Kathmandu Press

नेवारी होली गीतमा यौनदर्शन, होँच्याइएकी पात्र कुलदेवी 

कुलदेवी को थिइन् ? उनलाई नै किन यसरी होँच्याउने गरियो, यसबारे भने अनुसन्धान भएको पाइँदैन ।
नेवारी होली गीतमा यौनदर्शन, होँच्याइएकी पात्र कुलदेवी 

दाँ (धेबा) त्याना पसः तय् कुलदेवी वर तय्
वया (छिमि) अबु हाः वः सा खिचां न्याका व्छय्
द्यां जुसे बजि तय्, खेँ निगुः काला तय्
जिचाभाजु वल धासा खापां काका व्छय्

अर्थात्, 
कुलदेवीलाई बन्धकी राखेर पसल थाप्छु,
उनका बुबा आए भने कुकुरले टोकाउँछु
पाथीमा चिउरा राखेर हाँसको दुईवटा अण्डा पनि पकाएर राख्छु
उनको बूढा आयो भने ढोकामा अड्काएर राख्नेछु ।

नेपाल भाषाको यो गीत विशेषतः काठमाडौंका नेवार समुदायले होलीमा गाउँछन् । जसमा कुलदेवी नामक एक पात्रको बयान गरिएको छ । 

Hardik ivf

सांखुस्थित बज्रयोगिनीको भजन मण्डलीमा फागुन शुक्ल अष्टमीदेखि यो गीतलाई भजनका रूपमा गाउने गरिएको इतिहासकार प्रकाशमान श्रेष्ठ बताउँछन् । ‘यस गीतलाई होली गीतअन्तर्गतको एक अंशका रूपमा हामीले मान्छौँ तर यो गीत कस्तो परिवेशमा कसले लेख्यो भन्नेबारे मलाई जानकारी छैन,’ उनले भने, ‘बज्रयोगिनीको भजन किताबको थ्याःसफुमा यो गीत छ ।’

यस मन्दिरलाई उनी किरातकालीन हुन सक्ने बताउँछन् । अहिले रहेको मूर्ति र मन्दिर भने पाँच सय वर्ष पुरानो हुन सक्ने उनको अनुुमान छ । यसर्थ नेपालभाषाको यस गीतलाई केही सय वर्ष पुरानो मान्न सकिन्छ । यो गीत लोककथामा बुनिएको जस्तो लाग्छ, त्यस हिसाबले पनि केही पुरानो हुनुपर्छ । 

श्रेष्ठका अनुसार, यस गीतमा कुलदेवी नामक महिलाको बयानभन्दा बढी उनलाई होँच्याइएको छ । 

गीतमा जोडिएकी कुलदेवी

सांखुस्थित बज्रयोगिनीमा मात्र नभई काठमाडौंका नेवार समुुदायले गाउने अन्य गीत र भजनमा पनि माथिको गीतको अंश आउने गर्छ ।
यस गीतमा कुलदेवी पात्र आउनु र त्यसलाई गीत वा भजनका रुपमा गाइनुको पछाडिको रहस्य के होला त ? जनकवि दुर्गालाल श्रेष्ठ होलीलाई वसन्त ऋतुुको प्रतीक र यस गीतलाई यौन तथा रासलीलाको संकेतका रूपमा लिन्छन् । जनकवि श्रेष्ठ भन्छन्, ‘पहिले होलीलाई वसन्त ऋतुको प्रतीकका रूपमा मानिन्थ्यो, जहाँ यौन तथा रासलीलाका कुरा हुन्थे । उक्त गीत पनि यौनसँग सम्बन्धित गीत हो ।’

