Kathmandu Press

आमिस : मन र मासुको पुलबीच झुन्डिएको विषाक्त प्रेम

चलचित्रमा यस्तो प्रेमकथा छ, जहाँ उनीहरू शारीरिक भोगबाट धेरै माथि छन्। यद्यपि, जुन डोरीले उनीहरूलाई बाँधेको छ, त्यो शारीरिक भोगभन्दा निकै खतरनाक छ।
आमिस : मन र मासुको पुलबीच झुन्डिएको विषाक्त प्रेम

काठमाडाैं, माघ १५ : के तपाईंले प्रेम अभिव्यक्तिका लागि आफ्नै शरीरको भाग काटेर आफ्नो प्रेमी वा प्रेमिकालाई मासु खुवाएको सुन्नुभएको छ ? सुन्दा समेत भयानक लाग्ने यस्तै एउटा प्रेम कथामा आधारित आसामी चलचित्र हो, आमिस, ‘राभानिङ’। आसामी भाषामा ‘मासु’लाई आमिस भनिन्छ। सबटाइटलको रूपमा रहेको अंग्रेजी शब्द ‘राभानिङ’ले भने अत्यन्त भोकाएको भन्ने अर्थ दिन्छ।

सन् २०१९ मा रिलिज भएको यस चलचित्रको कथावस्तु काल्पनिक हो। चलचित्रमा कुनै डरलाग्दा दृश्य छैनन्। कथावस्तु र प्रस्तुति सरल छ। यस फिल्मका निर्देशक भास्कर हाजारिकाले नै यसको कथा लेखेका हुन्। चलचित्रमा कहीँकतै सस्पेन्स, थ्रिलर वा हरर दृश्य कैद गरिएको छैन। यसका बाबजुद कथा अघि बढ्ने क्रममा कतिपय दृश्य कमजोर मन अनि मस्तिष्क भएकाहरूका लागि भयानक हुन सक्छ। 

चलचित्र सुरु हुन्छ, रेडियोमा बजिरहेको एक आसामी गीतबाट। सँगै देखिन्छिन् चलचित्रकी प्रमुख पात्र डा. निर्मली (लिमा दास)। निर्मलीको दिनको सुरुवात आफ्नो छोरालाई स्कुल बसस्टप पु¥याएसँगै हुन्छ। पेसाले उनी डाक्टर हुन्, बालरोग विशषेज्ञ, त्यसमा पनि पेटसम्बन्धी। उनका श्रीमान् दिलिप (मानस के दास) पनि डाक्टर नै हुन्। उनी बिरामीको उपचारका लागि विभिन्न स्थानमा खटिनुपर्ने हुन्छ। उनलाई चलचित्रको मध्यान्तरमा मात्र देख्न पाइन्छ।

Hardik ivf

अर्कोतिर समान्तार रूपमा, सुमोन (अर्घदीप बरुवा) एक पिएचडी गरिरहेका विद्यार्थी हुन्। उनी उत्तर पूर्वी भारतको मासु खाने संस्कृतिमा पिएचडी गरिरहेका हुन्छन्। उनले ‘मिट क्लब’ समेत गठन गरेका छन्। मासु सेवनका विषयमा उनीहरू निकै सतर्क उनीहरूले बजारिया मासु खाँदैनन्। मासुका सोखिन भए पनि उनीहरुल्े आफैँले पकाएको स्वस्थवद्र्धक मासु मात्रै खाने गर्छन्।
मासुले यस फिल्मका दुई प्रमुख पात्रलाई जोड्ने काम गर्छ। मासुकै स्वादको तीर्खाले उनीहरूको डरलाग्दो अन्त्य पनि निम्त्याउँछ। 

