Kathmandu Press

काठमाडौं ट्रिनाले : ४१ राष्ट्रका ३०० भन्दा बढी कला प्रदर्शनी (भिडियोसहित)

यसपालि दर्शकको उपस्थिति उल्लेख्य रहेको सिद्धार्थ आर्ट फाउन्डेसन, काठमाडौं ट्रिनालेकी संस्थापक संगीता थापा बताउँछिन्। दैनिक हजार वा १५ सयको संख्यामा दर्शक आएको उनले बताइन्।

काठमाडौं, चैत १३ : बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा एउटा यस्तो कला प्रदर्शित छ, जसले महिला हिंसाको कथा भन्छ। कसैलाई प्रेमीकै साथीले शारीरिक हिंसा गरेका छन् त कसैलाई आफ्नै आफन्तले। महिलाका लागि सुरक्षित स्थान कहाँ छ ? यही विषय श्रव्यदृश्यमा बताइन्छ। यो कला दर्शकविना अपुरो कला हो। यो कला दार्जिलिङकी एक्वा थामीको अवधारणा हो।

यति बेला काठमाडौं ट्रिनाले– ०७७ चलिरहेको छ। काठमाडौं ट्रिनाले कलाको महाकुम्भ मेला हो। तीन–तीन वर्षको अन्तरालमा हुने ट्रिनाले २०७७ मा हुनुपर्ने थियो। तर, कोरोनाका कारण ढिला भए पनि प्रदर्शनीले दर्शकको उत्साहजनक साथ पाएको छ। यसपालि काठमाडौंका पाँच ग्यालरीमा ४१ राष्ट्रका एक सय ३० कलाकारका तीन सयभन्दा कलाकृति प्रदर्शन गरिएको छ।

Hardik ivf

प्रदर्शित कलामा जलवायु परिवर्तनदेखि लैंगिक मुद्दा, आदिवासी समुदायसम्म समेटिएका छन्। सिद्धार्थ आर्ट ग्यालरीमा प्राकृतिक विपत्ति सम्बन्धमा कला राखिएका छन् । नेपाल आर्ट काउन्सिलमा आदिवासी र लैंगिक मुद्दा सम्बन्धका चित्रकला प्रदर्शित छन्। पाटन संग्रहालयमा परम्परागत हस्तकला र मूर्तिकला राखिएका छन्। त्यस्तै, बहादुर शाह बैठकमा आध्यात्मिकता र आदिवासीसँग सम्बन्धित र तारागाउँ संग्रहालयमा पर्यावरणसँग सम्बन्धित कला प्रदर्शित छन्। 

नेपाल आर्ट काउन्सिलमा ‘वुम्ब रुम’ अर्थात् ‘पाठेघर कोठा’ शीर्षकमा कलाकार अश्मिना रञ्जितका कला राखिएका छन्। कतिपयले यसलाई बाहिरबाटै हेरेर जान्छन् भने भित्र पस्नेले अन्य कोठाको तुलनामा यहाँ भिन्न अनुभव गर्छन्।

भित्र पस्दा कोठा लचकदार अनि न्यानो छ। पाठेघरको विम्बका रूपमा कोठा निर्माण गरिएको कलाकार अश्मिना बताउँछिन्। अँध्यारो कोठाको भित्तामा पाठेघर आकारमा कालो छाला राखिएको छ। पाठेघरको मुनितिरबाट लामो रातो रंगको धागो कोठाभरि फैलिएका छन्। जो रजस्वलाको प्रतीक भएको अश्मिना बताउँछिन्। 

महिनावारीको वास्तविकता देखाउने यो कला २२ वर्षअघि पनि प्रदर्शन गरिएको र यसपालि पुनः प्रदर्शनीमा राखिएको कलाकारको अश्मिनाको भनाइ छ। 

यता, सिद्धार्थ आर्ट ग्यालरीमा हितेश वैद्यको यस्तो समय सयर गराउने कला छ, जसले जो–कोहीलाई बाल्यकालको झल्को दिन्छ। लोडसेडिङका तालिकादेखि पुराना रिआरटी टिभी, झ्याल बाहिरको एन्टेना, मैलो भएको बत्तीको स्विच, ढोका दलिनमा ठोकिएका काँटी, झ्यालमा सुकेर बसेको मखमली माला, ढोकामा टाँसिने नागको चित्र आदि उनका कलामा आएका छन्। 

उत्साहजनक सहभागिता

यसपालि दर्शकको उपस्थिति उल्लेख्य रहेको सिद्धार्थ आर्ट फाउन्डेसन, काठमाडौं ट्रिनालेकी संस्थापक संगीता थापा बताउँछिन्। दैनिक हजार वा १५ सयको संख्यामा दर्शक आएको उनले बताइन्। ‘विशेषतः युवा पुस्ताको सहभागिताले अझ हौसाएको छ,’ उनले भनिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी प्रमुख पुरातत्व अधिकृत मंगला प्रधान मूर्त तथा अमूर्त सम्पदाको संरक्षणका लागि यस प्रदर्शनीले ध्यानार्कषण गराएको बताउँछिन्। ‘नेपालमा भएको यति ठूलो मेलामा हामीले सहयोग गर्न पाएका छौं,’ उनले भनिन्, ‘यहाँ प्रदर्शित कला जीवन्त लाग्छन्।’ 

प्रदर्शनीमा कार्यशाला गोष्ठी र छलफल पनि भइरहेका छन् । सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजनामा मार्च १ बाट सुरु भएको प्रदर्शनी मार्च ३१ मा समापन हुँदै छ।

याे पनि : ‘काठमाडौंं ट्रिनाले’को यात्रा

 

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्