यसरी भेटियो बालकुमारी मन्दिरबाट हराएको मूर्ति, सूचना दिने महिलाले पुरस्कार पाउलिन् ?
गुठियार महर्जनका अनुसार, ललितपुर महानगरपालिका वडा नं. १५ हात्तीवनको रेडियो नेपालको टावर नजिकै रहेको करूणा मन्दिर परिसरमा बोरामा बोरिएको अवस्थामा मूर्ति भेटिएकाे हाे । उनका अनुसार एक अधवैंशे महिलाले मूर्तिका बारेमा जानकारी दिएकी थिइन्।काठमाडौं, माघ २८ : बिहानको करिब साँढे ६ बजे श्री बालकुमारी सुनागुठीको गुठियार सदस्य निरज महर्जनलाई प्रहरी कार्यलयबाट फोन आयोे । फोनमा बोल्ने को थियो उनलाई हेक्कै भएन । उनले केवल यति सुने– बालकुमारी मन्दिरको मूर्ति हात्तीवनमा भेटिएको छ ।
फोन गर्नेले थपे, ‘सो मूर्ति माघ ९ गते हराएको बालकुमारी माइको हुनसक्ने अनुमान छ, तपाईँ छिट्टै आउनुपर्यो।’
एक महिना अघि हराएको ‘बालकुमारी माजु’ भेटिएको सुन्दा उनी हर्षविभोर भए । तुरुन्तै अन्य गुठियारलाई खबर गरी उनीहरू प्रहरी कार्यलय पुगे । त्यहाँ पुगेपछि सो मूर्ति बालकुमारी कै हो भन्ने यकिन भयो।
मूर्ति भेटिएको जानकारी जिल्ला प्रशासन कार्यलय, जावलाखेलमा दर्ता गराइ जात्रासहित हाल सुनाकोठीको यथास्थानमा राखिएको छ।
बाजागाजा र अविर जात्रा सहित मूर्ति फिर्ता
सुनाकोठीस्थित बालकुमारी मन्दिर परिसरको उल्लासमय छ । हर्ष र उल्लासले प्रफुल्लित छ, बालकुमारी मन्दिर परिसर । लाग्छ, मन्दिर परिसरमा ज्यान भरिएर आएको छ।
जिल्ला प्रशासन कार्यालयले गूठिलाई मूर्ति हस्तान्तरण गरेपछि गूठियारहरुले बाजागाजासहित सिन्दुर जात्रा गर्दै मूर्तिलाई जावलाखेलदेखि सुनाकोठिस्थित बालकुमारी मन्दीरसम्म पुर्याएका छन्।
हात्तीवनको करुणा मन्दिर परिसरमा भेटियो मुर्ति
गुठियार महर्जनका अनुसार, ललितपुर महानगरपालिका वडा नं. १५ हात्तीवनको रेडियो नेपालको टावर नजिकै रहेको करूणा मन्दिर परिसरमा बोरामा बोरिएको अवस्थामा मूर्ति भेटिएकाे हाे । उनका अनुसार एक अधवैंशे महिलाले मूर्तिका बारेमा जानकारी दिएकी थिइन्।
‘शुक्रबार बिहान पूजा गर्न जानुभएको थियो होला, उहाँले देखेपछि प्रहरीलाई खबर गर्नुभयो र मूर्ति भेट्टाउन सफल भयौं,’ महर्जनले भने।
बोरामा राखिएको मूर्ति ठम्याउन नसके पछि उनले आफ्नो परिवारलाई खबर गरिन् । परिवारबाट नजिकैको प्रहरी कार्यलयमा खबर भयो । तद्पश्चात, मूर्ति पहिचानको लागि सम्बन्धित गुठीयारमार्फत सम्पर्क भएको थियो ।
मूर्तिको पहिचान पश्चात जिल्ला प्रशासन कार्यलयमा दर्ता गराई सुनाकोठी फर्काएको छ । ‘मूर्ति भेटिएसँगै माहोल उत्सवमय भएको छ’, उनी भन्छन्, ‘हराएकी आमा भेट्दा जति खुशी लाग्छ, त्यस्तै महशुस भइरहेको छ।’
भेटिएको बालकुमारी माजुका मूर्तिमा कुनै प्रकारको खराबी तथा दाग, धब्बा छैन । ‘मूर्ति सकुशल छ, यसबाट थप खुशी भएका छौं,’ महर्जनले भने।
पाँच लाख पुरस्कार दिने घोषणा के हुन्छ ?
मूर्तिको खोजी कार्यलाई तीव्रता दिन गुठीले सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैंया पुरस्कार दिने भनी घोषणा गरेको थियो । ‘घोषणा भएबमोजिम सूचना दिने महिलाले पाँच लाख पुरस्कार पाउँछन?’ भन्ने प्रश्नमा महर्जनले यस विषयमा थप छलफल हुने जानकारी दिए।
उनले चाँडै नै गुठीमा बैठक बसी पुरस्कार प्रदानका लागि कार्यक्रम तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले मन्दिरको सुरक्षा व्यवस्था थप कडा बनाइने पनि बताए। टोलटोलमा सीसीटिभीको जडान तथा मन्दिर सुरक्षामा नयाँ प्रविधिको अवलम्बन गरिने उनले बताए।