२०७८ मा पुस्तक बजार : कोरोनाका कारण प्रकाशनमा कमी, केही पुस्तक आशालाग्दा
बन्दाबन्दीले दैनिकी र अर्थतन्त्रमा प्रभाव पारे पनि साहित्यकारलाई सिर्जनाका लागि उत्तम समय रहेको मानिएको थियो। कोरोनापछि पुस्तक प्रकाशनको बाढी नै आउन सक्ने अनुमान कतिले गरेका थिए। तर सोचेजस्तो भएन।काठमाडाैं, चैत ३० : कोरोनाकालको बन्दाबन्दीसँगै एउटा चर्चा चल्यो- किताब पढेर बस्न हुन्थ्यो, तर किन्न पाइएन। बन्दाबन्दीले दैनिकी र अर्थतन्त्रमा प्रभाव पारे पनि साहित्यकारलाई सिर्जनाका लागि उत्तम समय रहेको मानिएको थियो। कोरोनापछि पुस्तक प्रकाशनको बाढी नै आउन सक्ने अनुमान कतिले गरेका थिए। तर सोचेजस्तो भएन।
फाइन प्रिन्टका प्रकाशक अजित बराल भन्छन्, ‘कोरोनाकालअघि पनि पुस्तक बजार खासै चुस्त थिएन। एक तहका पाठक मात्र छन्। ५–६ वर्ष अघिजस्तो पठन संस्कृति र पाठक वर्ग अहिले छैनन्, कोरोनाले अझ थला पा¥यो। कोरोना महामारीका कारण करिब दुई वर्ष सुस्ताएको पुस्तक बजार बिस्तारै तंग्रिन भने थालेको छ।’
यस वर्ष फाइन प्रिन्टले १०–१२ पुस्तक प्रकाशित गरेको प्रकाशक बराल बताउँछन्।
पत्रकार तथा लेखक बसन्त बस्नेतको उपन्यास महाभाराले आफूहरूलाई ऊर्जा मिलेको उनको भनाइ छ। फाइनप्रिन्टले पुस २४ गते महाभारा बजारमा ल्याएको थियो।
‘बसन्त बस्नेत नाम चलेका लेखक तथा पत्रकार भएकाले पनि महाभाराले पुस्तक बजारमा चर्चा र बिक्री बढायो,’ बराल भन्छन्, ‘कोरोनापछिको समयमा प्रकाशकका लागि प्रकाशित पुस्तकले चर्चा र बजार पाउनु आशलाग्दो पक्ष हो।’
पैरवी बुक हाउसका प्रकाशक चन्द्रप्रसाद शिवाकोटी यस वर्ष (२०७८) आफूहरूले १५ वटा मात्र पुस्तक बजारमा ल्याएको बताउँछन्।
‘पछिल्लो समय प्रत्येक वर्ष हामीले ४० देखि ५० वटासम्म पुस्तक प्रकाशन गथ्र्यौं,’ उनले भने, ‘हामीले साहित्य र कानुनसम्बन्धी पुस्तक प्रकाशन गर्छौं। हाम्रो ध्येय पाठक वर्गलाई प्रेम कथानक सन्दर्भ सामग्रीतर्फ मात्र नभई सामाजिक सन्देशका सामग्रीतर्फ पनि आकर्षित गराउनु होे।’
पैरवीबाट यस वर्ष प्रकाशित आख्यानमा झमक तिमिल्सेनाको ‘अन्धकुप’ उपन्यास, चन्द्रकुमार पन्जियारको ‘आइन्स्टाइन र जुलियट’ कथा, विमल सिटौलाको ‘निर्दोष डेरावाला’ उपन्यास लगायत छन्।
उनका अनुसार, कोरोना महामारी फैलिएसँगै पाठक वर्ग मात्र नभई पुस्तक प्रकाशनमै पनि कमी आएको छ। पैरवीले प्रकाशनका लागि केही पुस्तक पाइपलाइनमा राखेको छ। ‘बजार हेरेर मात्र पुस्तक प्रकाशन गर्छौं,’ उनी भन्छन्, ‘कोरोनाअघि पेपरको सुलभता थियो तर कोरोनापछि पुस्तक प्रकाशनकै लागि पनि पेपर पाउन मुस्किल छ। पेपरको मूल्य अहिले दोब्बर पर्न जान्छ।’
