Kathmandu Press

क्यानको आकर्षक स्टल : ‘रमाइलो गेम्स्’, जहाँ नयाँ पुस्ता झुम्मियो

अन्य स्टलका तुलनामा यसमा अवलोकनकर्ताको भीड केही बाक्लो थियो। स्टलको एक कुनाको कम्प्युटरमा २१ वर्षीय प्रवीण श्रेष्ठ सामान्य ज्ञानको प्रश्नोत्तर खेल (क्विज) खेल्दै थिए, ‘को बन्छ लखपति ?’ खेल अन्तर्गत। 
क्यानको आकर्षक स्टल : ‘रमाइलो गेम्स्’, जहाँ नयाँ पुस्ता झुम्मियो

काठमाडौं, वैशाख १३ : भृकुटीमण्डपस्थित क्यान इन्फोटेकको प्रदर्शनीमा सोमबार प्रायः स्टल भरिभराउ अनि व्यस्त थिए। प्राविधिक उपकरणदेखि नयाँ स्टार्टअप बिजनेसका सयभन्दा बढी स्टलमा अवलोकनकर्ता भीड लागेका थिए। सोहीमध्येको एउटा स्टल हो, ‘रमाइलो गेम्स्’।

अन्य स्टलका तुलनामा यसमा अवलोकनकर्ताको भीड केही बाक्लो थियो। स्टलको एक कुनाको कम्प्युटरमा २१ वर्षीय प्रवीण श्रेष्ठ सामान्य ज्ञानको प्रश्नोत्तर खेल (क्विज) खेल्दै थिए, ‘को बन्छ लखपति ?’ खेल अन्तर्गत। 

श्रेष्ठलाई उनका साथीहरूले पनि सपोर्ट गरिरहेका थिए। सामान्य ज्ञानका पूरै प्रश्नको सही उत्तर दिएर उनले एउटा टिसर्ट अनि ‘ह्यान्ड वास’ लिक्विड पुरस्कार पाए। उनीसँगै खेलेका अन्य पाँच साथीले सान्त्वना पुरस्कार पाए। उनीहरुलाई ‘रमाइलो गेम्स’का मार्केटिङ म्यानेजर उदय गुरुङले पुरस्कार प्रदान गरेका थिए।  

Hardik ivf

‘रमाइलो गेम्स’का सिइओ उत्तम अधिकारीका अनुसार, रमाइलो गेम्स एउटा गेमिङ प्ल्याटफर्म हो, जहाँ मानिसले आफ्नो रोजाइ अनुसारका खेल खेल्न सक्छन्। जहाँ नेपालीले नै बनाएका ‘हाकु रन’, ‘मोमो जम्प थ्रिडी’, ‘एन्डलेस धरहरा’, ‘गल्ली रन’, ‘काठमाडौं राइडर’ लगायत एक सय ४० मौलिक गेम खेल्न पाइन्छ। 

रमाइलो गेम्समा पुरस्कार जित्नेहरू नेपालय कलेजमा अध्ययनरत विद्यार्थी रहेछन्, उनीहरु भन्दै थिए–  रमाइलो गेम्स्का बारेमा हामीलाई पहिलेदेखि नै जानकारी थियो। 

प्रायः  इन्टरनेटमा खेल खेलिरहेका उनीहरूलाई भौतिक रुपमा गेम खेलाउने आधिकारिक व्यक्ति सामु गेम खेल्दा अझ रमाइलो लागेको बताए। 
‘मोबाइल, ल्यापटप तथा डेस्कटपमा नेपाली गेम खेलिरहेका हुन्छौँ, रमाइलो लाग्छ,’ पुरस्कार विजेता समूहका २१ वर्षीय सुशान्त गौतम भन्छन्, ‘ग्लोबल लेभलका पब्जी, फ्री फायरजस्ता गेम खेल्दा खासै अपनत्व फिल हुन्न, जति आफ्नै देशमा बनेका खेल खेल्दा हुन्छ।’ 

‘ग्लोबल गेम रमाइलो कि लोकल ?’ हामीले सोध्यौँ। उनले भने, ‘आफ्नो भनेको आफ्नै हुन्छ। गौरव लाग्छ, नेपाली खेल खेल्दा। 

नेपालमै बनेका गेममा थोरै ग्याफिक्स तथा प्राविधिक विषयमा राम्रो अभ्यास भए सुनमा सुगन्ध हुने थियो। बरु पब्जी लेभलको चाहिएन, तर आफ्नै यस्ता खेल खेल्न अनुभव गर्न मन हुन्छ।’

यस्ता गेमको लत (एडिक्सन) हुँदैन ? हाम्रो प्रश्नमा सोही समूहका २१ वर्षीय सतीश पोखरेलले भने, ‘गेम्सले मानिसलाई क्रियटिभ पनि बनाउँछ, लत पनि लगाउन सक्छ। यो व्यक्ति विशेषमा भर पर्छ।’

हरेक कुरामा आत्म नियन्त्रण चाहिने उनी बताउँछन्। ‘उसो त चलचित्र, गीत–संगीत, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा पनि लत लाग्न सक्छ,’ उनी भन्छन्, ‘लत लाग्ने डरमा गेमलाई गलत मान्नु संकीर्ण सोच हो।’ 

के भन्छन्, रमाइलो गेम्सका संस्थापक ?

रमाइलो गेम्सका मार्केटिङ म्यानेजर उदय गुरुङ प्रदर्शनीको ६ दिन (आजसम्म)मा १५ सयभन्दा बढीले स्टल भिजिट गरेको तथा केहीले खेल खेलेको बताउँछन्। 

‘को बन्छ लखपति’ गेम गत १ अप्रिलमा लन्च गरिएको हो। ‘यसलाई धेरैलाई धेरैले मन पराएको पाइयो,’ गुरुङ भन्छन्, ‘यसअघि पनि हामीले भौतिक रूपमा सार्वजनिक स्थानमा ‘रमाइलो गेम्स’ अन्तर्गतका खेल खेलाएका थियाैं । त्यतिबेला व्यावसायिक खेलाडी तथा गेमरसँगमा सहकार्य भएको थियो।’ यसपालि यी खेलहरुमा आम मानिसको आकर्षण बढेको उनी बताउँछन्।

यसपालिको प्रदर्शनीको सुरुका चार दिन ‘रमाइलो गेम्स’ले मात्रै गेम खेलाएको थियो। त्यसपछि भने अन्य स्टलकाले पनि गेम खेलाउन थालेको रमाइलो गेम्सका सिइओ उत्तम अधिकारी बताउँछन्। 

अधिकारी भन्छन्, ‘सायद उहाँहरूले पनि बुझ्नु भयो कि गेमले मानिसलाई आर्कषित गर्छ।’ ‘रमाइलो गेम्स’लाई सिएइओ उत्तम अधिकारी, मार्केटिङ म्यानेजर उदय गुरुङ र ब्रान्ड म्यानेजर रवीन शर्माले सञ्चालन गरिरहेका छन्। यसबाहेक उनीहरूको आफ्नै टिम छ, जो नेपालमा डिजिटल गेमिङको सम्भावना स्थापित गर्न अभ्यासरत छन्।

गत बुधबार (वैशाख ७) गतेबाट सुरु भएको क्यान इन्फोटेक प्रदर्शनी आज (सोमबार) सम्म चल्यो।
 

प्रकाशित मिति: ११:०५ बजे, मंगलबार, वैशाख १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्