Kathmandu Press

‘अबको पाँच वर्षमा कीर्तिपुरवासीले भिजिबल परिवर्तन महसुस गर्नेछन्’ 

नकर्मीका अनुसार, कीर्तिपुर नगरवासीका लागि सबैभन्दा ठूलो समस्या हो, खानेपानी । अर्कोतिर, कीर्तिपुरमा पानी स्रोत पनि प्रशस्त छन् ।
‘अबको पाँच वर्षमा कीर्तिपुरवासीले भिजिबल परिवर्तन महसुस गर्नेछन्’ 

काठमाडौं, जेठ ४ : कीर्तिपुर नगरपालिकाको प्रमुखमा राजकुमार नकर्मी तीन हजार पाँच सय ३७ मतान्तरले निर्वाचित भएका छन् । नेपाली कांग्रेस काठमाडौंका उपसभापति समेत रहेका ५० वर्षीय नकर्मी विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् । ‘२०३६ सालमा पाकिस्तानी पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई फाँसी दिने निर्णय भएको थियो,’ नकर्मी भन्छन्, ‘हामी विद्यार्थी आन्दोलनकारीका रूपमा पाकिस्तानी राजदूतावासमा ज्ञापनपत्र बुझाउन गएका थियाैँ। त्यतिबेला प्रहरीबाट हामीमाथि दमन भयो । उक्त घटनापछि अझ सक्रिय रूपमा राजनीतिमा लाग्न प्रेरित भएँ ।’

०४६ को आन्दोलनमा आफूलाई पार्टीले कीर्तिपुरका लागि आन्दोलनको संयोजकको भूमिका दिएको उनी बताउँछन् । ‘पञ्चायतविरुद्ध आन्दोलनमा जान मैले कीर्तिपुरवासीलाई झकझकाउँथेँ,’ उनी भन्छन्, ‘०६२/६३ को आन्दोलनमा पनि कीर्तिपुरतर्फको नेतृत्व मैले नै गरेँ ।’

पूर्वाधारमा समस्या

Hardik ivf

नकर्मीका अनुसार, कीर्तिपुर नगरवासीका लागि सबैभन्दा ठूलो समस्या हो, खानेपानी । अर्कोतिर, कीर्तिपुरमा पानी स्रोत पनि प्रशस्त छन् । ‘ती स्रोतको परिचालन मात्र हुन सकेको छैन,’ नकर्मी भन्छन्, ‘हामीले बृहत् एकीकृत खानेपानी परियोजना अघि सार्नेछौँ । सर्वप्रथम कीर्तिपुरवासीलाई कति खानेपानी आवश्यक पर्छ, त्यसको अध्ययन गरी तथ्यांक निकालिनेछ ।’ 

कीर्तिपुरमा रहेको सुन्दरीघाटको पानी हाल ललितपुर र काठमाडौंमा गइरहेको छ । मेलम्ची आएसँगै उक्त घाटको पानी कीर्तिपुरमा डाइभर्ट गर्न सकिने उनी बताउँछन् ।

उनका अनुसार, यहाँ शिक्षा र स्वास्थ्यका पनि समस्या छन् । शिक्षालय छन्, तर शिक्षाको गुणस्तर छैन । नाम चलेका अस्पताल छन्, तर स्थानीयको घरदैलोमा पुग्ने स्वास्थ्य सेवा पुगेको छैन । फोहोर व्यवस्थापनसँगै आवश्यक पूर्वाधारमा विकास गर्ने उनको योजना छ । 

‘त्रिभुवन विश्वविद्यालय’ कीर्तिपुरमै अवस्थित छ । पूर्वदेखि पश्चिम नेपालका विद्यार्थीको रोजाइ अनि बसाइ कीर्तिपुर हुने गरेको छ । ‘विश्वविद्यालय नजिक भएका कारण संस्थागत विद्यालयमा जोड छ । यद्यपि, जति बलियो र अब्बल यहाँका संस्थागत विद्यालय छन्, सार्वजनिक विद्यालयको अवस्था उत्तिकै कमजोर छ,’ मेयर नकर्मी भन्छन्, ‘हाम्रो प्राथमिकता सार्वजनिक विद्यालयमा रहनेछ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक लजिस्टिक, आधारभूत पूर्वाधारदेखि शैक्षिक तालिमसम्मको योजना हामीले तय गरेका छाँै ।’

संस्कृति र परम्परा नै अर्थतन्त्रको मेरुदण्ड

कुनै समय कीर्तिपुर हातेकपडा बुनाइका लागि प्रख्यात थियो । स्थानीय प्रविधि र कालिगडका लागि कीर्तिपुरले ख्याति कमाएको नकर्मी सम्झन्छन् । अहिले कीर्तिपुरले त्यस खालको खास उत्पादन गर्दैन । ‘यस अवस्थामा नगरपालिकाको आर्थिक विकासको स्रोत पहिचान सबैभन्दा ठूलो चुनौती छ,’ नकर्मी भन्छन्, ‘यद्यपि, गौरवशाली इतिहास बोकेको कीर्तिपुरमा रहेका सांस्कृतिक सम्पदा र चालचलन अर्थोपार्जनको मेरुदण्ड बन्न सक्छन् । यहाँका सबल पक्षलाई अझ बलियो र चुस्त बनाउने हाम्रो योजना छ । काीर्तिपुरलाई सांस्कृतिक एवं ऐतिहासिक रूपमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके धेरै हदसम्म आर्थिक रूपमा हामी सम्पन्न हुन सक्छौँ ।’

सामुदायिक शिक्षामा जोड

कीर्तिपुरमा आयुर्वेददेखि छालासम्बन्धी उपचारका लागि अब्बल अस्पताल छन् । तर, सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा छैनन् । घरदैलो स्वास्थ्य सेवा योजनाले पूर्ण रूप लिन सकेन । आफ्नो कार्यकालमा ज्येष्ठ नागरिक, महिला, एकल महिला, बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइने नकर्मी बताउँछन् । 

‘नेपालका जुनसुकै भागमा महिला, बालबालिका, वृद्धवृद्धा, अल्पसंख्यक आदिलाई राज्यबाट संरक्षित वर्गको रूपमा राखिएको छ,’ नकर्मी भन्छन्, ‘कीर्तिपुरको हकमा भिन्न परिस्थिति छैन । यस्ता वर्गको सशक्तीकरणका लागि विशेष कार्यक्रम तथा योजना तर्जुमा गरिएको छ । सामाजिक चेतना हुन् वा विकासमुखी कार्य, सबैमा हामी यहाँका स्थानीयको सहभागिता र चाहना अनुसार अघि बढ्नेछौँ ।’ 

आगामी पाँच वर्ष नयाँ नेतृत्वले कीर्तिपुरको विकास र समृद्धिका लागि अहोरात्र खटिएर काम गर्ने उनको प्रतिबद्धता छ । ‘चुनावी दौरानमा व्यक्त गरेका प्रतिबद्धतालाई प्राथमिकता दिँदै कीर्तिपुरको विकास निर्माणमा स्थानीयसँग हातेमालो गर्दै अघि बढ्नेछौँ,’ भन्छन्, ‘पाँच वर्षको अन्तरालमा भिजिबल परिवर्तन स्थानीयले महसुस गर्नेछन् ।’ 

प्रकाशित मिति: १५:४५ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्