Kathmandu Press

दलीय घोषणापत्रमा सांस्कृतिक सम्पदा

देशकै राजधानी रहेको काठमाडौं महानगरपालिका, जो सांस्कृतिक हिसाबले समृद्ध छ, यहाँका उम्मेदवार र समग्रमा देशभरकै निम्ति दलहरुले सम्पदा र संस्कृतिको प्रवद्र्धनमा के कस्ता घोषणापत्र ल्याएका छन् त ?
दलीय घोषणापत्रमा सांस्कृतिक सम्पदा

काठमाडाैं, वैशाख २० : निर्वाचनका बेला दलहरूले ल्याउने घोषणापत्रलाई महŒवका साथ हेरिन्छ। चुनाव जितेपछि घोषणापत्र बमोजिम काम गर्छन् वा गर्दैनन् भनेर हिसाब पनि राखिन्छ। घोषणापत्र दलहरूको प्रतिबद्धता–पत्र समेत हो।

यसपालिको स्थानीय तहको निर्वाचनका लागि दलहरू तथा उम्मेदवारले आ–आफ्ना घोषणापत्र ल्याएका छन्।

देशकै राजधानी रहेको काठमाडौं महानगरपालिका, जो सांस्कृतिक हिसाबले समृद्ध छ, यहाँका उम्मेदवार र समग्रमा देशभरकै निम्ति दलहरुले सम्पदा र संस्कृतिको प्रवद्र्धनमा के कस्ता घोषणापत्र ल्याएका छन् त ? हेरौँ, पार्टी तथा उम्मेदवारका घोषणा।

Hardik ivf

मुलुककै सांस्कृतिक पहिचान र गौरवको रक्षा गर्ने : एमाले

नेकपा (एमाले)को घोषणापत्रमा ‘मौलिक कला र संस्कृति : पर्यटनबाट समृद्धि’ शीर्षकमा ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धनलाई जोड दिएको छ।

संस्कृति र सम्पदा सम्बन्धमा उसका केही उल्लेखनीय बुँदा यस्ता छन्–

– प्रत्येक पालिकाको पहिचान र गौरवको प्राकृतिक र सांस्कृतिक विषय छनोट र विकास गर्ने।

– पर्यटकीय प्राकृतिक सम्पदाहरूको संरक्षण, ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने।

– मानव निर्मित पर्यटकीय वस्तुहरूको विकास गर्ने।

– मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमार्फत सम्बन्धित पालिका र समग्रमा मुलुककै सांस्कृतिक पहिचान र गौरवको रक्षा गर्ने।

– ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदा एवं स्थानीय मेला, पर्व एवं जात्राको संरक्षण तथा व्यवस्थापन गर्ने।

– मठमन्दिर, गुम्बा, धर्मशाला, पाटी पौवा, बहाः, सत्तल, चौतारो, ऐतिहासिक स्थल, ढुंगेधाराजस्ता सम्पदाको संरक्षण र विकास गर्ने।

– परम्परागत रूपमा चल्दै आएका गुठी, ट्रस्ट तथा कोषको संरक्षण र व्यवस्थापन गर्ने।

– मातृभाषाको संवद्र्धन, जातीय तथा क्षेत्रीय कला, संस्कृति र ललितकलाको संरक्षण र विकास गर्ने। चलचित्र, नाटक, साहित्य लगायत सिर्जना र स्थानीय स्रष्टाको संरक्षण र संवद्र्धन गर्ने।

हरेक स्थानीय तहमा कम्तीमा एउटा संग्रहालय : कांग्रेस 

लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते ८८ पेजको ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक भयो। कांग्रेसले पर्यटन र स्थानीय पूर्वाधारमा सम्पदालाई समेटेको छ।

