Kathmandu Press

स्याङ्जामा दर्जनौँ आकांक्षी, कुन पालिकामा कसको सम्भावना ? 

यसअघिको स्थानीय तह निर्वाचनमा स्याङ्जाका तीन नगरपालिकामा कांग्रेसले जित हासिल गरेको थियो भने २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तहमा नेकपा एमालेले जित हासिल गरेको थियो ।
स्याङ्जामा दर्जनौँ आकांक्षी, कुन पालिकामा कसको सम्भावना ? 

काठमाडौं, चैत २९ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँ–गाउँमा चुनावी माहोल तातेको छ । ११ स्थानीय तह (५ नगरपालिका र ६ गाउँपालिका) रहेको स्याङ्जा जिल्लामा वडा तहदेखि नै आकांक्षी धेरै भइदिँदा दलहरूलाई उम्मेदवार छान्न सकस परेको छ । एकै वडा र पालिकामा दर्जनौँसम्म आकांक्षी हुँदा उम्मेदवार छान्न हम्मे–हम्मे परेपछि धेरै पालिका तथा वडाबाट आकांक्षीमध्ये सबैलाई सिफारिस गरेर सम्बन्धित संसदीय बोर्डमा पठाइएको छ। 

यसअघिको स्थानीय तह निर्वाचनमा स्याङ्जाका तीन नगरपालिकामा कांग्रेसले जित हासिल गरेको थियो भने २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तहमा नेकपा एमालेले जित हासिल गरेको थियो । यस्तै एक गाउँपालिकामा कांग्रेसले मेयर जित्दा एमालेले उपमेयर जितेको थियो । कुन स्थानीय तहमा को–को छन् आकांक्षी ? 

पुतलीबजार नगरपालिका 

Hardik ivf

यसअघि यस नगरपालिकामा प्रमुख र उपप्रमुख पद एमालेले जितेको थियो । यसपटकको निर्वाचनमा एमालेबाट मेयर बनेकी सीमाकुमारी क्षेत्री र उपमेयर बनेका महेश पुरीसहित धेरै आंकाक्षी देखिएका छन् । उनीहरूसँगै एमालेबाटै अनन्तकुमार श्रेष्ठ, दीपक लम्साल र नन्दकुमारी लम्साल लगायतको सम्भावना छ। 

यसअघि कांग्रेसबाट एमालेमा प्रवेश परेका दीपक र नन्दकुमारीमध्ये एकजनालाई मेयर वा उपमेयर दिनुपर्ने उनीहरूको माग छ । एमालेबाट मेयर पदको आकांक्षी रहेका श्रेष्ठको सम्भावना उत्तिकै बलियो रहेको बताइन्छ । सत्तारुढ दलले देशभर गठबन्धन गर्दा नगरभित्र गठबन्धन भएको खण्डमा गठबन्धनलाई हराउन सक्ने उम्मेदवारका रूपमा समेत श्रेष्ठलाई हेरिएको जिल्लाका जानकार नेता बताउँछन्। 

 मेयरमा आकांक्षीहरू क्रमशः तुलसी रेग्मी, सिमा क्षेत्री, अनन्त कुमार श्रेष्ठ र तुलसी गिरी

कांग्रेसबाट मेयर बन्न चाहनेको सूची लामै छ । कांग्रेसबाट यसअघिको स्थानीय तह निर्वाचनमा पराजय भोगेका तुलसी रेग्मी, तुलसी गिरी, भरत लम्साल र देवी अर्याल लगायतले इच्छा देखाएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजय भोगेका रेग्मी बलियो दाबेदारका रूपमा देखिएको भए पनि एकपटक पराजय भोगेकालाई पुनः उठाउनुभन्दा नयाँलाई अवसर दिनुपर्ने माग नउठेको भने होइन । 

कांग्रेसबाट दाबेदारीमा रहेका गिरी यसअघि प्रदेश सांसद पदमा पराजय व्यहोरेकाले यसपटक हालका कांग्रेस क्षेत्र १ का क्षेत्रीय सभापति समेत रहेका रेग्मीलाई नै मेयरको उम्मेदवार बनाउन सक्ने स्रोतको दाबी छ । एमालेले भने पुनः वर्तमान मेयर क्षेत्रीलाई नै टिकट दिएको खण्डमा आफूहरूलाई बाजी मार्न सजिलो हुने कांग्रेसीको आकलन रहेको छ । 

