि, चुनौतीसँग हामी डराउनेभन्दा पनि एक–एक गरी सामना गर्दै अघि बढ्नेछाैँ। यी सबैलाई छलफलबाट समाधान र व्यवस्थापन गर्दै अघि बढ्नेछौँ  । चुनौती नै नरहे हामी रहनुको अर्थ पनि के रहन्छ र ?’
‘सांस्कृतिक नगर घोषणाको अधिकार प्रदेश सरकारसँग मात्र छ, प्रदेशबाट सहजता भइरहेको छैन’

काठमाडौं, जेठ ८ : यसपालिको स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुखमा सुनील प्रजापति दोस्रोपटक निर्वाचित भएका छन्। अघिल्लोपटक पनि प्रमुखमा निर्वाचित भई पाँच वर्ष कार्यकाल पूरा गरेका प्रजापतिले त्यसअघि भक्तपुरमा तीनपटक वडाध्यक्षको पद सम्हालिसकेका थिए।

०४५ सालको भक्तपुर काण्डमा उनी २० महिना जेल परे। ०५५ मा नेमकिपाको केन्द्रीय सदस्यका रूपमा चुनिएका प्रजापतिले ०४८ देखि ०५५ सम्म वकालत पेसा अपनाए। ०६३ को आन्दोलनपछि अन्तरिम संविधान निर्माणका लागि लक्ष्मण अर्यालको संयोजकत्वमा बनेको ‘अन्तरिम संविधान निर्माण समिति’मा उनी सदस्य रहे। पहिलो संविधानसभाको निर्वाचनमा उनी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। 

प्रजापतिको नेतृत्वमा अघिल्लो कार्यकालमा के कति काम भए ? के कस्ता चुनौती भोग्नुप¥यो र आगामी पाँच वर्षका लागि उनीसँग नयाँ योजना के छन् ? प्रस्तुत छ, यिनै प्रश्नमा सम्बन्धित रहेर नवनिर्वाचित प्रजापतिसँग काठमाडौँ प्रेसकर्मी प्रबिता श्रेष्ठले वार्ताको सम्पादित अंश :

Hardik ivf

यहाँ दोस्रोपटक भक्तपुर नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएको छ, पहिलो कार्यकालमा के कति काम गर्नुभयो?

पाँच वर्षको अवधिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा हामीले राम्रो उपलब्धि ग¥यौँ। स्थानीय तह अन्तर्गतका शैक्षिक संस्थामा वार्षिक तीन करोड रुपैयाँ बराबरको गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गर्दै आएका छौँ। नगरपालिकाले प्रदान गर्ने पाँच लाखको शैक्षिक ऋणबाट तीन सय १४ विद्यार्थीले पढिरहेका छन्। नेपाल भाषा, संस्कृति, इतिहास लगायत सामाजिक विज्ञान विषयमा विद्यार्थी संख्या कम भएकाले यस्ता विषय पढ्न प्रेरित गर्न निःशुल्क अध्ययनको व्यवस्था गरेका हाैँ ।

स्वास्थ्य क्षेत्रमा वडावडामा डाक्टरसहितको स्वास्थ्य केन्द्र स्थापना गरेका छाैँ । घरदैलो नर्सिङ सेवाले विशेषतः वृद्धवृद्धा लगायत नगरवासीलाई ठूलो राहत दिएको छ। नगरपालिकाभित्र के कस्ता रोगी छन्, वृद्धवृद्धालाई कस्तो स्वास्थ्य सेवा तथा परामर्श आवश्यक छ, त्यसबारे तथ्यांक संकलन गरेका छौँ। स्वास्थ्यसम्बन्धी नीति निर्माणमा यसले सहयोग पुर्‍याउनेछ। आयुर्वेदिक स्वास्थ्य केन्द्र, श्वासप्रश्वास केन्द्र, आँखा उपचार केन्द्र स्थापना भएका छन्। आँखाको शल्यक्रिया पनि यहीँ सुरु हुन थालेको छ।

करिब डेढ वर्षको छलफल तथा विवादपछि भक्तपुर क्यान्सर अस्पताल राष्ट्रियकरण गर्न सफल भयौँ।  यसअघि उक्त अस्पताल एनजिओले आफ्नो कब्जामा राखेको थियो। 

