फलानो अर्थात् एक आममान्छेको व्यंग्य
५४ वर्षीय केसीले आफ्नो कार्टुन करिअरको तीन दशकमा सात–आठ हजार जति कार्टुन कोरे । कार्टुन भनेको व्यंग्य हो तर एक किसिमले प्रतिपक्षी आवाज हो । कार्टुनिस्ट भएपछि सत्ताको प्रतिपक्षमा हुनुपर्छ ।काठमाडौं, फागुन ९ : एकपटक भारतीय दूतावासले पत्र काट्यो, कार्टुनिस्ट राजेश केसीको कान्तिपुर दैनिकमा छापिएको कार्टुनलाई लिएर । दूतावासले मिडिया हाउसलाई सम्बोधन गर्दै लेखेको पत्रमा केसीको नाम किटान गरी पीतपत्रकारिता नगर्न अनुरोध गरिएको थियो ।
कार्टुनमा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले सिमानामा नेपालतर्फ शरीर र भारततर्फ खुट्टा राखेको चित्रण गरिएको थियो । कार्टुनमा मनमोहनको भनाइ थियो, ‘मैले तिम्रो देशमा टेकेको छैन ! मैले त आफ्नै भूमिमा टेकिरहेको छु ।’
ज्ञानेन्द्र शाहले सत्ता लिएपछि केसीले बनाएको कार्टुनलाई लिएर हुलाकबाट एउटा बेनामी पत्र आयो, धम्कीपूर्ण भाषामा । ‘राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै कान्तिपुरमा आर्मीहरू आई करिब सात-आठ दिन हरेक कामको निगरानी गरे,’ केसी भन्छन्, ‘समाचारदेखि कार्टुनमा समेत सेन्सर भयो ।’
५४ वर्षीय केसीले आफ्नो कार्टुन करिअरको तीन दशकमा सात–आठ हजार जति कार्टुन कोरे । कार्टुन भनेको व्यंग्य हो तर एक किसिमले प्रतिपक्षी आवाज हो । कार्टुनिस्ट भएपछि सत्ताको प्रतिपक्षमा हुनुपर्छ । जो सत्तामा बढी आउँछ, उही कार्टुनिस्टको नजरमा पर्छ । जहाँ विकृति हुन्छ, त्यहाँ पनि व्यंग्य हुन्छ। केसी भन्छन्, ‘मेरो कामै व्यंग्य गर्ने हो । यस्ता प्रतिक्रिया आउँदा खुसी लाग्ने रहेछ ।’
उनले थुप्रै नेतालाई आफ्नो कार्टुनको पात्र बनाएका छन् । उनलाई यकिन छैन, चर्चित नेतामध्ये कसलाई कतिपल्ट दोहो¥याएँ भन्ने । उनी अनुमान गर्छन्, ‘सायद गिरिजाप्रसाद कोइरालाकै सबैभन्दा बढी कोरेँ कि ?’
२०५० सालमा केसीलाई पहिलो पाठकपत्र आएको थियो, नेता सिके प्रसाईंबाट । त्यतिबेला प्रसाईं बिरामी रहेछन् । पत्रमा उनले केसीको कार्टुन हेरेर निको भएको व्यहोरा उल्लेख गरेका थिए ।
सुरुमा त केसीलाई पत्र सामान्य र रमाइलो लागेको थियो, पछि उनले सिके प्रसाईं ठूला नेता भएको थाहा पाए, उनलाई त्यो पत्र महत्वपूर्ण लाग्यो ।
राजेशले आफ्नो बारेमा चर्चा गर्दैनथे, चुपचाप काम गर्थे । यसको एउटा रमाइलो उदाहरण छ । कान्तिपुर दैनिकमा काम गर्दा पनि उनले ट्राभल एजेन्सीमा पनि काम गर्थे । एजेन्सीमा दुई वर्षदेखि सँगै काम गर्ने साथीले केसीकै कार्टुन देखाउँदै भने— हेर्नु त यो एउटै मान्छेले सधैँ कार्टुन बनाउँछ, तर गज्जब बनाउँछ ।
दुई-तीन वर्षदेखि सँगै काम गरेको साथीले समेत आफूलाई नचिनेकामा उनी एक हिसाबले चकित भए । यहाँ उनको नामको होइन, कामको चर्चा भएको थियो । यसलाई केसी आफ्नो सफलता सम्झन्छन्- एउटा सर्जकका लागि आफ्ना सिर्जना प्रख्यात हुनुभन्दा ठूलो सफलता अरु के हुनसक्छ ?
