Kathmandu Press

वीर अस्पतालको एउटा कोठाबाट सुरु भएको बहिरा विद्यालय, जहाँ स्नातकसम्म पढाइन्छ

सुरुमा चार बहिरा विद्यार्थीलाई अध्यापन गराइएको थियो। संस्थापक प्राचार्य थिइन्, इन्दिरा श्रेष्ठ। व्यवस्थापन भने लक्ष्मीनारायण श्रीवास्तवले गरेका थिए। यस कारण नेपालमा बहिरा शिक्षाको जन्मदाताको श्रेय श्रीवास्तवलाई जान्छ।

काठमाडाैं, माघ १३ : शिक्षक ऋषिराम देवकोटा कक्षा १० लाई नेपाली व्याकरण पढाउँदै थिए। उनले बोर्डमा लेखेका थिए– सामान्यार्थ, इच्छार्थ, आज्ञार्थ, सम्भावनार्थ, संकेतार्थ...।

यसबारे उनले विद्यार्थीलाई सांकेतिक भाषामा बुझाउँदै थिए। पुस १३ गते काठमाडौंको नक्सालस्थित ‘केन्द्रीय बहिरा उच्च मावि’मा देखिएको दृश्य हो यो।

शिक्षक देवकोटा ०५३ सालदेखि यहाँ नेपाली र सामाजिक विषय पढाउँछन्। नक्सालको नेपाल टेलिकम गेट अगाडिबाट दुई सय मिटरभित्र पर्छ, यो विद्यालय। लगभग सात रोपनी क्षेत्रफलमा पहेंला रङका तीनवटा भवनमा यो विद्यालय सञ्चालित छ।

Hardik ivf

गेटबाट प्रवेश गर्नासाथ त्यस दिन तीनवटा स्कुल बस राखिएका थिए। विद्यार्थी यता–उता दौडिँदै थिए। केही शिक्षक कर्मचारी घाममा बसिरहेका थिए।

०७० सालदेखि त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएर यहाँ स्नातक पनि सञ्चालित छ। बहिरालाई स्नातकसम्म अध्ययन गराइने यो विद्यालय देशमै एक हो।

कसरी जन्मियो ?

वीर अस्पतालको एउटा कोठाबाट २०२३ सालमा सुरु भएको थियो, केन्द्रीय बहिरा उच्च माविको जग। यसको श्रेय जान्छ, लक्ष्मीनारायण प्रसाद श्रीवास्तवलाई, जो त्यतिबेला वीर अस्पतालमा नाक, कान, घाँटीका विशेषज्ञ थिए।  

प्रधानाध्यापक उपेन्द्र पराजुली

नाक, कान, घाँटीका समस्या कारण पनि मानिस बहिरा हुन पुग्छन्। त्यतिबेला बहिराको जीवन शिक्षा र सीपबिनाको हुन्थ्यो। यो देखेर श्रीवास्तव चिन्तित भए। त्यसैले उनले बहिरालाई अध्ययन गराउन थाले, वीर अस्पतालको एउटा कोठाबाट।

त्यसबेला उनले चार बहिरा विद्यार्थीलाई अध्यापन गराएका थिए। संस्थापक प्राचार्य थिइन्, इन्दिरा श्रेष्ठ। ‘व्यवस्थापन लक्ष्मीनारायणले गरे पनि विद्यालयको संस्थापक श्रेष्ठ हुन्,’ यस विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुली भन्छन्, ‘यस कारण नेपालमा बहिरा शिक्षाको जन्मदाताको श्रेय श्रीवास्तवलाई जान्छ।’

प्रधानाध्यापक पराजुलीका अनुसार, त्यतिबेला यसको नाम ‘बहिरा बालबालिकाको वाक् प्रशिक्षण केन्द्र’ थियो। बहिराको कान परीक्षण गर्न, अभिभावकलाई बहिरोपनसम्बन्धी जानकारी दिन र बहिरोपनको उपचारका लागि यो केन्द्र खोलिएको थियो। केन्द्रले बहिरालाई ‘स्पिच थेरापी’ र सुनाइबोलाइ क्षमता विकास गर्नका लागि यान्त्रिक प्रयोगको पहुँच पु र्‍याउने उद्देश्य पनि राखेको थियो।

वीर अस्पतालमा जन्मेर हुर्कंदै गरेको वाक् प्रशिक्षण केन्द्रलाई एक महिनापछि ‘नेपाल बाल संगठन’ अन्तर्गत बाल मन्दिर नक्सालको सीता भवनमा सारियो। ‘तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मी शाहको प्रत्यक्ष निर्देशनमा सीता भवनमा एउटा कोठा उपलब्ध गराइएको थियो,’ प्रधानाध्यापक पराजुली भन्छन्, ‘सुरुवाती दिनमा बाल संगठनको उद्देश्य र कार्यक्षेत्रभन्दा फरक भए पनि आर्थिक निकासा र रेखदेख बाल संगठनबाटै हुन्थ्यो।’

