Kathmandu Press

‘कार्टुनिस्टको कर्तव्य विकृति र विसंगतिविरूद्ध उभिनु हो’

कार्टुन कलाकारको सोच र भावनाको उपज हो । कार्टुन अभिव्यक्तिको माध्यम हो । आफ्ना उत्तेजना, असन्तुष्टि अनि गलत विषयलाई आकृतिमय संरचना र व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने सारथि हो, कार्टुन ।
‘कार्टुनिस्टको कर्तव्य विकृति र विसंगतिविरूद्ध उभिनु हो’

आँखामा पट्टी बाँधिएकी एक महिला रक्ताम्य अवस्थामा ढलेकी छन्, उनको हातमा तराजु छ र छेवैमा छ काठे घन । दृश्य आफैँ बोल्छ, न्यायको प्रतिमूर्ति ढलेको छ । अझ यसमाथि पन्च लाइन छ– श्रीमानद्वारा हत्या ! 

प्रायः कार्टुन हास्य भावमा बनेका हुन्छन् । गम्भीर मुद्दालाई लिएर कोरिएको कार्टुनिस्ट रवि मिश्रको यो कार्टुन १० साउन २०७७ को नयाँ पत्रिका दैनिकमा छापिएको थियो, यस कामबाट मिश्रले निकै चर्चा पाए । 

‘सुरक्षा संयन्त्रको उच्च पदमा रहेका डिएसपी रञ्जन कोइरालाले आफ्नी श्रीमती गीता ढकालको हत्या गरेको सन्दर्भ चर्चामा थियो । उनलाई सर्वोच्च अदालतले सफाइ दियो,’ कार्टुन बनाउनुको सन्दर्भ सम्झँदै मिश्र भन्छन्, ‘हत्या पनि नभनौं, विभत्स हत्याको अभियुक्तलाई अदालतले सहजै सफाइ दियो । व्यक्ति विशेष मात्र नभई अदालतमा न्यायकै हत्या भएको मलाई लाग्यो । यसले मलाई आक्रोशित र उत्तेजित पनि बनाएको थियो ।’

Hardik ivf

यो कार्टुनका लागि उनले एउटा खाका तयार गरे । अदातलसँग जोडिएको विषय भएकाले उनले कार्टुन तयार गर्नुअघि पत्रिकाका तत्कालीन सम्पादक (उमेश चौहान)सँग सल्लाह लिए । ‘मैले सानो आकारमा कोर्ने सोचेको थिएँ, उहाँ (सम्पादक चौहान)ले सकारात्मक टिप्पणीसहित इडिटोरियल कार्टुन कोर्न प्रेरित गर्नुभयो ।’

यस कार्टुन छापिएपछि उनले वरिष्ठ कलाकारहरूबाट समेत प्रशंसा पाएका थिए ।

हिँडेर जाने कि बयलगाडामा ? 

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे । ६ पुसमा नयाँ पत्रिकामा मिश्रको कार्टुन छापियो– ‘हिँडेर जाने कि बयलगाडामा ?’ पन्चलाइनमा । 

०६२/६३ को जनआन्दोलनका बेला देशमा गणतन्त्रको नारा उर्लेको थियो, त्यतिबेला केपी शर्मा ओलीले भनेका थिए– ‘यस आन्दोलनबाट गणतन्त्रमा जान्छौँ भन्नु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो ।’ 

ओलीको यस भनाइको त्यतिबेला निकै आलोचना भएको थियो । ०७७ मा आफ्नो पार्टीको दुईतिहाइको सरकार रहेका बेला उनले राष्ट्रपतिको साथ लिएर संसद् विघटन गरेका थिए । मिश्रले राष्ट्रपति र प्रधानमन्त्रीले संसद्को हत्या गरी तानाशाही बाटोमा हिँडेको दृश्य कार्टुनमा ल्याएका छन् । उनीहरूलाई एउटा गिद्धले भन्छ– हिँडेर जाने कि बयलगाडामा ?

