Kathmandu Press

अस्पतालको सिलिङ ढलान गराउने सुष्माको त्यो कार्टुन

२०४६ देखि हालसम्म अर्थात् ३३ वर्षको अवधिमा सुष्मा राजभण्डारीपछि संगी श्रेष्ठ, सजना कोइराला महिला कार्टुनिस्टका रुपमा उदाए। तर, उनीहरूको निरन्तरता देखिँदैन। हाल सुजिता महर्जन महिला कार्टुनिस्टका रुपमा सक्रिय छिन्। 
अस्पतालको सिलिङ ढलान गराउने सुष्माको त्यो कार्टुन

काठमाडाैं, वैशाख २२ : ०४६ सालमा, कार्टुनिस्ट सुष्मा राजभण्डारी एक बिरामीलाई भेट्न वीर अस्पताल पुगेकी थिइन्। अस्पतालको अवस्था देखेर उनी चकित भइन्। इमर्जेन्सी वार्डको सिलिङबाट पानी चुहिरहेको थियो। नर्सले बिरामीलाई छाता ओढाइरहेकी थिइन्।

यहीबेला ‘कामना’ पत्रिकाले गाईजात्रा विशेष अंक निकाल्दै थियो। त्यसका लागि सुष्मालाई कार्टुन कोर्नु थियो। कार्टुनको विषयवस्तु उनलाई फुरिरहेको थिएन। अस्पतालको दृश्यले उनलाई झकझकायो। सुष्मा भन्छिन्, ‘त्यसपछि मैले अस्पतालकै दृश्यलाई कार्टुनमा उतारेँ, पन्चलाइन थपेर।’ 

०४६ सालमै ‘कामना’को गाईजात्रा विशेषमा छापिएको यस कार्टुन सुष्माको संग्रहमा छैन, तर त्यसको शब्द–चित्र उनलाई सम्झना छ। उनको कार्टुनमा छाता ओढाइरहेकी नर्सलाई बिरामीको प्रश्न हुन्छ- नर्स! मनसुन भित्र मात्र हो कि बाहिर पनि उस्तै छ ?

Hardik ivf

‘कार्टुन प्रकाशित भएसँगै मलाई वीर अस्पतालका प्रमुखको फोन आयो। तुरुन्तै सिलिङ पनि ढलान भयो,’ कार्टुनिस्ट राजभण्डारी भन्छिन्, ‘म राजनीतिकभन्दा पनि समसामयिक विषयमा कार्टुन कोर्थें, जसमा प्रतिक्रिया पनि राम्रै आउँथे।’ 

उनले बनाएको एक कार्टुन बंगलादेशको अन्तर्राष्ट्रिय महिला कार्टुनिस्ट प्रतियोगितामा पनि चयन भएको थियो। चयन भएको उक्त कार्टुनको विषयवस्तु काठमाडौं महानगरपालिकाभित्रको फोहोर व्यवस्थापन सम्बन्धमा रहेको उनी बताउँछिन्। यो प्रतियोगिता कहिले भएको थियो भनी उनले ठ्याक्कै मिति सम्झन सकिनन्। 

कार्टुन कलामा लम्किरहेको उनका पाइला बिस्तारै घरायसी तथा सामाजिक व्यवहारले खुम्चिँदै गयो। २०६२ सालसम्म उनी सक्रिय रूपमा कार्टुनमा लागिन्। हाल उनी कलाकारिता र नेप्लिज स्कुल अफ् फाइन आर्टस् (नाफा) को प्रमुख छन्। कार्टुन क्षेत्रमा पहिलेजस्तो सक्रिय हुन नसकेको उनी बताउँछिन्। 

‘सुरुमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दाइहरूले गाईजात्रा विशेषमा कार्टुन बनाएबापत दुईवटा टिकट पाइने बताए। टिकटको लोभमै पनि कार्टुन बनाउँथेँ,’ राजभण्डारी भन्छिन्, ‘यदाकदा कोरिरहेको हुन्छु। यही वैशाख ४ देखि ६ गतेसम्म भएको निसाना नामक कार्टुन प्रदर्शनीका लागि कोरेको कार्टुन लेटेस्ट हो।’

केही महिला कार्टुनिस्ट

२०४६ देखि हालसम्म अर्थात् ३३ वर्षको अवधिमा सुष्मा राजभण्डारीपछि संगी श्रेष्ठ, सजना कोइराला महिला कार्टुनिस्टका रुपमा उदाए। तर, उनीहरूको निरन्तरता देखिँदैन। हाल सुजिता महर्जन महिला कार्टुनिस्टका रुपमा सक्रिय छिन्। 

चित्रकलामा स्थापित नाम हो, संगी श्रेष्ठ। संगीले २०६९ मा कार्टुन कला यात्रा सुरु गरिन् र करिब एक वर्ष निरन्तरता दिइन्। त्यसपछि उनको झुकाव कार्टुनभन्दा पनि चित्रकलातर्फ बढ्यो। कार्टुन सिर्जनाबाट उनी बिस्तारै अलग्गिइन्। कार्टुन इलुस्ट्रेसनमा भने केही समय काम गरेको उनको भनाइ छ। 

‘युवास्थामा जे पनि गर्न मन लाग्ने रहेछ,’ कलाकार संगी श्रेष्ठ भन्छिन्, ‘सोही इच्छा अनि जोसले म कार्टुन कोर्न थालेँ। त्यस समय ‘संस्करण’ भन्ने साप्ताहिक पत्रिकामा एक वर्ष कार्टुन कोरेँ।’