राज्य र छिमेकी देशबाटै आपत्ति जनाइए पनि आफूले मिडियामा काम गर्ने सिलसिलामा सम्पादकीय पक्षबाट कुनै बन्देज र सेन्सर नभएको उनी बताउँछन् । उनका कार्टुनका कारण मार्केटिङलाई घाटा लागेको एउटा प्रसंग छ । तेल, पेट्रोलको भाउ बढिरहेको सन्दर्भमा उनले एउटा कार्टुन कोरे । चित्रमा महँगीका कारण एक व्यक्ति तेल हाल्नका लागि बाइकको ट्यांकी मात्र लिएर पुग्छन् । ‘बाइकको ट्यांकी जनाउन एक न एक ब्रान्डको नाम उल्लेख गर्नुपर्ने थियो । मैले यामाहा देखाएँ,’ उनी भन्छन्, ‘कान्तिपुरमा राम्रो विज्ञापन दिइरहेको रहेछ यामाहाले । एउटा कार्टुनका कारण दुई महिना विज्ञापन बन्द भएछ ।’
यस सम्बन्धमा अर्को कार्टुनबाटै समाधान हुनुपर्ने माग यामाहा कम्पनीको थियो । यो कुरा उनलाई केही महिनापछि मात्र थाहा भयो । ‘कार्यालयमा मलाई यस विषयमा केही भनिएको थिएन,’ केसी भन्छन्, ‘पछि पुनः महँगी हुँदा यामाहाकै कार्टुन बनाएर १५ थोपा पेट्रोल हालिदिनु भन्ने आसयको कार्टुन बनाएको थिएँ, त्यसले सकारात्मक काम गरेछ ।’
उनको कार्टुनको आसय थियो- महँगीले कम पेट्रोल किनेको देखाउने । उता यमाहा कम्पनीले भने कम पेट्रोलमा पनि बाइक चल्छ भन्ने सकारात्मक अर्थमा हेरेछ । केसी भन्छन्, ‘अनि मार्केटिङको समस्या पनि हल भयो ।’
उनले कार्टुन सुरु गरेदेखि अहिलेसम्म प्रविधिमा निकै विकास भएको छ । पहिले फोटोकपी पेपरमा कार्टुन कोरिन्थ्यो, फोटो खिचिन्थ्यो । अहिले उनी एनिमेटेड कार्टुन बनाउँछन्, मोबाइल र आइप्याडको प्रयोग गर्छन् ।
०४६ पछि ब्रिफकेस बोकेका उम्मेदवार
सन् १९९१ को मार्चमा कार्टुनिस्ट राजेश केसीलाई फोन आयो, ‘तपाईंको कार्टुन छापिएको छ ।’ यी शब्दले उनको मन फुरुङ भयो । तर, त्यो खुसी लामो समय टिक्न सकेन । कार्टुन हेरेपछि उनको मन खिन्न भयो । कारण, कार्टुनका पात्र र स्केच त उनकै थिए मर्म भने तोडमोड गरिएको थियो ।
त्यतिबेला ‘ट्रान्स हिमालय टुर’ नामक ट्राभल एजेन्सीमा काम गरिरहेका केसीले गोरखापत्र र द राइजिङ नेपालमा कार्टुन पठाइरहन्थे । ‘सरकारी पत्रिकामा सरकारकै विरोध गरेको कार्टुन छाप्न सहज थिएन,’ केसी भन्छन्, ‘इडिटोरियल टिमलाई नै उक्त कार्टुन छाप्न करिब तीन दिन लाग्यो । चित्र मेरो भए पनि आइडिया सबै उता टिमको थियो । त्यो बेला आफूले बनाएको कार्टुन आफ्नोजस्तो लागेन ।’
आखिर के थियो त तीन दशकअघि कोरिएको उनको कार्टुनमा ? २०४६ को जनआन्दोलनपछि बहुदल आइसकेको थियो र चुनावी माहोल थियो । राजनीतिक दलका कार्यालयमा उम्मेदवारीको टिकट लिनेको भीड बढ्न थालेको थियो । ‘चाप्लुसीदेखि प्रलोभनबाट टिकट माग्नेको थिममा मैले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीको कार्टुन बनाएको थिएँ,’ उनी भन्छन्, ‘कार्टुन पात्र कोही सपना देख्दै, त कोही ब्रिफकेस बोक्दै हिँडेका थिए ।’
