Kathmandu Press

म्हेपी अजिमाको माटोमा के छ? जसको प्रयोग मछिन्द्रनाथको मूर्ति रंगाउन गरिन्छ 

नयाँ बसपार्क म्हेपीमा एउटा मन्दिर छ, जसलाई ‘म्हैपी अजिमा’ भनिन्छ। यसबारे  एउटा किंवदन्ती प्रचलित छ। स्थानीय रत्नकाजी महर्जन हामीलाई किंवदन्ती सुनाउँछन्। 
म्हेपी अजिमाको माटोमा के छ? जसको प्रयोग मछिन्द्रनाथको मूर्ति रंगाउन गरिन्छ 

काठमाडाैं, वैशाख १५ : पाटन तंः बहालस्थित मच्छिन्द्रनाथको मन्दिर परिसरमा एउटा ठूलो रूख छ। मंगलबार दिउँसो चर्को घामबाट छेलिन रूखमुनि छहारीमा लामबद्ध थिए– केही मिडियाकर्मी तथा फोटोग्राफर। केही फोटोग्राफर मन्दिरको दक्षिण ढोकासँगै रहेको सानो झ्यालबाट क्यामेरा तेर्साइरहेका थिए। मन्दिरभित्र नेकु परिवारले रातो मछिन्द्रनाथको चाँदीको मूर्तिलाई रङ लगाइरहेका थिए। 

मूर्तिको कम्मरसम्म गेरु वस्त्र लगाइएको छ भने कम्मर माथिको भागमा सिम्रिक रङले पोतिएको छ। मन्दिरभित्र गम्भीर नेकु र उनका दाइ अमिर नेकु थिए। यो दाजुभाइको परिवारले मछिन्द्रनाथलाई रङ लगाउने कार्य पुख्र्यौली रूपमा गर्दै आएको छ। नेकु दाजुभाइसँग हामीले जिज्ञासा राख्यौँ– मूर्तिमा के कस्ता रङ वा सामग्री आवश्यक पर्छन् ? गम्भीर नेकुले छोटो उत्तर दिए, ‘सिम्रिक रङको हिंगु, प्रशोधित चुन, मोहनी (बत्ती बाल्दा निस्कने कालो), सरेश (राँगोको छाला र माछाको कत्लाबाट बनाइएको लेदो) र म्हैपी अजिमादेखि ल्याएको माटो।’

नयाँ बसपार्क म्हेपीमा एउटा मन्दिर छ, जसलाई ‘म्हैपी अजिमा’ भनिन्छ। यसबारे  एउटा किंवदन्ती प्रचलित छ। स्थानीय रत्नकाजी महर्जन हामीलाई किंवदन्ती सुनाउँछन्। 

Hardik ivf

किंवदन्ती भन्छ– राजा नरेन्द्रदेवको पालामा शान्तिकरा नाम गरेका तान्त्रिक स्वयम्भुमा बस्थे। एकपटक खडेरी अनिकाल प¥यो, नरेन्द्रदेव उनीसँग सल्लाह लिन गए। राज्यभित्र मच्छिन्द्रनाथलाई ल्याएपछि मात्र सहकाल हुने शान्तिकराले नरेन्द्रदेवलाई सल्लाह दिए। मच्छिन्द्रनाथलाई लिन जानुअघि शान्तिकराले आफ्नो पूर्वजन्मबारे पनि नरेन्द्रदेवलाई अवगत गराए।

पूर्वजन्ममा मछिन्द्रनाथ शान्तिकराको छोराका रूपमा जन्मेका थिए। एकपटक शान्तिकराले म्हैपी अजिमाको पूजा गर्न जाँदा आफ्ना छोरालाई पनि लिएर गएका थिए। त्यतिबेला म्हेपी अजिमाले शान्तिकराका छोराको बली मागिन्, तर शान्तिकराले मानेनन्। अजिमाले भनिन्– यी तिम्रा छोरा अरु कोही नभई मछिन्द्रनाथका अवतार हुन्। मैले यी बालकको रगत र मासु मात्र खान्छु।  अनि, बाँकी रहेको हड्डी यहीँ गाडिदिनू। पछि हड्डी गाडेको स्थानको माटोलाई मच्छिन्द्रनाथको मूर्तिमा रङ पोत्नका लागि प्रयोग गर्नू। 

