जाल्पा सामुदायिक लघुवित्तले आइपिओ भोलिदेखि बिक्री खुला
काठमाडाैं, माघ २० : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही भोलिदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु....
काठमाडाैं, माघ २० : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही भोलिदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु. ५ करोड २२ लाख मूल्य बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ बिक्री खुला गर्ने भएको हो।
आईपीओमा आवेदन दिने अन्तिम मिति माघ २५ गतेसम्म रहेको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
निष्कासन गरिने साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पुँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ४ लाख ८७ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सर्वसाधारणले माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र यो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी फागुन ६ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागी आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीको पूँजीको संरचनामा अधिकृत पूँजी रु २५ करोड र हालको जारी पुँजी रु. १६ करोड बराबरको तथा तत्कालको चुक्तापूँजी रु १० करोड ७८ लाख छ। विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी रु १६ करोड पुग्नेछ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ।