कांग्रेसको संकल्पभित्र ‘संरक्षण एवं जर्गेना’ शीर्षकमा ‘गुठीका संरचना, सत्तल, पाटी, धर्मशाला, उद्यान, पोखरी आदिको संरक्षण एवं स्तरोन्नति गरी सामुदायिक केन्द्रको रूपमा रूपान्तरण गर्ने, पुराना बस्तीमा पुराना नेपाली शैलीका घर बनाउन प्रोत्साहन गर्ने’ उल्लेख गरिएको छ।

त्यस्तै, ‘पर्यटन विकास’ उपशीर्षकमा विशिष्ट सांस्कृतिक सम्पदा र परम्परागत तथा पुरातात्विक महत्वका सामग्री संकलन गरी हरेक स्थानीय तहमा कम्तीमा एउटा संग्रहालय निर्माण गर्ने उल्लेख ।्

त्यस्तै, ‘स्रोत बजारको पहिचान र प्रवद्र्धन’ उपशीर्षकमा ‘स्थानीय जात्रा, पर्व, उत्सव, महोत्सवहरूको वार्षिक क्यालेन्डर बनाई प्रचारप्रसार गर्ने’ उल्लेख छ। रैथाने खाद्य पदार्थ, पेय पदार्थ, हस्तकलाका सामग्रीको ब्रान्डिङ तथा बजारीकरण गर्न सहयोग गर्ने पनि कांग्रेसको संकल्प छ।

सिर्जना सिंहका सात संकल्पमा सम्पदा

काठमाडौं महानगरपालिकाको मेयरका लागि गठबन्धनका तर्फबाट सिर्जना सिंहको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी सिर्जनाले व्यक्तिगत रूपमा आफ्ना सात संकल्प सार्वजनिक गरेकी छन्।

उनले पाँच नम्बर बुँदामा ‘संस्कृति, सम्पदा र सभ्यता’ शीर्षकमा संकल्प गरेकी छन्, ‘मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाड–पर्व, मेला, ग्रन्थ, पेसालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्नेछु।

गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रही कार्य गर्नेछु।’

त्यस्तै उनले तीन नम्बर बुँदामा ‘स्वच्छ, सफा, दिगो पर्यावरण’ शीर्षकमा सम्पदालाई पनि समेटेकी छन्– ‘सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः फल्चा आदिको  संरक्षण, पुनस्र्थापना तथा विस्तार गर्नेछु।’

त्यस्तै, गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रहने पनि उनको संकल्प छ।

उनले जितिन् भने संस्कृतिका सम्बन्धमा के कति गर्ने हुन्, त्यो हेर्न बाँकी छ।

 नेवा छेःको प्रवद्र्धन : बालेन शाह

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार रहेका बालेन शाहले आफ्नो घोषणा पत्रमा सम्पदा संरक्षणका सम्बन्धमा उल्लेख गरेका छन्।
यस सम्बन्धमा उनका केही बुँदा यस्ता छन् :

– सांस्कृतिक सम्पदा स्थल वरिपरि घरहरूको जीर्णोद्धार र पुनस्र्थापना गरी आफ्नो शैली अनुसार मुहार फेरिने।

– पुराना मन्दिर, स्तुप, गुम्बालाई पुराना वैज्ञानिक प्रविधि (जस्तै : लिच्छवि वा मल्लकाल अनुसार) पुनर्निर्माण गरिने।

– नेवा छेःको प्रवद्र्धनका निम्ति इन्जिनियरिङ र आर्किटेक्चर पाठ्यक्रममा जोड दिइने।

जानकी मन्दिर र लुम्बिनीलाई विशेष जोड : लाेसपा

लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले आफ्नो घोषणा पत्रमा विशेष गरी कृषि, स्वास्थ्यलाई विषय जोड दिएको छ। सम्पदा क्षेत्रमा उसले जनकपुरको जानकी मन्दिर र लुम्बिनीलाई विशेष जोड साथ उल्लेख गरेको छ।