बहुदल आइसकेपछि सेन्सर ? केसीले सेन्सरबिना कार्टुन छाप्न करिब दुई वर्ष पर्खिनुपर्यो ।
कार्टुन यात्रा
कान्तिपुर र द काठमाडौं पोस्ट प्रकाशित हुन थालेपछि केसीले तत्कालीन सम्पादक योगेश उपाध्यायलाई भेटे र कार्टुनको अवधारणाबारे कुराकानी गरे । त्यस समय भारतीय पत्रिका ‘टाइम्स अफ इन्डिया’मा आरके लक्ष्मणको कार्टुन चलिरहेको थियो । विश्व ट्रेन्ड बुझेका सम्पादकले केसीको प्रस्तावलाई अनुमोदन गरे ।
सन् १९९३ देखि केसीले कान्तिपुर र द काठमाडौं पोस्टमा गरी दिनको दुईवटा कार्टुन बनाउनुपर्थ्याे । जहाँ उनले करिब चार वर्षसम्म काम गरे र एक वर्षका लागि अमेरिका गए ।
सन् १९९८ देखि उनी हिमालखबरमा आबद्ध भए, त्यहीँबाट उनको कार्टुन कलालाई ‘फलानो’ शीर्षक दिइयो । फलानो नामकरण पत्रकार तथा प्रकाशक कनकमणि दीक्षितले गरिदिएका थिए ।
सन् २००० देखि उनी पुनः कान्तिपुर फर्किए । कान्तिपुर दैनिकमा ‘गज्जब छ बा’ शीर्षकमा कार्टुन गरे । आठ वर्ष कान्तिपुरमा बिताएपछि सन् २००८ देखि नागरिक दैनिकमा आबद्ध भए । नागरिकमा ‘फलानो’ शीर्षकमै कार्टुन प्रकाशित हुन्थ्यो । सन् २०१५ बाट उनी बाह्रखरी अनलाइनमा आबद्ध छन्, जहाँ अहिले उनी प्रबन्ध सम्पादक छन् ।
फलानो पात्र
ठेट नेपाली शब्द ‘फलानो’ले कोही एक व्यक्तिलाई अर्थ्याउँछ। ‘कमन म्यान’ वा भनौँ आम नेपालीको प्रतिनिधित्वमा शीर्षकको नाम फलानो राखेको केसी बताउँछन् । ‘सामान्य भाषामा भन्दा फलानो एउटा कार्टुन क्यारेक्टर हो,’ उनी भन्छन्, ‘पुरुष वा महिला भनी लैंगिकताका आधारमा नहेर्ने हो भने फलानोले आम नेपालीको प्रतिनिधित्व गर्छ । आम नेपालीले समाजमा देखिरहेका, भोगिरहेका अनुभव नै फलानोमार्फत प्रस्तुत हुने हो ।’
बिहान धारोमा पानी नआउनेदेखि बत्ती जाने समेतका कुरा, जुन आम जनजीविकासँग सम्बन्धित छन्, यी विषय राजनीतिसँग ठोक्किने गर्छन् । यी विषयमा भ्रष्टाचार भएको हुनसक्छ । अथवा अरु विकृति, कमीकमाजोरी वा दलीय भागबण्डाका कारण आम मानिसले दुःख पाउने अवस्था सिर्जना भएको हुन सक्छ । यी राजनीतिक र सामाजिक विषय कार्टुनको थिम बन्ने केसी बताउँछन् । ‘सामाजिक तथा राजनीतिक विकृति विसंगतिलाई फलानोले देखिरहेको हुन्छ,’ केसी भन्छन्, ‘फलानोको मुख छैन, जसको अर्थ हो उसले बोल्न सक्दैन । आम नेपाली जसरी ऊ समाज देशको अवस्थालाई नियाल्न मात्र सक्छ । ऊ एक आम नेपालीको वास्तविकता पनि हो ।
कार्टुनिस्ट केसीका अनुसार, कार्टुन दुई किसिमका हुन्छन् : पकेट र एडिटोरियल । पत्रपत्रिकाको एउटा सानो कुना ओगट्ने हास्यापद चित्रण तथा अभिव्यक्तिलाई पकेट कार्टुन भनिन्छ । जुन प्रायः एक कोलमको हुन्छ । एडिटोरियल कार्टुनले दुईदेखि चार कोलम ओगट्छ।
चित्रकलामा प्यासन
