भक्तपुर बिस्कामा रमाइरहँदा नजिकैको जितपुरमा खट जात्राकाे रौनक
यो जात्रामा गणेश र भीमसेन गरी दुईवटा खट हुन्छन्। गणेशको खट छिमेकी गाउँ बागेश्वरीबाट आउने गर्छ भने भीमसेनको खट जितपुरबाटै निकालिन्छ।भक्तपुर, वैशाख १ : आज २०७९ सालको पहिलो दिन। आजको दिनलाई प्रायः सबै नेपालीले उत्सवमय ढंगले मनाइरहँदा भक्तपुर भने बिस्का जात्राको रमझममा रमाइरहेको छ।
वास्तवमा बिस्का जात्राको केन्द्र भक्तपुर नगर नै हो। पहिलेपहिले बिस्का जात्रा हेर्न भक्तपुर नगरबाहिरका जितपुर, सुडाल, बागेश्वरी, छालिङ, नालालगायत ग्रामीण क्षेत्रका बासिन्दा जान्थे।
पछिल्लो समय भने यी ग्रामीण क्षेत्रमा बिस्का जात्राकै अवसरमा अन्य मौलिक जात्रा मनाउन थालिएको छ। त्यसको एउटा उदाहरणका रूपमा भक्तपुरबाट करिब चार किलोमिटर पूर्वमा रहेको जितपुरको खट जात्रालाई लिन सकिन्छ। मिश्रित जातजातिको बसोबास रहेको जितपुरमा नेवार समुदायको बाहुल्य पाइन्छ। खासमा नेवार समुदायकाे अग्रसरतामा जात्रा निकाल्न सुरू गरिएकाे हाे।
यो जात्रामा गणेश र भीमसेनका गरी दुईवटा खट हुन्छन्। गणेशको खट छिमेकी गाउँ बागेश्वरीबाट आउने गर्छ भने भीमसेनको खट जितपुरबाटै निकालिन्छ। धिमे र झ्याली बजाएर निकालिएको खट जात्राले आज (बिहीबार) जितपुर उल्लासमय बनेको छ। जात्रामा नेवार सामुदायका मात्र नभई अन्य जातजातिका मानिसले पनि उल्लेख्य रूपमा सहभागिता जनाएका छन्।
पौराणिक कालमा समुद्र मन्थनपछि निस्किएको विष पिएर त्यसलाई शमन गर्न भगवान् महादेव जितपुरस्थित पोखरी (महादेव पाेखरी) मा आएकाे भन्ने किंवदन्ती रहेकाे यहाँका स्थानीय अग्रज बताउँछन्। त्यहाँबाट महादेव गोसाइँकुण्डतिर लागेकाे जनविश्वास रहेकाे छ। याे जात्राकाे सन्दर्भ साेही किंवदन्तीसँग पनि जाेडिने गरेकाे उनीहरूकाे भनाइ छ।
यसकारण पनि यस क्षेत्रको आफ्नै धार्मिक महत्व छ। जितपुरमै रहेको ब्राह्मायणी मन्दिर आफैमा अर्को महत्वपूर्ण शक्तिपीठ हो।
६ वर्षअघि सुरु भएको थियो खट जात्रा
६ वर्षअघि यहाँका स्थानीय बिस्का जात्रा हेर्न भक्तपुरको तःमारीसम्म धाउँथे। बिहानको नित्य पूजापछि जितपुर सुनसान रहन्थ्यो।
यता जितपुरका छिमेकी गाउँ उत्तरमा सुडाल र दक्षिणमा बागेश्वरीमा भने धेरै अघिदेखि नै खट जात्रा हुँदै आएको थियो। तर अहिले अवस्था त्यस्तो छैन, खट जात्राले गर्दा यो क्षेत्र उत्सवमय बन्ने गरेको छ।