यस गीतमा कुुलदेवीलाई होँच्याइएको सन्दर्भलाई उनी तत्कालीन पुरुषवादी समाजको विम्ब आएको बताउँछन् । ‘समाजमा पहिलेदेखि पुरुषको वर्चस्व रहँदै आएको हो । पहिलेका गीत यौनबारे हुन्थे र ती गीत पुरुषले नै लेख्थे । पुरुषले पुरुषलाई नै होँच्याउने तथा यौनका संज्ञा दिने परिपाटी थिएन,’ उनी भन्छन्, ‘जसकारण, गीतमा केटीहरूले आफ्नो सतित्व बेच्नुपर्ने जस्ता अवस्थाको पनि चित्रण गरिएको पाइन्छ । यस्ता केटीलाई कुलदेवीको नाम दिइन्थ्यो ।’

जनकवि दुर्गालाल श्रेष्ठ। तस्बिर : सुजल बज्राचार्य

यस गीतमा कुलदेवीलाई होँच्याइएको मात्र छैन, उनलाई वस्तु ठानिएको तर्क जनकवि श्रेष्ठको छ । उनी गीतका शब्दको अर्थ केलाउँदै भन्छन्, ‘बन्धक बनाउनुको अर्थ सतित्व हरण गर्नु हो । विवाहित महिलालाई उठाएर लगी उनको बुबा आउँदा कुकुरलाई टोकाएर पठाउने कुुरा गीतमा छ । उनको श्रीमान् नै आउँदा पनि ढोकाले अड्काएर राख्ने भन्नुको अर्थ महिलालाई सामानसरह ठान्नु र मनमौजी गर्नु हो ।’ 

गीतमा प्रयुुक्त शब्दहरू, जस्तो : बन्धक बनाउने, ढोका च्याप्ने, दुईवटा अण्डा आदिको अभिधा अर्थ एउटा भए पनि लक्षणाले यौनिक अर्थ दिने उनी बताउँछन् । ‘चिउराले नग्नता, दुईवटा अण्डाको अर्थ (स्तन) हो भने ढोका बन्द गरेर अड्काउनुको अर्थ शारीरिक सम्बन्ध राख्ने अर्थ दिन्छ,’ उनी भन्छन्, ‘त्यस प्रकारका गीत उक्त समयमा खुलस्त रूपमा गाउने चलन हाम्रै समयसम्म थियो ।’

इतिहासकार त्रिरत्न मानन्धर नेवार समुदायमा राजमति र पानमतिका बारेमा धेरै राम्रा गीत हुँदाहुँदै कुलदेवीलाई होँच्याइएको गीत गाइँदै आउनुलाई महिलाप्रतिको अन्याय मान्छन् । ‘महिलालाई बन्धकी राख्नु अन्यायपूूर्ण कदम हो । यसले तत्कालीन समाजको महिलाप्रतिको सोचलाई प्रतिविम्बित गर्छ,’ उनी भन्छन् । 

इतिहासकार त्रिरत्न मानन्धर । तस्बिर : सुजल बज्राचार्य

कुलदेवी को थिइन् ? उनलाई नै किन यसरी होँच्याउने गरियो, यसबारे भने अनुसन्धान भएको पाइँदैन । पाठक वर्गमा यसबारे केही थप जानकारी भए प्रतिक्रियाको रूपमा हामीलाई पठाउन सक्नुहुनेछ । 

इतिहासकार प्रकाशमान श्रेष्ठ भने यस गीत विशेषतः यौनसँग जोडिएर आएको बताउँछन् । उनका अनुसार, हिन्दूू मान्यतामा होलीमा कृष्ण र राधाको रासलीला आउँछ । सोही अनुसार कुलदेवीको गीत पनि यौनसँग जोडिएर आएको हुन सक्ने उनी बताउँछन् । ‘होलीमा रमाइलो ख्यालठट्टा गर्ने चलन पहिलेदेखि नै छ,’ उनी भन्छन्, ‘होलीमा आफूलाई मन परेको केटीसँग केटा जिस्कने वा छुने जस्ता क्रियाकलाप हुने गर्छ । हुन सक्छ, कुलदेवीको चरित्र समाजमा त्यस्तै थियो, जसकारण उनलाई यसरी चित्रण गरियो ।’

