Kathmandu Press

‘पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै बाह्य पर्यटकलाई आकर्षित गर्न हामीसँग बृहत योजना छ’

सातवटै प्रदेशमा नाट्टाको कलेज खुल्न लागेको छ। बाह्य देशमा पनि पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गर्ने योजना थियो। यसपालि मेरो समूह निवार्चित भयो भने त्यो योजना पूरा गर्नेछौँ।
‘पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै बाह्य पर्यटकलाई आकर्षित गर्न हामीसँग बृहत योजना छ’

पर्यटन क्षेत्रको हक अधिकार र प्रवर्द्धनका लागि गठन भएको पुरानो संस्था ‘नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स’ (नाट्टा)मा नयाँ नेतृत्वका लागि भोलि (चैत १७ गते) निर्वाचन हुँदैछ। 

‘मुनसन ट्राभल्स एन्ड टुर्स’का सञ्चालक रमेश थापाले आफ्नो प्यानलसहित अध्यक्ष पदका लागि उम्मेदवारी दिइसकेका छन्। काभ्रेपलाञ्चोकको पर्यटकीय नगर पनौती, सुब्बा गाउँमा जन्मिएका थापाले यसअघि नाट्टाको सचिव, महासचिव र उपाध्यक्ष भइसकेका छन्। यसै सन्दर्भमा रमेश थापासँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले लिएको वार्ताको सम्पादित अंश : 

यहाँको उम्मेदवारी किन ? 

Hardik ivf

कोभिडले थलिएको पर्यटकीय व्यवसायलाई पुनर्उत्थान र प्रवद्र्धन गर्न, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र आन्तरिक ट्राभल मार्टको विस्तार गर्दै विभिन्न पर्यटकीय फेस्टिभललाई वृद्धि गरी पर्यटन क्षेत्रको प्रवर्धन गर्नका लागि मेरो उम्मेदवारी आवश्यक छ। लामो समय पर्यटन क्षेत्रमा काम गरेको अनुभव मसँग छ।

पर्यटन क्षेत्र र नाट्टासँगको यहाँको नाता कति पुरानो हो ? 

मैले पर्यटकीय व्यवसाय सुरु गरेको ३० वर्ष भइसक्यो, तर नाट्टामा आबद्ध भएको ६ वर्ष भएको छ। यसअघि मैले नाट्टाको सचिव, महासचिव र उपाध्यक्षको जिम्मेवारी लिएर काम गरिसकेको छु। 

नाट्टाले पर्यटकीय व्यवसायलाई प्रवर्द्धन तथा यसभित्रका समस्या समाधानमा भूमिका खेल्ने भएकाले ६ वर्षअगाडि नाट्टामा जोडिन पुगेको थिएँ। 

सन् १९६६ मा स्थापना भएको नाट्टाले पर्यटन व्यवसायीको हकहितका लागि काम गर्छ। नाट्टामा सातै प्रदेशमा गरी १२ सय व्यवसायी आबद्ध छन्। जुन ठूलो संख्या मानिन्छ। किनकि १२ सय व्यवसायीले ठूलो संख्यालाई रोजगारी दिएका छन्।

अहिले पर्यटन व्यवसायीले के कस्ता समस्या झेल्नुपरेको छ ?

पर्यटकका लागि सवारीसाधनमा हरियो प्लेट नम्बर तोकिएको थियो तर अहिले कालो नम्बर प्लेट र हरियो प्लेट नम्बरलाई एउटै दर्जामा राखिएको छ। त्यति मात्र नभई हरियो प्लेट नम्बर र रातो प्लेट नम्बरको कर तिर्न पनि शुल्क बराबर पर्न जान्छ। जुन गलत हो। 

हरियो प्लेट पर्यटकका लागि हो भनी पहिचान बनिसकेको अवस्थामा अहिले आएर अर्काे नम्बर प्लेट दिन लागिएको छ। ऐन बाँझिएका कारण हरियो प्लेट नम्बरमा बाह्य पर्यटक बोक्दा केही नगर्ने तर आन्तरिक पर्यटक बोक्दा ट्राफिक प्रहरीले पटक–पटक दुःख दिइरहेको छ। 

यस्ता कुरा ऐनमा सुधार्नुपर्ने देखिएको छ। अहिले विदेश घुम्न जाने नेपालीले दश लाखसम्मको आयस्रोत देखाउनुपर्ने, कर तिर्नुपर्ने लगायत प्रावधान छन्। पर्यटनलाई उद्योगको मान्यता नदिएको अवस्था छ। यी समस्यालाई न्यूनीकरण गर्न हामी अगाडि बढिरहेका छौँ। 

महामारीको असर र प्रभावबाट पर्यटन क्षेत्रलाई उकास्ने कार्यक्रम के हुन सक्छन् ?

