शेयर बजार ओरालो बाटोमा
काठमाडौं, कात्तिक ३ : साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ४ दशमलव ०३ अंकले घटेर ११३३ दशमलव ७१ को विन्दुमा पुगेको छ।
दोश्रो ....
काठमाडौं, कात्तिक ३ : साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ४ दशमलव ०३ अंकले घटेर ११३३ दशमलव ७१ को विन्दुमा पुगेको छ।
दोश्रो बजार परिसूचकमा ० दशमलव ३५ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार ११३७ दशमलव ६९ को विन्दुमा खुलेको थियो भने ११३८ दशमलव ९९ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु ११३२ दशमलब ६१ थियो। आज ११ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। अघिल्लो कारोबारको दिन १८ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको थियो।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोवार हुने
दुई कारोबार दिनदेखि सर्वाधिक प्रभु बैंकको शेयर किनबेच भएको थियो भने आज पनि सबै भन्दा धेरै प्रभु बैंकको शेयर नै किनबेच भएको छ। प्रभु बैंकको १ करोड ९ लाख बराबरको शेयर किन बेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज एनआईबिएल प्रगति फण्डको सर्वाधिक ३ दशमलब ८४ प्रतिशतले बृद्धि भएर प्रति इकाई ७ दशमलब ०३ कायम भएको छ। सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले सर्वाधिक ५ दशमलव ३३ प्रतिशतले गुमाएका छन्।
प्राविधिक बिश्लेषण
अघिल्लो दिनको बिश्लेषणको निश्कर्ष अनुसार यदि बजार ११३५ भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने देखिन्छ भनिएको थियो। आज बजार सामान्य रुपमा घटेको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्से घट्दो प्रवृत्तिमा रहेको र हाल बजार माथिल्लो प्रवृत्ति रेखाको क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा विक्रेता हावी रहेको संकेत गरे पनि परिमाणले विक्रेताहरु कम मात्रामा रहेको जनाएको छ। घट्दो बजारमा यसलाई सकारात्मक मानिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन प्रवृत्तिहिन रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु बजारको प्रवृत्तिभन्दा माथि र एकआपसमा फराकिलो भएकोले बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गर्दछ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ४८ दशमलब ७७ अंकमा रहेको छ। यसको प्रवृत्ति यदि ५० अंकभन्दा माथि रहेमा बजार केहि सकारात्मक हुन सक्ने सम्भावना रहन्छ। स्टोकास्टिक अक्सिलेटरले भने प्रभावकारी संकेत गरेको देखिन्दैन।
निश्कर्ष
माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेको देखिएकोले सूचकहरुको प्रारम्भिक सकारात्मक संकेत पर्खनु उचित देखिन्छ। त्यसैले हाल ‘पर्ख र हेर’ को रणनीति अपनाउनु उपयुक्त देखिन्छ। हालको सामान्य प्रतिरोध ११३५ मा रहेको देखिन्छ भने ११२० सामान्य टेवाको रुपमा देखिएको छ।