‘हराएको मूर्ति कामदेव भनेर चिनिने छत्रचण्डेश्वरको हुन सक्छ’
वडाध्यक्ष मानन्धरका अनुसार मूर्ति बुधबार (चैत २३) राति हराएको थियो। यद्यपि, मूर्ति हराएको जानकारी उनले थापाबाट पाए। हराएको मूर्तिमा थापाको चासो हुनुमा उनका पुर्खाको इतिहास जोडिएको पाइएको अध्यक्ष मानन्धरले बताए।काठमाडौं, चैत २४ : बिहीबार एकाबिहानै काठमाडौं महानगरपालिकका–१३ का अध्यक्ष ध्रुवनारायण मानन्धरलाई फोन आयो। फोन शिक्षा मन्त्रालयका पूर्वसचिव दीपेन्द्रबहादुर थापाको थियो।
वडाध्यक्ष मानन्धरका अनुसार मूर्ति बुधबार (चैत २३) राति हराएको थियो। यद्यपि, मूर्ति हराएको जानकारी उनले थापाबाट पाए। हराएको मूर्तिमा थापाको चासो हुनुमा उनका पुर्खाको इतिहास जोडिएको पाइएको अध्यक्ष मानन्धरले बताए।
थापा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको सन्तान भएको वडाध्यक्ष मानन्धरले काठमाडौं प्रेसलाई बताए। हराएको मूर्ति खोजीका लागि तिनै थापाले स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको समेत मानन्धरले बताए।
मन्दिर र मूर्ति दुई सय वर्ष पुरानो
कालीमाटी छिर्ने टेकु पुल पार गर्नेबित्तिकै बायाँतर्फ अवस्थित छ, भीममुक्तेश्वर मन्दिर। मूर्ति हराएको उक्त मन्दिरले आफैंमा ऐतिहासिक महत्व बोकेको छ। मन्दिरको निर्माण भीमसेन थापाको पालामा बनेको दीपेन्द्रबहादुर थापाको किटान छ।
मूर्ति करिब दुई सय वर्ष पुरानो भएको इतिहासकार त्रिरत्न मानन्धरले बताए। सो मूर्ति बनारसबाट ल्याइएको जानकारीसमेत उनले दिए। बनारसमै ढुंगामा कोरेर बनाइएको मूर्ति भीमसेन थापाले नेपाल फर्कने क्रममा ल्याएको इताहास रहेको उनको भनाइ छ।
इतिहासकार त्रिरत्न मानन्धरका अनुसार गिर्वाणयुद्धविक्रम शाहलाई राजा बनाएसँगै तत्कालीन राजा रणबहादुर शाह भागेर बनारस गएका थिए। राजा रणबहादुरसँगै भीमसेन थापा पनि बनारस गएका थिए।
‘दु्ईतीन वर्ष बनारसमा बसेर सन् १८०४ मा दुवै नेपाल फर्किए। सोही क्रममा भीमसेन थापाले सो मूर्ति ल्याएको हुन सक्छ,’ अनुमानित भाकामा इतिहासकार त्रिरत्न मानन्धरले काठमाडौं प्रेसलाई जानकारी दिए।
दुई सय वर्ष पुरानो भएकाले मूर्ति आधुनिक कालकै भएको तर्क उनले गरे।
मूर्ति छत्र चण्डेश्वर पनि हुन सक्ने
मूर्ति कामदेवको नभई छत्र चण्डेश्वरको हुन सक्ने इतिहासकार डा. टिना मानन्धरको अनुमान छ। मूर्तिको पछाडि छत्र रहेका कारण उक्त मूर्ति छत्र चण्डेश्वरको हुन सक्ने उनको तर्क छ।
‘छत्र चण्डेश्वरका मूर्ति प्रायः शिव मन्दिरको परिसरमा हुने गर्छ,’ डा. मानन्धरले भनिन्, ‘छत्र चण्डेश्वरका मूर्तिमा प्रायः लिंग ठुलो आकारमा हुने गर्छ। त्यसकारण धेरैले छत्र चण्डेश्वरलाई बोलीचालीको भाषामा कामदेव भन्ने गर्छन् ।’
हराएको उक्त मूर्तिमा पनि लिंग ठुलो देखिएका कारण यस प्रकारको अनुमान गरिएको हुन सक्छ। यद्यपि, हाम्रो भाषामा चण्डेश्वर वा छत्र चण्डेश्वर भन्ने गर्छौं,’ उनले भनिन्। यस प्रकारको मूर्ति पशुपति मन्दिरको दक्षिण दिशामा राखिएको उनले बताइन्।
प्रायः मानिसको मृत्युपछि उनीहरूलाई सम्झन ‘मुक्तेश्वर’ भनेर मन्दिर बनाउने चलन थियो । यस्ता मन्दिरहरूमा प्रायः महादेवको मूर्ति स्थापना गरिन्छ। र, महादेव मन्दिरकै वरपर चण्डेश्वर तथा छत्र चण्डेश्वर मूर्ति राख्ने चलन छ।
भीम मुक्तेश्वर मन्दिरको हकमा पनि सोही अवस्था लागु भएको हुन सक्ने अनुमान इतिहासकार डा. मानन्धरले गरिन्। यद्यपि हालसम्म सटीक जानकारी भने नभएको उनको भनाइ छ।