Kathmandu Press

२०७८ मा रंगमञ्च : बढे दर्शक, मण्डला र गुरुकुलको दोस्रो इनिङ

‘दश वर्षपछिको कमब्याकमा आफूले स्थापित गरेको केही दर्शक छुट्दाको दुःख र नयाँ दर्शकको साथ सहयोगले उत्साही बनाएको छ। हामीले बाहिर त्यति पब्लिसिटी गरिसकेका छैनौँ। गुरुकुलले बिस्तारै पिकअप लिएको छ।’
२०७८ मा रंगमञ्च : बढे दर्शक, मण्डला र गुरुकुलको दोस्रो इनिङ

काठमाडाैं, वैशाख १ : काेरोना संक्रमण घटेसँगै बिस्तारै हरेक क्षेत्र चलायमान अवस्थामा छन्। वर्ष २०७८ मा रंगमञ्च क्षेत्र केही आशा र उमंगका साथ जुर्मुरायो। वरिष्ठ रंगकर्मी सुनील पोखरेलले १० वर्षपछि यही वर्ष आरोहण गुरुकुल पुनः सञ्चालनमा ल्याए। कोराना लगायत कारण केही समय बन्द रहेको मण्डला थिएटरले यसै वर्ष नयाँ ठाउँमा नयाँ उमंगका साथ नाटकको मञ्चन थाल्यो। 

२०७८ को अन्त्यदेखि आरोहण गुरुकुलमा ‘भवचक्र’, मण्डलामा ‘तीन ट्रान्जिट’ मञ्चन भइरहेका छन्। कौसी थिएटरमा ‘उलार’, शिल्पीमा ‘अलिकति उज्यालो’, कथा घेरामा ‘रियो’ नाटक मञ्चनको अन्तिम तयारीमा छन्। 

थिएटर मल कीर्तिपुर रंगमञ्चलाई यो वर्ष एउटै नाटकबाट राम्रो सफलता मिलेको छ। अन्जान प्रदीपको निर्देशन र केदार श्रेष्ठको परिकल्पनामा पारिजातको उपन्यास ‘शिरीषको फूल’ फागुन २७ देखि चैत १२ सम्म प्रदर्शन गरियो, यस नाटकले करिब २ हजार दर्शक पाएको केदार श्रेष्ठले जानकारी दिए। यसबाहेक पाेखरामा पनि यस नाटकले राम्रो दर्शकको साथ पाएको उनको भनाइ छ। 

Hardik ivf

दोस्रो लकडाउनपछि चलायमान मञ्च

वर्ष ०७८ मा ‘नो एक्जिट : अनुपस्थित तीन’, ‘ढकिया मे नागरिकता’, ‘एज यु लाइक इट’ ‘स्टप किस’ नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भए। फरकफरक विधाका यी भिन्न नाटकलाई दर्शकको राम्रो साथ मिल्यो। 

यसबाहेक, शिल्पीको अग्रसरता सडक नाटकमा पनि रह्यो। शिल्पी थिएटरका प्रमुख घिमिरे युवराजका अनुसार, पछिल्लो चार–पाँच महिना रंगमञ्चीय गतिविधिका दृष्टिले निकै प्रभावकारी भयो। 

‘तेस्रो लहर सकिएसँगै अचानक प्रायः नाटकघरमा नियमित नाटक हुन थाले, ब्याक टु नर्मल भएको जस्तो आभास भएको छ,’ घिमिरे भन्छन्, ‘शिल्पीको सन्दर्भमा पनि गाह्रो परिस्थितिबाट गुर्जंदै हाल नर्मल हुन थालेका छौँ। कोराना त्रास र अभावकै माझ पनि हामीले ‘नो एक्जिट : अनुपस्थित तीन’लाई पाँच दिन मञ्चन गर्‍यौँ। त्यसपछि अनलाइन लाइभ पनि भयो।’

मुक्त रंगमञ्चको अवधारणामा मोफसलका २० ठाउँ र काठमाडौंको वसन्तपुर डबलीमा ‘ठूला माछा, साना माछा’ नाटक मञ्चन गरेको उनी बताउँछन्। 

उनका अनुसार, यस थिएटरमा अन्य समूहबाट मञ्चित ‘स्टप किस’, ‘एज यु लाइक इट’ र ‘ढकिया मे नागरिकता’ नाटकले दर्शकको राम्रो साथ पाए। ‘दुई वर्षजस्तो नाटक घर शून्य रहे। यस वर्ष केही नाटकले दर्शक तानेको देख्दा आशा बढेको छ,’ उनले भने। 

वर्ष २०७८ मा टेकुस्थित कौसी थिएटरमा ‘हरेक बबाल कुरा’, ‘पचली भैरव’, ‘एनिमल फार्म’, ‘ढल्केको सालैजो’ मञ्चन भए। चारवटै नाटकको सफलताले कौसी थिएटरकी प्रमुख आकांक्षा कार्की उत्साही छन्। ‘एनिमल फार्म’ र ‘हरेक बबाल कुरा’बाट अनपेक्षित रूपमा दर्शक पाएको उनी बताउँछिन्। ‘एनिमल फार्म हाउसफुल रह्यो। हरेक बबाल कुरा हामीले यसरी चल्छ भनी  सोचेकै थिएनौँ, दर्शककै मागमा एक हप्ता मञ्चन लम्ब्याउनुपर्‍यो,’ उनले भनिन्।

गुरुकुल र मण्डलाको दोस्रो इनिङ

एक दशकअघि बन्द भएको आरोहण गुरुकुलले २०७८ मा ‘पुतलीको घर’ र ‘ताराबाजी लैलै’ मञ्चन ग¥यो। अहिले यहाँ ‘भवचक्र’ मञ्चन भइरहेको छ। 