‘पार्टी विवादको कारण देखाएर तत्कालीन प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेका थिए,’ कार्टुनिस्ट मिश्र भन्छन्, ‘पूर्वराजा ज्ञानेन्द्रले जसरी नै ओलीले आफ्नो सत्ता सञ्चालनका लागि लोकतन्त्रमाथि प्रहार गरेका थिए ।’ उनको यो कार्टुन खुबै रुचाइयो, धेरैले प्रशंसा गरे । १२ जेठ २०७७ मा उनको अर्को कार्टुन छापियो– ‘मानवता निषेधित क्षेत्र’ पञ्चलाइनसहित । 

त्यतिबेला कोरोनाका कारण धनुषाको हंसपुर नगरपालिकाका १६ वर्षीय राजु सदाको अस्पतालको आइसोलेसन वार्डको भुइँमा छटपटाएर मृत्यु भएको थियो । उनको मृत्युको दर्दनाक भिडियो सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । 

यो दृश्यलाई लिएर उनले कार्टुन कोरे, जसलाई उनी आफ्नो सम्झनयोग्य कार्टुन ठान्छन् । ‘राजु सदाको मृत्यु भएको अघिल्लो दिन मात्र तत्कालीन प्रधानमन्त्री ओलीले कोरोना निको पार्न बेसार पानी सेवन गर्ने भाषण दिँदै थिए । मानौँ, कोरोना केही होइन, सामान्य रुघाखोकी हो । उता, सरकारको आइसोलेसन सेन्टरमा राजु सदा जीवनजल समेत नपाई मृत्युवरण गर्न पुगे,’ मिश्र भन्छन्, ‘सरकारको आइसोलेसन सेन्टर यातना गृहजस्तो भयो । जीवनजल समेत नपाउनु भनेको मानवता नभएको क्षेत्रजस्तो मलाई लाग्यो ।’ 

उनको कार्टुनमा पन्च लाइन थियो– मानवता निषेधित क्षेत्र । अस्पतालको शय्यामुनि लडेको व्यक्तिको मुखमा उनले रातो रङ पोतिदिए, जसलाई रगत र हत्याकै रूपमा पनि बुझ्न सकिन्छ । 

‘अभिव्यक्तिको माध्यम कार्टुन’

कार्टुनिस्ट मिश्र ०६२/६३ को आन्दोलनपछि यस क्षेत्रमा आएका हुन् । बदलिँदो परिस्थितिसँगै राष्ट्रिय राजनीतिमा विभिन्न मुद्दा बहसमा थिए । कलेज जीवनमा प्रवेश गरेसँगै उनलाई कार्टुनप्रति रुचि बढेको थियो । उनले त्यतिबेला पत्रपत्रिका छापिने सिनियरका कार्टुन खुब हेर्थे र आफूले पनि कोर्ने कोसिस गर्थे । 

०६३ मा पब्लिक युथ क्याम्पसमा बिबिएस अध्ययन गर्दै गर्दा उनको पहिलो कार्टुन हिमालय टाइम्स दैनिकमा छापियो । त्यतिबेलासम्म उनले औपचारिक रूपमा कार्टुन वा चित्रकला सिकेका थिएनन् । त्यसपछि उनका कार्टुन विश्वदीप, छलफल, सम्बोधन जस्ता साप्ताहिकमा छापिन थाले ।

हिमालयन टाइम्समा प्रकाशित पहिलो कार्टुन ।

बिबिएसपछि उनले ललितकलाबाट फाइन आट्र्समा मास्टर्स गरे । २०६७ सालतिर, आर्थिक दैनिकसँग जोडिएर उनको कार्टुन यात्रा अगाडि बढ्यो । त्यसयता उनी कारोबार दैनिक हुँदै अहिले २०७६ देखि नयाँ पत्रिकामा कार्यरत छन् । नयाँ पत्रिकामा ‘कर्नर किक’ शीर्षकमा उनको कार्टुन छापिन्छ । 

‘कार्टुनिस्ट क्लब अफ नेपाल’का महासचिव समेत रहेका मिश्रको यतिखेर व्यस्तता केही चुलिएको छ । अहिले (वैशाख ४–६) उनी ‘निशाना’ शीर्षकको भ्रष्टाचारसम्बन्धी कार्टुन प्रदर्शनीमा व्यस्त छन् ।

