Kathmandu Press

जहाँ क्षत्री समुदायले जात्रा मनाउँछ

यहाँका तत्कालीन वडाध्यक्षले यस क्षेत्रमा पनि रथ आए बोको काटेर बलि दिने भाकल गरे। बाटो न घाटो, खेतका पाटापाटाबाट परम्परागत चालचलनसहित हामीले रथ बोकेर जात्रा सुरु गर्‍यौँ।
जहाँ क्षत्री समुदायले जात्रा मनाउँछ

काठमाडाैं, जेठ २ : काठमाडौं उपत्यका र वरपर नेवार समुदायले जात्रा मनाउनु नौलो नहोला, तर बूढानीलकण्ठस्थित पासिकोट यस्तो क्षेत्र हो, जहाँ क्षत्री समुदायले वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीको भोलिपल्ट ‘चण्डी भद्रकालीको जात्रा’ मनाउने गर्छ।

स्थानीयका अनुसार, यो जात्रा २०१७ सालदेखि मनाउन थालिएको हो।

भाकलले भित्रिएको जात्रा

Hardik ivf

स्थानीय ७२ वर्षीय मोहनबहादुर खड्काका अनुसार, ०१६ सालअघिसम्म यो जात्रा नेवार समुदायले मात्रै मनाउँथ्यो। त्यतिबेला नेवार बस्ती रहेको गाम्चा (भद्रकाली देवीको मन्दिर भएको स्थान) हुँदै नजिकैको छिमेकी गाउँ चपलीसम्म यो जात्रा आउने गर्थ्यो।

‘यहाँका तत्कालीन वडाध्यक्षले यस क्षेत्रमा पनि रथ आए बोको काटेर बलि दिने भाकल गरे,’ खड्का भन्छन्, ‘बाटो न घाटो, खेतका पाटापाटाबाट परम्परागत चालचलनसहित हामीले रथ बोकेर जात्रा सुरु गर्‍यौँ। तर, जात्राले निरन्तरता पाउन सकेन। ०५४ सालमा हामीले पुनः सुरु ग¥यौँ। कोरोनापछि रोकिएको जात्रा यहाँका युवाले पुनः ब्युँताउँदै छन्।’

यस जात्रामा भद्रकाली देवीको पूजा हुन्छ। भद्रकाली सबैकी साझा देवी भएकाले यस जात्रालाई साझा मानिएको खड्का बताउँछन्। जात्रामा भद्रकालीको मात्र नभई नारायण, गणेशको पनि रथ घुमाइन्छ। जात्रामा बाजागाजासहित बोकाको बलि र हाँसको अन्डा चढाउने चलन रहेको खड्का बताउँछन्।

बुद्ध पूर्णिमाको दिन रथ बनाएर दोस्रो दिन गाम्चा लगी सिन्दुर जात्रा गराइन्छ। त्यसको भोलिपल्ट पासिकोटमा उक्त रथ ल्याइन्छ। ‘रथ क्षत्री समुदायमा आएसँगै हामी हाम्रो रीतले हाँसको अन्डा, बोका बलि दिन्छौँ। नेवार समुदायमा भने कुखुरा, राँगोको बलि दिइन्छ,’ खड्का भन्छन्, ‘नेवार समुदायमा धिमे जात्रा हुँदा क्षत्री समुदायले पन्चै बाजा बजाउँछन्। सिन्दुर जात्रामा पनि आफ्नै हिसाबले मनाउँछौँ।’

गाम्चा र चपली गाउँ गरी दुई भिन्न स्थानमा नेवार र क्षत्री समुदायले यो जात्रा क्रमशः मनाउँछन्। एउटै जात्रा दुई भिन्न समुदायले मिलेर मनाउँदा एक किसिमको भाइचारा र सहिष्णुता प्रकट भएको आभास हुन्छ।

खड्काका अनुसार, पहिले खाली खुट्टा रथ बोकिन्थ्यो। अहिले त्यो नियम छैन।

नीलकण्ठ युवा समितिका सचिव बिजेन्द्र भण्डारीका अनुसार पहिले नेवार समुदायमा मात्र मनाइने यस जात्रा पछिल्लो समय क्षेत्री समाजले पनि मनाउन थालेका हुन। बीचकाे समयमा केही कारणबस राेकिएकाे यस जात्रालाई क्षेत्री समाजमा पुनः सुरु गरिएकाे उनले बताए।

क्षेत्री समुदायमा पनि धिमे बाजा सिकाउने योजना रहेको भण्डारी बताउँछन्। भण्डारीका अनुसार, जात्रापछि यहाँ नेवार शैलीकै भोज समेत हुने गर्छ। ‘जात्राका बेला यहाँका विद्यालयमा बिदा दिने गरेका छौँ,’ भण्डारी भन्छन्, ‘पेसा वा व्यवसाय गर्ने युवाले पनि एक दिन कामबाट बिदा लिने गर्छन्।’

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्