Kathmandu Press

मतदानपछि फुर्सदमा हुनुहुन्छ ? युट्युबमा हेर्नुस् चलचित्र ‘न्युटन’

बलिउडमा राजकुमार राव पछिल्लो समय चलेको नाम हो । रावको प्रमुख भूमिका र अब्बल अभिनय रहेको यो फिल्मले सरकार, चुनाव र भुइँतहका नागरिकको दूरी र गति देखाउँछ ।
मतदानपछि फुर्सदमा हुनुहुन्छ ? युट्युबमा हेर्नुस् चलचित्र ‘न्युटन’

काठमाडाैं, वैशाख ३० : सरकारलाई जसरी पनि देशभर लोकसभाको चुनाव गर्नुछ, सरकारी कर्मचारीलाई आफ्नो कर्तव्य वा जिम्मेवारी पूरा गर्नुछ, द्वन्द्वग्रस्त क्षेत्रमा शान्तिपूर्वक चुनाव भयो भनी विदेशी पत्रकारलाई देखाउनुछ, उम्मेदवारलाई जसरी पनि चुनाव जित्नुछ, तर एउटा आदिवासी बस्तीलाई चुनावका सम्बन्धमा केही थाहा छैन । ती आदिवासीका आफ्नै सामाजिक नियम छन्, यता सरकारको चुनाव गराउने आफ्नै परिपाटी छ । अर्कोतिर, विद्रोहीको प्रभाव अदृश्य रूपमा छ । यही उतारचढावको कथा सरल ढंगले आएको छ, हिन्दी फिल्म ‘न्युटन’मा । मतदान गरेर फुर्सदमा हुनुहुन्छ भने युट्युबमा यो फिल्म हेर्नुस्, तपाईंको समयको बर्बादी हुँदैन । 

बलिउडमा राजकुमार राव पछिल्लो समय चलेको नाम हो । रावको प्रमुख भूमिका र अब्बल अभिनय रहेको यो फिल्मले सरकार, चुनाव र भुइँतहका नागरिकको दूरी र गति देखाउँछ । 

चलचित्रको कथा अनुसार, एक सरकारी कर्मचारी लोकसभाको निर्वाचन सम्पन्न गर्न विद्रोही प्रभावित क्षेत्र (दण्डकारण्य) जानुपर्छ, जहाँ ७६ आदिवासी मतदाता छन् । 

Hardik ivf

चुनाव सम्पन्न गर्न हतियारधारी प्रहरीसहित कर्मचारीको टोली दण्डकारण्य पुग्छ । सबैलाई विद्रोहीदेखि त्रास छ । कर्मचारीलाई चुनावमा सहजताका लागि स्थानीय मल्को नेतम (अञ्जली पाटिल)लाई बिएलओ (बुथ लेभल अफिसर)का रुपमा तोकिएको छ । 

विद्रोहीका प्रभावका कारण चुनाव सम्पन्न हुन्छ कि हुँदैन भन्ने शंका र त्रास सबैमा छ । उनीहरू त्रासका बाबजुद एउटा जंगलमा पुग्छन्, जहाँ एउटा सरकारी स्कुल छ, तर वरपरको बस्ती जलाइएको छ । 

निकैबेर बस्दा पनि मतदान दिन कोही आउँदैनन् । त्यही बेला एक कर्मचारी निराशावादी कुरा गर्छन् । 

न्युटन कुमारले बिएलओलाई सोध्छन्– के तपाईं पनि ऊजस्तै निराशावादी हो ?

‘होइन, म आदिवासी हुँ,’ बिएलओको जवाफ हुन्छ । 

यस्तो लाग्छ, यो संवादले पूरै फिल्मको प्रतिनिधित्व गरेको छ । संवादले यस्तो संकेत गरेको आभास हुन्छ– आदिवासीहरू आशा र निराशाभन्दा माथि छन् । 

पछि प्रहरीले बस्तीमा गएर मतदातालाई उठाएर ल्याउँछ । 

‘भोट दिएर हामीलाई के फाइदा हुन्छ ?’ एक आदिवासी मतदाताको प्रश्न । 

न्युटन कुमारको जवाफ– ‘गाउँमा सडक, पानी, सामाजिक न्याय आदि चाहिन्छ, तपाईंले जुन नेतालाई चुन्नुहुन्छ, उसले तपाईंका लागि यी सब काम गर्छ । लोकसभाबाट चुनिएका नेताले कानुन बनाउँछन् ।’