तस्बिर : सुजल बज्राचार्य

यही किंवदन्तीलाई केशरलाल श्रेष्ठले आफ्नो पुस्तक ‘फल्क टेल्स फ्रम नेपाल, द लिजेन्ड अफ करुणामय’मा उल्लेख गरेका छन्। यता हामीलाई गम्भीर नेकुले मछिन्द्रनाथको मूर्ति रंगाउने सामग्रीका बारेमा भन्दै थिए। गम्भीरलाई पनि म्हेपी अजिमाको किंवदन्तीबारे थाहा थियो, तर उनले अझ जान्नेबुझ्नेसँग किंवदन्तीका बारेमा सोध्न भने, त्यसैले हामीले रत्नकाजीलाई सोधेका थियौँ। 

‘यही किंवदन्ती अनुसार, म्हेपी अजिमाको माटो पवित्र मानी मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउन ल्याइन्छ,’ गम्भीरले भने, ‘०५२ सालमा म्हेपी अजिमाबाट माटो ल्याएका थियौँ। त्यतिबेला ल्याएको माटोले अहिलेसम्म पुग्यो, अर्को वर्षका लागि माटो लिन जानुपर्छ।’

उनका अनुसार, म्हेपी अजिमामा माटो लिन जानका लागि गुठी संस्थानमा निवेदन दिनुपर्छ।  गुठीले अनुमति दिएपछि एकैपटकमा थुप्रै परिमाणको माटो तान्त्रिक विधिबाट ल्याइन्छ। माटो ल्याइसकेपछि त्यसलाई भिजाएर मुछिन्छ। कपुर, श्रीखण्ड जस्ता अन्य सामाग्री थप गरी बास्नादार समेत बनाइन्छ। माटो नेकु परिवारकै मातहतमा रहन्छ। 

हामीसँग कुरा गर्दै गर्दा गम्भीरले माटोको भाँडामा रङ घोटिरहेका थिए। ‘यो रङलाई हिंगु भनिन्छ, यो ढुंगावाला रङ हो,’ उनले हाम्रो जिज्ञासा मेट्दै भने, ‘यसलाई घोटिरहनुपर्छ, नत्र जम्छ।’ उनका अनुसार, हिंगु मंगलबजारस्थित पुरानो आयुर्वेदिक औषधि पसलमा पाइन्छ। अहिले एक तोला हिंगुलाई पाँच सय रुपैयाँ पर्छ। ‘कम्मरमाथिको भागमा मात्रै एकपटक रङ लगाउन कम्तीमा ४–५ तोला हिंगु चाहिन्छ,’ गम्भीर भन्छन्, ‘पूरै शरीरका लागि भने ७–८ तोला चाहिन्छ।’ 

उनका अनुसार, हिंगुमा साना सुनका टुक्रा समेत मिसाइन्छ। सुनका टुक्राले रङमा चमकता थप्छ। यसपटक सुनका टुक्रा केही ढिला आएकाले मिसाउन पाइएनछ। ‘हामीलाई सुनका टुक्रा अरुले दिने हो। हिंगुसँगै अन्य आवश्यक सामाग्रीका लागि गुठी संस्थानले केही रकम दिन्छ,’ गम्भीर भन्छन्, ‘त्यसबाहेक बढी खर्च लागे हामी आफैँ बेहोर्छौं।

मच्छिन्द्रनाथलाई रङ लगाउने यस नेकु परिवारको छुट्टै गुठी भने छैन। ‘पाटनमा नेकु परिवार हामी मात्र हौँ। काठमाडौंको महाबौद्धमा अलि धेरै नेकु परिवार छन्। यहाँ एउटा परिवारको के गुठी बनाउनू,’ उनले भने। हिंगुजस्तै प्रशोधित चुन बजारमा किन्न पाइन्छ। सरेश र मोहनी (कालो टीका) भने आफूहरुले बनाउने गरेको गम्भीरले बताए। 

रङ लगाउने विधि

मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउनुअघि सम्मानस्वरूप खुट्टा र शिरमा छुनुपर्छ। यस विधिलाई मच्छिन्द्रनाथको अनुमति लिएको मानिने गम्भीर बताउँछन्। ‘त्यसपछि मूर्तिको कम्मरदेखि माथिल्लो भागबाट रङ लगाउन सुरु हुन्छ,’ उनी भन्छन्, ‘पहिलो दिन माटोको लेप लगाउनुपर्छ। माटो सुकेसँगै अर्को दिन सिम्रिक रङले अनुहार पोत्छौँ। रङ आवश्यकता अनुसार दुई–तीन तहसम्म पोत्नुपर्ने हुन्छ। यसपछि आँखामा रङ लगाइन्छ।’ 

