Kathmandu Press

नाबालिगबीच सहमतिको करणी र यौनशिक्षा 

यहाँ अर्को प्रश्न पनि उब्जन्छ, किशोर वा किशोरीले १८ वर्षअघि नै ‘म यौनका लागि शारीरिक र भावनात्मक रूपमा परिपक्व भएँ, म सुरक्षित यौनसम्बन्ध राख्न चाहन्छु वा प्रेम सम्बन्धमा बस्न चाहन्छु’ भने के गर्ने ?
नाबालिगबीच सहमतिको करणी र यौनशिक्षा 

काठमाडाैं, फागुन १८ : आइतबार कलाकार पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि एक नाबालिग गायिकालाई करणी गरेको उजुरी परेको थियो । पलविरुद्ध उजुरी परेसँगै सामाजिक सञ्जालदेखि विविध मिडियामा विभिन्न तर्क–वितर्क चलेका छन् । विशेषतः सहमतिको यौन सम्बन्ध र सहमतिको यौन सम्बन्धका लागि कानुनले तोकेको उमेरकाे विषयमा बहस भइरहेका छन् । 

भर्खरै बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका दोषीलाई जिल्ला अदालत बैतडीले साढे १२ वर्ष कैद सजाय सुनाएको छ । दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथीको २१ माघ २०७७ मा बलात्कारपछि हत्या भएको थियो ।  अपराधमा संलग्न किशोर १६ वर्षभन्दा कम र १४ वर्षभन्दा माथिको भएका कारण कुल सजायको आधा सजाय काटे पुग्ने भन्दै जम्मा १२ वर्ष ६ महिना मात्रै कैद सजाय सुनाइएको छ ।

यी दुवै घटनाको केन्द्रमा करणी र नाबालिग विषय आएको छ । र, जघन्य अपराधमा सजाय कम हो कि भन्ने प्रश्न पनि उठेको छ । 

Hardik ivf

मुलुकी अपराध संहिताले १८ वर्षभन्दा कम उमेरको बालिकालाई मञ्जुरीमा करणी गरे पनि जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।  कानुनले विवाहअघि १८ देखि २० वर्षको उमेरमा मञ्जुरी वा सहमतिमा यौनसम्बन्ध राख्न छुट दिएको ठहर्छ । यहाँ अर्को प्रश्न पनि उब्जन्छ, किशोर वा किशोरीले १८ वर्षअघि नै ‘म यौनका लागि शारीरिक र भावनात्मक रूपमा परिपक्व भएँ, म सुरक्षित यौनसम्बन्ध राख्न चाहन्छु वा प्रेम सम्बन्धमा बस्न चाहन्छु’ भने के गर्ने ? यसो नभने पनि उनीहरूका चाहना विद्रोहमा परिणत हुनसक्छन्, जसले विभिन्न दुर्घटना निम्याउन पनि सक्छन् ।

अधिवक्ता रुकमणी महर्जनका अनुसार, १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीले मञ्जुरीमै सहवास गरे पनि कानुनले किशोरलाई दोषी वा आरोपीका हेर्छ । ‘एक अध्ययनले बेलायतजस्ता पश्चिमा मुलुकमा १४–१६ वर्षदेखि नै बालबालिका यौनिक रूपमा सक्रिय हुन्छन् । नेपालमा भने सामाजिक पृष्ठभूमि र समयसापेक्ष अनुसारको कानुनी व्यवस्था नहुनाले यस प्रकारको समस्या निम्तिएको हो,’ अधिवक्ता महर्जन भन्छिन्, ‘धेरै छलफल र परामर्श गरी कानुनलाई पनि संशोधन गर्ने अवस्था आएको छ । किनभने एकातर्फ अपराध रोक्नुपर्ने दायित्व छ, अर्कोतर्फ निर्दोषलाई बचाउनुपर्ने पनि छ ।’

बालबालिकालाई यौन शिक्षा आवश्यक : मनोविद् 

बालबालिकामा ठीक–बेठीक छुट्ट्याउने परिपक्वता विकास नहुने भएकाले यौनजस्ता घटनामा बालबालिकाको संलग्नता हुन पुग्ने मनोविद् करुणा कुँवर बताउँछिन् । 

उनका अनुसार, किशोरावस्था निकै संवेदनशील उमेर हो । किशोर तथा किशोरी दुवैमा हर्मोनको उतारचढाव भइरहेको हुन्छ । त्यसैले विपरीत लिंगीप्रति आकर्षित हुनु स्वाभाविक हुन्छ । शारीरिक विकासका क्रममा रहेका किशोरकिशोरीबीच यौनसम्पर्क भएमा यसले भौतिक तथा मानसिक स्वास्थ्यमा जटिलता ल्याउन सक्छ । ‘यस्ता विषयमा बालबालिकालाई  सजग गराउन घर–परिवार र विद्यालयमा यौन शिक्षा दिन आवश्यक छ,’ उनले भनिन् । 

बलात्कार तथा करणीका घटना भने पितृसत्तात्मक समाजको उपज समेत भएको उनी बताउँछिन् । ‘बढ्दो उमेरसँगै पुरुष हुनुको अहंले यस्ता घटना निम्तिने पनि हुन्छन्,’ उनी भन्छिन्, ‘हलक्क बढेका किशोरीप्रति आकर्षित भई शारीरिक भोगका लागि प्रस्ताव राखेका घटना पनि समाजमा व्याप्त छन् । त्यस्तै, किशोरी पनि विपरीत लिंगीप्रति आकषित हुनु स्वाभाविक मान्न सकिन्छ ।’

त्यसैले समाजका सबैलाई कानुनी व्यवस्थाको जानकारी गराइनुपर्ने कुवँरको भनाइ छ ।

प्रकाशित मिति: १२:३१ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्