आरोहण गुरुकुलका प्रमुख सुनील पोखरेल वर्ष २०७८ मा रंगमञ्च जुर्मुराउन थालेको बताउँछन्। ‘दश वर्षपछिको कमब्याकमा आफूले स्थापित गरेको केही दर्शक छुट्दाको दुःख र नयाँ दर्शकको साथ सहयोगले उत्साही बनाएको छ,’ उनले भने, ‘हामीले बाहिर त्यति पब्लिसिटी गरिसकेका छैनौँ। गुरुकुलले बिस्तारै पिकअप लिएको छ।’ 

काठमाडौं, अनामनगरमा रहेको ‘मण्डला थिएटर’ नाटकका लागि पछिल्ला केही वर्ष केन्द्रजस्तै बनेको थियो। कोरोना कालमा बन्द रहेको मण्डला थिएटरले २०७८ को फागुनदेखि थापागाउँको नयाँ भवनबाट नाटक मञ्चन सुरु ग¥यो। २०७८ मा यहाँ ‘रोगन’ र ‘मीतज्यू’ मञ्चन भए। अहिले ‘तीन ट्रान्जिट’ मञ्चन भइरहेको छ। नाटक मीतज्यूलाई राम्रो दर्शकको साथ भएसँगै थप सो आएको सोमनाथ खनाल बताउँछन्। 

नाटक मात्र नभई कलाका सबै विधामा दर्शकको राम्रो उपस्थिति रहेको खनाल बताउँछन्। ‘०७८ मा चलचित्रतर्फ दक्षिण भारतीय चलचित्र आरआरआरदेखि कलाको महाकुम्भ काठमाडौं ट्रिनाले २०७७ पनि लागिरहेको थियो,’ उनी भन्छन्, ‘योसँगै नाटक हेर्न दर्शकको पनि कमी थिएन। यसलाई कला क्षेत्र चलायमान भएको बुझ्न सकिन्छ।’

मोफसलमा उत्साह

‘पोखरा थिएटर’ कास्की पोखरामा भर्खरै ‘शिरिषको फूल’ नाटक मञ्चन भयो। थिएटरका संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनका अनुसार, कोभिडको असरपछि २०७८ को मंसिरबाट यहाँ ‘चरणदास चोर’ नाटक मञ्चन भयो। त्यस्तै, गण्डकी प्रदेशको विद्यालय स्तरीय नाटक महोत्सवका अवसरमा यहाँ १२ वटा नाटक मञ्चन भए।

‘पुरानै स्थितिमा फर्कन त समय लाग्ला तर, ब्याक टु नर्मलको चरणमा छौँ,’ उनी भन्छन्, ‘यहीबीचमा नाटक लेखनदेखि निर्देशन, अभिनय कार्यशाला पनि भएका छन्।’ 

झापाको दमकस्थित कदम थिएटरले २०७८ को वैशाखमा एउटा नाटक तयार गरेको थियो। तर, दोस्रो लहरको कोरानाका कारण नाटक मञ्चन गर्न नसकिएको कदम थिएटरका प्रमुख सिजन दाहाल बताउँछन्। ‘लकडाउन सहज भएपछि भदौको अन्तिममा क्लोज क्याम्प गरी तिम्रो आँखामा खसेको साँझ नामक मञ्चनको तयारी गर्‍यौँ। सागर खातीको निर्देशनमा मञ्चन भएको थियो,’ उनले भने।

यसबाहेक यहाँ ‘ठूला माछा, साना माछा’, ‘एल्लो कमेडी’, ‘कचहरी र चौतारी’ नाटक मञ्चन भए। दाहालका अनुसार, यहाँ नाटक हेर्ने एक खालका दर्शक छन्। राम्रो नाटक मञ्चन भए उनीहरु हेर्न आउँछन्। ‘नाटकका दर्शक तीनदेखि चार हजारसम्म भए हामी हाउसफुल मान्छाैं,’ उनले भने, ‘दुई-तीन सय दर्शक घटी र बढी हुँदा खासै फरक हुँदैन।’ 

शब्द थिएटर ग्रुपका प्रमुख जीवन बराल पूर्व मोरङमा नाटकको माहोल रहेको बताउँछन्। ‘अनि देउराली रुन्छ,’ नाटकलाई काठमाडौंमा जस्तै मोरङमा पनि करिब पाँच हजार दर्शकले हेरेको उनी बताउँछन्। 

‘एकातर्फ साहित्य पारखी युवाले नाटकलाई माया गरिरहे भने अर्कोतर्फ कोरोनाकालको पीडालाई भुलाउने माध्यम सायद नाटक बन्यो,’ बराल भन्छन्, ‘नाटक हेर्न आउने कतिपय दर्शकले पीडा बिर्सन नाटक हेर्न आएको बताएका थिए।’

काँकडभिट्टास्थित परिवर्तन थिएटरको माहोल भने केही फरक छ। यस वर्ष परिवर्तन थिएटरले कुनै पनि नाटक मञ्चन गर्न नसकेको थिएटरकी प्रमुख कविता नेपालले बताइन्। ‘व्यवस्थापनदेखि कलाकार पलायनको समस्याले गर्दा यस वर्ष नाटक मञ्चन हुन नसकेको उनले बताइन्। 

‘फोरम थिएटरमा भने सक्रिय नै छौँ। यसमा प्रोजेक्ट अनुसार आयोजकले दिएका विषय मञ्चन गरिन्छ,’ उनले भनिन्। 
 

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्