प्रमुख पात्र सुमोन र निर्मलीको पहिलो भेट सुमोनका साथीको उपचारका क्रममा हुन्छ। सुमोनका साथी अधिक मासु खाई बिरामी भएका हुन्छन्। उनको घरनजिकै डा. निर्मलीको घर हुन्छ। अर्जेन्ट भएका कारण सुमोनले उनलाई नै उपचारका लागि अनुरोध गर्छन्। बाल विशेषज्ञ भएको र आइतबार छुट्टी मनाउन बसेका कारण पनि उनले सुरुमा सुमोनको प्रस्ताव अस्वीकार गर्छिन्। 

सुमोनको अनुनयविनयपछि उनी उपचार गर्न तयार हुन्छिन्। उपचारका क्रममा उनले मिट क्लबका बारेमा पत्तो पाउँछिन्। मिट क्लबको अवधारणा निर्मलीलाई निकै रुचिकर लाग्छ। उपचार ‘फि’स्वरूप कुनै दिन मासुका परिकार उनलाई पनि खुवाउन भन्छिन्। 

केही समयपछि एक दिन सुमोनले उनलाई जंगली खरायोको मासु ल्याइदिन्छन्। यससँगै उनीहरूको भेटघाट बाक्लिन थाल्छ। कथा अघि बढ्ने क्रममा उनीहरूले कीरा, फट्याङ्ग्रा, चमेरा गरी अनेक पशुपन्छीको मासु खाइसकेका हुन्छन्। जति नयाँ जनावरका मासु खान्छन्, उत्तिकै फरक र मीठो स्वाद निर्मलीले पाउँछिन्। 

बिस्तारै निर्मलीमा मासुको लत लाग्न थाल्छ। उनलाई मासुबिना खाना रुच्दैन। यता सुमोनमा भने निर्मलीप्रतिको आशक्ति बढ्न थाल्छ। आशक्ति र आकर्षणले उनी निर्मलीलाई स्पर्श गर्न आतुर हुन्छन्। तर, सामाजिक परिधि र निर्मलीको पक्षबाट अस्पष्ट भावनाले उनलाई रोकिरहेको हुन्छ।

मासुका विभिन्न परिकारले दर्शाउँदै आएका सुमोनले अन्ततः आफ्नो शरीरबाट काटेर निकालिएको मासुले निर्मलीलाई स्पर्श गर्छन् र उनको भोक पनि मेटाउँछन्। अर्काको भोक मेटाउन यहाँसम्मको त्याग ? शान्त भएर सोच्ने हो भने, फिल्मले सोचिरहन बाध्य पार्छ। 

एक दिन सुमोनले आफैँ शरीरको सानो चोक्टाको परिकार निर्मलीलाई खुवाएका हुन्छन्। जुन निर्मलीलाई निकै मीठो लाग्छ। मासु सुमोनको शरीरको हो भन्ने वास्तविकताले सुरुमा निर्मली घिनाउँछिन् तर उक्त मासुको स्वाद यस्तो हुन्छ कि उनले अब सुमोनसँग थप माग गर्छिन्। अनि हरेक हप्ता सुमोनले उनीलाई खुवाउने पनि गर्छन्। 

निर्मलीले सुमोनप्रति सुषुप्त रूपमा रहेको प्रेमभाव दर्शाउन थाल्छिन्। उनले पनि आफ्नो मासु काटी विशेष प्रकारको नेगटे (फ्राइ गरिएको मासुको टुक्रा) बनाएर सुमोनलाई खुवाउँछिन्, सुमोनले भने पचाउन सक्दैनन्।

टुसाउँदै गरेको प्रेमको अभिव्यक्ति र स्पर्शको चाहनालाई पूर्ति गर्न उनीहरूले आफ्नै शरीरका मासुका परिकारको सहारा लिन पुग्छन्। निर्मली बिस्तारै नरभक्षी हुन थाल्छिन्। अन्य कुनै खाना तथा मासुका परिकारले उनको भोक मेटाउन सक्दैन। आफ्नो अस्वाभाविक बानीले उनलाई पिरोल्न थालेको हुन्छ। 