प्रतिपक्षी र पन्चलाइन

मिश्रको बुझाइमा कार्टुन कलाकारको सोच र भावनाको उपज हो । ‘कार्टुन अभिव्यक्तिको माध्यम हो,’ कार्टुनिस्ट मिश्र भन्छन्, ‘आफ्ना उत्तेजना, असन्तुष्टि अनि गलत विषयलाई आकृतिमय संरचना र व्यंग्यात्मक शैलीमा प्रस्तुति गर्ने सारथि ठान्छु म कार्टुनलाई । हामी कार्टुनिस्टको कर्तव्य नै विकृति, विसंगतिको प्रतिपक्षमा उभिनु हो । सबैभन्दा बढी विकृति सत्तामै हुन्छ । सत्ताले नराम्रो गर्दा हामी त्यसविरुद्ध उभिनुपर्छ ।’

समाजका हरेक विषय राजनीतिसँग सम्बन्धित हुने उनको बुझाइ छ । ‘मिडियामा आउने प्रायः कार्टुन राजनीतिसँग जोडिएको देखिन्छ,’ उनी भन्छन्, ‘राजु सदाको बारेमा बनाएको कार्टुन सामाजिक थियो । तर, राज्यको लापरबाहीका कारण उनको मृत्यु भयो ।’

कार्टुनमा चित्र आफैँ बोल्छ, त्यसमाथि चोटिलो शब्दको प्रयोग गरिन्छ । कार्टुनमा पञ्चलाइन सन्दर्भ अनुसार ल्याइने उनी बताउँछन् । ‘कुनै विषयमा चित्र आवश्यक पर्छ तर पन्चलाइन त्यति आवश्यक नहुन सक्छ,’ उनी भन्छन्, ‘एक कोलमको पकेट कार्टुनमा क्याप्सनको प्रयोग बढी हुन्छ, कारण चित्र पर्याप्त नहुन सक्छ । इडिटोरियल कार्टुनले धेरै कोलम पाएको हुन्छ, जसमा आर्टमा खेल्न प्रशस्त स्थान हुन्छ र शब्दको प्रयोग कम हुन सक्छ ।’ 

उनको बुझाइमा शब्द र चित्रको संयोजन नै कार्टुन हो । ‘कार्टुनमा चित्र र पन्चलाइन मुड र खुबीले निर्धारण गर्छ,’ उनी भन्छन् । कार्टुनिस्ट मिश्रको कार्टुनसँगै पत्रपत्रिकामा व्यंग्यात्मक आलेख पनि पढ्न पाइन्छ । कार्टुन बनाउने क्रममा आफ्नो व्यंग्य लेखन पनि विकास भएको उनी बताउँछन् । कार्टुन कुनै प्रकरण वा घटनामाथि कोरिने भएकाले सबैभन्दा अघि कलाकारले त्यस सम्बन्धमा अध्ययन विश्लेषण गर्नुपर्ने उनी बताउँछन् । उनको बुझाइमा कार्टुन निचोडमा आउनुपर्छ र चोटिलो पनि हुनुपर्छ । 

सामाजिक सञ्जालमा पनि मिश्रले चोटिला व्यंग्यात्मक टिप्पणी लेखिरहेका हुन्छन्, यसको पनि चर्चा हुने गर्छ । ‘म रमाइलाका लागि सामाजिक सञ्जालमा लेख्छु । आफू कार्टुनिस्ट भएको कारण नभई सामाजिक सञ्जालमा हुने रमाइला गतिविधि र राजनीतिक गतिविधिमा रहेको टिप्पणी पनि मेरो व्यक्तिगत धारणा हुन्,’ उनी भन्छन् । 

आफूले सामाजिक सञ्जालमा राखेका कतिपय धारणालाई लिएर मानिसहरूबाट धम्की र गाली समेत आउने गरेको उनी बताउँछन् । ‘सामाजिक सञ्जालमा आउने प्रतिक्रियालाई उनले सामान्य रूपमा लिन्छन् । कार्टुनमा नयाँ कन्सेप्ट आउनुपर्ने उनको आग्रह छ । ‘०४६ सालअघिका कार्टुन र ०६३ पछिका कार्टुनमा भिन्नता अवश्य हुनुपर्छ,’ उनी भन्छन्, ‘म आफैँ पनि यसमा प्रयत्नरत छु ।’

(भिडियो : कल्याण थापा) 

प्रकाशित मिति: १८:४५ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्