अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिले शेयर बजारमा चमक
काठमाडौं, भदौ ३१ : अर्थमन्त्री डा. युवराज खतिवडाको सकारात्मक अभिव्यक्तिसँगै शेयर बजारमा चमक देखिएको छ। दोस्रो बजारमा लगानी गर्न उपयुक्त समय भएको ....
काठमाडौं, भदौ ३१ : अर्थमन्त्री डा. युवराज खतिवडाको सकारात्मक अभिव्यक्तिसँगै शेयर बजारमा चमक देखिएको छ। दोस्रो बजारमा लगानी गर्न उपयुक्त समय भएको अर्थमन्त्री खतिवडाको धारणापछि मंगलबार दोस्रो बजारमा चमक देखिएको हो।
बजार खुलेदेखि नै निरन्तर उकालो लागेको थियो। हिजोको तुलनामा कारोबार रकम झण्डै चार करोडले वृद्धि भएको थियो। नेप्से परिसूचक २६ दशमलव ९१ ले बढेर ११५० दशमलव ७४ को विन्दुमा पुगेको छ। ११२७ दशमलव २६ को विन्दुमा खुलेको दोस्रो बजार ११५२ दशमलव ६४ को उच्च विन्दुसम्म पुगेको थियो।
दोस्रो बजार परिसूचकमा २ दशमलव ३९ प्रतिशतकोे वृद्धि देखिएको छ। आज बजारको न्यून विन्दु ११२७ दशमलव २६ थियो। आज ३८ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर किनबेच भएको छ। सिद्धार्थ बैंकको ३ करोड ४९ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज शिवम् सिमेन्ट्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९० प्रतिशतले कमाए भने एभेरेष्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ५९ प्रतिशतले गुमाए।
लाभांस प्रस्ताव
आज सिद्धार्थ बैंकले १० प्रतिशत बोनस शेयर र १५ दशमलव २६ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ। प्र्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाले पास गरेपछि वितरण हुनेछ।
आज इन्फिनिटी लघुवित्तले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ। प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभा सम्पन्न भए पश्चात वितरण हुनेछ।
शेयर मूल्य समायोजन
आज सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर प्रयोजनार्थ दोस्रो बजारमा शेयर मूल्य समायोजन भएको छ।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। यसले अर्को कारोबार दिन पनि बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको परिमाणले बजारमा क्रेता हाबी रहेको संकेत गरेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजोसम्म घट्दो प्रवृत्तिमा रहेको बजार आज सकारात्मक रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले आज गोल्डन क्रस बनाएपछि बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६६ दशमलव ८८ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा स्टोकास्टिक अक्सिलेटरले शेयर बढी खरिद हुन थालेको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सुचकले आज क्रेता हाबी रहेको र यदि बजार ११५३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालीन प्रतिरोध ११६० देखि ११७० को क्षेत्रमा रहेको देखिन्छ।
त्यस्तै, यदि बजार ११४१ भन्दा तल स्थिर रहेमा बजार पुनः केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को सामान्य तत्कालीन टेवा ११२७ मा रहेको देखिन्छ।