Kathmandu Press

‘आफूहरूका लागि बस चढ्ने ठाउँ तोकिदिएपछि उपप्राध्यापक आचार्यले आभार व्यक्त गरे’

‘पिक एन्ड ड्रप स्टेसन’ तोकिएबाहेकका स्थानमा सार्वजनिक सवारीसाधन रोक्न निषेध गरियो । यसले विशेषतः फरक क्षमता भएका व्यक्तिलाई कष्टकर हुन पुगेको थियो । किनभने उनीहरू भीडभाड हुने स्टेसनमै पुग्नुपर्थ्याे ।
‘आफूहरूका लागि बस चढ्ने ठाउँ तोकिदिएपछि उपप्राध्यापक आचार्यले आभार व्यक्त गरे’

काठमाडौं, माघ १४ : डा. गोविन्दप्रसाद आचार्य १८ वर्षदेखि प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा नेपाली विषयका उपप्राध्यापक छन् । कीर्तिपुर बस्ने उनी सुन्धारास्थित आरएनएसी भवन अगाडिसम्म बसमा आउने र त्यहीँबाट बस चढी फर्कने गर्थे । 

धेरैतिर जाने सार्वजनिक सवारीसाधनले यात्रु चढाउने र ओराल्ने ठाउँ हो सुन्धारा, यहाँ सधैँ भीड हुने गर्छ । त्यसैले दृष्टिविहीन आचार्यलाई प्रदर्शनीमार्गदेखि सुन्धारासम्मको पैदल यात्रा कष्टकर थियो । सोमबार पुरानो बसपार्क क्षेत्रमा एउटा बोर्ड राखियो– फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ । सोमबारै उपप्राध्यापक आचार्यले सोही ठाउँबाट कीर्तिपुरका लागि बस चढे । 

महानगरीय ट्राफिक प्रहरीले आफूहरूका लागि बोर्ड नै राखिदिएपछि उपप्राध्यापक आचार्य निकै खुसी छन् । आफूले महानगरीय प्रहरी प्रवक्ता सञ्जीव शर्मा दासलाई फोन गरी आभार व्यक्त गरेको पनि उनले बताए । ‘अन्य देशमा फरक क्षमता भएका व्यक्तिका लागि अपांगमैत्री सवारीसाधनको व्यवस्था हुन्छ,’ उनले भने, ‘हाम्रो देशमा सवारीसाधन रोक्ने स्थान समेत थिएन । हाम्रो समस्यालाई मध्यनजर गरी प्रहरी निकायले यो व्यवस्था गरेकामा अत्यन्तै खुसी छु ।’

Hardik ivf

उपप्राध्यापक डा. गोविन्दप्रसाद आचार्य र राेशनी अधिकारी

२२ वर्षीया रोशनी अधिकारी प्रदर्शनीमार्गकै ‘नेपाल ल क्याम्पस’मा अध्ययन गर्छिन् । अनलाइन कक्षा सञ्चालन भएकाले अहिले उनलाई क्याम्पस आउनुपरेको छैन । बालाजु बस्ने उनलाई क्याम्पस आउँदा–जाँदा बस कसरी चढ्ने भन्ने चिन्ता हुन्थ्यो । आफूहरूका लागि ठाउँ तोकिएको खबरले उनी खुसी छन् ।

‘कलेज मात्र होइन, भृकुटीमण्डप क्षेत्रमै अपांग महासंघको कार्यालय छ । समय समयमा भेला, सभा, बैठक हुने गर्छ,’ उनी भन्छिन्, ‘बैठकपछि यातायातका साधनका लागि हामीलाई समस्या थियो ।’ 

यसरी नै अन्यत्र पनि ठाउँ तोकिनुपर्ने उनी बताउँछिन् । 

‘पिक एन्ड ड्रप स्टेसन’

सन् २०१९ मा काठमाडौं महानगरपालिकाले ट्राफिक जाम कम गराउने उद्देश्यले उपत्यकामा ‘पिक एन्ड ड्रप स्टेसन’ तोकिदियो । तोकिएबाहेकका स्थानमा सार्वजनिक सवारीसाधन रोक्न निषेध गरियो । यसले विशेषतः फरक क्षमता भएका व्यक्तिलाई कष्टकर हुन पुगेको थियो । किनभने उनीहरू भीडभाड हुने स्टेसनमै पुग्नुपथ्र्यो । यो समस्यालाई महानगरीय प्रहरी प्रवक्ता सञ्जीव शर्मा दासले नजिकबाट नियालिरहेका थिए ।

तस्बिर : सुजल बज्राचार्य

सुन्धारा पुगेर बस चढ्न दैनिक दुईदेखि तीन सयसम्म फरक क्षमता भएका व्यक्तिलाई कठिनाइ भइरहेको उनले महसुस गरे । उनको घरमा पनि फरक क्षमता भएका सदस्य छन् । त्यसैले आफू यस विषयमा अलि गम्भीर हुन पुगेको प्रहरी प्रवक्ता दास बताउँछन् । उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई फरक क्षमता भएका व्यक्तिलाई ‘पिक एन्ड ड्रप स्टेसन’ तोक्ने सम्बन्धमा प्रस्ताव गरेका थिए । 

पुरानो बसपार्कमा सोमबार बोर्ड राखेदेखि बसहरू त्यहाँ रोकिन थालेका छन् । फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारीसाधनमा सहज पहुँचका हेतुले यस प्रकारको सुविधा सुचारु गरिएको वरिष्ठ उपरीक्षक जोशीको भनाइ छ । ‘आफूहरूका लागि बस चढ्ने ठाउँ तोकिदिएपछि उपप्राध्यापक आचार्यले पनि फाेन गरेर आभार व्यक्त गरे,’ उनले भने। 

तस्बिर : सुजल बज्राचार्य

उनका अनुसार, सार्वजनिक यातायातमा फरक क्षमता भएकाको सहज पहुँचका लागि अन्य स्थानमा पनि बोर्ड राखिने छ । साथै, महाशाखाले सार्वजनिक सवारीसाधनका चालक सह–चालक तथा यात्रु वर्गलाई तोकिएको स्थानबाट मात्रै ‘पिक एन्ड ड्रप’ गर्न समेत अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्