जसले जर्मनीमा ‘नेवा तान्त्रिजम्’ पढे, अमेरिकामा पुरेत्याइँ गर्दै छन्
काठमाडौं असनमा जन्मेका उनी पुरोहित्याइँ गर्न अमेरिका कसरी पुगे ? यसमा उनको पुर्ख्याैली पेसादेखि अध्ययनका कुरा जोडिन्छन्।काठमाडौं, फागुन २४ : बासब जुजु राजोपाध्याय अहिले अमेरिका बस्ने नेपालीका लागि पुरोहित्याइँ गर्छन् । इहि, व्रतबन्ध, जंकु, विवाह आदि संस्कार विधिपूर्वक सम्पन्न गर्न नेवार समुदायसँगै अन्य समुदायका नेपालीले उनलाई बोलाउँछन् ।
अमेरिकामा उनलाई यस्ता संस्कारजन्य कर्मको कमी हुँदैन । ‘पाँच–६ महिनाअघि नै अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ,’ ३८ वर्षीय बासबले फेसबुक मेसेन्जरमार्फत भने, ‘काम गरेर जीविकोपार्जन गर्नुपर्ने देश हो अमेरिका । यसकारण मेरो आफ्नै कामको तालिका मिलाउनुपर्ने हुन्छ ।’
भर्जिनियामा बस्ने उनी कहिले टेक्सास, कहिले आलाबामा पुग्छन् । अमेरिकाको ‘इस्ट–कोस्ट’ जहाँ नेपालीको बसोबास बाक्लो छ, त्यहाँबाट उनलाई बढी बोलावट हुन्छ । यसका लागि उनले रुट मिलाएर जानुपर्ने हुन्छ। काठमाडौं असनमा जन्मेका उनी पुरोहित्याइँ गर्न अमेरिका कसरी पुगे ? यसमा उनको पुर्ख्याैली पेसादेखि अध्ययनका कुरा जोडिन्छन् ।
‘नेवा तान्त्रिजम्’को अध्ययन
बासबका बुवा अच्युतानन्द काठमाडौंस्थित कन्या मन्दिर हाइस्कुलको संस्थापक शिक्षक थिए, फुर्सदका बेला उनले पुरोहित्याइँ पनि गर्थे । नेवार समुदायमा ‘राजोपाध्याय’को पुर्ख्याैली पेसा हो, ‘पुरोहित्याइँ’ । बासब १२ वर्षको उमेरदेखि कहिलेकाहीँ बुवासँग पुरोहित्याइँ गर्न हिँड्थे ।
केटा मान्छेले कपाल किन खौरन्छन्, केटीले किन खौरँदैनन्, पूजामा मण्डला किन बनाइन्छ, पूजा अनुसार मण्डला किन फरक हुन्छ, म्हपूजा किन गरिन्छ, व्रतबन्धमा किन गायत्री मन्त्र सिकाइन्छ— बासब सानोमा आफ्ना बुबासँग यस्तै प्रश्न गर्थे । संस्कृत पढ्न जानेकै भरमा कर्मकाण्ड गर्नु उनका लागि चित्तबुझ्दो थिएन ।
उनले नेपालमै व्यवस्थापन संकायअन्तर्गत एमबिए गरे । त्यतिबेला उनले पुर्ख्याैली पेसासँगै विज्ञापन एजेन्सी पनि चलाएका थिए । एक हिसाबले उनको जीवन राम्रै चलिरहेको थियो । पुरोहित्याइँ सम्बन्धमा बाल्यकालदेखिका अनेक प्रश्नको जवाफ भने उनले पाएका थिएनन् । यही जवाफ खोज्ने क्रममा उनी जर्मनीको एड्रोपोल विश्वविद्यालयमा भर्ना हुन पुगे । जहाँ उनले मेटाफिजिक्स अन्तर्गत ‘नेवा तान्त्रिजम्’ अध्ययन गरे ।
त्यहाँ भर्ना भई रिसर्चका लागि नेपालदेखि अमेरिकासम्म पुगेका थिए । सन् २००७ मा एक वर्कसपका लागि अमेरिकास्थित सियाटल राज्य पुगेका बासबले त्यहाँ रहेका नेवार समुदायको कर्मकाण्ड सम्बन्धमा सोधखोज गरे । अमेरिकास्थित ‘नेवाः अर्गनाइजेसन अफ अमेरिका’ नामक संस्थाका मानिसले उनलाई पुरोहितका रूपमा अमेरिकामै बस्न आग्रह गरे ।