वालिङ नगरपालिका 

यसअघिको निर्वाचनमा मेयर र उपमेयर दुवै पद आफ्नो पोल्टामा पारेको कांग्रेसले यसपटक पनि आफ्नो पोल्टामा पार्ने रणनीतिका साथ अगाडि बढेको देखिन्छ । कांग्रेसबाट हालका नगर प्रमुख दिलीपप्रताप खाँण, पूर्वनगर प्रमुख भोजराज अर्याल, हालकी उपप्रमुख कल्पना तिवारी, कांग्रेस जिल्ला उपसभापति केदार काफ्ले, लक्ष्मीप्रसाद रेग्मी, अर्जुन प्रकाश अर्याल, नेत्रप्रसाद पाण्डे र दामोदर लम्साल लगायतले मेयर पदका लागि आवेदन दिइसकेका छन्।

दिलिपप्रताप खाण र कृष्ण खाण

यीमध्ये देशभरमै उत्कृष्ट नगरपालिका बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खाँणलाई नै मेयर पदमा दोहोर्‍याउने कतिपयको बुझाइ छ । नेकपा एमालेबाट पुण्य अर्याल, कृष्ण खाँण र शोभाकान्त पौडेल लगायतको नाम चर्चामा रहेको छ । यीमध्ये अर्यालले यसअघिको निर्वाचनमा पनि पराजय भोगेका थिए । 

भीरकोट नगरपालिका 

अघिल्लो निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको यस नगरमा कांग्रेसबाट हालका मेयर छायाराम खनाल, उपमेयर सिमा कर्माचार्य, यामप्रसाद अधिकारी (लक्ष्मण), दीपेन्द्र केसी र भेषराज अर्याल लगायत आकांक्षी रहेका छन्। 

वर्तमान मेयर र उपप्रमुख दुवैजनाले पुनः दोहोर्‍याउन चाहे पनि यस नगरमा युवा पुस्ताबाट अधिकारी, अर्याल र केसी बलियो दाबेदारका रूपमा देखिएका छन् । हालका वडाध्यक्ष समेत रहेका अधिकारी त्यस क्षेत्रमा धेरै खट्ने मध्येका भएकाले कांग्रेसबाट उनले टिकट पाउने सम्भावना रहेको बुझिएको छ। 

याम प्रसाद अधिकारी (लक्ष्मण)

यस्तै नेकपा एमालेबाट सन्तोष केसी, विश्वनाथ अर्याल र हर्क गुरुङ लगायतको नाम चर्चामा रहेको छ । यीमध्ये केसी यसअघिको स्थानीय निर्वाचनमा पराजित भएका थिए भने अर्याल हाल एमालेको नगर अध्यक्ष हुन्। 

गल्याङ नगरपालिका 

अघिल्लो निर्वाचनमा एमालेले बाजी मारेको यस नगरमा जिल्लाका हेभीवेट मानिने जिल्ला अध्यक्ष समेत रहेका सुरज गैह्रे पारसको बढी सम्भावना देखिएको छ । उनीसँगै हालका मेयर भुपराज अधिकारीले पनि दोहोर्‍याउन चाहेका छन्। 

श्याम बस्याल, सुर्य प्रसाद गैह्रे (पारस) र गुरु प्रसाद भट्टराई

यता, कांग्रेसबाट यसअघि पराजय भोगेका लालगोपाल अर्याल, गुरु भट्टराई, श्यामप्रसाद बस्याल, महेश भट्टराई र ध्रुव पंगेनी लगायतले मेयरका लागि दौडधुप गरेका छन् । यस नगरमा कांग्रेसबाट भट्टराई र बस्यालमध्ये एकले टिकट पाउने बताइएको छ । भट्टराई कांग्रेस जिल्ला सचिव हुन् भने हाल कांग्रेस नगर सभापति रहेका बस्याल गरिमा बिकास बैंकका अध्यक्ष समेत हुन्। 

