‘प्रांक’लाई समाजमैत्री कसरी बनाउने ?
अंग्रेजी शब्द प्रांकको अर्थ ‘प्राक्टिकल जोक’ (व्यावहारिक ठट्टा) वा ‘मिसचियभस एक्ट’ (शैतानी हर्कत) भनिएको पाइन्छ। अर्थात् प्रांक एक प्रकारको जोक नै हो।काठमाडाैं, माघ २२ : रंग पत्रकार सुरक्षा भट्टराईले पछिल्लो एक वर्षदेखि प्रांक भिडियो पनि बनाउन थालेकी छन्। चलचित्र प्रमोसनका क्रममा सधैँ एक खालको कन्टेन्ट पस्कनुभन्दा केही नयाँ ल्याउनका लागि प्रांक गर्ने गरेको उनी बताउँछिन्।
‘प्रांकले अझ वास्तविक मनोभाव ल्याउने गर्छ,’ उनी भन्छिन्, ‘यद्यपि, प्रांकपछि भिडियो अपलोडका लागि भने सोधपुछ गर्ने गरेकी छु। यो त स्वाभाविक नियम हो, हामीले पालना गर्नैपर्छ।’
कतिपटक नाम चलेकै सेलिब्रेटीबाट अनुमति नमिल्दा उनीहरूको प्रांक भिडियो सार्वजनिक नगरेको पनि उनले बताइन्।
माघ १३ गते गृह मन्त्रालयले सार्जजनिक स्थलमा हुने मजाक, ख्यालठट्टा वा मस्करी (प्रांक)का नाममा सर्वसाधारणमाथि हुने शारीरिक तथा मानसिक सास्ती, हैरानी, दिक्दारी सम्बन्धमा ध्यानाकर्षणसहित विज्ञप्ति जारी गर्यो। विज्ञप्तिमा ‘अनुमति वा सहमतिबिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही हुने’ व्यहोरा उल्लेख छ।
प्रांकका नाममा ‘दुर्व्यवहार’
प्रांकका नाममा मानिसलाई अनावश्यक दुःख दिनु, शारीरिक दुर्व्यवहार गर्नु उचित हो ? पक्कै पनि होइन। मानिसलाई रमाइलो अनुभूति गराउन र सचेत बनाउन पनि प्रांकको अभ्यास विश्वमा भइरहेको देखिन्छ। तर, नेपाली प्रांक भिडियोमा गरिने हर्कत, त्यसले राख्ने शीर्षक यति घीनलाग्दा समेत छन् कि यहाँ ती भिडियोको सन्दर्भ उल्लेख गर्दा आफ्नै अपमान महसुस हुन्छ।
भ्युज बढाएर पैसा कमाउने उद्देश्य होला सायद- बसिरहेका जोडी वा व्यक्तिलाई अनावश्यक तनाव दिइएको, मानसिक मात्रै होइन शारीरिक दुव्र्यवहारे समेत गरिएको भिडियो प्रशस्त भेटिन्छ युट्युबमा। अश्लील, द्विअर्थी वा यौनजन्य शब्दको प्रयोग पनि तिनमा भएको देखिन्छ।
अर्कोतिर, कुनै एकै व्यक्तिमाथि इन्टरभ्यु दिने-लिने नाममा अनेकपटक प्रांक भएको पनि देखिन्छ। पारिवारिक घटनामा न्यायाधीश बन्ने युट्युबरको त कुरै छाडौँ।
त्यस्तै, सोसल एक्सपेरिमेन्टका नाममा पैसाको प्रलोभन देखाएर केटा वा केटीलाई ‘गोल्ड डिगर’को ट्याग भिडाइदिने काम पनि प्रांकका नाममा भइरहेको छ। यस्तो प्रांक गर्दा विदेशमा कतिपय अवस्थामा केटा वा केटीको अनुहार देखाइने भए पनि नेपालमा भने अनुहार ‘ब्लर’ गर्ने गरिएको पाइन्छ। अनुहार ‘ब्लर’ गरिए पनि वेशभूषा र बोलीचालीका माध्यमबाट उनीहरुका आफन्त वा नजिकका साथीले नचिन्लान् भन्न सकिँदैन। नेपालमा भने प्रांकका नाममा अधिकांश केटाहरुले युवतीसँग फोन नम्बर लिने गर्छन्।
विदेशमा उमेर पुगेका युवायुवतीमाथि सिधै यौनजन्य प्रस्ताव गरेको पनि देखिन्छ। यौनलाई सामान्य लिने समाजमा यसको दीर्घकालीन असर नहोला, तर हाम्रो जस्तो संकुचित समाजमा दम्पतीबीच सम्बन्धविच्छेद गराउने, समाजमा बेइज्जती सामना गर्नुपर्नेसम्म हुन सक्छ। त्यसैले प्रांकलाई समाजमैत्री कसरी बनाउने भन्ने सवाल पनि उठेकै छ।
के हो प्रांक ?