कोभिडका बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द भएर खुकुलो हुँदै गर्दा नाट्टाले सम्बन्धित निकायसँग सहकार्य गरेर अगाडि बढेको थियो। 

पर्यटन क्षेत्रलाई ध्वस्त बनाउन दिनुहुन्न, एयरपोर्टमा पिसिआर परीक्षण सिस्टम हुनुपर्छ भनी हामीले पहल गर्‍यौँ, पछि कार्यान्वयन पनि भयो। 

सातवटै प्रदेशमा नाट्टाको कलेज खुल्न लागेको छ। बाह्य देशमा पनि पर्यटन प्रवर्धनका लागि कार्यक्रम गर्ने योजना थियो। यसपालि मेरो समूह निवार्चित भयो भने त्यो योजना पूरा गर्नेछौँ। 
 
यहाँको अनुभवमा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि के कस्ता काम गर्न सकिन्छ ? 

पर्यटन व्यवसायको प्रमोट भनेको फ्री भिसा लगायत सुविधा र विभिन्न सेवा दिई विदेशी पर्यटकलाई नेपाल आउन प्रोत्साहन गर्ने नै हो। योसँगै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नका लागि सबै प्रदेशमा पर्यटन प्रवर्द्धन केन्द्र स्थापना गर्न आवश्यक छ। मिडिया रिसर्च सेन्टर स्थापना गरी नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न जरुरी छ। 

अहिले यसमा डिजिटल मार्केटिङ गर्न सकिन्छ। त्यस्तै, पर्यटकीय गन्तव्यको पहिचानका लागि कार्यक्रम गरिरहन र अन्तर्राष्ट्रिय स्तरका मार्ट स्थापना गरी पर्यटकीय गन्तव्यलाई बढाउँदै लैजान सकिन्छ। 

नेपालका पर्यटकीय गन्तव्यलाई विदेशमा चिनाउन विभिन्न योजना तथा कार्यक्रम बनाएर काम गर्न सकिन्छ।

निर्वाचित भएमा के–के काम गर्ने योजना छ ? 

पहिलो काम मिडिया रिसर्च सेन्टर स्थापना गरेर त्यसलाई निरन्तरता दिनेछौँ। कोभिडका कारण थलिएको पर्यटन व्यवसायीलाई पाँच वर्षसम्म भ्याट छुटका लागि पहल गर्छौं। व्यवसायीका समस्या समाधानका लागि र आन्तरिक तथा क्षेत्रीय (दक्षिण एसिया) हवाई कनेक्टिभिटी बढाउन पहल गर्नेछौँ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय विमानस्थल शीघ्र सञ्चालनका लागि सरकारलाई घचघच्याउनेछौँ। 
पर्यटकीय पूर्वाधार विकासमा लगानी बढाउन सरकारसँग अनुरोध गर्छौं। राजधानी लगायत अन्य मुख्य पर्यटकीय नगरमा टुरिस्ट बस टर्मिनल र पार्किङ व्यवस्थापनका लागि विशेष पहल गर्नेछौँ। 

कोरोना कालमा विदेशी हवाई कम्पनी आकस्मिक रूपमा बन्द हुँदा टिकटको रिफन्ड प्रक्रिया अवरुद्ध भएको थियो, जसले व्यवसायी मर्का परे। अब हवाई कम्पनी सञ्चालनपूर्व क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सेक्युरिटी फन्ड व्यवस्था गर्न पहल गरिनेछ। 

विमानस्थलहरूमा पर्यटकको आवागमनलाई झन्झटरहित बनाउन सम्बन्धित निकायसँग नियमित रूपमा समन्वय गरिन्छ। साथै ई–भिसाको कार्यान्वयनका लागि पहल गरिन्छ। 

विभिन्न कारण देखाई गन्तव्य प्रवेशमा रोक लगाइएकाका कारण टिकेटिङ कम्पनीलाई पर्र्ने गरेको अनावश्यक आर्थिक भारबाट उन्मुक्ति दिलाउन सम्बन्धित निकायसँग सहकार्य गर्नेछौँ। सबै नाट्टा सदस्यको नेतृत्व वा व्यक्तित्व विकास, क्षमता अभिवृद्धि र पुनर्ताजगी तालिमजस्ता विशेष कार्यक्रम ल्याइनेछ। 

यी लगायत धेरै योजना छन् हामीसँग, हाम्रो समूहले निर्वाचित भएमा ती योजना पूरा गर्नेछौँ।
 

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्