छोटो समयमा सहज र सस्तोमा स्वास्थ्य सेवा दिन सफल भएका छाैँ । प्रत्येक वडाका दुई स्थानमा खुला व्यायामशालाको व्यवस्था गरिएको छ। नगरवासीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहजतापूर्वक सेवा पाइरहनुभएको छ। यहाँ हरेक वर्ष अन्तर नगर, अन्तर विद्यालय खेलकुद प्रतियोगिता हुने गरेको छ। ६ वटा खेलकुदका नियमित प्रशिक्षण छन्। विद्यालयमा खेलाडी शिक्षक छन्। 

भूकम्पले क्षति पुर्‍याएका एक सय २४ वटा सम्पदा पुनर्निर्माण भइसकेका छन्। सांस्कृतिक प्रशिक्षण तथा आर्थिक सहयोगको नीति लिएर पुराना सम्पदा संरक्षण गरिरहेका छाैँ । 

संस्कृति र कला नगरी भक्तपुरलाई पर्यटकीय गन्तव्यका रूपमा अझ व्यवस्थित गर्ने सोचमा हामी अघि बढिरहेका छाैँ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ‘सय वर्षपछिको भक्तपुर’को परिकल्पना गर्नुभएको छ, जसमा भाषा, संस्कृति र सम्पदा संरक्षणका योजना छन्। मौलिक शैलीमा घर निर्माण कार्य अगाडि बढिसकेको छ। मौलिक शैलीको घर निर्माणका लागि नगरपालिकाले अनुदान पनि दिँदै आएको छ। यसैलाई पाँच वर्षको महत्वपूर्ण उपलब्धि मानेका छाैँ । 

अब के कस्ता कार्यक्रमलाई प्राथमिकता दिनुहुन्छ?

सर्वप्रथम अघिल्लो कार्यकालमा अधुरा रहेका कामलाई प्राथमिकताका साथ पूरा गर्नेछौँ। सम्पदातर्फ भाज्या पुखु (पोखरी), इता लाछीको मठ, नरसिंह मन्दिरको पुनर्निर्माणले पूर्णता पाउन सकेको छैन। स्वास्थ्यतर्फ ख्वप अस्पतालको भवनलाई सम्पन्न गर्नुपर्नेछ। 

पुरातात्विक महत्वका क्षेत्रको उत्खननको काम पनि बाँकी छन्। सम्पदा संरक्षणमा भइरहेका कामलाई अझ व्यवस्थित बनाउनुछ। शिक्षातर्फ नयाँ कलेज र नयाँ अध्ययनका लागि नयाँ विषय थप्ने योजना छ। मूलतः खानेपानीको काम हुन बाँकी छ। यसको व्यवस्थित वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल)सँग छलफल भइरहेको छ। त्यस्तै, मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण भएमा पानीको समस्या समाधान हुने थियो।

शिक्षा, सरसफाइ, सम्पदा संरक्षण लगायत क्षेत्रमा कानुनले दिएका अधिकारलाई अझ व्यवस्थित रूपमा प्रयोग गर्दै जनताको हितमा काम हुनेछ। यस कार्यकालमा नगरवासीका आधारभूत आवश्यकता सम्बोधन गर्ने हाम्रो योजना छ। 

भक्तपुर नगरपालिकाको विकास र समृद्धिमा यहाँले देख्नुभएको चुनौती र अवसर ?

चुनौती र अवसर उत्तिकै छन्। स्थानीय तहमा खोला सुधार, पोखरी निर्माणदेखि प्रदेश तथा केन्द्रीय सरकारबाट पनि अवरोध आइरहेका छन्।
०६० सालदेखि ख्वप नर्सिङ कलेज सञ्चालित छ। योसँगै २५ बेडको ख्वप अस्पताल सञ्चालन गरिरहेका थियाैँ । तर, यस वर्ष शिक्षा मन्त्रालयले ख्वप अस्पताल सञ्चालनमा रोक लगाएको छ, सय बेडको नभएका कारण। अस्पतालको पूर्ण निर्माण पनि सकिएको छैन। अस्पतालको भौतिक संरचनासँगै स्वास्थ्य सेवा दिनु अर्को चुनौती बनेको छ। 

