आर्सेनिकयुक्त पानी वा पदार्थको सेवनले के कस्ता रोग लाग्न सक्छन् ?
अहिले गर्मी महिना सुरु भएकाले इमर्जेन्सीमा आउने धेरैजसो बिरामी झाडापखालाका हुन्छन्। पेट पोल्ने, प्रेसर वा सुगरका बिरामी आइरहेका हुन्छन्। यस्ता बिरामी आउँदा महत्वपूर्ण ढंगबाट परीक्षण हुन पाउँदैन।काठमाडाैं, चैत २४ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को वाटर क्वालिटी परीक्षण शाखाका अनुसार, उपत्यकामा कतैकतै आर्सेनिकको मात्रा ०.६ प्रतिशतसम्म भेटिएको छ। केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले काठमाडौं प्रेसलाई बताए अनुसार, उपत्यकाबाहेक नवलपरासी, रूपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, चितवन, रौतहट आदि जिल्लाभित्रका बोरिङमा ०.९ प्रतिशतसम्म आर्सेनिक भेटिएको छ। अहिले उपत्यकाभित्र केयुकेएलले वितरण गर्ने पानीमा पनि डब्लुएचओले तोकेको (०.०५ प्रतिशत) मापदण्डभन्दा कम मात्रामा आर्सेनिक पाइएको छ।
आर्सेनिकयुक्त पानीको सेवनबाट मानिसलाई विविध रोग लाग्न सक्ने चिकित्सक बताउँछन्। यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलजी एवं क्रिटिकल केअर मेडिसिन विभागका सहप्राध्यापक डा. नीरज बमसँग काठमाडौं प्रेसकर्मी शलिना कुँवरले गरेको वार्ताको सम्पादित अंश:
आर्सेनिकयुक्त पानीको प्रयोग जनस्वास्थ्यको चासो र चिन्ताको विषय हो कि होइन ?
आर्सेनिकले शरीरका विभिन्न अंगमा असर पु¥याउँछ। यसको मुख्य स्रोत जमिनमुनिको पानी नै हो। बोरिङको पानी अहिले धेरै प्रयोगमा आइरहेको छ। दक्षिण एसियामा सबैभन्दा धेरै भारतमा बोरिङको पानी प्रयोग गरिन्छ। भारत र नेपालको माटो र अन्डरग्राउन्डको पानी पनि मिल्दोजुल्दो छ। अमेरिका, मेक्सिको र भारतमा सबैभन्दा धेरै आर्सेनिक पाइन्छ। त्यसैले आर्सेनिक अहिलेको चिन्ताको विषय हो।
तराई क्षेत्रमा जमिनमुनिबाट निकालिएको पानीमा प्रशस्त आर्सेनिक हुन्छ भन्ने पत्ता लागेको छ। पानीबाट मात्र नभई प्रदूषणका कारण पनि आर्सेनिक हुन सक्छ। जमिनमुनिको पानी प्रयोग गरेर उत्पादित तरकारीमा समेत आर्सेनिक हुन सक्छ।
अहिले कीटनाशक औषधिमा आर्सेनिक मिलाइएको हुन्छ। त्यसबाट उत्पादित खानेकुरा खाँदा आर्सेनिक पेटभित्र पुग्छ। यसरी पिउने पानीबाट शरीरका हरेक भागमा आर्सेनिक पुग्ने गर्छ। यसले विशेषतः रगतसम्बन्धी उच्च रक्तचाप (हाई ब्लड प्रेसर), मधुमेह (सुगर) जस्ता रोग बढाउँछ। त्यस्तैगरी, छाला रातो हुने, छाला सुनिने, आँखा सुनिने पनि हुन सक्छ।
त्यस्तै, यसले मानसिक प्रणालीमा समस्या पनि ल्याउँछ। नसाहरूमा आर्सेनिक जम्मा भएर नसा झमझम्याउने, हातखुट्टाको औंला लाटो हुने, मुटुको चालमा परिवर्तन ल्याउने, मुटुको चाल कम गराउने लगायत समस्या निम्तिन सक्छ। त्यस्तै, आर्सेनिकका कारण बान्ता हुने, पेट पोल्ने, ग्यास्ट्रिक हुने, यौन प्रजनन क्षमता घटाउने पनि हुन सक्छ। गर्भवती महिलामा आर्सेनिक छ भने भ्रूण तथा बच्चाको वृद्धि विकासमा अवरोध ल्याउन सक्छ। समग्रमा आर्सेनिकले मानिसको मुटु, कलेजो, मिर्गौला, फोक्सो लगायत सम्पूर्ण अंगमा असर पुर्याउने गर्छ।
आर्सेनिकयुक्त पानी वा पदार्थको सेवनपछि मानिसमा के कति अवधिमा असर देखिन थाल्छ ?