अन्य यौनिक अर्थ लाग्ने गीत 

भक्तपुरस्थित दत्तात्रय मन्दिर परिसरको विपरीतमा रहेको भीमसेनको मन्दिरको पाटीमा होलीको एक साता फागुन शुक्ल अष्टमीदेखि फागु पूर्णिमाको अवधिभर भजन गाइन्छ । जसको एउटा पंक्ति यस्तो छ । 

‘भिसीं द्यो या लगखङ लो वान ला, बिस्यु वाने माय्क स्व वया ला’,
अर्थात्, भीमसेनको लिंगले मन लोभ्यायो कि भाग्नुपर्ने गरी हेर्न आएको हो कि !’

संस्कृतिविद् ओम धौभडेलका अनुसार, यहाँ गीत मात्रै आउँदैन, यन्त्रका माध्यमबाट यौन समागमको दृश्य नै हेर्न सकिन्छ । मन्दिरको पहिलो तलामा एउटा ठूलो लिंग आकारको काठ झुन्ड्याइन्छ, जसलाई स्थानीयले भीमसेनको लिंगका रुपमा मान्छन् । वसन्तपुरमा चीर ठड्याएदेखि होलीसम्म यहाँ लिंग र योनिलाई सोही अवस्था राखिन्छ ।

लिंगलाई मानिसले धकेलेर रातो कपडाको प्वाल र बाहिर गराउँछन् । रातो कपडाको प्वाललाई द्रौपदीको योनिसँग तुलना गरिन्छ । जसलाई भीमसेन र द्रौपदीको संगम भएको बुझिन्छ । होलीको दोस्रो दिन उक्त लिंगलाई लगेर हनुमानघाटस्थित खोलामा लगेर पखालिने पनि गरिन्छ । 

भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेको उनी बताउँछन् । लिंग र योनिको समागमलाई दर्शन गर्दा परिवार सुख, शान्ति र निरोगी रहने जनविश्वास छ । ‘पहिले समाजमा यौन शिक्षाको कमी थियो । जसकारण यस्तै पर्वका माध्यमबाट यौनशिक्षा दिने गरिन्थ्यो,’ धौभडेल भन्छन्, ‘यौन कसरी हुन्छ अनि कसरी सरसफाइ गर्ने भनी यसले सिकाएको हुन सक्छ ।’ समाजमा अश्लील मानिने यस्ता विषयलाई भगवानको आडमा श्लील बनाई हाम्रा पुर्खाले मानिसलाई बुुझाउन खोजेको हुने सक्ने उनी बताउँछन् । 


नेपाल भाषाको चलचित्रमा होली गीत

सिलु नामक नेपाल भाषाको पहिलो चलचित्रमा एउटा होली गीत छ– 

‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बि ।’
अर्थात्, अबिरको होलीले रिसायाैँ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि !
त्यस्तै, नेपालभाषा प्रचलित एउटा होली गीत छ–
होलिया मेला मयजुँ मस्युला
अबिर भचासौ तयु मज्युला
झ्याले चोंगु तुकंमा छ हे ल्यासे जित मा
छ हे ल्यासे मरेकं जा हे मनाया

अर्थात्,

होली मनाउन मयजु (केटीलाई सम्बोधन गर्ने शब्द) 
अबिर थोरै दल्न मिल्दैन र ?
झ्यालमा झुड्याएको तोरीको माला, 
त्यही झ्यालमा बसेकी केटी (ल्यासे) मलाई चाहियो
त्यो केटी नपाए, म भातै खान्न ।
दाफा भजन तथा विभिन्न जात्रामा गाइने यस्ता गीत महिलाप्रति लक्षित छन् । जहाँ पुरुषले जबर्जस्ती मन परेकी स्त्रीलाई प्राप्त गर्न खोज्छ । 
 

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्