‘काठमाडौंं ट्रिनाले’को यात्रा
इटालियन भाषामा तीन वर्षको अवधिलाई ट्रिनाले भनिन्छ । ट्रिनाले कला प्रदर्शनीको सुरुवात सन् १९२३ मा इटालीको मिलानो सहरबाट भएको हो । इटालीको मिलानोस्थित मोन्जा भिल्ला पार्कमा डेकोरेटिभ आर्ट अवधारणामा पहिलो ट्रिनाले कला प्रदर्शनी गरिएको थियो ।काठमाडाैं, माघ १९ : आउँदो फेब्रुअरी ११ देखि ‘काठमाडौं ट्रिनाले– २०७७’ सुरु हुँदैछ । संसारभरका करिब ४० देशका एक सयभन्दा बढी कलाकार आफ्ना कलाकृतिसहित नेपाल आउँदै छन्, प्रदर्शनीका लागि । काठमाडौं ट्रिनालेको यो चौथो संस्करण हो ।
हामीकहाँ कला प्रदर्शनीको महाकुम्भ मेलाका रूपमा ‘काठमाडौं ट्रिनाले’लाई लिइन्छ । यो प्रदर्शनी तीन–तीन वर्षको अवधिमा हुने गर्छ ।
काठमाडौं ट्रिनालेकी संस्थापक संगीता थापाका अनुसार, यसपालिको ट्रिनाले नागरिक उड्डयन, पर्यटक तथा संस्कृति मन्त्रालयको सहकार्यमा हुन गइरहेको छ । संगीता भन्छिन्, ‘नेपालका कलाकृतिलाई दक्षिण एसियामा हबका रूपमा स्थापित गराउनु नै ट्रिनालेको मुख्य उद्देश्य हो ।’
इतिहास
इटालियन भाषामा तीन वर्षको अवधिलाई ट्रिनाले भनिन्छ । ट्रिनाले कला प्रदर्शनीको सुरुवात सन् १९२३ मा इटालीको मिलानो सहरबाट भएको हो । इटालीको मिलानोस्थित मोन्जा भिल्ला पार्कमा डेकोरेटिभ आर्ट अवधारणामा पहिलो ट्रिनाले कला प्रदर्शनी गरिएको थियो ।
ट्रिनाले मिलानो नामक एक संस्थाले डिजाइन, आर्किटेक्चर, सौन्दर्य, भिजुअल आर्ट, पर्फमेन्स आर्ट जस्ता ‘थिम’का कला प्रदर्शनी गर्ने गर्छ ।
नेपालमा यही थिमलाई ‘काठमाडौं ट्रिनाले’ भनेर सुरु गरिएको कलाकार संगीता थापा बताउँछिन् । सिद्धार्थ आर्ट ग्यालरीकी समेत संस्थापक रहेकी थापाका अनुसार, नेपालमा काठमाडौं ट्रिनालेको अवधारणा सन् २००९ बाट सुरु भएको हो । त्यतिबेला उनले व्यक्तिगत रूपमा ‘मेगा इन्टरनेसनल आर्ट फेस्टिभल’ आयोजना गरेकी थिइन्, ‘सेप्रेसन अफ मिथ फ्रम रियालिटी : स्टेटस अफ वुमन’ थिममा ।
‘त्यसपछि मैले सन् २०१२ मा द सेकेन्ड काठमाडौं इन्टरनेसनल आर्ट फेस्टिभल गरेकी थिएँ, त्यो क्लाइमेन्ट चेन्जको थिममा थियो,’ संगीता भन्छिन्, ‘त्यसमा करिब ३५ देशका कलाकार सहभागी भए ।’
यसरी तीन वर्षको अन्तरालमा दुई फरक थिममा प्रदर्शनी गरिसकेको र सोहीअनुरूप गर्दै जाने भएपछि ‘काठमाडौं ट्रिनाले’ भन्न थालिएको संगीता बताउँछिन् ।
सन् २००९ मा गरेको प्रदर्शनीमा संगीताले ५० जनासम्म कलाकार सहभागी हुने अपेक्षा गरेकी थिइन् । सोही अनुसार सिद्धार्थ आर्ट ग्यालरी र नेपाल आर्ट काउन्सिल बुक गरिएको थियो । तर, अनपेक्षित संख्यामा कलाकारको आगमन भयो । सय कलाकारका कलाकृति फेस्टिभलका लागि आए । प्रदर्शनीका लागि स्थान अभाव हुने देखिएपछि पाटन म्युजियम र नेपाल प्रज्ञा प्रतिष्ठानको ग्यालरी पनि बुक गरिएको उनी बताउँछिन्।
त्यसो त उनले त्यतिबेला विभिन्न देशका ६–७ सय कलाकारलाई इमेलमार्फत निम्तो दिएकी थिइन्, सबै आउँछन् भन्ने आशा थिएन । कम्तीमा सय कलाकार आए र कार्यक्रम भव्य भयो । ‘प्रदर्शनी यति सफल भयो कि कलाकारको महाकुम्भ मेलाजस्तो माहोल बन्यो,’ संगीता भन्छिन्, ‘उक्त प्रदर्शनीले नेपाली कलाकारलाई पनि निकै प्रभावित पा¥यो ।’
