Kathmandu Press

‘देवदास’देखि ‘देव डी’सम्म : प्रेममा सकिने कि उठ्ने ? 

देवदास उपन्यासकी पात्र चन्द्रमुखी ‘देव डी’ फिल्ममा चन्दा (कल्की केकला) भएकी छन्, जो आफ्नो इच्छाले वेश्यावृत्तिमा लाग्छिन् । उनले समाजको सबैभन्दा क्रूर रूप देखेकी छन् । जसले उनलाई कमजोर होइन कि मजबुत बनाएको छ ।
‘देवदास’देखि ‘देव डी’सम्म : प्रेममा सकिने कि उठ्ने ? 

काठमाडौं, माघ २९ : प्रेमिकालाई नपाएपछि मदिराको कुलत फस्न पुगेको पुरुष, ठूलो–सानो कुलवंशको मान्यताले थिचिएकी स्त्री र सहरमा नाचगान गरेर जीविका चलाउने अर्की स्त्री— यी तीन प्रमुख पात्रले खोजेको प्रेम, बुझेको प्रेम र भोगेको प्रेमका बीच हिन्दी फिल्म देवदास (२००२) को कथा घुमेको छ । 

शाहरूख खान, ऐश्वर्या राय र माधुरी दीक्षितको जोडदार र यादगार अभिनय रहेको देवदास चलचित्र अधिकांशले हेरेको हुनुपर्छ । सञ्जयलीला भन्सालीको निर्देशन रहेको यस चलचित्रको कथा शरदचन्द्र चटोपाध्यायको उपन्यास ‘देवदास’बाट लिइएको हो । 

सन् १९१७ मा लेखिएको चटोपाध्यायको यस उपन्यासको कथामा आधारित भई अहिलेसम्म थुप्रै चलचित्र बनिसकेका छन् । 

Hardik ivf

भन्सालीअघि बिमल रोयको निर्देशनमा सन् १९५५ मा देवदास बनेको थियो, जसमा देवको चरित्र दिलीप कुमारले निभाएका छन् । दिलीप कुमारलाई ‘ट्राजिडी किङ’को उपमा दिनुमा यस फिल्मको पनि भूमिका रहेको मानिन्छ । 

सञ्जयलीला भन्सालीको निर्देशनमा बनेको देवदासले नै शाहरूख खानलाई चर्चाको शिखरमा पु¥यायो । 

पछिल्लो समय सन् २००९ मा यही उपन्यासमा आधारित चलचित्र बन्यो– ‘देव डी’ । जसरी चलचित्रको नाममा परिमार्जन भएको छ, त्यसरी नै चलचित्रको कथावस्तु पनि थोरै परिमार्जन भएको छ । देव डी एउटा यस्तो चलचित्र हो, जसले देवदासको भाष्यलाई विनिर्माण गरेको छ । 

एक अन्तर्वार्तामा ‘देव डी’का निर्देशक अनुराग कश्यपले भनेका छन्, ‘देवदास अबका लागि उपन्यास वा किताब होइन, यो विशेषण वा भनौँ विचार बनेको छ ।’

देवदास र देव डी ?

शाहरूख खान (देव) को अभिनय वा भनौँ सञ्जयलीला भन्सालीको निर्देशनसम्म आउँदा चलचित्रको सेटिङबाहेक कथावस्तु उही छन् । बिमल रोयको निर्देशनमा बनेको देवदासमा देव (दिलीप कुमार) बेंग्लोरबाट कलकत्ता पढ्न आए, जब कि शाहरूख खान (देव) ‘लन्डन’ जान्छन् । यसबाहेकका कथावस्तु उस्तै हुन् । देव जमिनदार परिवारको हुन्छ । उनकी सानैदेखिकी साथी हुन्छिन् पारु (ऐश्यर्वा राय) । 