बुक–हिलले हालै गिरिश गिरीले लेखेको ‘सत्यमोहन जोशीको आत्मकथा’ पुस्तक बजारमा ल्याएको छ। यस पुस्तकले यतिखेर बजारमा चर्चा बटुल्दै छ। तीन–तीनपटक मदन पुरस्कार विजेता, शताब्दी पुरुषको पदवी पाएका संस्कृतिविद् जोशीको पुस्तकप्रति चासो राख्नेको कमी छैन।
यस वर्ष नयाँ पुस्तकमा जोशीसहित अन्य पाँच, केही अनुवादित र केही रिप्रिन्ट गरिएको बुक हिलका प्रकाशक भूपेन्द्र खड्का बताउँछन्।
यस्तै, प्रत्येक वर्ष उल्लेखनीय संख्यामा पुस्तक प्रकाशन गर्दै आएको सांग्रिला बुक्सले यस वर्ष पनि केही पुस्तक बजारमा ल्याएको छ। सांग्रिला बुक्सका प्रकाशक मणि शर्माले पुस्तक प्रकाशन र बजारका सम्बन्धमा बताउन चाहेनन्।
पाठकको माग
पैरवी बुक हाउस प्रकाशकसँगै वितरक पनि हो। आफूहरूकहाँ कृष्ण धरावासीका पुस्तक खोज्ने पाठक बढी आउने उनी बताउँछन्। ‘धरावासीका राधा, झोला, आधाबाटो, तल्लो बाटो लगायत कृति पाठकको रुचिमा छन्,’ उनी भन्छन्, ‘धरावासीका पुस्तक हरेक वर्ष उत्तिकै मागमा हुन्छ। त्यस्तै, सुविन भट्टराई, विजयकुमार पाण्डे, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका पुस्तक पनि सोही अनुपातमा खोजी हुन थालेको छ।’
आफूले बजारमा ल्याएका पुस्तक प्रायः सबैले बजार पाएको बुकहिलका प्रकाशक खड्का बताउँछन्। ‘हालसम्म प्रकाशित पुस्तक रिजेक्ट भएका छैनन्,’ उनी भन्छन्, ‘यद्यपि, कोरोनाको असर परेकै छ।’
पैरवीका प्रकाशक शिवाकोटी युवा पाठकको अंग्रेजी साहित्यतर्फ झुकाव बढेको बताउँछन्। ‘अहिले नियात्रा विधाका पाठक पनि बढेका छन्,’ उनी भन्छन्, ‘पाठक वर्गमा यस प्रकारको सचेतना देखेर आशावादी छु।’
कान्तिपथस्थित ‘एडुकेशनल बुक हाउस’का रमण राउत पछिल्लो समय अंग्रेजी साहित्यदेखि ‘सेल्फ हेल्प’ तथा ‘मोटिभेसनल’ पुस्तकतर्फ पाठक आकर्षित भएको बताउँछन्। ‘ठ्याक्कै रुचिमा यही पुस्तक छ भनेर भन्न सकिँदैन’, रमण राउत भन्छन्, ‘किशोरकिशोरीमा प्रेरणादायी, प्रेम कथाकन, साइकोलजिकल, थ्रिलर आदि रुचिकर विधा हुन्।’
उनका अनुसार, उसो त नयाँ पुस्ता भागवत् गीता लगायत धार्मिक ग्रन्थतर्फ पनि आकर्षित छन्।
कान्तिपथकै ‘मण्डला बुक्स’का म्यानेजर सिद्धार्थ महर्जन आफूकहाँ सर्वाधिक खोजी हुने पुस्तकमा ‘रिच ड्याड पोर ड्याड’को नाम लिन्छन्। ‘योसँगै पछिल्लो समय नेपालको इतिहास, संस्कृति, राजनीतिक विषयका पुस्तक खोज्ने पाठक पनि बढेको पाउँछु,’ उनी भन्छन्।
आइएसबिएन लिनेको तथ्यांक १९५१
पुस्तकमा राखिने ‘इन्टरनेसनल स्ट्यान्डर्ड बुक नम्बर’ (आइएसबिएन) त्रिभुवन विश्वविद्यालयको अन्तर्गतको केन्द्रीय पुस्तकालयबाट लिनुपर्छ।
पुस्तकालयले हामीलाई चालू आर्थिक वर्षको साउनदेखि मंसिर १५ सम्मको मात्र तथ्यांक उपलब्ध गरायो। आइएसबिएन शाखाका प्रमुख कमलबहादुर कायस्थका अनुसार, यो अवधिमा १९ सय ५१ पुस्तकका लागि आइएसबिएन वितरण गरिएको छ। ‘वितरण भएकामध्ये तीन सय ५० मात्र दर्ता भएको छ।’