अमेरिका बस्ने प्रस्तावले उनलाई सुरुमा खासै आकर्षित गरेन । अमेरिका बस्न आग्रह गरे पनि त्यस संस्थाले उनको बसोबासको जिम्मा लिन मानेको थिएन, यसैले पनि उनी इच्छुक भएनन् । उनी परिवारका एक मात्र छोरा, यहाँ सबै राम्रो थियो, घरमा आमालाई एक्लै छाडेर अमेरिका बस्न उनको मनले मानेन । आमाले बस्न सल्लाह दिएपछि उनी उतै बसे ।
अमेरिकामा पनि भनेजस्तो सहज छैन । सुरुमा उनले फाट्टफुट्ट कर्मकाण्डका काम पाएका थिए । आर्यआर्जनका लागि उनी ट्राभल एजेन्सी तथा हाउजिङको काम गरे ।
उनी भन्छन्, ‘आफू व्यवस्थित भएपछि मात्र भाषा र संस्कृतिमा ध्यान जाने रहेछ ।’ अहिले उनले आफ्नो पुर्ख्याैली पेसालाई धानेका मात्रै छैनन्, संस्कृतिको प्रवर्द्धन पनि गरिरहेका छन् । उनको भनाइ छ— यो मेरो पेसा होइन, प्रवासमा संस्कृति जोगाउने प्रयास हो ।
प्रवासमा इन्द्रजात्रा र लाखेनाच
सन् २००८ पछि उनले अमेरिकामा इहिपां, व्रतबन्ध (कय्ता पूजा) गर्न थाले । ‘बल्ल अमेरिकाको बसाइले सार्थकता पाएको आभास हुन थाल्यो,’ हाल वल्र्ड नेवा अर्गनाइजेसनका राजदूत रहेका बासब भन्छन्, ‘सन् २०१२ मा नेपालबाहिर पहिलोपटक हामीले अमेरिकामा इन्द्रजात्रा गरौँ । लाखे नाच देखायौँ ।’
प्रवासमा बस्नेका लागि संस्कृतिले टाइम ट्राभल गराउने उनको अनुभव छ । उनी भन्छन्, ‘यहाँ धुप मात्र बाल्दा पशुपतिको याद आउँछ, बंगलामुखीको याद आउँछ ।’
अमेरिकामा कर्मकाण्ड गर्न आवश्यक सामग्रीको भने अभाव हुन्छ । पूजा विधिमा आवश्यक काँचो धागो, बेल लगायत कतिपय सामान त्यहाँ पाइँदैन । ‘नेपाली सामान अमेरिकी स्टोरमा खासै पाइँदैन,’ उनी भन्छन्, ‘सामाजिक चालचलनका कारण भारतीय स्टोरमा भने केही पाइन्छ । नपाइने सामानको ठाउँमा प्रतिमूर्ति वा वैकल्पिक वस्तुको प्रयोग हुन्छ । तर पूजा विधिमा परिवर्तन गरिँदैन ।’
उनी आफैँ पनि पूजा गर्दा जामा लगाउँछन्, जुन नेपालमै बस्ने राजोपाध्यायले पनि लगाउन कम गरिसके । ‘पुरोहितले पनि पूजामा जामा लगाउनुपर्छ चलन अनुसार,’ उनी भन्छन्, ‘हामीसँग तीन सय वर्ष पुरानो करिब सात किलो चाँदीको जामा छ । अहिले त्यो जामा लगाएर पूजा गर्न सकिँदैन । भनिन्छ, सय वर्ष पुराना वस्तु बाहिर ल्याउनु पनि हुँदैन । यसकारण मैले सोही जामाको ढाँचामा सिल्क कपडाको जामा लगाउने गर्छु ।’
‘रातो टीका रगत त होइन ?’
प्रवासमा रहे पनि अधिकांश नेपालीले चाडपर्व मनाउने लगायत संस्कार छाडेका छैनन् । नेपालमा जति सक्यो छिटो पूजाविधि सकाउन हतार गर्छन् तर यहाँ एक दिनका लागि छुट्टी मिलाएर विधिविधानसहित आरामले अनुष्ठान गर्छन् ।
बासबका अनुसार, अमेरिकी जीवनशैलीमा अभ्यस्त रहेका कतिपय नेपाली नयाँ पुस्ता रातो टीका देख्दा डराउँछन् । ‘निधारमा लगाउने टीका उनीहरूका लागि नौलो हुन्छ’, बासब भन्छन्, ‘रगत पो लगाइदिन लागे भनी डराउँछन् कति त ।’