यसका साथै, कामनाको गाईजात्राका विशेष अंकमा पनि उनका कार्टुन छापिन्थे। ‘मैले कार्टुन कोरिरहँदा, एकाध महिला कार्टुनिस्ट थिए। सुष्मा दिदीले छाडिसक्नुभएको थियो,’ चित्रकार संगी श्रेष्ठ भन्छिन्, ‘युवावस्थाको ऊर्जाशील समयमा कार्टुन मात्र नभई इलुस्ट्रेसनका साथै स्कुलमा समेत पढाउँँथे।’

संगी कार्टुनिस्ट अविन श्रेष्ठकी पत्नी हुन्। अविन कार्टुनमै सक्रिय रहिरहँदा कार्टुनमा संगीको सक्रियता किन कम भयो त ? ‘कलाकारिताको अन्य विधाको तुलनामा कार्टुन केही भिन्न छ। समसामायिकदेखि राजनीतिक घटनामा अपडेट भइरहनुपर्छ,’ संगी भन्छिन्, ‘यस्ता विषयमा महिलाको रुचि पुरुषको तुलनामा कमै हुन्छ, जुन स्वाभाविक हो। अर्को कुरा, मलाई कार्टुनिस्ट हुनुभन्दा पनि कार्टुनको पारखी र पाठकमै सीमित हुन मन छ।’ 

मोफसलबाट सजना कोइरालाले कार्टुन कोरेकी थिइन्। जसले करिब दुई वर्ष दमौलीस्थित सेतीदेवीबाट कार्टुन विधामा सक्रियता जनाइन्। उच्च शिक्षाकै सवाल काठमाडौं हुँदै हाल अस्ट्रेलियामा छन्। यसपछि आफूले कार्टुन कोर्न छाडेको उनले एक लेखमार्फत जनाएकी छन्। ०७७ असोज १० मा नयाँ पत्रिकामा ‘कुनै बेला म पनि कार्टुन बनाउँथे’ शीर्षकको लेख छापिएको छ, जसमा उनले यी कुरा उल्लेख गरेकी छन्।

२०७७ देखि सुजिता महर्जन कार्टुन कलामा देखापरिन्। गत वैशाखमा भएको ‘निसाना’ कार्टुन प्रदर्शनीमा उनका दुई कार्टुन राखिएका थिए। ‘मेरा कार्टुन विशेष राजनीतिक बेथिति अनि जनतालाई परेको समस्या केन्द्रित हुने गर्छ,’ सुजिता भन्छिन्, ‘पहिले राजनीतिमा खासै रुचि हुँदैनथ्यो। कार्टुन कोर्न थालेदेखि राजनीतिक विषयमा अपडेट भइरहेको हुन्छु।’

उनको बुझाइमा कार्टुनका लागि राजनीतिक र समसामयिक चेत आवश्यक हुन्छ। न्युज पोर्टल ‘अनलाइन पब्लिक’ मा एक वर्ष कार्टुनिस्टका रूपमा काम गरेकी उनी अहिले भने फ्रिलान्सरका रूपमा सक्रिय छन्। कार्टुनबाहेक उनी प्रिन्ट आर्ट मेकिङ पनि गर्छिन्।

महिला कार्टुनिस्ट किन कम ?

कार्टुनिस्ट क्लब अफ नेपाल (सिसिएन) का अध्यक्ष बासु क्षितिजका अनुसार, कार्टुनिस्ट क्लबमा हाल ४६ सक्रिय सदस्य छन्, जसमा दुई महिला (सुष्मा राजभण्डारी र सुजिता महर्जन) कार्टुनिस्ट छन्।

यसले पनि महिला सहभागिताको न्यून उपस्थिति देखाउँछ। यही वैशाखमा भएको ‘निसाना’ कार्टुन प्रदर्शनीमा सुष्माको एक र सुजिताका दुई कार्टुन राखिएका थिए।

अध्यक्ष क्षितिजका अनुसार, महिला कार्टुनिस्टको संख्या बढ्ने क्रममा छ। ‘ग्राफिक, एनिमेसन क्षेत्रमा महिला कलाकार उत्तिकै छन्, कार्टुनको दायरा साँघुरो भएर पनि यस्तो देखिएको हुन सक्छ,’ उनी भन्छन्, ‘महिला र प्रकृति आफैँमा पर्याय हुन्, यस कारण उहाँहरूको झुकाव चित्रकलातिर बढी भएको हुनसक्छ।’   

कार्टुनिस्ट क्लबका महासचिव रवि मिश्रका जति पनि कार्टुनिस्ट भएर स्थापित भएका छन्, उनीहरूलाई झन्डै एक दशक लागेको देखिन्छ। ‘कार्टुनमा पनि निरन्तरको साधना चाहिन्छ,’ उनी भन्छन्, ‘यति समय र स्ट्रगल गर्ने जुनसुकै क्षेत्रमा पनि आवश्यक पर्छ। तर, महिलाले विविध कारण त्यति लामो समय दिन पाउँदैनन्। करिअर च्वाइसमा उनीहरू अप्रत्यक्ष रूपमा लखेटिएका अनि दबिएका छन्। पारिवारिक र सामाजिक संरचना नै यस्तै छ। विवाहदेखि बच्चा हुर्काउने सम्मको कुराले उनीहरूको सिर्जनशील जीवनको धेरै हिस्सा खाएको हुन्छ।’

प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्