Kathmandu Press

गरिबी र सौन्दर्यको साँधमा पिल्सिएकी राजमति

चलचित्रको कथा मौलिक छ, चलचित्रले देखाएका धेरै कुरा हाम्रा समाजमा थिए र छन्।
गरिबी र सौन्दर्यको साँधमा पिल्सिएकी राजमति

काठमाडाैं, माघ ८ : ‘राजमति कुमति जिके वसा पिरति, हाय ब्यु राजमतिचा’ अर्थात् ‘राजमति मसँग आऊ म तिमीलाई माया गर्छु, मलाई राजमति ल्याइदिनू।’ 

यो नेपाल भाषाको लोकगीतको बोल हो, करिब दुई सय वर्ष पुरानो यो गीत गैरनेवार समुदायमा पनि चर्चित छ। जंगबहादुर राणाको पहिलो बेलायत भ्रमणका क्रममा यही गीतलाई राष्ट्रिय गानका रूपमा बजाइएको थियो। 

यस गीतले राजमति नामकी स्त्रीको रूपको वर्णन गर्छ। यही गीतबाट प्रभावित भई सन् १९९५ मा ‘राजमति’ नामक चलचित्र बन्यो। जसलाई नेपाल भाषाको एक सफल चलचित्र मानिन्छ। नेपाल भाषाको पहिलो चलचित्र ‘सिलु’ हो भने यो दोस्रो।

Hardik ivf

राजमति चलचित्र माथिको गीतको सारदेखि भने केही पृथक् छ। गीतले राजमतिको विवाह झ्याल समेत नभएको एक गरिब परिवारमा भएको बताउँछ। उसको सौन्दर्यको ईर्ष्याका कारण दुष्ट लमीले उसलाई गरिब परिवारमा विवाह गराइदिएकोे हुन्छ। चलचित्रको कथा, पटकथामा भने लेखकले आफ्नो कल्पनाशीलता थपेका छन्। 

के छ चलचित्रमा?

चलचित्रका प्रमुख पात्र हुन्, राजमति, तुइसिं अनि रत्न। चलचित्रमा राजमतिको भूमिका हिसिला महर्जनले, तुइसिंको भूमिका मणिराज लवटले र रत्नको भूमिका श्रीकृष्ण श्रेष्ठले निभाएका छन्। त्यस्तै, राजमतिका पिताको भूमिकामा मदनकृष्ण श्रेष्ठ, गरिब किसानको भूमिकामा हरिवंश आचार्य र रत्नकी आमाको भूमिकामा सुभद्रा अधिकारी छन्। 

एक मध्यवर्गीय परिवारकी राजमति, सम्भ्रान्त परिवारको रत्न र माली (फूलको स्याहार गर्ने) तुइसिंबीच त्रिकोणात्मक प्रेम कथालाई चलचित्रमा देखाइएको छ। 

विशेषतः राजमति र तुइसिंबीच प्रेम हुन्छ। तर यी दुईको जात मिल्दैन। नेवार समुदायमा जात अनुसारको पेसा थियो, अझै पनि आफ्नो जात अनुसारको पेसा अपनाउने थुप्रै छन्। तुइसिंको पेसा थियो– फूल रोप्ने अनि बेच्ने अर्थात् माली। 

यता रत्नले राजमतिलाई चाहन्छ। एकपटक हिटी (ढुंगेधारा) मा पानी थाप्न जाने क्रममा राजमति चिप्लिन पुग्छिन्, रत्नले उनलाई लड्नदेखि बचाउँछ। यही नै राजमति र रत्नको पहिलो भेट थियो। तर पहिलो भेटमै रत्न राजमतिको मायामा पर्छ। रत्नले अनेक प्रयास गर्छ राजमतिलाई आफ्नो बनाउन तर उनले ठाडै अस्वीकार गरिदिन्छिन्।

चलचित्रमा अर्का खलनायक पात्र छन्— चिकन्चा, जसको भूमिका राजेन्द्र खड्कीले निभाएका छन्। चिकन्चाले पनि राजमतिलाई मन पराउँछ, उसलाई पनि राजमति नै चाहिएको छ।

एक महिलाका लागि सौन्दर्य वरदान हो या अभिशाप भन्ने विषय गौण रूपमै भए पनि यस चलचित्रले उठाएको छ। महिला जति नै सुन्दर भए पनि दुःखपीडामा एक्ली हुन्छिन्, उनलाई हेर्ने कोही हुँदैन भन्ने पनि चलचित्रमा देखाइएको छ। 

यता राजमति भने तुईसिंलाई चाहन्छिन्। माली भएकाले तुईसिंलाई राजमतिको परिवारले स्वीकार गर्दैन। 

