‘भातको माड र पर्चा लिएर भोट माग्न आउँथे, घरको भित्तोमा माडले पर्चा टाँसेर जान्थे’
सुवालले पहिलोपटक २०२८ सालमा भएको ‘राष्ट्रिय पञ्चायतको निर्वाचन’मा पहिलोपटक भोट हालेका थिए। ०१५ सालमा आम निर्वाचन हुँदा उनी १५ वर्षका थिए।काठमाडौं, वैशाख २८ : ७९ वर्षीय बिलबहादुर सुवाल मंगलबार बिहान ७ बजेको समाचार सुनिरहेका थिए। रेडियो नेपालमा चुनावसम्बन्धी समाचार बजिरहेको थियो। झौखेलस्थित आफ्नो घरको पहिलो तलामा उनी खाटमा थिए। पुरानो क्यासियो रेडियो उनी नजिकैको झ्यालमा थियो।
‘२०४१ साल अघिसम्म मतदानको नतिजा रेडियो नेपालमा सुनिन्थ्यो,’ बिलबहादुर सम्झन्छन्, ‘राजनीतिमा कहिल्यै रुचि भएन, तर मतदानपछि हुने गणनामा भने कसले जित्यो होला भन्ने चासो लाग्थ्यो।’
सुवालले पहिलोपटक २०२८ सालमा भएको ‘राष्ट्रिय पञ्चायतको निर्वाचन’मा पहिलोपटक भोट हालेका थिए। ०१५ सालमा आम निर्वाचन हुँदा उनी १५ वर्षका थिए।
‘पहिले भोट माग्न घरदैलोमा धाउँथे। पातला कागजका पर्चा घर–घरमा टाँसेर जान्थे,’ उनी भन्छन्, ‘अहिले त फेसबुकमा, फोन, म्यासेजमा पनि भोट माग्छन् रे। घरदैलो कार्यक्रममा पनि आ–आफ्नो चुनाव चिह्न अंकित टिसर्ट लगाएर हिँडिरहेको देखिन्छ। अहिले घरका कौसी र बार्दलीमा पार्टीका झन्डा देखिन्छ।’ चुनावको प्रचारका समयभन्दा पनि मतदानपछिको मत गणनामा आफ्नो निकै चासो हुने उनले बताए।
उनले हामीलाई पुराना कुरा सुनाउँदै थिए, यही बीचमा आइपुगिन् उनकी पत्नी रत्नमाया सुवाल। बिहानको नित्य पूजा सकेर आएकी उनी बिलबहादुरको छेउमा बसिन्। उनले पनि पहिलो भोट २०२८ सालमा दिएकी रहिछन्। ‘हिजो पनि आएका थिए, भोट हाल्ने कागज पनि ल्याएका थिए,’ उनले भनिन्, ‘भोट हाल्न सिकाएर गएका छन्। सबैजना आएर भोट दिनु होला भन्छन्।’
रत्नमायालाई सम्झना छ– पहिले घरमा भित्ताभित्तामा चुनावका चिह्न पोतिन्थे। ‘अहिलेको जस्तो ढलान नभई स–साना माटोका घर थिए। पातला कागज अनि भित्तामा चुनाव चिह्नको चित्र बनाउँथे,’ उनले भनिन्, ‘हाते माइकमा फुक्दै भोट माग्न आउँथे। अहिले त स्कुटर, बाइकमा ठूलो स्पिकरमा गीत बजाउँदै पनि हिँड्ने रहेछन्।’
झौखेलबाट भक्तपुर ओरालो लाग्ने क्रममा स्थानीय मानबहादुर यान्डो आफ्नो साइकलमा कोदाली कस्दै गरेको अवस्थामा भेटिए। गहुँ काटेर धान बाली लगाउनका लागि खेत खन्न जान उनी तम्सिएका रहेछन्। ‘बुवा ! तपाईंलाई चुनाव लागेको छैन ?’ हामीले सोध्यौँ।
‘गरिखाने मान्छेलाई केको चुनाव लाग्नू,’ उनले सिधा जवाफ फर्काए, ‘चुनावको दिन भोट हाल्ने हो। बाँकी दिन त आफैँ खटिनुप¥यो।’
उनले पनि २०२८ सालदेखि भोट दिँदै आएका रहेछन्। पहिलेका चुनावी माहोल सम्बन्धमा बुझ्न खोज्दा उनले त्यति रुचि देखाएनन्। आफ्नो क्षेत्रमा विकास नभएको उनको गुनासो रहेछ। ‘झौखेलबाट भक्तपुरसम्म जोडिएको बाटो राम्रो छ, तर सार्वजनिक सवारीसाधन अझै चल्न सकेको छैन,’ उनले भने, ‘हुनेखानेहरु मोटरसाइकल, स्कुटरमा आफ्ना बच्चालाई स्कुल पु¥याउँछन्। हाम्रा बच्चाले यहाँबाट भक्तपुर पढ्न एक घन्टाको यात्रा गर्नुपर्छ।’
भक्तपुरबाट करिब चार किलोमिटर उत्तरस्थित जितपुरमा मंगलबार स्थानीय ७० वर्षीय रामबहादुर सुवाल घरदैलोमा आएका दललाई नियाल्दै थिए। उनलाई चुनावी माहोल रमाइलो लाग्छ, तर राजनीतिप्रति उनलाई त्यति चासो छैन। ‘हामी किसान परिवार, राजनीतिमा कहिल्यै चासो भएन,’ उनी भन्छन्, ‘चुनावको समय भने खै किन हो सानैदेखि रमाइलो, घमाइलो लाग्ने। ठाउँठाउँमा हुने सभा–गोष्ठीमा भाषण सुन्न पनि रुचि लाग्थ्यो। अब त बुढ्यौली लाग्यो। खासै रमाइलो लाग्दैन।’
उनका अनुसार पहिलेपहिले भोट माग्न आउनेले भातको माड र पर्चा लिएर आउँथे। उनी सम्झन्छन्, ‘घरका भित्ताभित्तामा भातको माडले पर्चा टाँसेर जान्थे।’