Kathmandu Press

विदेशको कमाई स्वदेशमा लगानी 

कपिलवस्तुमा सामान्य परिवारमा जन्मेका श्रेष्ठले बेलायत पुगेर संघर्ष गरेका हुन् । उहीँ आनन्दको जीवन बिताउन उनलाई कुनै समस्या थिएन, तर देशप्रेमले उनलाई विदेशमा पलायन हुन दिएन । विदेशको कमाइलाई उनले स्वदेशमा लगानी गरिरहेका छन् ।
विदेशको कमाई स्वदेशमा लगानी 

काठमाडाैं, माघ २८ : सन्२०१३ मा दीपक श्रेष्ठका एक आफन्त ट्याक्सी चढ्दा लुटिए । प्रहरीलाई उजुरी गरियो तर ट्याक्सी पत्ता लागेन । त्यस घटनापछि दीपकलाई लागेको थियो– आमयात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने सेवा कसरी दिन सकिएला ! 

पछि, सन् २०१५ मा दीपक तिहारको टीका लगाउन अमेरिका पुगे । त्यतिबेला ‘उबर ट्याक्सी’ चढ्दा उनको मनमा आयो– यस्तो सेवा नेपालमा पनि सञ्चालन गर्छु । उबर एक यातायातसम्बन्धी कम्पनी हो, जसको एउटा एप हुन्छ, त्यसलाई डाउनलोड गरेर यात्रुले कुनै ठाउँमा जान र पैसा तिर्न सक्छन्, चालकहरु जोडिन सक्छन् । 

नेपालमा त्यस्तै ट्याक्सी–सेवा सञ्चालन गर्ने सोच त उनले बनाए, तर म्यानेजमेन्ट पढेका उनलाई सूचना प्रविधिसम्बन्धी समग्र जानकारी थिएन । ‘यसबारे केही साथीभाइसँग सरसल्लाह गरेँ,’ श्रेष्ठ भन्छन्, ‘साथीहरुले कन्सेप्ट राम्रो भए पनि धेरै महँगो पर्ने भनेपछि खुम्चन बाध्य भएँ ।’

Hardik ivf

उनले यस सम्बन्धमा अन्य उपाय खोज्न कुनै कसर बाँकी राखेनन् । एकपटक ब्रिटेन नेपाल चेम्बर अफ कर्मसको कार्यक्रममा उनको भेट सूचना प्रविधिका जानकार सन्तोष मण्डलसँग भयो । श्रेष्ठले आफ्नो योजना मण्डललाई सुनाए । मण्डललाई श्रेष्ठको योजना मनपरेपछि दुवैको सहकार्यमा इ–क्याब सञ्चालनमा आयो । 

साढे २ करोडभन्दा धेरै लगानी भएको इ–क्याब हिमालयन ग्लोबल म्यानेजमेन्टबाट सञ्चालित छ । इ–क्याबमा श्रेष्ठ अध्यक्ष छन् भने उनलाई प्रवासमै बस्ने सजनी लामाले मार्केटिङ, रोबर्ट विश्वकर्माले फाइनान्स म्यानेजमेन्ट र आइटीको सम्पूर्ण काममा मण्डलले साथ दिएका छन् । 

इ–क्याबले काठमाडौंमा सुरक्षित यात्राको सेवा दिन्छ । इ–क्याबसँग जोडिनका लागि ट्याक्सी चालकले ‘इ–क्याब ड्राइभर्स’ र प्रयोगकर्ताले ‘इ–क्याब नेपाल’ एप डाउनलोड गर्नुपर्छ । ट्याक्सी चढेपछि नगद नतिरेर क्युआर कोड वा मोबाइल वालेटबाट समेत पैसा तिर्न सकिन्छ । यसमा इमेल वा मोबाइल म्यासेजमा साथी वा परिवारजनलाई लोकेसन सेयर गर्दा चालकको नाम, फोन नम्बर र ट्याक्सी आएको रूट देखाउने हुँदा यसलाई सुरक्षित मान्न सकिन्छ । 