कथा वस्तुअघि बढ्ने क्रममा देवको परिवारले पारुको परिवारलाई आफूभन्दा सानो कुल खान्दान भनेर अवहेलना गर्छ, जसले पारुको परिवारको मानमा ठेस पुग्छ, । यद्यपि, पारु अझै पनि देवलाई चाहन्छिन् । उनी देवलाई रातमा एकान्तमा भेट्न जान्छिन् । तर, परिस्थिति पारुले सोचेजस्तो अनुकूल हुँदैन । कहिल्यै परिपक्व हुन नसकेको देवले पारुको साथ दिन सक्दैन । पारु एक्ली हुन्छिन् । छोटो समयमा देवलाई आफूले गरेको गल्तीको आभास हुन्छ । ऊ फर्केर आउँदा पारुको विवाह तय भइसकेको हुन्छ । देवको प्रेम असफल रहन्छ । 

त्यसपछि देवको भेट चन्द्रमुखी (माधुरी¬ दीक्षित) सँग हुन पुग्छ, जो एक तवायफ (मुगलकालकी शाही वेश्या) हुन्छिन् । देवको प्रेममा चन्द्रमुखी चुर्लुम्म डुब्छिन् । यता परिवारको मानका लागि ठाकुरसँग विवाह गरेकी पारुले पनि देवलाई आफ्नो मन–मष्तिस्कबाट हटाउन सकेकी हुँदिनन् । चन्द्रमुखीको देवप्रतिको प्रेम उनलाई निको लाग्दैन । यहाँ उनको ईष्र्या सुन्दर देखिन्छ । 

देवले भने नशामै आफ्नो जीवन समाप्त पार्छन् । अन्तिमपटक वाचा गरे बमोजिम ऊ अन्तिम श्वास लिन पारुको घरअघि पुग्छ । कथाको अन्त्य यसरी हुन्छ । 

यता ‘देव डी’ मा पनि देव (अभय देओल) लन्डनको पढाइसकेको आएको छ । कथावस्तु थोरबहुत उस्तै छन् तर ‘देव डी’मा सामाजिक व्यवस्था र पारिवारिक अभिमान नभई व्यक्तिगत विचार र यौन ईष्र्याले कथाको रूपरेखा बदलिदिन्छ । गहिरिएर हेर्न हो भने, आधुनिक युवा यौन ईष्र्या र शारीरिक आशक्तिमा भयानक ढंगले फसेका छन् । यसका लागि उनीहरूले मानवीय भावनालाई नै भुलेका छन् ।

भौगोलिक दूरीका बाबजुद देव र पारु (माही गिल) इन्टरनेटमा च्याट गर्ने गर्छन् । न्युड तस्बिर अनि वयस्क कुराकानी उनीहरूबीच सामान्य हुन्छ । तर, लन्डनबाट फर्किएको देव र पारुको बीच देवको पुरुष अभिमान खलनायक बनिदिन्छ । कारण, देवको परिवार र पारुको परिवार अपेक्षा गरिरहेका हुन्छन् कि यी दुईले विवाह गर्नेछन् । पारिवारिक बन्देज केही छैन । तर, गाउँका एक–दुई केटासँग पारुको अवैध सम्बन्धको अफवाहले देव भड्किन्छ । उसले पारुलाई आफ्नो कुरा राख्ने मौका नै दिँदैन । लन्डन अर्थात् पश्चिमा समाजमा अध्ययन गरेर आएको देव पाखण्डी, मिसोजिनिस्ट (महिलाप्रति पूर्वाग्रही) छ । यद्यपि, ऊ आफैँ अन्य महिलासँग सम्बन्ध राख्न पछि पर्दैन । 

यस्ता व्यक्तिसँगको सम्बन्ध प्रेमिल नभई विषाक्त हुने गर्छ । देव डीमा पारु डायनामिक (गतिशील) छिन् । उनी आफ्नो निर्णय आफैँ लिन सक्छिन् । पुराना कतिपय चलचित्रले महिला पात्रले प्रेमीका हरेक गल्ती र आक्षेपलाई नजरअन्दाज गर्छन्, तर ‘देव डी’ कि पारु फरक छन् । देवबाट तिरष्कृत भएकी पारु अझ सशक्त भएर जीवनमा अघि बढ्ने बाटो रोज्छिन् । र, अरु कोहीसँग विवाह गर्छिन् । 

