ठँहिटीमा उहिले हिटी थियो, जहाँ सिपाहीले रगत लतपतिएको हात धोएका थिए!
नेपाल भाषामा ‘ठ’ भनेको ‘माथिल्लो’ र ‘हिटी’ भनेको ‘ढुंगे धारा’ हो। ‘क्वा हिटी’ भने जैसिदेगलको पश्चिममा ओर्लने स्थानमा छ। मध्यकालमा जहाँ अहिले स्तुपा भएको स्थानमा ‘ठँहिटी’ रहेको जनविश्वास छ।काठमाडौं, चैत ६ : चेक सर्ट, नीलो ट्राउजरसँगै गाढा हरियो रङको टोपीले टाउको छोपेका थिए इतिहासकार त्रिरत्न मानन्धरले। चैत लागेसँगै काठमाडौं खाल्डोमा पनि गर्मी बढेको छ। त्यसमाथि मध्याह्नमा उनले लगाएको टोपीले जाडोकै आभास गराउँथ्यो, यो बुुढ्यौलीको संकेत हुन सक्छ।
सेतै फुलेका ७८ वर्षीय इतिहासकार मानन्धरले हामीलाई आफ्नै निवास (ठमेलको गल्कोपाखा) मा समय दिएका थिए, हामीलाई विशेषतः उनको जमानाको काठमाडौंबारे कुराकानी गर्नु थियो।
न्यानो अभिवादनसहित उनले हामीलाई आफ्नो बैठक कक्षमा लगे। बैठक कक्षमा मानन्धर दम्पतीको स्वर्णजयन्ती वर्षगाँठको एउटा तस्बिर थियो, फ्लेक्स प्रिन्टमा। २०६७ सालमा उनको विवाहको ५० वर्ष पुगेको रहेछ। ‘मेरी जेठी सासुले हाम्रो विवाहको ५० वर्ष पुग्दा उपहारस्वरुप बनाइदिनुभएको हो,’ हामीले तस्बिरप्रति चासो दिएपछि उनले भने, ‘मेरो विवाह २०१७ सालमा भयो, जतिबेला म १६ वर्षको थिएँ।’
तस्बिरमा उनको विवाहकै फोटो भने थिएन, उनी २०३३ सालमा बेलायत पढ्न जाने बेला खिचिएको फोटोलाई प्रिन्ट गरिरहेको रहेछ। ‘उहाँ क्याम्ब्रिज कलेजमा पढ्न जाने बेला हतारहतार त्यो फोटो खिचिएको थियो,’ मान्धरकी श्रीमती पूर्णदेवीले थपिन्। उनी पनि हामीसँगै बैठक कक्षमै थिइन्।
बेहुली लिन बेहुलाकी आमा जाने चलन
विवाहकै प्रसंग आउँदा उनले पुरानो चलन सुनाए। उनका अनुसार, यस्तो चलन नेवार समुदायमा पहिले थियो, भक्तपुरका अझै पनि कतिपय स्थानमा बेहुली लिन बेहुला नभई उनकी आमा जाने गर्छिन्।
यस चलन पछाडिको मान्यता गज्जब रहेछ। ‘पहिले पहिले सानो उमेरमै विवाह हुन्थ्यो। सानो उमेरका सन्तानमा परिपक्वता नहुँदा विवाहमा बाबुुआमाको भूमिका ठूलो हुुन्थ्यो,’ मानन्धर भन्छन्, ‘उति बेला बेलुही पक्षले छोरीको जिम्मा बालिग ज्वाइँलाई नभई उनकी आमालाई दिने गर्थे। पहिलेपहिले त बेहुलीलाई सिन्दुर पनि सासुआमाले लगाइदिने चलन थियो।’
अझै पनि भक्तपुुरको नेवार समुदायमा बेहुलीलाई सिन्दुर सासूआमाले नै लगाइदिन्छिन्। दुलहीलाई भने दुलहाकै आमाले जन्ती साथ लिएर जान्छन्।
मानन्धरको मागीविवाह भएको थियो। ‘मेरो विवाहमा पनि मेरी आमा यिनलाई लिन जानुभएको थियो,’ उनले भने।
बसाइँ र भौतिक संरचना
इतिहासकार मानन्धरको जन्म ठँहिटीमा २००१ सालमा भएको हो। ठँहिटीको स्तुपा भएको स्थानबाट पूर्वमा ‘त्योड’ जाने बाटोमा उनको घर थियो, जुन घर अहिले अस्तित्वमा छैन। ‘घरको भुइँतलामा किराना पसल थियो,’ मानन्धर भन्छन्, ‘पसलमा चिउरा, हाँस–कुुखुराका अण्डा, दाल, मसला आदि बेच्न राखिन्थ्यो।’
काठमाडौंको असन क्षेत्र पहिलेदेखि नै व्यापारिक केन्द्र हो। मानन्धरको पुुख्र्यौली पेसा हो, तेल पेल्ने। ठँहिटीमा मुख्यतः मानन्धरहरूकै बाहुल्य थियो। ‘जसरी बज्राचार्यहरू बहालमा बस्छन्, ज्यापुहरू ननी (गल्ली) मा बस्छन्, सोही अनुसार हामी मानन्धर साल अर्थात् तेल पेल्ने ठाउँमा बस्छाैं,’ उनी भन्छन्, ‘हरेक टोलमा एउटा एउटा साल हुन्छ।’
ठँहिटीमा पनि एउटा साल थियो, जुन पछि मासेर शान्ति शिक्षा मन्दिर स्कुल बनाइयो। उनले सोही विद्यालयबाट एसएलसी दिएका थिए।