ऐतिहासिक तथा धार्मिक क्षेत्र लुम्बिनीको समग्र र अपेक्षित विकासका लागि लुम्बिनी विकास गुरुयोजनालाई तत्काल थप प्रभावकारी बनाइने लोसपाको योजना छ। ढिलो भएका योजना र निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गरी सुरु नभएका कार्यक्रमलाई अविलम्ब प्रारम्भ गरिने पनि उल्लेख गरेको छ।

यसका साथै, सीताको जन्मभूमि, राम–सीताको विवाह स्थल एवं मिथिला साम्राज्यको केन्द्र भएका जनकपुरको बृहत् र चौतर्फी विकासका लागि दक्ष र अनुभवी विशेषज्ञको सहयोगमा आधुनिक गुरुयोजना तयार गरी जनकपुरका सबै मठ–मन्दिरको जीर्णोद्धार गर्ने उसको योजना छ।

त्यस्तै, उसले सबै पोखरी एवं तलाउको सफाइ, घाट निर्माण, मिथिला हाट एवं संग्रहालय आदिको निर्माण, जनकपुरमा रामायणका विभिन्न घटनाक्रमलाई झल्काउने श्रव्यदृश्य एवं प्रकाशको व्यवस्था गर्ने उल्लेख गरेको छ।

सबै समुदायका स्थानीय कला, तथा संस्कृतिको विकास : जसपा

जनता समाजवादी पार्टीले आफ्नो घोषणापत्रमा ‘धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकास’लाई जोड दिएको छ। सम्पदा र संस्कृतिको संवद्र्धनमा उसका केही उल्लेखनीय बुँदा यस्ता छन्–

– हिन्दु, बौद्ध, मुस्लिम, किरात, शिख, जैन, क्रिस्चियन लगायत धर्मावलम्बीको धार्मिक स्थलका संरक्षण तथा संवर्द्धन।

– पहिचानयुक्त मानव बस्तीको पहिचान प्रदान, संरक्षण र संवर्द्धन।

– सबै समुदायका स्थानीय कला, तथा संस्कृतिको विकासका लागि आवश्यक सहयोग।

– स्थानीय बासिन्दाको कला, संस्कृति झल्कने वस्तु समावेश गरी प्रत्येक पालिकामा एक–एक वटा कला संस्कृति गृह वा केन्द्र खोलिने।

सांस्कृतिक नगरपालिका वा गाउँपालिका घोषणा गराइने : नेमकिपा

भक्तपुरमा राम्रो पकड बनाएको पाटी हो, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)। भक्तपुर कला र सम्पदाका हिसाबले समृद्ध छ।

उसले घोषणापत्रमा उसले अघिल्लो वर्ष सम्पादन भएका कार्य उल्लेख गरेको छ। उसले लेखेको छ, ‘पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, वत्सला मन्दिरजस्ता ठुल्ठूला २६ वटा मन्दिरको सम्भार र पुनः निर्माण कार्य सम्पन्न गरियो।

४२ वटा पाटी–पौवा र आठवटा देव–घर, चार नगर प्रवेशद्वार, रानी पोखरी (न्हु पुखु)सहित ११ पोखरीको पुनः निर्माण र मर्मत, सातवटा इनार, आठ सत्तल, सात ढुंगेधारा, अन्य नौवटा सम्पदा गरी एक सय २२ निर्माण योजना सम्पन्न गरियो।’

संस्कृति र सम्पदा संरक्षण क्षेत्रमा आगामी योजना सम्बन्धमा उसका केही बुँदा यस्ता छन्।

– परम्परागत आवास बनाउन जोड दिइनेछ।

– गाउँ र नगरका ऐतिहासिक एवं सांस्कृतिक महत्वका सम्पदाको संरक्षण, पुनः निर्माण एवं पुरातात्विक स्थानको उत्खनन समेत गर्ने।

– सांस्कृतिक नगरपालिका वा गाउँपालिका घोषणा गराउन जोड दिइने।

– हरेक सक्षम पालिकालाई संग्रहालय बनाउने।

 

प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्