ट्याक्सी चालकले इ–क्याबसँग जोडिएबापत कम्पनीलाई ८ प्रतिशत ‘सर्भिस चार्ज’ दिनुपर्ने हुन्छ । अहिले इ–क्याबसँग २ हजारभन्दा धेरै ट्याक्सी जोडिसकेका छन् भने प्रत्यक्ष रुपमा १२ जनाले रोजगारीको अवसर पाएका छन् । श्रेष्ठ भन्छन्, ‘इ–क्याबमा जोडिएपछि चालक र यात्रु दुवैलाई सहज हुनुका साथै समयको समेत बचत हुन्छ ।’

श्रेष्ठले नेपालमा लगानी गरेको यो नै पहिलो प्रोजेक्ट भने होइन । इ–क्याबसँगै नेपालमा उनले जनता टेलिभिजन, आइएमई, पर्यटनको क्षेत्रमा हट एअर बेलुन र नेपालको सेयरमार्केटमा समेत लगानी गरेका छन् । 

प्रवासमा बस्ने नेपालीलाई नेपालमा पनि लगानीका प्रशस्त सम्भावना छन् भन्ने सन्देश श्रेष्ठले दिन खोजेका छन् । ‘म त नेपालमै जन्मेको हुँ, मलाई माया लाग्छ तर हाम्रा विदेशमै जन्मेका सन्ततिलाई नेपालप्रतिको माया, ममता कसरी जगाउने भनेर लागेको छु,’ श्रेष्ठ भन्छन्, ‘ यसका लागि बिजनेस, समाजसेवा, संस्कृति वा अन्य कुनै माध्यमबाट केही गर्ने कोसिसमा छु ।’ 

कपिलवस्तुमा सामान्य परिवारमा जन्मेका श्रेष्ठले बेलायत पुगेर संघर्ष गरेका हुन् । उहीँ आनन्दको जीवन बिताउन उनलाई कुनै समस्या थिएन, तर देशप्रेमले उनलाई विदेशमा पलायन हुन दिएन । विदेशको कमाइलाई उनले स्वदेशमा लगानी गरिरहेका छन् । त्यस्तै, सन् २०१५ देखि २०१७ सम्म एनआरएन युकेको कोषाध्यक्षको जिम्मेवारी समेत सम्हाले । त्यतिबेला नेपाल नाकाबन्दी र भूकम्पको चपेटामा थियो, उनले थुप्रै महत्वपूर्ण काम समेत गरे । 

संघर्ष 

दीपक उच्च शिक्षाका लागि काठमाडौं आएका थिए । पढाइ खर्च जुटाउन केही गर्नुपर्ने बाध्यता उनलाई थियो, गाउँठाउँबाट देशको राजधानी सहर आउने अधिकांश युवाको सपना र यथार्थ यस्तै हुन्छ । 

काठमाडौं आएको केही महिनामै उनले असनमा सानो पसल चलाए । पसलबाट सोचेअनुरूप फाइदा हुने नदेखेपछि साथीसँग मिलेर ट्राभल्स एजेन्सी पनि खोले । उनको यो व्यवसाय चल्न मानिसहरुले यात्रा गर्नुपथ्र्यो । त्यतिबेला देशमा माओवादी द्वन्द्व चर्किरहेको थियो, त्यसैले उनको ट्राभल्स एजेन्सीले पनि गति लिन सकेन । हरेस खाने उनको स्वभाव होइन, उनले एकपछि अर्को कोसिस गरिरहे । 

साथीसँग मिलेर उनले होटल, पश्मिनाको व्यापार र किचन सेटअपका सामान सम्ममा लगानी गरे ।  ‘व्यापार, व्यवसायबाट जेनतेन गुजारा त चलेको थियो, तर यसरी सधैँभरि घर–परिवारको जिम्मेवारी र दायित्वलाई धान्न सक्ने ठानिनँ,’ उनी भन्छन्, ‘त्यसपछि विदेश जाने हुटहुटी लाग्न थाल्यो ।’ 