सोही सय बेडको अस्पतालका निम्ति प्रदेश सरकारसँग कुरा गरिरहेका छौँ, तर प्रक्रिया अघि बढिरहेको छैन। यी सबै काम उपभोक्ता समितिमार्फत हुने गर्छ। सहरी विकास मन्त्रीले उपभोक्ता समितिमार्फत काममा रोक लगाउन निर्देशन जारी गर्नुभयो। यद्यपि, हामीले आफ्नो विधान अनुरूप काम गरिरहेको स्पष्टीकरण उहाँलाई दिएका छाैँ । 

शिक्षातर्फ पनि उस्तै समस्या छ। हामी भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालन गर्न चाहन्छाैँ, तर संघीय सरकारले अनुमति दिइरहेको छैन। त्यस्तै, मेडिकल कलेज सञ्चालनका विषयमा पनि सरकारले विभिन्न कारण देखाउँदै अनुमति दिएको छैन। सांस्कृतिक नगर घोषणाको अधिकार प्रदेश सरकारसँग मात्र छ। यस विषयमा पनि प्रदेश सरकारबाट सहजता भइरहेको छैन। 

यस्ता थुप्रै समस्या छन्। यद्यपि, चुनौतीसँग हामी डराउनेभन्दा पनि एक–एक गरी सामना गर्दै अघि बढ्नेछाैँ। यी सबैलाई छलफलबाट समाधान र व्यवस्थापन गर्दै अघि बढ्नेछौँ  । चुनौती नै नरहे हामी रहनुको अर्थ पनि के रहन्छ र?

यस नगरपालिकाको आयस्रोत के हो ?

ऐतिहासिक एवं सांस्कृतिक नगरी भएका कारण भक्तपुर नगरपालिकाका लागि पर्यटन नै पहिलो आयस्रोत हो। पर्यटकीय रोजाइ भएका कारण लामो समयदेखि पर्यटन आयको बलियो स्रोतको रूपमा नगर स्थापित छ।

दोस्रोे, नगरवासीले तिर्ने कर हो। जनतासँग कर गरेर होइन कि रहरले कर तिर्ने बनाइरहेका छाँै। घर बहालदेखि घरजग्गा कर घटाएका छौँ। सफाइ कर जोडिदिएका छाैँ । करको रेट बढाउनुभन्दा सुविधा दिएर कर क्षेत्र बढाएका छाैँ। मनोरञ्जनात्मक क्रियाकलापबाट पनि कर उठ्ने गर्छ।

सांस्कृतिक नगरीमा कतिपय पुर्ख्याैली पेसा हाल लोप हुने अवस्था देखिएको छ, यस विषयमा नगरपालिकाको ध्यान कति गएको छ ?

माटोका भाँडादेखि जुजु धौँ भक्तपुरको पहिचान हो। हाल जग्गा प्लटिङ भएसँगै माटोको समस्या देखिन थालेको छ। अन्य पुर्ख्याैली पेसा पनि बिलाउने संघारमा छन्। यस्ता विषयबारे नगरपालिका जानकार नभएको होइन, तर कसरी समाधान गर्ने भन्ने विषय एउटा मुद्दा बनेको छ। यस्ता विषयमा छलफलमार्फत नगरपालिका अघि बढ्नेछ। 

यहाँका किसानका समस्यालाई नगरपालिकाले कसरी हेरिरहेको छ ?

आधुनिक युगमा किसानलाई आधुनिक प्रविधिसँग जोड्ने कोसिसमा हामी छौँ। थोरै जग्गामा धेरै उत्पादन गर्न कृषि प्राविधिक तालिमको व्यवस्था गरेका छााैँ। उन्नत जातको बीउबिजन तालिम, निःशुल्क बीउ वितरण, कौसीखेती तालिम लगायत कृषिसँग सम्बन्धित तालिम नगरपालिकाले दिँदै आएको छ। 

उत्पादित कृषि उपजका लागि तरकारी बजार व्यवस्थापनको योजना बनिरहेको छ। चाँडै कुहिने कृषि उपजको संरक्षणका लागि चिस्यान केन्द्र बनाउने तयार गरिरहेका छाैँ । किसानको उत्पादनलाई व्यवस्थित रूपमा सञ्चित गर्ने र बजारको आवश्यकता अनुसार बिक्री–वितरण गर्ने सोचमा पुगेका छौँ। अबको कार्यकालमा यी क्षेत्रको सम्बोधन हुनेछ। 

बेरोजगारीको समस्या कसरी सम्बोधन भइरहेको छ ?