यो मौलिक जात्रा सुरुवातको अगुवाइ स्थानीय प्रेमकुमार श्रेष्ठले गरेका हुन्। ‘६ वर्षअघि हामीले आफ्नै मौलिक जात्राको आवश्यकता महसुस गरी जितपुर संस्कृति विकास समाजको स्थापना ग र्यौं,’ सोही समाजका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, ‘६ वर्षअघि बिस्का जात्रा हेर्न जाँदा यहाँ दिनभर नै सुनसान हुन्थ्यो। ६ वर्षको अवधिमा हामीले आफ्नै ठाउँलाई जात्रामय बनाएका छौं। धिमे र झ्यालीले यस स्थानलाई गुन्जायमान बनाइरहेको छ।'
सुरुवाती वर्ष खट जात्राका लागि बाजा बजाउने समूह (खलः) तयारी गर्दैमा धेरै समय बित्यो। त्यसबेला स्थानीयबाट राम्रै हौसला मिल्यो। प्रत्येक घरबाट जनही सय रुपैयाँको दरले आर्थिक सहयोगमा जात्रा निकाल्न थालियो। हाल जात्राकै लागि कोष स्थापित भइसकेको उनी बताउँछन्।
खट जात्रा विशेषतः नयाँ वर्ष (बिस्का जात्रा) र गणेश चौथी गरी वर्षमा दुईपटक निकालिने उनले बताए। खट जात्रा जितपुरको चेलागुरु गणेश मन्दिरबाट सुरु भई अन्य विभिन्न मन्दिर तथा शक्तिपीठमा परिक्रमा गराइन्छ।
गणेश मन्दिरबाट सुरु भएको खटको यात्रा देवीस्थान, कृष्ण मन्दिर, महादेवस्थान, नासिका मन्दिर, ब्राह्मयाणी, दोलखा भीमसेन, दक्षिणकाली, ठुलो ढुंगा, वरपिपल स्थान हुँदै पुनः चेला गुरु गणेश मन्दिरमा पुर्याई समापन हुने श्रेष्ठले जानकारी दिए। यस अवधिमा करिब १० किलोमिटरको यात्रा तय हुने उनले बताए।
जात्रामा बाजाका लागि सहजता भने जितपुरकै जय दोलखा भीमसेन द्येमा खलः ले गर्ने गरेको छ। खलःका अध्यक्ष सत्यराज तसेजुका अनुसार जात्रामा बाजाको विशेष महत्व रहन्छ।
‘हाम्रो इष्टदेव दोलखा भीमसेनका नामका धिमे खलःको स्थापना २०७६ सालमा भयो,’ उनी भन्छन्, ‘लगत्तै बाँकी दुई वर्ष कोरोना महामारीका कारण जात्रालाई बाजागाजासहित भव्य बनाउन सकिएन। यसपालि कोरोनाको संक्रमण् न्यून भएका कारण दुई वर्षको जात्रा मनाउन नपाएको भोक पूर्ण भएको छ।’
युवाको सक्रियता
६ वर्षको अवधिमा जात्रा यस तवरले सशक्त र सफल हुनुमा यहाँका युवालाई श्रेय दिनुपर्ने ठान्छन् अध्यक्षद्वय प्रेमकुमार श्रेष्ठ र सत्यराम तसेजु । ‘जात्रा सञ्चालन सहज विषय होइन, यसमा युवापुस्ताबाट भएको सहयोग निकै सराहनीय छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘वाद्यवादनदेखि खट यात्रा तथा भोज सञ्चालनमा जनशक्तिका रूपमा युवाहरू नै अग्रसर हुन्छन्। हामीले केवल बाटो देखाउने हो।’
६ वर्षको अन्तरालमा जात्राका लागि सक्रिय रहेका कतिपय युवा शैक्षिक तथा वैदेशिक रोजगारीका सिलसिलामा गाउँबाट पलायन भए। यद्यपि उनीहरूबाट भएको आर्थिक मात्र नभई नैतिक सहयोगले थप ऊर्जा दिएको श्रेष्ठ भन्छन्। नयाँ पुस्तामा हस्तान्तरण भइरहेको संस्कृति चेतनाले जात्राले निरन्तरता पाउनेमा श्रेष्ठ र तसेज दुवै आशावादी छन्।