‘डिपेन्डेन्ट’ भिसामा बेलायत 

श्रेष्ठकी जीवनसाथी उर्मिलाले नर्सिङ गरेकी गरेकी थिइन् । उर्मिलालाई विदेश जान सहज हुन्थ्यो । यही माध्यमबाट दीपक सन् २००७ मा श्रीमतीसँग ‘डिपेन्डेन्ट’ भिसामा बेलायत पुगे । 

हाम्रो गाउँठाउँबाट रोजगारीका लागि श्रीमान् र श्रीमती छुट्टिएर खाडी मुलुक पुगिरहेका छन् । यो अवस्था हेरी उनले आफूलाई भाग्यमानी सम्झन्छन् । तर, उनले बेलायतमा ठूलै संघर्ष गर्नुपर्‍यो ।

आफ्नै देशमा पटकपटक असफलता भोगेका उनी विदेशमा जस्तोसुकै संघर्ष गर्न तयार थिए नै । ‘विदेशमा काम पाउन धेरै गाह्रो छ भन्ने सुनेको थिएँ । मन्त्रीकै छोराछोरीलाई पनि सामान्य रेस्टुरेन्टमा काम पाउन मुस्किल हुने थाहा थियो,’ श्रेष्ठ भन्छन्, ‘म त सामान्य किसानको छोरा, सुरुमा केही दिन काम सिक्नकै लागि तलब नलिईकन काम गरेँ ।’ 

उनले सुरुमा डिपार्टमेन्ट स्टोरमा काम गरेका थिए । कामप्रतिको उनको लगन र मेहनत देखेर उनलाई साहुले ६ महिनामै ‘सेल्स इन्चार्ज’को जिम्मेवारी दिए । यो उनको रुचि अनुसारको काम थियो । 

सन् २००९ को अन्त्यतिर उनले नेपाली साथीसँग मिलेर व्यापारमा लगानी गर्न थाले । यसरी अगाडि बढ्दै ११ मे २०१० मा उनले नयाँ व्यवसाय ‘लिक्वेयर स्टोर’को सुरुवात गरे । अहिले यस स्टोरबाट बेलायतका विभिन्न सहरका साथै स्कटल्यान्ड लगायत देशमा सामान डेलिभरी हुँदै आएको छ । यसका साथै उनले बेलायतमै रेस्टुेन्ट, पब लगायत क्षेत्रमा लगानी गरेका छन् । 

बुद्धको जन्मस्थान चिनाउने प्रयास 

श्रेष्ठ बेलायतमा रहँदा व्यापार, व्यवसाय, एनआरएनमा मात्र आबद्ध भएनन् । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने प्रयास समेत गरे ।

प्रवासमा रहे पनि आफ्नो मातृभूमिप्रति केही गर्ने उद्देश्यका साथ सन् २०१२ मा श्रेष्ठले आफ्नै अग्रसरतामा कपिलवस्तु समाज गठन गरेका छन् । यस समाजबाट बुद्धको जन्मथलो लुम्बिनी र समग्र देशलाई विश्वमा चिनाउन विभिन्न कार्यक्रम भएका छन् । 

‘समाजले समग्र देशको भन्दा पनि एक जिल्लालाई मात्र समेट्यो भनेर मेरै नेतृत्वमा सन् २०१६ मा बुद्ध फाउन्डेसनको स्थापना गर्‍यौं, यस फाउन्डेसनको मूल उद्देश्य नै बुद्ध नेपालमा जन्मेका हुन् भनेर विश्वमा चिनाउने हो,’ श्रेष्ठ भन्छन्, ‘यसअन्तर्गत नेपाल दूतावास युके, एनआरएन, पर्यटन बोर्ड लगायत संस्थासँग समन्वय गरेर कार्यक्रम गर्दै आएका छौँ ।’ उनकै सक्रियतामा कपिलवस्तुमा १४ बेडको वृद्धाआश्रम खोल्ने तयारी समेत अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा फुटले संकटमा मधेश सरकार
जसपा फुटले संकटमा मधेश सरकार
सङ्घीय संसद् अधिवेशन आजदेखि
सङ्घीय संसद् अधिवेशन आजदेखि