Kathmandu Press

रङ पोत्नेहरूको विरंगी जीवन : नाटक रोगन

नाटकको कथा र प्रस्तुति प्रतीकात्मक र प्रयोगात्मक छ। जसकारण नाटकसँग जोडिन वा बग्न आम दर्शकले राम्रै कसरत गर्नुपर्ने हुन्छ। साउन्ड सिस्टमदेखि प्रस्तुतिमा निकै मेहनत देखिन्छ।
रङ पोत्नेहरूको विरंगी जीवन : नाटक रोगन

काठमाडाैं, फागुन २१ : एउटा राउन्ड टेबल छ। टेबलमाथि कटन क्यान्डी खाँदै छन्, ठेकेदार। उनले क्यान्डीको खोल टकटक्याउँछन्। खोलबाट खस्ने कटन क्यान्डीका मसिना टुक्रा खान लालायित केही पात्र टेबल वरपर झुम्मिएका छन्। जो सहरका भित्ता रंगाउने काम गर्छन्। रंगीविरंगी रङले दुनियाँ रंगाउनेको जीवन भने कति रंगीन वा फिका होला ? संयोग गुरागाईंको लेखन र राजन खतिवडाको निर्देशन रहेको नाटक ‘रोगन’ले यस्तै प्रश्न गर्छ। 

नाटक प्रश्नै प्रश्नमा सुरु र अन्त्य भएको छ। एक हुल रङ लगाउने मानिससँग प्रश्नको भकारी टम्म छ तर उनीहरू उत्तरका भोका छन्। नाटकको सुरुवात रामदाइ नामक एक व्यक्तिको खोजीमा हुन्छ। जो अन्तिमसम्म भेटिँदैनन्। गर्भको संज्ञा दिएको एक भकारीबाट बालक आफू कहिले जन्मने भनी प्रश्न गर्छन्। उनको जन्म कहिल्यै हुँदैन। नाटकमा पात्रका नाम छैनन्। पात्रका भावनाले नै भावकलाई उनीहरूको परिचय दिन्छ। कोही निकै विचलित छन्, कोही आवेगमा। 

फरक मनोवृत्तिका पात्रका प्रश्न पनि फरक छन्। रङरोगन गर्ने क्रममा कोही मुक्ति कहिले पाइन्छ भन्छन्, कोही रङको सीमाको कुरा गर्छन्, कोही सिक्का ‘कोइन’का कुरा गर्छन्, कोही चन्द्रमाका। पात्र सामान्य छैनन्, न त उनीहरूका प्रश्न सामान्य छन्। प्रश्नका सही उत्तर दिन पनि उनीहरू सचेत छैनन्। सबै प्रश्नको उत्तर आफूहरूको ठेकदारसँग हुनेमा सबै विश्वस्त छन्। 

Hardik ivf

उनीहरू रङको काम गर्छन् तर पात्रैपिच्छे रङको परिभाषा फरक छ। कसैका लागि रङ आहारा हो। कसैका लागि रङ आगो हो। रङ लगाउने जमातले घरमालिकलाई चिन्दैन। बीचबीचमा आउने सुरक्षा गार्डले भने घरमूलीलाई मात्र चिन्छन्, ठेकदारलाई चिन्दैनन्। घरमूलीले बाहेक अरुले सुरक्षाका लागि हेलमेट लगाउन नमिल्ने सोच उनको छ। 

मालिक्नी आउँछिन्, काम चित्त नबुझेको बताउँछिन् र जान्छिन्। न उनले रङ लगाउनेको हुललाई चिन्छिन्, न त उक्त हुलले उनलाई चिन्छ। पँुजीपति र सर्वहाराबीचको खाडल स्पष्ट देखिन्छ।

निम्न वर्गको चित्रण नाटक ‘रोगन’ले गरेको छ। एक दृश्यमा उनीहरू कुरा गर्छन्– सेता कम्पाउन्ड भएको ठूलो दरबार छ, त्यहाँका रङ बिग्रिएका छन्। त्यहाँ रङ लगाउन जाऊँ। त्यहाँसम्म कसरी पुग्ने बाटो उनीहरूलाई थाहा छैन। उनीहरूले सिंहदरबारतर्फ संकेत गरेको बुझिन्छ तर सिंहदरबार अर्थात् सरकारदेखि उनीहरू निकै पर छन्। सरकारले पनि उनीहरूलाई देखेकै छैन। उनीहरूको दुःख देख्ने कोही छैनन्। 

ठेकदार आएपछि सबैको अभाव हराउनेमा उनीहरू आशावादी छन्। नाटक अवधिभर उनीहरूको खोजी पनि ठेकदारकै हुन्छ। लामो प्रतीक्षापछि ठेकदार आउँछ। ठेकदारसँग चेक छ। चेकसँगै ऊसँग एउटा कटन क्यान्डी छ। तर, उनीहरूले चेक नभई कटन क्यान्डी समेत पाउँदैनन्।

दुनियाँलाई रंगाउन तत्पर उनीहरूको जीवन अभाव र भोकले रङहीन हुँदै जान्छ। उनीहरूको रोगनमा पनि रोदन छ। दिनभर रङ पोत्नेहरूको जीवन रङविहीन रहेको नाटक रोगनले देखाउँछ।

नाटकको कथा र प्रस्तुति प्रतीकात्मक र प्रयोगात्मक छ। जसकारण नाटकसँग जोडिन वा बग्न आम दर्शकले राम्रै कसरत गर्नुपर्ने हुन्छ। साउन्ड सिस्टमदेखि प्रस्तुतिमा निकै मेहनत देखिन्छ। नाटक हेर्दै जाँदा कताकता कथाले लय गुमाएको हो कि भन्ने महसुस गराउँछ। यस कारण होला, नाटकको ब्रोसरमा लेखकले उल्लेख गर्छन्, ‘हामीले देखिरहेको, भोगिरहेको समाजको कथा हो। भन्छन् नि, बुझ्ने कुरा ठ्याक्कै यही हो भनेर नभएपछि सो कुरा जसरी बुझे पनि हुन्छ। असान्दर्भिक सान्दर्भिकता जस्तै।’ 

प्रकाशित मिति: १७:१६ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्