नुमाफुङ : नुमाको नवीन निर्णय
मौलिक संस्कृतिमा विकृति पनि हुन्छन्, विकृति हटाउन विद्रोह चाहिन्छ। चलचित्रको कथा नुमाको निर्णय अर्थात् विद्रोहमा गएर टुंगिएको छ।काठमाडौं, फागुन १४ : श्रीमती मृत्युपछि श्रीमान्ले दोस्रो वा तेस्रो विवाह गर्नु नेपाली समाजमा सामान्य लाग्छ। श्रीमानको मृत्युपछि विधवाले पटकपटक विवाह गरेको सन्दर्भ भने नेपाली समाजले अझै पचाउन गाह्रै हुन्छ। संस्कृति, विकृति र विद्रोहको माला उनिएको नेपाली चलचित्र नुमाफुङले यस्तै कथा भनेको छ।
हरेक दिन लोजिना (निवाहाङ्मा लिम्बु) आफ्नी दिदी नुमा (अनुपमा सुब्बा) का लागि फूल ल्याएर कपालमा लगाइदिने गर्छिन्। एक दिन बाख्रा चराएर फर्किएकी लोजिनाले घरमा सधैँभन्दा फरक माहोल पाउँछिन्।
केही अपरिचित व्यक्ति सगुनसहित केही कुराको मोलतोल गरिरहेका हुन्छन्। बालसुलभ उनी आफ्नी दिदी नुमालाई के किन्न आएको भन्छिन्। पछि उनले बुझ्छिन्- यो विवाहको रीत हो। यसमा बेहुला पक्षले बेहुली पक्षलाई माग गरेअनुसार सुनौली–रूपौली (सुन, चाँदी, नगद आदि) बुझाउनुपर्ने हुन्छ।
घरमा नुमाको स्वीकृतबिनै विवाहको तय र तयारी हुन्छ। यौवनावस्था र हुनेवाला श्रीमान् ओझाहाङ (आलोक नेम्बाङ)लाई देख्दा उनको मनमा काउकुती भने लागेकै हुन्छ। नुमा र ओझाहाङको विवाह हुन्छ। दुवैबीच प्रेमभाव विकसित भइरहेका बेला श्रीमान्को निधन हुन्छ।
श्रीमानपछि नुमाले गर्भमा रहेको बच्चा पनि गुमाउँछिन् र माइतीघर फर्किन्छन्। नुमा हिन्दू समाजमा जस्तो विधवा नभई अविवाहितसरह जन्मघरमा बस्छिन्। श्रीमान् र पेटमा रहेको बच्चा गुमेको पीडा बिस्तारै सामान्य हुँदै जाँदा घरमा पुनः उनको विवाहको कुरा चल्छ। यसपटक पनि उनको रायबिनै विवाह हुन्छ, एक अधबैंशे घमण्डी पुरुष, गिरिहाङ (प्रेम सुब्बा)सँग।
पहिलो श्रीमान् ओझाहाङसँगजस्तो सुमधुर सम्बन्ध नुमाको गिरिहाङसँगै हुँदैन। अभिमानी गिरिहाङ नुमाको कुरा एक रति सुन्दैन, कुटपिट गर्न पनि पछि पर्दैन। मेला जाने क्रममा एक सामूहिक झगडामा नुमाकै कारण गिरिहाङको ज्यान बच्छ। तर, उक्त कुराले उसको अभिमानमा ठेस पुग्छ। मेलामै उसले नुमालाई लात हान्छ। सोही मेलामा धेरैअघि भेटेको रिकुटेसँग नुमाको पुनः भेट हुन्छ। रिकुटेले नुमालाई जारी तिरेर भगाउन तयार भएको बताउँछ।
सदैव परिवारकै मान र इज्जतका लागि जीवनका दुःख सहेकी उनले अब भने आफ्ना लागि सोच्छिन्। चलचित्रमा ठ्याक्कै नुमा भागेको दृश्य नभए पनि नुमा र रिकुटे बेपत्ता भएको खबर फैलिन्छ। अन्ततः नुमाले समाजको स्थापित मानक, परिवारको मान र इज्जतभन्दा आफ्नो खुसीलाई रोजेको देखिन्छ।
जारी तिर्ने चलनका कारण नुमा र रिकुटे नभेटिएपछि नुमाका बाबुले उक्त रकम तिर्नुपर्ने हुन्छ। जसका कारण उनीहरूको घर लिलामीमा पर्छ। यसरी आफू हुर्के-बढेको स्थान छाडेर बुबा जान सकेका हुँदैनन् तर, उनी बाध्य छन्। पहिले छोरी नुमालाई विवाहका लागि बाध्य नबनाएको भए पछि उनको यो बाध्यात्मक स्थिति नआउन सक्थ्यो।