यस प्रकारको इभेन्ट ग्यालरीभन्दा पनि गैरनाफामूलक संस्थाबाट हुनुपर्ने सोच संगीतामा आयो, त्यसपछि उनले सिद्धार्थ आर्ट फाउन्डेसनको स्थापना गरेकी छन् ।
भूकम्प र कोरोनाले बाधा
तीन–तीन वर्षको अवधिमा दुईपटक प्रदर्शनी गरिए पनि ‘काठमाडौं ट्रिनाले’ भनिएको थिएन । सन् २०१५ मा अर्को प्रदर्शनी गरेर ट्रिनालेको अवधारणामा अघि बढ्ने संगीताको सोच थियो । तर भूकम्पले अप्ठेरो पा¥यो ।
‘यसै पनि तीन वर्षको अन्तरालमा भइरहने कारण किन ट्रिनालेका रूपमा नगर्ने भन्ने विषय उठ्यो । सोही अनुसार, हामी ट्रिनाले फम्र्याटमा लाग्यौँ,’ संगीता भन्छिन्, ‘तर २०१७ मा भूकम्पमा प्रदर्शनी गर्न सफल भयौँ ।’
त्यसपछि सन् २०२० मा हुनुपर्ने ट्रिनाले कोरोना महामारीका कारण दुई वर्ष पछाडि धकेलिएको हो । ‘यसपालि पहिलो चरणमा भर्चुअल माध्यमबाट प्रदर्शनी गर्छौं । मार्च १ बाट सम्भवतः भौतिक रूपमा प्रदर्शनी सुरु हुनेछ,’ उनले भनिन् ।
उनका अनुसार, पाटन म्युजियम, बहादुर शाह बैठक, नेपाल कला परिषद्, सिद्धार्थ आर्ट ग्यालरी र तारागाउँ म्युजियम गरी पाँचवटा ग्यालरीमा ट्रिनाले महोत्सव हुनेछ ।
यसपालि उनले दुई नेपाली क्युरेटर र एक अन्तर्राष्ट्रिय क्युरेटर राखेकी छन् । नेपालबाट हितमान गुरुङ र शिलासा राजभण्डारी र अन्तर्राष्ट्रियस्तरमा कस्मिन कस्टिनास क्युरेटरका रूपमा तोकिएका छन् । कस्टिनास पेसाले कलाकार पनि हुन् ।
द्वन्द्वको प्रभाव
सन् २००९ गरिएको ‘सेप्रेसन अफ मिथ फ्रम रियालिटी : स्टेटस अफ वुमन’ थिमको प्रदर्शनी नेपालको समसामयिक राजनीतिकसँग निकट थियो । १० वर्षे जनयुद्धपछि राजनीतिक परिवर्तनसँगै नेपाली जनतामा पनि राजनीतिक अधिकारसम्बन्धी चेत बढेको संगीताको बुझाइ छ । ‘तर, महिलाले ३३ प्रतिशत सहभागिता लगायत जस्ता मुद्दा उठाए, ती सबै पुरुषबाट नियन्त्रित थिए,’ उनी भन्छिन् । महिलाहरू पुरुषबाट दबिएको कुरा विश्वकै कलामार्फत देखाउने उद्देश्यले नै पहिलो प्रदर्शन गरिएको उनको भनाइ छ ।
नेपाली कला यहाँसम्म आउनुअघि विभिन्न कालखण्ड र आयामबाट गुज्रेको थियो । संगीताका अनुसार, सन् १९८० को दशक नेपाली कला क्षेत्र सौन्दर्यपरक थियो । त्यतिबेला कला पारखी पर्यटकको कमी थिएन । ‘हिप्पी एरासँगै नेपालमा पर्यटकको घुइँचो बढेको थियो,’ संगीता भन्छिन्, ‘ग्यालरीका कलाकृति बिक्री गराउन कुनै कसरत गर्नुपरेको थिएन । पछि देश द्वन्द्वतर्फ गयो । माओवादी युद्धसँगै नागरिकमा त्रासदि पनि फैलियो । तैपनि ग्यालरी चलिरहेकै थिए । किनभने द्वन्द्व अन्त्यका लागि कलाकारबाट ठूलो अभ्यास भएको थियो ।’
उसो त मिलानो सहरबाट सुरु भएको ट्रिनाले अवधारणा पनि युद्धपछिको समृद्धिसँग जोडिएको इतिहास छ ।
उनको बुझाइमा युद्धपछि नेपाली कलाको सौन्दर्यशास्त्रमा नयाँ आयाम थपियो । कलाकारले समकालीन राजनीतिक विषयवस्तुमा कला सिर्जना गर्न थाले । दशवर्षे युद्ध र ०६२/६३ को आन्दोलनपछि नागरिकको चेतनासँगै कला क्षेत्रमा पनि परिवर्तन आएको संगीता बताउँछिन् ।
यही परिवेशमा उनले ‘सेप्रेसन अफ मिथ फ्रम रियालिटी : स्टेटस अफ वुमन’ थिमको प्रदर्शनी गरिन् र काठमाडौं ट्रिनालेको जग बस्यो ।