शरीरभित्र धेरै आर्सेनिक जम्मा भयो भने केही घन्टामै असर देखिन थाल्छ। जसमा शरीरको छाला सुनिन्ने, रातो हुने, झाडापखाला लाग्ने, बान्ता हुने, आँखा धमिलो हुने, नङको रङ परिवर्तन हुने, पेट पोल्ने हुन सक्छ।
आर्सेनिकयुक्त पानी तथा पदार्थ सेवनको छोटो समयमा देखिने असरमा मुख्यतः बान्ता हुने, झाडापखाला लाग्ने, खान मन नलाग्ने, पेट पोल्ने, छाला सुनिने लगायत पर्छन्। त्यस्तै, केही महिना वा केही वर्षपछि मानिसमा क्यान्सर, डिप्रेसन, पाचन प्रणालीमा अवरोध, मानसिक प्रणालीमा असर, हातखुट्टा झमझम्याउने र फोक्सो–आन्द्राको क्यान्सरसम्म देखिन सक्छ।
अस्पताल आउने बिरामीमध्ये आर्सेनिकका कारण बिरामी भएकाको उपचार कसरी गरिन्छ ?
आर्सेनिकका बारेमा मापन हुने संयन्त्र हामीकहाँ छैन। आर्सेनिक हो कि भनेर शंका गरे पनि यसको उपचार भनेको आर्सेनिकजन्य पदार्थबाट टाढा रहने नै हो। यसको सूक्ष्म रूपमा अध्ययन वा मापन गर्ने सरकारी अस्पताल नेपालमा छैन। त्यसकारण यसबारे चिकित्सकको पनि ध्यान नगएको हो कि भन्ने लाग्छ।
अहिले गर्मी महिना सुरु भएकाले इमर्जेन्सीमा आउने धेरैजसो बिरामी झाडापखालाका हुन्छन्। पेट पोल्ने, प्रेसर वा सुगरका बिरामी आइरहेका हुन्छन्। यस्ता बिरामी आउँदा महत्वपूर्ण ढंगबाट परीक्षण हुन पाउँदैन। कुन ठाउँको पानीमा आर्सेनिक छ, त्यसबारे सूक्ष्म रूपले अध्ययन हुन सकेको छैन, हुनुपर्थ्यो।
अहिले झाडापखालाका बिरामी आउँदा त्यही अनुसारले उपचार गर्छौं। ग्यास्ट्रिकका बिरामीलाई ग्यास्ट्रिककै औषधि दिएर उपचार गर्छौं। यसरी आर्सेनिकका कारण बिरामी भएका हुन् कि होइनन् भन्ने पत्ता नलगाई लक्षण अनुसार मात्र उपचार गरिन्छ।
आर्सेनिक सम्बन्धमा सूक्ष्म अध्ययन नभएकाले अहिले लक्षण अनुसार नै उपचार भइरहेको हो। त्यसैले सर्वप्रथम आर्सेनिकका बारेमा अध्ययन हुन जरुरी छ।
आर्सेनिकको असरबाट कसरी जोगिन सकिएला ?
आार्सेनिकका बारेमा जनचेतना जगाउन आवश्यक छ। सुरक्षित रहने मापदण्डका बारेमा हरेकलाई जानकारी गराउनुपर्छ। यसको खासै उपचार नभएकाले आर्सेनिक नभएको खानेकुरा र पानीको प्रयोगमा सरकारले नै जोड दिनुपर्छ।
फलफूलहरूमा आर्सेनिकको मात्रा घटाउन लगाउने, जमिनमुनिको पानीमा आर्सेनिक परीक्षण गर्ने, उपयुक्त फिल्टरको प्रयोग गर्ने आदि नै आर्सेनिक न्यूनीकरणका उपाय हुन्। यसमा व्यक्तिगत रूपमा भन्दा राज्यका निकायले ध्यान दिनुपर्छ।
घरेलुस्तरमा आर्सेनिक हटाउन जमिनमुनिको पानी प्रयोग गर्दा फिल्टरको प्रयोग गर्न सकिन्छ। खानेपानी स्रोतको परीक्षण गरिनुपर्छ। वातावरणीय प्रदूषण घटाउने, फलफूल खाँदा सफा गरेर खाने, सकेसम्म अर्गानिक खानेकुरामा ध्यान दिनु नै आर्सेनिकको असरबाट बच्ने उपाय हुन्।
वातावरण प्रदूषणका बारेमा भर्खर ध्यान जान थालेको छ। वातावरण प्रदूषणमा धेरै प्रकारको क्यान्सरजन्य कण पाइन्छन् भन्ने प्रमाणित भएको छ। त्यसैले अहिले विभिन्न संस्थाले यस सम्बन्धमा काम गर्न लागिपरेका छन्। यसरी नै स्वास्थ्य समस्याका बारेमा सूक्ष्म रूपमा अध्ययन हुन थालेपछि आर्सेनिकको पनि पक्कै अध्ययन हुनेछ।
नेपालमा प्रतिलिटर पिउने पानीमा ०.०५ मिलिग्राम आर्सेनिकलाई मानक मानिएको छ, यो कत्तिको वैज्ञानिक छ ?
भरपर्दो निकायबाट यो मानक बनाइएकाले यसलाई वैज्ञानिक नै मान्नुपर्छ। भारत, चीन, अमेरिका सबैतिर अध्ययन गरेरै मानक मानिएको हो भने यसलाई वैज्ञानिक मान्नुपर्छ।