पछि केन्द्रको जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिइयो। प्रकृति अनुकूल शैक्षिक अवसर प्रदान गर्ने उद्देश्यले शिक्षा मन्त्रालयले २०२८ सालमा ‘विशेष शिक्षा परिषद्’ गठन ग¥यो। सोही परिषद्बाट आर्थिक स्रोत उपलब्ध गराउने नीति बनाई बहिरा स्कुलको जिम्मेवारी पुनः बाल संगठनलाई नै दिइएको प्रधानाध्यापक पराजुली बताउँछन्।

पराजुलीका अनुसार, २०३३ मा ‘सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्’को स्थापना भयो। वाक् प्रशिक्षण केन्द्रलाई परिषद्को स्वास्थ्य समन्वय समितिको मातहतमा सञ्चालन गर्ने निर्णय भयो। ‘२०३४ मा अपांगता हुनु स्वास्थ्यसम्बन्धी समस्या रहेको सरकारले निश्चित ग¥यो,’ प्रधानाध्यापक पराजुली भन्छन्, ‘राष्ट्रिय समन्वय परिषद् अन्र्तगत रहे पनि आर्थिक दायित्व भने शिक्षा मन्त्रालयलाई दिइयो।’

अहिले जहाँ बहिरा स्कुल छ, यहाँको जग्गा बडामहारानी रत्नराज्य लक्ष्मी शाहले दिएकी हुन्। यहाँ अहिले २५ कोठासहितका तीनवटा भवन छन्।

विद्यालयले चमेना गृह, विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर कक्ष पनि राखेको छ। कम्युटर कक्षामा २२ वटा कम्प्युटर छन्।

३६२ विद्यार्थी

चार विद्यार्थीबाट सुरु भएको यस विद्यालयमा अहिले तीन सय ६२ (छात्र ः १८६, छात्रा ः १७६) विद्यार्थीले पढ्छन्। प्रधानाध्यापक पराजुलीका अनुसार, २०३३÷३४ सालतिर विद्यालय शिक्षामा कक्षा ७ सम्मलाई निम्न मावि मानिन्थ्यो। ‘त्यतिबेला कक्षा ७ सम्म पढेपछि तीनवर्षे प्रयोगात्मक तालिम पूरा गराई प्रमाणपत्र दिइन्थ्यो,’ प्रधानाध्यापक पराजुली भन्छन्, ‘यो क्रम २०५१–०५२ सम्म चलेको थियो।’

उनका अनुसार, २०५१÷५२ पछि पूर्ण रूपमा सरकारी विद्यालयजस्तै पाठ्यक्रममा आधारित भई बहिराका लागि मावि तहको पठनपाठन सुरु गरियो। ०५२÷५३ देखि यस विद्यालयले कक्षा ८ र ९ सुरु ग¥यो भने २०५५ देखि कक्षा १०।

०६५ सालदेखि यहाँ प्लस टु सञ्चालन गरियो। प्लस टु सञ्चालनपछि नै ‘बहिरा बालबालिकाको वाक् प्रशिक्षण केन्द्र’ नाम बदलेर यस विद्यालयको नाम ‘केन्द्रीय बहिरा उच्च मावि’मा राखिएको प्रधानाध्यपक पराजुली बताउँछन्।

यहाँ ७७ जिल्लाकै विद्यार्थीले पढ्छन्। ‘यस विद्यालयमा अध्ययन गर्न आउनेलाई आवासीय सुविधा समेत छ, तर निश्चित संख्यामा मात्र छ,’ उनी भन्छन्, ‘नक्सालस्थित छात्र निवासमा ३२ र पुरानो बानेश्वरस्थित रहेको छात्रा होस्टेलमा ३६ जनालाई बसोबासको सुविधा दिएका छौँ।’

उनका अनुसार, कोठाभाडामा बस्ने प्रत्येक विद्यार्थीलाई सरकारले विगत तीन वर्षदेखि आवासीय सुविधास्वरुप वार्षिक ४० हजार रुपैयाँ प्रदान गर्छ।

विद्यालयमा हाल २२ शिक्षक र १६ कर्मचारी छन्। तीमध्ये ६ बहिरा शिक्षक छन्। विद्यालयमा शिक्षक तथा कर्मचारीको अभाव छैन तर सरकारले शिक्षकलाई दिने सेवा–सुविधामा भने नीति अनुसार कार्यान्वयन नगरेको प्रधानाध्यापक पराजुलीको गुनासो छ।

यस विद्यालयबाट ०७३ देखि हालसम्म एक सय ६९ बहिराले एसइई दिएका छन्। प्रधानाध्यापक पराजुलीका अनुसार पाँच वर्षमा एसइई दिने कुनै पनि विद्यार्थी फेल भएका छैनन्। ‘बहिरा विद्यार्थी निकै मेहनत गर्छन्,’ उनी भन्छन्, ‘पढाउन मुस्किल भए पनि सांकेतिक भाषामा सरल रूपमा बुझाउन सके सहजै सिक्छन्।’

उनका अनुसार, ०७३ मा ३४, ०७४ मा ३२, २०७५ मा ३०, ०७६ मा ३४ र ०७७ मा ३९ जनाले एसइई दिएका हुन्।

 

प्रकाशित मिति: १५:३३ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्