कथाले मोड तब लिन्छ, जब राजमतिका पिता जेलमा थुनिन्छन् कारणवश। उनी जेलबाट छिटै छुट्न पाउँदैनन्। घरमूली थुनामा परेसँगै राजमतिको परिवारमा दुःखका दिन सुरु हुन्छन्। बिस्तारै उनीहरूसँग खानका लागि अन्न पनि हुँदैन। मध्यमवर्गीय परिवारको पीडा नै यही हो, घरमूली तल–माथि भइहाले परिवारको बिचल्ली हुन पुग्छ। 

तुईसिं फूल बेच्न आउँदा राजमतिलाई सधैँझैँ गुनकेस्वाँ (गुनकेशरी) फूल दिन्छ। तर, घरमा अन्न नहुँदा उनले फूल लिन अस्वीकार गर्छिन्। त्यतिबेला सामानहरु अन्नसँग साटिन्थ्यो।

तुईसिंले जोड गरेपछि उनले फूल लिन्छिन्। चलचित्रमा यो दृश्य निकै भावुक र संवेदनशील देखिन्छ। 

यता राजमतिकी आमा पनि पतिको चिन्ताले बिमारी पर्छिन् र संसार छाड्छिन्। त्यसपछि राजमति एकल हुन्छिन्। उनलाई समाजका तिनै गरिब वर्गले सहयोग गर्छन्, जसलाई आपत् पर्दा कुनै समय राजमतिले सहयोग गरेकी थिइन्। 

सहयोग लिएरै राजमतिले भट्टी पसल सुरु गर्छिन्। राजमतिको रूपले गर्दा रक्सी पिउनेहरु आइरहन्छन्। केही पैसा कमाएर उनले तामदानी (मानिसलाई बोक्न प्रयोग गरिने काठको डोलीजस्तो सामान) समेत खरिद गर्छिन्। त्यस बखत तामदानीको प्रयोग राजकीय परिवार तथा सम्भ्रान्त परिवारको पहुँचको वस्तु थियो। 

केही सहज हुन लागेको राजमतिको जीवनमा अर्को वज्रपात पर्छ, प्रेमी तुईसिंले पनि संसार छाड्छन्। राजमति र तुईसिंबीचको प्रेम सम्बन्ध चिकन्चाले थाहा पाउँछ, दुईबीच झगडा हुँदा अन्जानमै चिकन्चाको हातबाट तुईसिंको मृत्यु हुन्छ। 

यता रत्नले अझै पनि राजमतिलाई अपनाउने बताउँछ। राजमतिले भने बाँकी जीवन विवाह नगरी एक्लै जिउने निर्णय लिन्छिन्। त्यसपछि उनी प्रेमीको सम्झनामा फूलको स्याहार गरेर बस्छिन्, अर्थात् माली बनेर। 

यसरी चलचित्रले प्रेमको बेग्लै दर्शनतिर कथा मोडेको छ। विवाह गरेर मालीकी पत्नी हुन नपाएकी राजमतिले माली पेसा नै अपनाएर आफ्नो प्रेमलाई आदर्शतिर लैजान्छिन्। 

राजमतिको निर्णय

चलचित्रको कथाअनुसार, आफ्नै पसिनाले राजमतिले तामदानी किनेको जुन प्रसंग छ, यसले धेरै सामाजिक व्यवस्थातिर संकेत गरेको छ। शासक र धनीमानी चढेर हिँड्ने तामदानी एउटी भट्टी पसल्नीले किनेकी हुन्छिन्। भट्टी पसल चलाउँदा उनले अनेक सुन्नुपर्छ। सुखसयलकै लागि हरेकले पसिना बगाउने हुन्, दुःख सहने हुन्। सुख भोग्न त्यति सजिलो कहाँ छ र? 

राज्यबाट तामदानीमा हिँड्न उनलाई रोक लगाइन्छ। जसबापत उनले जरिवाना समेत तिर्नुपर्ने हुन्छ। राजमतिले जरिवाना तिरेरै भए पनि तामदानी नछाड्ने सर्त राख्छिन्।

अन्ततः उनको जीवनले नयाँ मोड लिन्छ, उनी आफ्नो प्रेमीकै पेसा अपनाएर आफ्नो प्रेमलाई सम्मान गर्न खोज्छिन् र प्रेमी तुईसिंकै फूलबारी सजाएर बस्छिन्।

चलचित्रको कथा मौलिक छ, चलचित्रले देखाएका धेरै कुरा हाम्रा समाजमा थिए र छन्। 

यस चलचित्रले एउटा समय र प्रेमको एउटा आदर्श रूपलाई देखाएको छ। अहिलेको समय र चेतना हेरी लाग्न सक्छ, राजमतिले त कसैसँग विवाह गरी घरजम गर्नुपर्थ्याे। तर, नीर शाहको निर्देशन रहेको यस चलचित्रले एउटा समय, समाज र राज्य व्यवस्थालाई झल्काएको छ। 

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्