सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी : ‘मूर्ति लिच्छविकालीन हुन सक्छ’
मूर्ति चोरी भएको जानकारी पाउनुबित्तिकै उनी मन्दिर परिसरमा पुगेकी थिइन् । सधैँ देखिने बालकुमारी माताको आसन शून्य देख्दा उनको मन खिन्न भयो । फोटो खिचेर सामाजिक सञ्जालमा साझा गर्दै उनले झिनो आशा र दुःखभाव प्रकट गरिन् । ‘कहीँकतैबाट केही जानकारी वा पत्तो लागिहाल्छ कि भन्ने आशाले फोटो सेयर गरेकी हुँ,’ रीना भन्छिन् ।काठमाडौं, माघ १० : ‘हाम्रो सुनाकोठीको बालकुमारी मन्दिर आज चोरी भएको रहेछ । पिल्ज सेयर इट ।’ सुनाकोठीकी स्थानीय रीना महर्जनले आइतबार बिहान मूर्ति चोरी भएको जानकारी आफ्नो फेसबुक वालमा पोस्ट गरिन् ।
मूर्ति चोरी भएको जानकारी पाउनुबित्तिकै उनी मन्दिर परिसरमा पुगेकी थिइन् । सधैँ देखिने बालकुमारी माताको आसन शून्य देख्दा उनको मन खिन्न भयो । फोटो खिचेर सामाजिक सञ्जालमा साझा गर्दै उनले झिनो आशा र दुःखभाव प्रकट गरिन् । ‘कहीँकतैबाट केही जानकारी वा पत्तो लागिहाल्छ कि भन्ने आशाले फोटो सेयर गरेकी हुँ,’ रीना भन्छिन् ।
सुनाकोठीका स्थानीय तथा बाग्मती प्रदेशसभा सदस्य राजकाजी महर्जन मूर्ति चोरी भएको आज बिहान मात्रै थाहा भएको बताउँछन् । मन्दिरका लागि खटाइएका गुठियार ९१ वर्षीय जगतबहादुर महर्जन सधैँझैँ बिहान ४ बजे मन्दिर पुगे । नित्यकर्म सकी मन्दिरको माथिल्लो तला पुग्दा उनले ढोका खुला देखे । उनी आत्तिएर बाहिर आएसँगै बालकुमारी माताको मूर्ति हराएको जानकारी सुनाकोठीवासीमा फैलियो । मूर्तिमै रहेका केही गहना पनि मूर्तिसाथ चोरी भयो । नजिकै रहेका अन्य स–साना मूर्ति यथावत छन् । मूर्ति छेउको लकरमा रहेको बालकुमारीका अन्य गरगहना पनि चोरी भएको छैन ।
मूर्ति लिच्छविकालीन भएको अनुमान
हराएको मूर्ति लिच्छविकालीन हुन सक्ने अनुमान गरिएको छ । मन्दिर परिसरमा कुनै प्रकारको शिलालेख तथा अभिलेख नभएका कारण मूर्तिको प्राचीनताका विषयमा हालसम्म ठोस जानकारी कसैलाई नभएको प्रदेशसभा सदस्य महर्जन बताउँछन् ।
‘मूर्ति कति वर्ष पुरानो भनी यकिनका साथ भन्न सकिँदैन,’ उनले भने, ‘हामीले पाका मानिसबाट सुन्दै आए अनुसार, यहाँको मूर्तिलाई लिच्छविकालीन भनिएको छ ।’ यो मन्दिर स्थानीयको संस्कृतिसँग जोडिएको पनि उनले बताए । यहाँ चैते पूर्णिमा र मंसिर पूर्णिमामा विशेष जात्रा लाग्छ । मन्दिरमा हालसम्म पुजारी भने राखिएको छैन ।
उनका अनुसार, करिब ६ सय गुठियारले पालैपालो यस मन्दिरको रेखदेख गर्छन् । सबैभन्दा ज्येष्ठलाई मन्दिरको जिम्मेवारी सुम्पने गरिएको छ । ‘यो हाम्रो पुरानो चलन हो,’ उनी भन्छन्, ‘पहिलेदेखि गुठीले नै मन्दिरको संरक्षणमा काम गर्दै आएको छ ।’
पहिले सुरक्षाका लागि मन्दिरको नजिकै तोकेको गुठियार बस्ने गर्थे । पछि ताल्चा लगाउन थालिएसँगै मन्दिर परिसरमा गुठियार बस्न छाडेका थिए । ‘यही नै ठूलो कमजोरी हुन पुग्यो,’ प्रदेशसभा सदस्य महर्जनले भने ।
अनुसन्धानमा तीव्रता
अहिले मूर्तिको खोजी कार्यलाई तीव्रता दिइएको छ । प्रदेशसभा सदस्य महर्जनका अनुसार, यस सम्बन्धमा ललितपुरका प्रमुख जिल्ला अधिकारीले बैठक बोलाएका छन् । ‘चोरीको प्रकृति हेर्दा प्रोफेसनल गिरोहको सक्रियता अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘चारैवटा ढोकाका ताल्चा हाइड्रोलिक सिस्टमबाट काटिएको छ ।’
व्यवस्थापकीय हिसाबमा पनि सुरक्षामा कमजोरी भएको उनी स्विकार्छन् । सिसी क्यामेरा नभएकाले खोजीकार्यमा थप जटिलता हुन सक्ने उनको भनाइ छ । बैठकमार्फत छानबिनको योजना बनाइने उनले बताए ।
पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार, पुरातात्त्विक महत्त्वका मूर्ति चोरी हुने तथा भेटिने क्रम जारी छ । सुनाकोठीस्थित बालकुमारी माताको मूर्ति हराएकोबारे सम्बन्धित निकायलाई पत्राचार गरिसकेको उनले बताए । ‘पहिलेभन्दा अहिले मूर्ति चोरीका घटना बढ्न थालेका छन्,’ उनी भन्छन्, ‘हामीले आफ्नो पक्षबाट सक्रियता बढाएका छौँ । आशा छ, चाँडै मूर्ति भेटिने छ ।’