अब उनी एक चोक्टा नभई एकैपटकमा तृप्त हुने गरी मानिसको मासु खान चाहन्छिन्। के सुमोनले निर्मलीको भोक मेटाउन सक्लान् ? के निर्मली यो भोकबाट बाहिर निस्कन सक्लिन् वा कथाले अझ विभत्स रूप लिन्छ ? यी जिज्ञासाका जवाफ पनि चलचित्रमा छन्। 

नरभक्षी भोक 

चलचित्रको सुरुवातमा सुमोनका बिरामी साथीलाई जाँच गर्ने क्रममा निर्मलीले भनेकी हुन्छिन्– मासुको धेरै भोकले पेटमा समस्या निम्त्याएको हो। कालान्तरमा उनी स्वयं मासुको स्वादबाटै सन्तुष्टि खोज्छिन्, त्यो पनि मानिसको मासु। यस भोक र लोभले उनलाई पागलजस्तै बनाउँछ।

निर्मलीको यस प्रकारको क्रियाकलापले उनका छोरा तथा कामदार पनि डराउन थालेका हुन्छन्। मासु खानका लागि उनले भर्खरै दुर्घटनामा मरेको व्यक्तिको मासु समेत काट्न सुमोनलाई आफ्नो हस्पिटलमा बोलाउँछिन्। तर, उक्त काममा उनीहरू सफल हुँदैनन्। अर्को अर्थमा भन्दा उनी कुलतमा फसिसकेकी छन्। 
मानिसको मासुप्रतिको उनको भोकको पराकाष्ठा यहीँ सीमित हुँदैन, उनलाई पूरा मानिसको शरीर खानु छ। भोकलाई पूर्ण रूपमा मेटाउनका लागि अन्तमा उनीहरू मानिस मार्न समेत तयार हुन्छन्। 

कुनै समय मानिसको ज्यान जोगाउने पेसामा रहेकी निर्मली पछि आफ्नो भोक मेटाउन मान्छेको ज्यान लिन समेत तयार हुन्छिन्। मानिसले आफ्नो लोभ, लालसको भोकलाई नियन्त्रण गर्न सकेन भने कुन हालतमा पुग्छ भन्ने एक ज्वलन्त उदाहरण हुन्, निर्मली।

अव्यक्त भावना 

यस फिल्मबारे ‘द हिन्दुस्तान टाइम्स’मा रोहन नाहर लेख्छन्, ‘यो चलचित्र एक टक्सिक (विषाक्त) प्रेम कथाभन्दा माथिको चलचित्रको हो। जहाँ सामाजिक परिधि मुख्य कारक हो।’ उनका अनुसार, चलचित्र क्यानिबलिजम र भोक, लालसा मात्र नभई अव्यक्त भावनाको उपज पनि हो।

निर्मली र सुमोन दुवै प्रेममा छन्। आशक्ति अनि आकर्षणको एक तह पार गर्दा एक–अर्काबीचको शारीरिक भोक वा निकटता भिन्न–भिन्न तरिकाले दुवैले खोजिरहेका हुन्छन्। तर, सामाजिक मूल्यमान्यताले उनीहरुलाई निकट हुनबाट वञ्चित गर्छ।

एक सन्तानकी आमा अर्थात् विवाहित नारी र विश्वविद्यालयमा पढ्ने विद्यार्थीले समाजका मूल्य–मान्यतालाई तोड्न सक्दैनन्। भेट्नु, मासुका परिकारसँगै खानु, आफ्नो शरीरको अंग समेत खुवाउनु उनीहरूका आफ्नो अतृप्त इच्छा पूरा गर्ने माध्यम बनेको हुन्छ। चलचित्रमा यस्तो प्रेमकथा छ, जहाँ उनीहरू शारीरिक भोगबाट धेरै माथि छन्। यद्यपि, जुन डोरीले उनीहरूलाई बाँधेको छ, त्यो शारीरिक भोगभन्दा निकै खतरनाक छ। 
 

प्रकाशित मिति: १५:१८ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्