सविताको प्रेममा गाँठो फुकाउने काइँयो
कलाकार डंगोलका लागि अहिले काइँयो ‘स्टिल’ मात्र नभई ‘फिलोसफी’ बन्न पुग्यो । उनका सिर्जनाको पर्याय बन्न थाल्यो । जब उनको जीवनमा अर्का कलाकार इशान परियार (उनका श्रीमान) आए, तब उनलाई जीवनमा मात्र होइन, समाजमै सल्टाउन बाँकी धेरै कुरा रहेको बोध भयो ।काठमाडौं, वैशाख ११ : एक मायालु जोडीले एक जोडी पन्छीलाई नियालिरहेका छन् । पन्छी जोडी रुखको हाँगामा रहेको आफ्नो गुँडको छेउमा सँगै बसेका छन् । गुँडमा केही अण्डा छन् । मायालु जोडी र पन्छी जोडी एउटै रुखको दुई हाँगामा छन्, जुन हाँगाबाट काइँयोको आकृति पनि निकालिएको छ । रूखको मूल र हाँगामा अनेक कला छन् । मायालु जोडीको केशले मयुरको प्वाँखको आकार र सौन्दर्य बोकेको छ । सविता डंगोलले कोरेको यस चित्रको नाम दिइएको छ— अनकन्डिसनल लभ ।
यही अप्रिल ११ देखि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ, ‘इन्क्लिनेसन अफ् सोल्स’ नामक उनका कलाका प्रदर्शनी । यो उनको छैटौँ एकल कला प्रदर्शनी हो । २९ अप्रिलसम्म चल्ने यस प्रदर्शनीमा सविताका ३२ चित्रकला राखिएका छन् । जसमा प्रकृति, पुरुष र काइँयो छुटेका छैनन् । ‘मेरा कलाले मेरा दैनिकीसँग सम्बन्धित घटनाक्रमलाई प्रतिविम्बत गर्छ,’ कलाकार सविता डंगोल भन्छिन्, ‘जसमा काइँयो र प्रेम मेरो जीवनको अभिन्न आयाम हो ।’
प्रेम र काइँयोको दर्शन
सन् २०१३ मा, ललितकला क्याम्पसमा स्नातकोत्तर गर्ने क्रममा कलाकार सविताको ‘थिम’ थियो– कपाल ।‘त्यस बेला काइँयो मेरा लागि स्टिल (अचल वा निर्जीव) वस्तु थियो,’ उनी भन्छिन्, ‘निर्जीव लाग्ने काइँयोमा बिस्तारै मैले जीवनको दर्शन देख्न थालेँ । जसरी काइँयोले जेलिएका कपालका लट्टालाई सुल्झाउने काम गर्छ, हाम्रो जीवनमा आउने समस्यालाई पनि सुल्झाउँदै जानुपर्छ, यही नै जीवनको नियम हो, दर्शन हो ।’
कलाकार डंगोलका लागि अहिले काइँयो ‘स्टिल’ मात्र नभई ‘फिलोसफी’ बन्न पुग्यो । उनका सिर्जनाको पर्याय बन्न थाल्यो । जब उनको जीवनमा अर्का कलाकार इशान परियार (उनका श्रीमान) आए, तब उनलाई जीवनमा मात्र होइन, समाजमै सल्टाउन बाँकी धेरै कुरा रहेको बोध भयो । उनीहरूको प्रेम र विवाहमा जात व्यवस्था बाधक थियो । उनीहरूले समाजसँग जुधेरै बिहे गरे, बिहे गर्न उनीहरूले धेरै सामाजिक समस्या सल्टाउनुपरेको थियो, जगल्टिएको कपाललाई काइँयोले कोरेजस्तै ।
‘इशान र मेरो भेट ललितकला क्याम्पसमा अध्ययनका क्रममा भयो । उहाँ पहिल्यैदेखि कलाकारितामा अब्बल,’ सविता सम्झन्छिन्, ‘मलाई उहाँको सीप मन पथ्र्यो, उहाँलाई मेरो सिर्जनशीलता । यही कारणले होला हामी नजिकियाँै अनि बाँधियाैँ प्रेममा ।’ सायद होला, सविताका अधिकांश कलामा प्रेम आएका छन् । उनी भन्छिन्, ‘उहाँको प्रवेशले मेरो जीवनले पूर्णता पाएझैँ लाग्छ, त्यो अनुभूति मेरो कलामा पनि झल्किएका छन् ।’
लकडाउन, सम्पदा र काइँयो
‘कस्मिक थट्स’ शीर्षकको कलामा सविताले महिलाको कपालमा सम्पदा कोरेकी छन् । यसलाई उनी आफूले लकडाउनमा हेर्न नपाएका सम्पदाको अभिव्यक्ति भन्छिन् । यता, ‘इन्क्लिनेसन अफ सोल्स्’ चित्रमा भने काइँयोमा सम्पदाका आकृति कोरेकी छन् ।
सम्पदा कोरिएको सन्दर्भमा उनी भन्छिन्, ‘पहिलो लकडाउनले हाम्रो दैनिकीमा परिर्वतन ल्यायो । सधैँ मर्निङवाकका लागि हिँड्ने क्रममा देखिने सम्पदा मैले मिस गर्न थालेँ,’ उनले भनिन्, ‘हेरिरहेका र देखिरहेका संरचना कस्ता भए होलान्, मलाई जिज्ञासा हुन थाल्यो, सँगै औडाहा पनि । सोही औडाहालाई मैले काइँयोमार्फत व्यक्त गर्न थालेँ ।’
सम्पदा हेर्ने आफ्नो व्याकुलतालाई उनले ‘इन्क्लिनेसन अफ् सोल्स’ र ‘कस्मिक थट्स’सँगै ‘ट्याङ्क्युलिटी अफ इनोभेसन एन्ड नेचर’, कम्प्लिमेन्टरी थट एन्ड इमोसन’मा व्यक्त गरेकी छन् ।
मस्तिष्क
सविताका कलाकृतिमा कपाल कलात्मक ढंगले आएका छन् । ‘मस्तिष्कमा अनेक सोच आइरहन्छन् । तिनै सोचलाई देखाउन मैले लामा केसमा विभिन्न बुट्टा भरेकी हुँ,’ सविता भन्छिन्, ‘मस्तिष्क अर्थात् टाउकोमा हुन्छ, कपाल । कस्मिक थट्समा महिलाको मस्तिष्कमा सम्पदाका कुरा झल्काएकी छु भने पुरुषको मस्तिष्कमा प्रकृतिलाई ।’
काइँयोसँगको आफ्नो निकटतालाई उनले क्यानभासबाट बाहिर इन्स्टलेसन आर्टमा समेत ल्याएकी छन्, नौवटा काइँयोलाई ठूलो आकृतिमा राखेर ।
काइँयोलाई लिएर नयाँ कन्सेप्टमा काम गर्ने उनलाई चाह थियो । त्यसैले काठका काइँयो बनाएर त्यसमा कला भरेको उनी बताउँछिन् ।
सविता १६ वर्षदेखि कला साधनामा छन् । ‘जीवनका सुखदुःख अनि जीवनसाथीको साथ, सहयोगलाई आफ्नै कलाकृतिमा हेर्दा आफ्नै संग्रहालयजस्तो प्रतिविम्बित हुँदो रहेछ,’ उनले भनिन् ।