केसी सानैदेखि चित्र कोर्थे । स्कुलमा उनले कोरेका चित्र राम्रो भएकाले शिक्षकले भित्तामा टाँसेर सजाउँथेँ । स्कुलमा हुने प्रतियोगितामा उनका चित्रले पुरस्कार पनि जित्थे । आखिर प्रतिभा प्रस्फुटन भएरै छाड्छ । कलेज पढ्दा उनले साथीभाइ, टिचरहरूको स्केच तथा क्यारिकेचर ब्ल्याक बोर्डमा बनाइदिन्थे । केसी भन्छन्, ‘शिक्षकले आफ्नो स्केच नमेटी ब्ल्याक बोर्डमा पढाउनुहुन्थ्यो ।’
आफू भारतीय कार्टुनिस्ट आरके लक्ष्मणबाट प्रभावित भएको केसी बताउँछन् । ‘क्यारिचेकरबारे मैले आरके लक्ष्मणकै चित्रकारिताबाट थाहा पाएको हुँ,’ उनी भन्छन्, ‘सानैमा मैले आरके लक्ष्मणको टाइम्स अफ इन्डियामा छापिएको इन्दिरा गान्धीको चित्र देखेँ । चित्र हेर्दा मान्छे चिनेजस्तो लाग्छ तर अनुहार केही बिगारिएको छ । पछि थाहा पाएँ, यस्तो कलालाई क्यारिकेचर भनिँदो रहेछ ।’
राजेशलाई सबैभन्दा मनपर्ने कार्टुनिस्ट हुन्, दुर्गा बराल ‘वात्सायन’ । ‘उहाँको व्यंग्यात्मक शैली अनि सालीन पन्च सशक्त लाग्छ,’ केसी भन्छन्, ‘यसबाहेक, भारतका आरके लक्ष्मण भइहाले, अजित मेनन पनि मन पर्छ ।’
युरोपियन, अमेरिकन कलाकारका कला पनि उनी पछ्याउँछन् । पुलिट्जर पुरस्कार विजेता अमेरिकी कार्टुनिस्ट टम पोल्ससँग उनको भेटघाट पनि भएको छ ।
चार–पाँच वर्षयता केसीका कार्टुन निरन्तर देखिएका छैनन् । फाट्टफुट्ट अनि एनिमेटेड कार्टुन एकाध रूपमा आउँछन् । पछिल्लो समय उनी व्यापारमा पनि केन्द्रित छन् । बाह्रखरी अनलाइनको जिम्मेवारीसँगै उनले ‘फलानो लुगा’ र ‘फलानो कफी हाउस’ पनि चलाएका छन् । ‘व्यवसायमा व्यवहार बढी हुने रहेछ,’ केसी भन्छन्, ‘यताको व्यवहार सेटल भएपछि कार्टुनलाई पहिले जसरी निरन्तरता दिनेछु ।’
कार्टुनिस्टका लागि उर्वर भूमि
हात र दिमागले साथ दिएसम्म कार्टुन गर्ने राजेशको इच्छा छ । उनका अनुसार, राजनीतिक र सामाजिक परिवेश हेरी नेपाल कार्टुनिस्टका लागि उर्वर ठाउँ हो । ‘यति धेरै विकृति विसंगति र भ्रष्टाचार भएको देशमा कार्टुनका लागि प्रशस्त विषय र स्पेस छन्,’ उनी भन्छन्, ‘तर, यो उर्वरता देशका लागि खतरा हो, कार्टुनिस्टले सोही खतरालाई व्यंग्यात्मक शैलीमा निस्तेज पार्न सक्नुपर्छ ।’
उनको बुझाइमा कार्टुनमा सिर्जनशीलता अपरिहार्य हुन्छ । ‘कसैले केही महिना सिकेर कार्टुनका लागि चित्र कोर्न त सक्ला,’ उनी भन्छन्, ‘डाइलग पन्च र आवश्यक दृश्य सिकाएर सिक्ने चिज होइन ।’ सिर्जनशील चित्रकारले नेपालमा कार्टुन क्षेत्रमा धेरै गर्न सक्ने उनी बताउँछन् । ‘बहुदलपछि निजी लगानीमा मिडिया आउन थाले । हाम्रो पुस्ता भाग्यमानी पनि हो,’ केसी भन्छन् ‘देशको राजनीतिक उथलपुथललाई प्रत्यक्ष देख्न, भोग्न पायौँ र कार्टुन कोर्ने अवसर पनि पाएका छौँ ।’
हास्यव्यंग्यको विधामा कमेडी सिरियल, स्ट्यान्ड अप कमेडी लगायत पर्छन् । कार्टुन भने व्यंग्यको सबैको छोटो फर्म हो । कार्टुनमा एक पन्चलाइन र एकै दृश्यमा भन्नुपर्छ ।