बेरोजगारी तथा वैदेशिक पलायन समग्र देशकै समस्या हो। यसको सम्बोधन सरकारकै लागि पनि ठूलो चुनौती बनेको छ। यद्यपि, हामीले नगरपालिकाभित्र डकर्मी, सिकर्मी तालिम, चिनियाँ–जापानी भाषाको तालिम, लोकल गाइड, नेपालभाषा लिपिको तालिम, हेयर कटिङ लगायत सीपमूलक तालिम दिइरहेका छाैँ। शिक्षासँगै श्रमलाई पनि जोड्ने कार्यक्रम नगरपालिकाबाट भइरहेको छ। युवालाई आत्मनिर्भर बनाउन हामी प्रयत्नरत छाैँ। 

महिला, अल्पसंख्यक तथा उत्पीडित वर्गको समस्यालाई कसरी हेरिरहनुभएको छ ?

महिला, अल्पसंख्यक तथा उत्पीडित वर्गका समस्या छन्। महिला सशक्तीकरणका लागि हामी लागिरहेका छाैँ । 

भक्तपुर नगरपालिकाको सवालमा स्कुल, कलेजमा हेर्न हो भने छात्रभन्दा छात्राको संख्या बढी छ, उनीहरूको परीक्षा नतिजा पनि राम्रो छ। रोजगारीका लागि निवेदन खोलिएको क्षेत्रमा महिला प्रतिस्पर्धी बढेका छन्। पास हुने प्रतिशतमा पनि महिला अघि छन्।जहाँसम्म जातीय विभेदका विषयमा हाम्रो सांस्कृतिक स्तर उठिसकेपछि स्वतः हट्दै जाने कुरा हो। जुन धेरै हदसम्म घटिसकेको छ। 

यसपटकको निर्वाचनमा भक्तपुर नगरपालिकामा नेमकिपाले ‘क्लिन स्विप’ गरेको छ, यसको कारण ?

राजनीति भनेको जनताको सेवा गर्ने पेसा हो। यो नीतिबाट हाम्रो पार्टी निर्देशित छ। जनताको सेवामा समर्पित भएर काम गरेका कारण हामी सफल भएको मान्न सकिन्छ। नेपाल मजदुर किसान पार्टीले जनताको पक्षमा काम गर्दै आएको छ। भ्रष्टाचारविरुद्ध, राष्ट्रघाती सन्धि वा सम्झौताविरुद्ध हाम्रो पार्टीले निरन्तर आवाज उठाउँदै आएको छ।

यी यावत कारण पनि र हामीले गरेको कामको मूल्यांकन गरेरै जनताले हामीलाई विजयी बनाएका हुन्।

भनिन्छ, नारायणमान बिजुक्छेपछि नेमकिपाको भविष्य छैन, यस्तै नगरपालिकाको मेयरमा पनि यहाँबाहेक विकल्प नभएकै हो ?

विपक्षीबाट अनेक खालका आलोचना हुने गर्छन्। यस्ता विषयमा टिप्पणी नगर्नु नै ठीक होला। बिपी कोइरालाको निधनपछि कांग्रेस रहँदैन भन्थे। त्यसपछि, गिरिजाप्रसाद भनेकै कांग्रेस, कांग्रेस भनेकै गिरिजा प्रसाद भन्ने जमात पनि कम थिएन। तर, अहिले शेरबहादुर देउवाले पार्टीलाई हाँकिरहनुभएको छ। यी सब पार्टीको आवश्यकताले निर्धारण गर्ने विषय हो।

पार्टीले योग्यता, क्षमता र आवश्यकताको आधारमा चयन गर्ने हो। हामी हाम्रोे पार्टीको नीतिका आधारमा चल्ने हो। 

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

पार्टीको घोषणापत्र नै काम गर्ने आधार हो। घोषणापत्र मामुली नभई जनताको बीचमा गरेको प्रतिज्ञा हो। जसलाई हामीले पाँच वर्षमा पूरा गर्न प्रतिबद्ध छाैँ । नेपाल मजुदर किसान पार्टीलाई भोट दिने कुनै पनि नगरवासीले चित्त दुखाउनुपर्ने छैन। वास्तवमै जनताको हितमा काम गर्ने पार्टी नेमकिपा हो भन्ने प्रत्याभूति हामी जनतालाई दिनेछाैँ । 
 

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्