चापाकोट नगरपालिका 

यसअघिको निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको चापाकोटमा हालका मेयर शिवकुमार गिरी, ईश्वर खाँण र रामचन्द्र पंगेनीमध्ये एक उम्मेदवार बन्ने लगभग निश्चित छ । खाँण पूर्वक्षेत्रीय सभापति हुन् भने पंगेनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नगर सभापति हुन्। 

डा. बुद्विमान श्रेष्ठ र शिव गिरी

नेकपा एमालेबाट डा. बुद्धिमान श्रेष्ठ र राजु कोइरालामध्ये एकले टिकट पाउने बताइएको छ । श्रेष्ठले यसअघिको निर्वाचनमा पराजय भोगेका थिए । केन्द्रकै राजनीतिमा समेत आशा बोकेका श्रेष्ठ कान्तिपुर डेन्टल कलेजका सञ्चालक समेत हुन् । यद्यपि उनलाई केन्द्रको राजनीतिमा तानेर कोइरालालाई उम्मेदवार बनाउन सक्ने चर्चा पनि चलेको छ। 

फेदीखोला गाउँपालिका 

नेकपा एमालेको गढका रूपमा चिनिँदै आएको यस गाउँपालिकामा एमालेबाट घनश्याम सुवेदीलाई नै दोहोर्‍याउने सम्भावना प्रबल देखिन्छ । यद्यपि उनीसँगै पुष्प बराल पनि रेसमा देखिएका छन् । यता, नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष रहेका महेन्द्र थापालाई उम्मेदवार बनाउने सम्भावना छ । उनीसँगै लालबहादुर अधिकारी र कुलबहादुर खत्री पनि रेसमा देखिएका छन्।

घनश्याम सुवेदी र महेन्द्र थापा

पछिल्लो समय पालिकाको राजनीतिमा प्रभाव जमाउने सक्ने नेकपा एमालेका नेता लक्ष्मीप्रसाद बराल (बद्री) कांग्रेस प्रवेश गरेपछि एमालेलाई ठूलो क्षति पुगेको छ । यद्यपि हालसालै कांग्रेसमा प्रवेश गरेका बरालले पनि आफूलाई अध्यक्षको उम्मेदवार बनाउनुपर्ने बताउँदै आएका छन्। 

कालीगण्डकी गाउँपालिका 

यसअघि एमालेले जितेको यस पालिकामा हालका गाउँपालिका अध्यक्ष खिम थापा र कृष्ण लामिछानेमध्ये एक उम्मेदवार बन्ने सम्भावना छ । यस्तै कांग्रेसबाट यमप्रसाद पाण्डे, होमप्रसाद भट्टराई र माया रानामध्ये एकको सम्भावना देखिन्छ। 

आँधीखोला गाउँपालिका 

अघिल्लो निर्वाचनमा एमालेकै वर्चस्व रहेको यस गाउँपालिकामा हालका अध्यक्ष सुधीर पौडेलकै सम्भावना बलियो देखिन्छ । उनीसँगै एमालेकै विश्व पौडेलले पनि दाबी गरेका छन्।

यता, कांग्रेसबाट प्रेमराज पौडेलको सम्भावना बढी देखिन्छ भने यसअघि हार बहोरेका प्रदीप पौडेलले समेत पुनः उम्मेदवार बन्नका लागि इच्छा देखाएका छन्। 

अर्जुनचौपारी गाउँपालिका

यसअघि अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेले जितेको यस पालिकामा एमालेबाट मोहन अधिकारी, चक्र गुरुङ र चिनमाया गुरुङमध्ये एकलाई अध्यक्षको उम्मेदवार बनाउने देखिन्छ । चिनमाया यसअघिको स्थानीय तह निर्वाचनमा एमालेबाट उपमेयरमा बिजयी भएकी थिईन् । 

कांग्रेसबाट हालका अध्यक्ष दीर्घनारायण अर्यालसहित प्रदेश सभा १ (ख) का सभापति प्रकाश तिवारी, ख्यामनारायण खनाल र विष्णु काफ्लेले चुनाव लड्नका लागि तयारी गरेका छन् । स्रोतका अनुसार यीमध्ये भर्खरै राजनीतिमा देखिएका युवा नेता तिवारीलाई कांग्रेसले उम्मेदवार बनाउने छ। 