चलचित्रको अन्तिम दृश्यमा लोजिनाले देउरालीमा चढाएको फूल आफ्नो शिरमा लगाउँछिन्। जुन पहिले उनले दिदी नुमालाई लगाइदिएकी थिइन्। यसले अबका लागि अर्की ‘नुमा’को यात्रालाई संकेत गर्छ।
निर्देशक नवीन सुब्बाको निर्देशनमा सन् २००१ मा बनेको नुमाफुङले पूर्वी नेपालका लिम्बु समुदायको मौलिक कथा भन्छ। मौलिक संस्कृतिमा विकृति पनि हुन्छन्, विकृति हटाउन विद्रोह चाहिन्छ। चलचित्रको कथा नुमाको निर्णय अर्थात् विद्रोहमा गएर टुंगिएको छ।
यसअघि नेपालमा जस्ता खालका मूलधारका चलचित्र आएका थिए, तीभन्दा भिन्न र मौलिक कथावस्तुमा बनेको यस चलचित्रले प्रशंसाको माला अहिलेसम्म लगाएकै छ, साथै केही दुई अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ। सन् २००३ बंगालदेशको ढाका भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यो बेस्ट रनर अप र फ्रान्समा भएको फिल्म फेस्टिभलमा अडियन्स च्वाइस अवार्ड हासिल गरेको थियो।
विद्रोह
दोस्रो विवाहको मगनीमा नुमाले भन्छिन्, ‘मलाई बेची खाने भाँडो बनायौ।’ चलचित्रको मूलमर्म नुमाको यही एउटा संवादले व्यक्त गरेझैँ लाग्छ। सुनौली-रूपौली प्रचलन, जसले महिलालाई मानिस नभई वस्तु ठानेको छ। पहिलो र दोस्रो विवाहमा नुमाको राय लिइँदैन। तेस्रो विवाह नुमाले आफ्नो निर्णयमा गर्छिन्, जसले सुनौली–रुपौली रीतलाई पछाडि छाड्छ।
नुमा आवाज उठाउन सक्षम छिन् तर सामाजिक व्यवस्थाले सुरुदेखि उनको आवाजलाई दबाएको छ। परिवारको इज्जतका लागि उनी बाध्य हुन्छिन्, दोस्रो विवाह गर्न। दोस्रो विवाहकै समयमा पनि उनले श्रीमान्को घुँडामुनि आफ्नो घँुडा राख्न र कन्यादानका लागि हात दिन प्रतिकार गरिरहेकी हुन्छिन्, यसलाई उनको विद्रोहको संकेतका रुपमा बुझ्न सकिन्छ। अन्ततः सधैँ समाज र परिवारका लागि सहेर बसेकी उनी अब आफ्ना लागि सोच्छिन् र रिकुटेसँग भाग्छिन्, जसले उसलाई माया र इज्जत दुवै दिन्छ।
नुमाफुङमा बालपात्र लोजिनाको उपस्थिति अर्थपूर्ण छ। चलचित्रको कथा अगाडि बढ्दै गर्छ, उनले समाजलाई नियाल्दै जान्छिन्। लोजिना नयाँ ‘नुमा’ हुन्, जसमा विद्रोहका झिल्का छन्। सानैबाट समाजको व्यवस्थालाई नियालिरहेकी उनले भेनाजुलाई असम्मान गरेर सांकेतिक रुपमा अन्यायप्रतिको विरोध प्रकट गर्छिन्। यसले एउटा अझ सशक्त अनि नयाँ नुमाको निर्माण भइरहेको प्रतीत हुन्छ।
सन् २००२ मा, हिमाल म्यागेजिनमा प्रकाशित यस चलचित्रको रिभ्युमा, नुमादेखि लोजिनाको अप्रत्यक्ष प्रतिकार ‘डिस्गाइज अग्रेसन’ अर्थात् लुप्त आवेग भनिएको छ। ‘डिस्गाइज अग्रेसन’ सिद्धान्तको प्रतिपादन अमेरिकी दार्शनिक जेम्स सी स्टकले गरेका थिए।
घर छाड्ने क्रममा उनले आफ्नो दिदीको फोटो साथै लिएर जान्छिन्। लोजिनालाई घर छाड्नुको त्यति दुःख हुन्न, जति दुःख उनकी दिदीले नयाँ जीवन सुरु गर्दा भएको छ। कारण उनले नुमाको जीवनका आरोह–अवरोहलाई नजिकबाट नियालेकी छन्। यसले पनि सानी लोजिनामा विकसित भएको चेतनालाई संकेत गर्छ।