प्रयोगपछि रोप्न मिल्ने कलम, उम्रन्छ तरकारी
पेन्सिलमा मात्रै होइन, अन्य स्टेसनरीका सामग्रीमा पनि विभिन्न बीउबिजन राखिएका छन् । यस्ता वातावरणमैत्री सामानको उत्पादन भारतीय कम्पनी ‘पेपा सस्टेनेबल स्टेसनरी एन्ड प्याकेजिङ कम्पनी’ले सुरु गरेको हो । भारतमा उत्पादित यी वातावरणमैत्री स्टेसनरी सामान केही महिनायता नेपालमा समेत भित्रिएका छन् ।काठमाडौं, माघ १७ : पेन्सिल (सिसाकलम) को बाहिरी आवरणमा भिन्नभिन्न तरकारीका नाम अंग्रेजीमा लेखिएका छन्— कुनैमा प्याज, कुनैमा भेन्टा, कुनैमा गोलभेडा त कुनैमा धनिया आदि । सोही बमोजिमका केही बीउ पेन्सिलको एक छेउमा जतनले राखिएका छन् । सिसाकलमलाई प्रयोग गरिसकेपछि बीज राखिएको भागलाई गमला वा मलिलो जमिनमा रोप्न सकिन्छ ।
पेन्सिलमा मात्रै होइन, अन्य स्टेसनरीका सामग्रीमा पनि विभिन्न बीउबिजन राखिएका छन् । यस्ता वातावरणमैत्री सामानको उत्पादन भारतीय कम्पनी ‘पेपा सस्टेनेबल स्टेसनरी एन्ड प्याकेजिङ कम्पनी’ले सुरु गरेको हो । भारतमा उत्पादित यी वातावरणमैत्री स्टेसनरी सामान केही महिनायता नेपालमा समेत भित्रिएका छन् ।
यही वर्षको साउनदेखि शिल्पा अग्रवाल र निपेष जाजोदियाले नेपालमा यी सामानको बिक्री वितरण सुरु गरेका हुन् । ‘विदेशमा यस्ता सामानको प्रयोग हुँदै आएको छ,’ शिल्पा भन्छिन्, ‘नेपालका लागि यो नयाँ हुने र बजार लिन सक्ने हामीलाई लाग्यो ।’
उनीहरूले आफ्नो ‘क्रिसेन्ट ट्रेडिङ कम्पनी’मार्फत नेपालमा यी सामान भित्र्याउने गर्छन् ।
सोच
नाता सम्बन्धमा शिल्पा र निपेष भाउजु–देवर हुन् । उनीहरूको परिवारले काठमाडौंमा व्यापार गर्दै आएको छ । कोरोनाको ठीकअघि निपेष भारतको जयपुरस्थित कम्पनीमा आबद्ध थिए । शिल्पाले पनि नेपालमै विभिन्न कम्पनीमा लामो समय काम गरिन् । उनी कोरोनाको सिकार भएपछि काम छाडेर घरमै बस्न थालेकी थिइन् ।
व्यापारिक पृष्ठभूमि भएकाले शिल्पा र निपेषले केही नयाँ व्यापार सुरु गर्न चाहन्थे, त्यसैले लकडाउनमा घरमै बसेका बेला व्यापारका सम्भावनाप्रति अनुसन्धान र छलफल गरे । भारतको जयपुरमा अध्ययन गर्दा निपेषले पेपाका स्टेसनरी सामानको प्रयोग गरेका थिए । अर्कोतिर जागिरका सिलसिलामा हुवायजस्तो ठूलो कर्पोरेट सेक्टरमा ‘ह्युमन रिसोर्स म्यानेजर’को पोस्ट समेत सम्हालेकी शिल्पालाई पनि सामान र बजारबारे ज्ञान छ । वातावरणमैत्री पेपाका सामान नेपाली बजारमा उपयुक्त हुने उनीहरूले देखे ।
लगानी
उनीहरुले करिब १५ लाख रुपैयाँको लगानीमा ‘क्रिसेन्ट ट्रेडिङ कम्पनी’मार्फत यो व्यापार सुरु गरेका हुन् । दोस्रो लकडाउनपछि यस कम्पनीले गति लिन थाल्यो । ‘भाग्यवश त्यति बेला दोस्रो लकडाउन अन्त्य भइसकेको थियो,’ निपेष भन्छन्, ‘पहिलो लकडाउन योजना बनाउन, अध्ययन, रिसर्च गर्न र कम्पनी दर्तामै बित्यो ।’