हरिनास गाउँपालिका 

अघिल्लो निर्वाचनमा एमालेले जितेको यस गाउँपालिकामा हालका अध्यक्ष खिम नारायण मानन्धरलाई नै पुनः सर्वसम्मत उम्मेदवार बनाइने भएको छ । यस गाउँपालिकामा कांग्रेसबाट टोपा भुजेल, अजित अधिकारी क्षेत्री र टोपबहादुर चन्द (कृष्ण) मध्ये एकले टिकट पाउने सम्भावना छ।

अजित क्षेत्री र खिम नारायण मानन्धर

भुजेल कांग्रेसको पालिका सभापति हुन् भने कृष्ण पूर्वपालिका सभापति हुन् । लामो समय विद्यार्थी राजनीतिबाट उदाएका क्षेत्री हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेश सदस्य हुन्। 

बिरुवा गाउँपालिका 

एमालेको पोल्टामा परेको यस गाउँपालिका एमालेबाट हालका अध्यक्ष चुनप्रसाद शर्मासहित सूर्य कुँवर र प्रकाश थापामध्ये एकजनाले टिकट पाउनेछन् भने कांग्रेसबाट पालिका अध्यक्ष समेत रहेका डोलराज पोखरेल, युवराज केसी र कमलबहादुर खड्का लगायतको नाम चर्चामा छ। 

गठबन्धनको अवस्था 

स्याङ्जामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको उल्लेखनीय प्रभाव नदेखिने भए पनि धेरै पालिकामा एमालेको वर्चस्व देखिएकाले स्थानीय तहमा गठबन्धनको सम्भावना देखिएको छ । नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाका अनुसार गठबन्धन गर्ने विषयमा एक चरण ११ वटै स्थानीय तहमा छलफल भइसकेको तर कुन–कुन पालिकामा गठबन्धन गर्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन । अब फेरि गठबन्धनका सबै दलसँग छलफल गरेर टुंगोमा पुग्ने सभापति थापाले काठमाडौं प्रेसलाई बताए। 

यता, एमालेले भने केन्द्रको निर्णय नै गठबन्धन नगर्ने भन्ने भएकाले जिल्लामा कसैसँग पनि गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले बताए । केही साना दलले गठबन्धनका लागि इच्छा देखाएको भए पनि केन्द्रको निर्णयअनुसार नै गठबन्धन नगर्ने भनेपछि आफूहरूले छलफल नै अगाडि नबढाएको एक्लै चुनावमा जाने र नेकपा एमालेको विगतको अवस्था जोगाउँदै अझ बढी स्थानीय तह जित्ने दाबी समेत उनले गरे। 

केही वडामा सर्वसम्मत उम्मेदवार 

९७ वटा वडा रहेको स्याङ्जामा एमालेबाट करिब ५० प्रतिशत वडाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन भइसकेको नेकपा एमाले स्याङ्जा अध्यक्ष पारसले काठमाडौं प्रेसलाई बताए । हरिनास गाउँपालिकामा अध्यक्षसहित सबै वडामा सर्वसम्मत उम्मेदवार चयन गरिएको र उपाध्यक्षका लागि छलफल भइरहेको पारसले जानकारी दिए ।

एमालेको केन्द्रको निर्णयअनुसार सहमति नभएका वडाहरूबाट जिल्ला कमिटीमा तीनजनाको नाम सिफारिस आउने र जिल्ला कमिटीले टुंगो लगाउनेछ । पालिकाहरूको हकमा पालिकाको रायमा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले अन्तिम टुंगो लगाउनेछ। 

यता, नेपाली कांग्रेसले करिब १५ देखि २० वडामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । कांग्रेसको केन्द्रको निर्णयअनुसार सहमति जुट्न नसकेका वडाको सिफारिसमा क्षेत्रीय संसदीय बोर्ड, गाउँपालिकाको हकमा जिल्ला संसदीय बोर्ड र नगरपालिकाको हकमा प्रदेश संसदीय बोर्डले अन्तिम टुंगो लगाउनेछ। 
 

प्रकाशित मिति: १५:४२ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्