देवदास उपन्यासकी पात्र चन्द्रमुखी ‘देव डी’ फिल्ममा चन्दा (कल्की केकला) भएकी छन्, जो आफ्नो इच्छाले वेश्यावृत्तिमा लाग्छिन् । उनले समाजको सबैभन्दा क्रूर रूप देखेकी छन् । जसले उनलाई कमजोर होइन कि मजबुत बनाएको छ ।

वेश्याका रूपमा काम गरे पनि उनले आफ्नो पढाइ पूर्ण गर्न पाएकी छन् । उनलाई कुनै दबाब हुँदैन उक्त कामका लागि पनि । उनका ग्राहक विशेषतः धनीमानी हुन्छन् । सोही क्रममा उनको भेट देवसँग हुन्छ । चन्दालाई देव मन पनि पर्छ तर जीवन जिउने तरिका उनको आफ्नै छ । चन्दाको पेसाले देवलाई फरक पार्छ । देव कुलतमा फस्छ । यद्यपि, एकपटक आफ्नै आँखाअघि एक व्यक्तिको दुर्घटनामा ज्यान गएको देखेपछि उसलाई महसुस हुन्छ । उसलाई थाहा हुन्छ, पारु जीवनमा धेरै अघि बढिसकिन् । त्यसपछि ऊ चन्दाका लागि फर्कन्छ । 

विषाक्त पुरुषत्व 

‘देव डी’अघिका ‘देवदास’ फिल्मका देव पात्र उस्तै अभिमान, रवाफमा छन्, जो गुमेको प्रेमका नाममा सकिन्छन् र आफ्नो जीवनमा आएकीलाई प्रेम गर्न जान्दैनन् । यद्यपि ‘देवदास’ चलचित्रले सामाजिक व्यवस्थाको सुधारमा भावनात्मक दबाब दिन्छ । खराब सामाजिक मान्यता नै ‘देव’हरूको जीवन सिध्याउने कारक हुन् भन्ने विचार देवदासले दिएकै छ । 

‘देव डी’मा पुरानो कथा विनिर्माण भएर देव, पारु र चन्दा गतिशील भएका छन् । देव जो सुरुमा विषाक्त पुरुषत्वले निर्देशित हुन्छ, उसले पनि पछि महसुस गर्छ । अनि पारु र चन्दा देवको गल्तीलाई नजरअन्दाज गर्दैनन् । 

लामो समयदेखि बन्दै आएको भाष्य यही छ कि पुरुषले जति नै गल्ती गरे पनि प्रेमिकाले आदर्श प्रेमिका बनेर त्यसलाई बेवास्ता गर्छन् । देव जस्ता पात्रलाई जस्तोसुकै अवस्थामा पनि माया गरिरहनुपर्छ । तर, ‘देव डी’ले नयाँ भाष्य भनेको छ । 

फिल्मकर्मी प्रकाश सायमी भन्छन्, ‘तर, यसअघि बनेका चलचित्र उपन्यासमा आधारित थिए । जसले शताब्दीअघिको महिलाको अवस्थाको चित्रण गर्छ । जहाँ महिला पुरुषको दासीभन्दा कम थिएनन् ।’

सायमीका अनुसार, अनुरागद्वारा निर्देशित ‘देव डी’मा महिलावादको रंग थपिएको छ । पहिलेका चलचित्रमा उपन्यासकारको अप्रोच छ भने पछिल्लो ‘देव डी’मा निर्देशक नै लेखकका रूपमा हाबी छन् । जसलाई सायमी स्वाभाविक र समयको माग पनि मान्छन् । जग एउटै भए पनि बदलिँदो समाजको चित्रणमा देव डीमा देख्न सकिन्छ । निर्देशकले इतिहासलाई न्याय गर्न खोजेको हो वा बदलिँदो समयको चित्रण गर्न खोजेको हो, त्यसमा पनि भर पर्ने फिल्मकर्मी सायमी बताउँछन् । 

चलचित्रको अन्त्यमा देव चन्दाको साथमा जानुले पुरुषको अभिमान महिलाको आत्मसम्मानका अघि झुकेको आभास गराउँछ । 
 

प्रकाशित मिति: १६:२३ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्