अंग्रेजी शब्द प्रांकको अर्थ ‘प्राक्टिकल जोक’ (व्यावहारिक ठट्टा) वा ‘मिसचियभस एक्ट’ (शैतानी हर्कत) भनिएको पाइन्छ। अर्थात् प्रांक एक प्रकारको जोक नै हो। आफूमाथि प्रांक हुँदा वा अरुले त्यो प्रांक हेर्दा पनि केही रमाइलो र केही शिक्षा होस् भन्ने यसको उद्देश्य देखिन्छ।
अक्फोर्ड डिक्र्सनरीका अनुसार, प्रांक शब्दले कसैसँग ठट्टाका रूपमा खेलिने ट्रिक (चलाखी)लाई अथ्र्याएको छ।
प्रांकको इतिहास केलाउँदै जाने हो भने, पहिलोपटक सन् १८०४ मा प्रांक शब्दको प्रयोग भएको पाइन्छ। यद्यपि, सांस्कृतिक दृष्टिकोणबाट हेर्न हो भने प्रांक र ‘अप्रिल फुल’लाई छुट्ट्याउन नमिल्ने भोइस अफ इन्डोनेसियाको ‘हिस्ट्री अफ प्रांक’ शीर्षकको सम्पादकीयमा उल्लेख छ। प्रांकको सुरुवात १३औँ शताब्दी (१३९२) बाट भएको भनिएको छ।
बेलायती लेखक जोफ्री चौसरले आफ्नो पुस्तक ‘द क्यान्टरबरी टेल्स’ मा एक स्यालले मानिसलाई अप्रिल १ लाई ३२ मार्चको दिन भएको भनी सबैलाई झुक्याएको हुन्छ। चौसरको उक्त जोकसँगै अप्रिलको पहिलो दिनलाई अप्रिल फुलको रूपमा मनाउन थालिएको मानिन्छ। बिस्तारै, मस्ती तथा रमाइलोका लागि अप्रिल फुल नै पर्खन नपर्ने गरी रमाइलोका रूपमा प्रांक सुरु भएको पाइन्छ।
विज्ञप्ति र कानुन
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार, सार्वजनिक स्थलमा हुने यस्ता मजाकका विषयमा अत्यधिक गुनासो आएपछि विज्ञप्ति निकालिएको हो। प्रांकका नाममा हुने गतिविधिले व्यक्तिगत गोपनीयताको हक हनन हुने प्रवक्ता पोखरेलले बताए। मजाकका नाममा उच्शृंखल, अश्लील हर्कत तथा अभद्र व्यवहार भएको र गुनासो आएको उनी बताउँछन्।
‘प्रांक गर्नै नमिल्ने होइन तर त्यसका लागि व्यक्ति विशेषलाई आपत्तिजनक अवस्था सिर्जना नहुने गरी सुरुमै अनुमति लिनुपर्नेछ,’ प्रवक्ता पोखरेल भन्छन्, ‘यसका साथै, भिडियो अपलोड हुनुअघि पनि अनुमति लिनुपर्नेछ। प्रांक बनाउँदा सबैभन्दा महत्वपूर्ण विषय व्यक्तिगत स्वतन्त्रता हनन हुने, अपहरण तथा असामाजिक अभद्र कार्य हुने हुनुभएन। त्यसैले भिडियो बनाउनुअघि र भिडियो अपलोडका लागि पनि अनुमति लिनुपर्नेछ।’
मन्त्रालयको निर्देशन विपरीत यस प्रकारको प्रांक भिडियो बनेमा विद्युतीय कारोबार ऐन, अभद्र व्यवहार सम्बन्धी फौजदारी संहिता, मुलुकी ऐनको व्यक्तिगत गोपनीयताको हक गरी करिब तीनवटा ऐन कानुनको दायरामा कारबाही हुनेछ। कारबाहीका थप प्रक्रिया नेपाल प्रहरीको मातहतमा जाने पनि उनले बताए।
नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार, मन्त्रालयको आदेशविरुद्ध पुनः यस प्रकारको गुनासो आएमा विद्युतीय कारोबार ऐन तथा गोपनीयताको हक अनुरूप कारबाही गरिनेछ।
पत्रकार महासंघद्वारा सचेतना
गृह मन्त्रालयले प्रांकसम्बन्धी विज्ञप्ति जारी गरेको अर्को दिन पत्रकार महासंघले पनि विज्ञप्ति जारी गर्दै मन्त्रालयको ध्यानाकर्षण गराएको थियो। मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएको ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ वाक्याशंले पत्रकारिता पेसामा पनि संकुचन गर्न सक्ने सम्भावनाले उक्त विज्ञप्ति जारी गरेको महासचिव रोशन पुरी बताउँछन्।
‘व्यक्तिको गोपनीयताका विषयमा विज्ञप्तिमा उल्लेख भएको कुरालाई महासंघले पनि सम्मान नै गर्छ,’ महासचिव पुरी भन्छन्, ‘यद्यपि, फोटो, भिडियोका लागि पनि अनुमति लिनुपर्ने विषयमा हाम्रो आपत्ति छ।’
उनका अनुसार, सार्वजनिक पद धारण गरेका व्यक्तिको फोटो, भिडियो लिन पनि अनुमति माग्नुपर्ने हो भने यसले प्रेस स्वतन्त्रतालाई समेत सम्भावित आँच पुर्याउने देखिन्छ। गृह मन्त्रालयको उक्त विज्ञप्तिका कारण अन्य पक्षबाट प्रेसलाई समेत हस्तक्षेप हुनसक्ने कारण औपचारिक रूपमा उक्त कदम चालेको पुरी बताउँछन्।
मिडियामा आउने फोटो, भिडियोका कन्टेन्टमा उक्त विज्ञप्ति केन्द्रित नहोस् भन्ने उद्देश्यले औपचारिक रूपमा विरोध जनाएको पनि महासचिव पुरीले स्पष्ट पारे। यद्यपि, संविधानप्रदत्त व्यक्तिगत गोपनीयताको विषयमा भने महासंघको समर्थन रहने महासचिवले पुरीले बताए।