उनका अनुसार, मूर्तिमा रङ लगाउने विधि चार दिनमा सकिन्छ। रङ लगाउने क्रममा मूर्तिको अनुहारको भागमा परिवर्तन देखिने गम्भीर बताउँछन्। ‘रङ लगाउँदा लगाउँदै अनुहार घरी उज्यालो तेजिलो त घरी रिसाएको जस्तो, छिनमै दुःखी जस्तो देखिन्छ,’ गम्भीर भन्छन्, ‘हामीले त्यस्तो बनाउने भनेर बनाएका हुँदैनौँ।’

उनका अनुसार, मूर्तिमा सरेशको प्रयोग भने घामपानीबाट जोगाउनका लागि गरिन्छ। ‘सरेशले पोतेका रङलाई अझ गाढा बनाउँछ,’ उनी भन्छन्, ‘रङ लगाइसकेपछि मूर्तिलाई पुनः कपडाले छोपिन्छ। त्यसपछि रङ लगाउने हामीले पनि मूर्ति छुन पाउँदैनौँ। अबका लागि मूर्तिमा केही गर्न अधिकार नरेन्द्रदेवका पुस्ताको मात्र हुन्छ।

हरेक वर्ष दशकर्मका समयमा भक्तपुरबाट नरेन्द्रदेवका पुस्ताको प्रतिनिधित्व गर्दै एक वृद्ध आउने गरेको गम्भीरले बताए। ‘उहाँले मूर्तिलाई छोएर अन्तिमपटक रङ लगाएपछि मात्र हामीले दशकर्मका लागि मच्छिन्द्रनाथलाई अघि लैजान पाउँछौं ,’ गम्भीर भन्छन्, ‘दशकर्म गरेको दुई दिनसम्म मच्छिन्द्रनाथलाई उनकै मन्दिरमा प्रतिस्थापन गरिन्छ। दुई दिनपछि मूर्तिलाई रथारोहण गरिन्छ र त्यसको तीन दिनपछि मच्छिन्द्रनाथको रथयात्रा भव्यताका साथ सुरु हुन्छ।’

रङ लगाउन सुरु भएदेखि सोमबार (वैशाख १२) बिहानदेखि निराहार व्रत बसी नेकु दाजुभाइ मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाइरहेका छन्। रङ लगाउने काम नसकिँदासम्म उनीहरु एउटा विधि र नियममा बस्नुपर्छ। ‘रङ लगाउँदासम्म २४ घन्टाभित्र एक छाक मात्र खाना खान हुन्छ। 

त्यो छाक खाना हामी आफैँले बनाएर रातमा खान्छौँ,’ गम्भीर भन्छन्, ‘रहरको दाल, घिउ, दूध, सानो केराउको अचार, मेथी–चम्सुरको साग, आलु, नुन र घिउ जस्ता सात्विक भोजन मात्र गर्न मिल्छ।’ पछिल्ला केही वर्षदेखि भोजनमा फलफूल पनि चलाउन थालिएको उनी बताउँछन्। ‘हाम्रा बाजेबराजुले मूर्तिमा रङ लगाउने चार अघिदेखि विधिको पालना गर्नु हुन्थ्यो। अहिले हामीले एक वा दुई दिनअघि मात्र एक छाक खाना खान्छौँ।’

रङ लगाउने कला परम्परागत भएको गम्भीर बताउँछन्। ‘यो काम हामीले बाजुबाजेबाट सिकेका हौँ,’ उनी भन्छन्, ‘बाबुबाजेले हामीलाई रङ लगाउने केही विधि सिकाउनुभएको छ, सोही अनुसार गर्छौं।’

बुगंमतीमै पुगेर रङरोगन

मछिन्द्रनाथको यस मूर्तिलाई ६ महिना बुंगमती र ६ महिना पाटनमा राखिन्छ। मंसिर–पुसमा साइत मिलाएर बुंगमतीबाट पाटनमा ल्याइन्छ। बुंगमतीबाट पाटन फर्काउने क्रममा पुनः एकपटक नेकुहरू बुंगमती पुगेर मूर्तिलाई रंगाउँछन्। बुंगमतीमा भने एकै दिनमा रङ लगाउने काम सक्ने चलन छ। पाटनमा ल्याएर महास्नान गरेपछि भने माथिजस्तै विधिबाट रङ लगाइन्छ। 

यसरी यो नेकु परिवार वर्षमा आठ दिन (दुईपटक) मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउने खटिन्छ। ‘यो हाम्रो धर्मकर्म दुवै हो,’ गम्भीर भन्छन्, ‘यी आठ दिन साधना गरेको अनुभूति हुन्छ।’
 

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्