सामान आयात गर्न सोचेजस्तो सहज नहुने उनीहरूको अनुभव छ । ‘हाम्रो परिवार व्यापारिक ब्याकग्राउन्डकै भए पनि आयात निर्यातको तहसम्मको व्यापार होइन, सामान्य रिटेल पसल हो,’ शिल्पा भन्छिन्, ‘सिक्दै, भोग्दै आयात निर्यातको जालो बिस्तारै सुल्झन थाल्यो । तर, सोही समय दोस्रो लकडाउन भइदियो । जसकारण आयात भएका सामान सब थन्किए ।’
बिक्री हुनुपर्ने सामान थन्किएपछि बेलाबेला उनीहरू निराश पनि हुन्थे । तर हरेस खाएनन् । दोस्रो लकडाउनपछि उनीहरू बजार व्यवस्थापनमा लागे । वातावरणप्रेमी व्यक्ति, संस्था लगायतमा सम्पर्क गरिरहे ।
उपयोगिता
‘क्रिसेन्ट ट्रेडिङ’ले पेपाअन्तर्गतका आठवटा सामान नेपालमा ल्याएको छ । जसमा सिड पेन्सिल, सिड पेन, सिड बल, रेन्बो पेन्सिल, जुट ब्याग, नोटबुक, भिजिटिङ कार्ड, फोटोकपी पेपर छन् ।
रेन्बो पेन्सिललाई ताछ्दा रंगीविरंगी धुलो निस्कन्छ, जसलाई बच्चाहरूले सजावटमा प्रयोग गर्न सक्छन् । त्यस्तै, वातावरणमैत्री जुटबाट बनेको ब्याग यस प्रकारका सामान प्याकिङमा प्रयोग गरिँदै आएको शिल्पाले बताइन् ।
प्रायः विवाहको निम्तोमा प्रयोग हुने कार्ड विवाह मितिपछि प्रयोगमा आउँदैनन् र फोहोरमा परिणत हुन्छन् । पेपाका कार्डलाई भने कस्टोमाइज (विभिन्न डिजाइनमा ढाल्न) गर्न सकिनेछ । प्रयोगपछि कार्डलाई पनि अन्य पेन, पेन्सिलजस्तै गमलामा रोप्दा त्यहाँ रहेको बीउ उम्रन्छ । नोटबुकको कभरमा बीउ राखिएको हुन्छ ।
त्यस्तै, कलमलाई रंग्याउन प्रयोग गरिएको कलर गल्तीले मुखमा परे पनि असर नगर्ने नृपेश बताउँछन् । पेन्सिल लगायतमा बीउलाई प्लास्टिक जस्तोमा राखिएको हुन्छ, जुन प्लास्टिक नभए वातावरणमैत्री वस्तु हुन् ।
वातावरणमैत्री यी सामान पुराना पत्रिका तथा कागजबाट बन्ने गरेको उनीहरु बताउँछन् । प्रति पेन्सिलको मूल्य २३ रुपैयाँ पर्छ । अर्डरका लागि प्रति बन्डल ७० रुपैयाँ पर्छ । जसमा पाँचवटा पेन्सिल हुन्छन् ।
वातावरणमैत्री यी सामानले विद्यार्थी लगायत सबैलाई बिरुवा रोप्न प्रेरित गर्ने उनीहरूको भनाइ छ ।
बजार
सुरुवाती समय शिल्पा र निपेष बजारका लागि भौँतारिनुपर्थ्याे । अहिले भने सामानको माग आउन थालेको छ । उनीहरूले बेच्ने सामान वातावरणमैत्री भएका कारण युएनडिपीजस्तो प्रतिष्ठित संस्थाबाट पनि राम्रो प्रतिक्रिया आएको उनीहरू बताउँछन् ।
सुरुका बेला दश दिनसम्म एउटा सामान नबिकेको अनुभव उनीहरूसँग छ । ‘कहिले दिनको एउटा पेन्सिल पनि बेचियो । तर हरेस खाएनौँ । बजार खोजिरह्यौँ,’ शिल्पा भन्छिन्, ‘आफू र आफ्नो सामानमा विश्वास हुनुपर्ने र ग्राहकमा पनि सोही अनुसार आत्मश्विास जगाउन सक्नुपर्ने रहेछ ।’
विद्यार्थीसँगै युवा पुस्ता र कर्पोरेट क्षेत्रबाट यी सामानको माग आउन थालेको उनीहरू बताउँछन् ।
यी सामानको बजार राम्रो भए भविष्यमा नेपालमै फ्याक्ट्री खोल्ने सोच छ उनीहरूको । कृषिजन्य र वातावरणमैत्री यस्ता सामानको उत्पादन त्यति ठूलो कुरा होइन, शिल्पा र निपेषलाई शुभकामना !