हाल असन छिर्दा फाट्टफुट्ट झिँगटीका छाना, बज्र लेपन गरिएका र ठुुल्ठूला झ्याल भएका घर देखिन्छन्। पहिले त्यस्ता घर सम्भ्रान्त वर्गका हुने इतिहासकार मानन्धर बताउँछन्। जसलाई हामी आजकल सम्पदा बस्ती भन्छाैं।
‘त्यो बेला तीन किसिमका घर हुन्थे। एक प्रकारको घर हुन्थ्यो, जसको बाहिरको भाग मात्रै पक्की इँटाले र भित्री भाग भने काँचो इँटाले बनाइएको हुन्थ्यो,’ मानन्धर भन्छन्, ‘पहिले काँचो इँटाका घर पनि बलियो मानिन्थ्यो। यस्ता घर निम्न मध्यम वर्गका मानिसका हुन्थे। भित्रबाहिर नै पाकेको इँटाले बनाइएको घर मध्यम वर्गको हुन्थ्यो। बज्र लेपन लगाएको घर भने सम्भ्रान्त वर्गका हुन्थे। प्रायः हामी अधिकांशको घर काँचो इँटाको मात्रै वा दुवै मिसाएर बनाइएको हुन्थ्यो।’
उति बेला पनि प्रत्येक घर चारतलाकै हुने उनी बताउँछन्। नजिकै रहेको पेपर र पेनमा उनले घरको खाका कोर्न थाले। ‘पहिलो तलालाई छिँडी भनिन्थ्यो,’ खाका कोर्दै उनले व्याख्या गरे ‘जसको अघिल्लो भागमा पसल हुन्थ्यो भने पछिल्लो भागमा सामान राख्नका लागि भण्डारजस्तै हुन्थ्यो। दोस्रो तलामा सुुत्नका लागि प्रयोग गरिन्थ्यो। तेस्रो तला चोट हो। चोट भने खुला स्थान हो, जुन प्रायः भोज खानका लागि व्यवस्था गरिन्छ। चौथो तला बुइगल हो, जुन भान्सा कोठा हो।’
सयाैं वर्ष पुराना यस्ता बस्तीको संरक्षण हुनुपर्ने उनी बताउँछन्।
ठँहिटीमा हिटी
इतिहासकार मानन्धरको बाल्यकाल ठँहिटीमै बितेको थियो। नेपाल भाषामा ‘ठ’ भनेको ‘माथिल्लो’ र ‘हिटी’ भनेको ‘ढुंगे धारा’ हो। ‘कव हिटी’ भने जैसिदेगलको पश्चिममा ओर्लने स्थानमा छ। मध्यकालमा जहाँ अहिले स्तुपा भएको स्थानमा ‘ठँहिटी’ रहेको जनविश्वास छ।
इतिहासकार मानन्धरले पनि आफूू जन्मेको घरनजिकै स्तुपा रहेको स्थानमा पहिले हिटी अर्थात् ‘ढुंगेधारा’ थियो भन्ने सुनेका थिए। ‘त्यहाँ हिटी भएको मैले बुबाबाट सुनेको हुुँ,’ उनी भन्छन्, ‘ठँहिटी ठ्याक्कै कहाँ थियो भन्ने मलाई जानकारी भएन।’
ठँहिटीको मुुख्य देवता नसल देग हुन्, जसलाई संगीतका देवता भनिन्छ। ठँहिटीमा खुला ठाउँ थियो, जहाँ पहिले धान भित्र्याएपछि सुकाउने मानन्धर बताउँछन्।
‘मध्यकालमा काठमाडौंमा ससाना १२ वटा इलाका थिए। हरेक इलाकाका शासक पनि थिए। १२ शासकलाई दबाएर, राजा यक्ष मल्लका छोरा रत्न मल्ल काठमाडौंका राजा भए,’ मानन्धर भन्छन्, ‘इलाका हत्याउने संघर्षको दौरानमा ठँहिटीमा पनि ठूलो संख्यामा मानिसको ज्यान गयो। त्यतिबेला सिपाहीले आफ्नो रगत लागेको हात त्यहीँको हिटीमा धोएका थिए। जसका कारणा हिटी अपवित्र हुने ठानेर केही समयपछि त्यसलाई पुरिएकाे भन्ने हामीले सुन्दै आएका हाैं। रगतले अपवित्र भएको उक्त स्थानमा शान्ति स्तुपा बनाइयो भन्ने पनि सुन्नमा आएको छ। तर यो जनश्रुति मात्र हो, यसको प्रमाण छैन।’
मानन्धरका अनुसार, अझै पनि राति उक्त स्तुपामा कान थापेर सुन्दा धाराको कलकल पानी बगेको आवाज आउने अर्को जनविश्वास छ। यस जनविश्वासको सत्य इतिहासका मानन्धरले बाल्यकालमै परीक्षण गरेका रहेछन्। ‘सानो छँदा म केही साथीहरुसँग राति स्तुपामा पानीको कलकल आवाज आउँछ कि आउँदैन भनी सुन्न गएका थियौँ,’ उनी भन्छन्, ‘कान थापेर सुन्याँै, आवाज सुनिएन। ती सबै हामीलाई डराउन पो भनिएको रहेछ।’ यद्यपि, संघर्षको कालमा धारा पुरिएको भने हुन सक्ने उनी बताउँछन्।
नेवार समुदायमा चर्चित ‘राजमति’ गीतमा पनि ठँहिटीको सन्दर्भ आउँछ। गीतमा उल्लेख गरेका अन्य क्वहिटी, मरुहिटी हाल पनि अस्तित्वमा रहँदा ठँहिटी भने अस्तित्वमा छैन। यस गीतलाई सर्जकले जनश्रुतिकै आधारमा लेखेको हुन सक्ने उनी बताउँछन्।