बिएलओले बीचमै बोल्छिन्– ‘सर, हाम्रो आफ्नै कानुन छ, केही हजार वर्ष पुरानो ।’ 

न्युटन कुमार भन्छन्– ‘तपाईंले बताउनुस् कि तपाईंहरूको नेता दिल्ली जानेछन् ।’

यो शब्द सुनेपछि आदिवासीका नेता (पटेल) ‘म दिल्ली जान सक्छु’ भन्दै भुइँबाट उठ्छन् । 

दिल्ली जानलाई त चुनावमा उठ्नुपर्छ । कर्मचारीले चुनावमा उठेका नेताको नामको सूची आदिवासीलाई बताउँछन्, जसको नाम गाउँवासीले त्यसअघि सुनेकै हुँदैनन् ।

गाउँवासी सोध्छन्– यी नेतामध्ये कसले हाम्रो हितमा काम गर्छ ? 

आदिवासी भन्छन्– ‘भोट दिउँ भने माओवादीको डर हुन्छ, नदिउँ भने पुलिसको । हामीलाई त यी दुवैसँग छुटकारा चाहियो ।’ 

तीस वर्ष सरकारी जागिर गरेका एक कर्मचारीसँग द्वन्द्व समाधान गर्ने तरिका छ । उनी भन्छन्– ‘घरघरमा टिभी देखाउनुपर्छ, टिभीमा कोकाकोला र वासिङ मेसिनको विज्ञापन देखेपछि क्रान्ति भुलेर सीधा लाइनमा आउँछन् ।’ पुँजीवादले कसरी संसारलाई प्रभावमा राखेको छ भन्ने यस संवादले अथ्र्याउँछ । 

सन् २०१७ मा प्रदर्शनमा आएको एक घन्टा ४५ मिनेट अवधिको यस चलचित्रका निर्देशन अमित भी मसुरकर हुन् । वैज्ञानिक न्युटनको नियमलाई फिल्ममा दार्शनिक व्याख्यामा घुसाइएको छ । 

चलचित्रमा एउटा संवाद छ, ‘न्युटनअघि मानिसलाई लाग्थ्यो कि जमिनको कानुन र आकाशको कानुन फरक छ, चर्चको कानुन र मन्दिरको कानुन अलग छ । राजा र रंकका लागि कानुन अलग छन् । तर न्युटनले एकै झड्कामा यो गलत साबित गरिदिए । ईश्वरीय शक्तिको अघि सबै समान हुन्छन् । अग्लो पहाडबाट अम्बानी र यो चियापसले सँगसँगै तल झर्छन् ।’

तर यो संवादको दर्शन भुइँतहका आदिवासीमाथि लागू हुँदैन । उनीहरूभन्दा उम्मेदवार, सरकारका कर्मचारी र प्रहरी धेरै अगाडि छन् । 

प्रमुख पात्र न्युटनको नामका सम्बन्धमा पनि रोचक प्रसंग फिल्ममा जोडिएको छ । उनको वास्तविक नाम नुतन कुमार हुन्छ, तर उनको नामलाई लिएर मानिसले खिसिट्युरी गर्न थालेपछि उनले स्कुल पढ्दादेखि आफ्नो नाम बदलेर न्युटन बनाएका हुन्छन् । 

न्युटन नियम र अनुशासनमा काम गर्ने इमानदार कर्मचारी र नागरिक हुन् । उनीमा इमानदारीको घमण्ड भएको टिप्पणी गरिन्छ । इमानदार कर्मचारी भएकाले उनले सरकारबाट सम्मान पनि पाउँछन् । तर, उनको इमानदारीको वजनले भुइँतहका मानिसलाई कुनै फरक पर्दैन । 

फिल्मका सबै दृश्य यथार्थ लाग्ने यस चलचित्रमा पंकज त्रिपाठी, अञ्जली पाटिल लगायतको जोडदार अभिनय रहेको छ ।

पूरा फिल्म हेर्नुहोस्:

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्