Kathmandu Press

‘जटिलता कम देखिँदैमा लापरवाही नगरौं, भयावह अवस्था आउन सक्छ’

संक्रमणले जटिल अवस्था नआएका कारण आम नागरिकहरु गम्भीर नभएको देखिन्छ। स्वास्थ्य जटिलता कम भए पनि यसबाट निम्तिने अन्य समस्या र असरबारे आम नागरिक बेखबर छन्। त्यसकारण पनि अहिलेको संक्रमणलाई हल्का रूपमा लिएको पाइन्छ। 
‘जटिलता कम देखिँदैमा लापरवाही नगरौं, भयावह अवस्था आउन सक्छ’

काठमाडौं, माघ ६ : पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। यसले कोरोनाको तेस्रो लहर सुरु भएको संकेत गर्छ। संक्रमण दरको विश्लेषण गर्दा निकट भविष्यमा नै भयावह अवस्था आउने आकलन सहजै गर्न सकिन्छ। 

पहिलो र दोस्रो लहर मध्य तेस्रो लहर तुलनात्मक रुपमा कम घातक देखिएको छ। संक्रमण दर भने विगतको भन्दा दोब्बर छ। यसअघिको परिदृश्यमा कोरोना भाइरसले सीधा फोक्सोमा आक्रमण गर्ने देखिएको थियो। जसका कारण निमोनिया हुने, श्वासप्रश्वास लगायतका समस्या अधिकांश संक्रमितमा देखिएको थियो। 

यसकारण संक्रमितको अवस्था क्षणभरमै गम्भीर हुने र तत्काल अक्सिजन सपोर्टसहितको उपचार चाहिने भएपछि अस्पतालमा संक्रमितको भिड नै लागेको थियो। विभिन्न अस्पतालमा अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाएका समाचारहरू पनि प्रशस्त आएका थिए। 

Hardik ivf

तुलनात्मक रूपमा अहिलेको अवस्था त्यति गम्भीर देखिएको छैन। अहिले देखिएको कोभिड–१९ संक्रमणमा मानिसको घाँटी र मस्तिष्कमा भाइरस वृद्धि भएको अनुसन्धानहरूले देखाएको छ। 

संक्रमणले जटिल अवस्था नदेखिएका कारण आम नागरिकहरु गम्भीर नभएको देखिन्छ। स्वास्थ्य जटिलता कम भए पनि यसबाट निम्तिने अन्य समस्या र असरबारे आम नागरिक बेखबर छन्। त्यसकारण पनि अहिलेको संक्रमणलाई हल्का रूपमा लिएको पाइन्छ। 

अहिलेको संक्रमितमा लङ कोभिड, झाडापखाला, बान्ता हुनेलगायत अन्य दीर्घकालीन समस्याहरू देखिन सक्छ। तर, यो सुरुवाती चरण भएको हुँदा तत्कालै यसले कस्तो रूप लिन्छ भन्ने कुरा औंल्याउन गाह्रो छ। 

मस्तिष्क र स्नायुसम्बन्धी समस्या 

कोरोना सक्रमणमुक्त भएपनि संक्रमित व्यक्तिको मस्तिस्क र स्नायु प्रणालीमा भाइरसले पारेको असर तत्काल ठिक नहुने भएका कारण यसपटकको लहरबाट दीर्घकालीन स्वास्थ्य समस्या निम्तिन सक्ने खतरा देखिएको छ।

यसबाहेक पेट, कलेजोमा पनि असर गर्ने देखिएको छ। भाइरस लामो समयसम्म शरीरमा रहने भएका कारण अन्य रोगहरुसमेत निको हुन लामो समय लाग्न सक्छ।

कोरोना फैलिन नदिन भिडभाड हुने क्षेत्रहरु बन्द गर्ने, भौतिक रुपमा विद्यालय सञ्चालन नगर्नेलगायत प्रतिबन्धहरूले पनि केही हदसम्म संक्रमणको चेन ब्रेक गर्न सक्छ। स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै यी र यस्ता प्रतिवन्धहरुलाई निरन्तरता दिइएको खण्डमा पूर्ण लकडाउन गर्नुपर्ने अवस्था नआउन सक्छ। 

मानिसहरुको हेलचेक्र्याईँ र लापरवाहीका कारण नै पूर्ण लकडाउन गर्नुपर्ने अवस्थाको सिर्जना भएको हो। सरकारले जारी गरेको मापदण्ड र निर्देशनलाई कडाइका साथ पालना गर्ने हो भने कोरोना संक्रमणकै कारण भयावह अवस्थाको सामना गर्नुपर्ने स्थिति आउँदैन। 

नयाँ भेरियन्टको सम्भावना 

कोरोना संक्रमणदर यसरी नै बढ्दै गए आगामी दुई सातामा संक्रमितको संख्या उच्च बिन्दुमा पुग्ने सम्भावना रहन्छ। निकट भविष्यमा ओमिक्रोनजस्तै अर्को नयाँ भेरियन्टको जन्म हुने खतरा पनि उत्तिकै छ। 

किनकी, महामारी नियन्त्रण नभएको अवस्थामा भाइरसले रूप परिवर्तन गर्ने सम्भावना व्यापक रहन्छ। अहिले देखिएको ‘ओमिक्रोन’ उत्परिवर्तित भएर नयाँ भेरियन्टको जन्म हुन सक्छ।  

उत्परिवर्तित भेरियन्टको असर र अवधिका बारेमा अहिले नै भन्न सकिने अवस्था पनि रहँदैन। त्यसकारण वर्तमान भेरियन्टको जटिलता कम देखिएकै आधारमा त्यसलाई हल्का रुपमा लिने गल्ती नगरौं। 

हेलचेक्र्याइँ र लापरबाही

कोरोना संक्रमणदर तीव्र रुपमा फैलिएपछि जनस्वास्थ्य मापदण्डको पालनामा कडाई गरिएको छ। तर पनि अधिकांश मानिसहरु न्यूनतम स्वास्थ्य मापदण्डको पालनामा उदासिन बनेको पाइन्छ। 

यसमा सरकारको पनि केही कमजोरी देखिन्छ। कोरोना नियन्त्रणका लागि सरकारले उचित समयमा उचित निर्णय र तयारी गर्न नसक्दा संक्रमण नियन्त्रणमा आउन नसकेको हो।

सरकार पनि गम्भीर बन्न आश्वयक  

कोरोनाको पहिलो लहरताका भौतिक र प्राविधिक तयारीमै सरकारले लामो समय खर्चियो। पीसीआर किट, प्रयोगशालाको संख्या बढाउने, क्वारेन्टिन तथा आइसोलेसन निर्माण लगायतमा सरकारले लामो समय खर्चियो। 

दोस्रो लहरमा अक्सिजनको हाहाकार मच्चियो। दोस्रो लहरको पूर्वतयारी नगर्दा अक्सिजनकै अभावमा कैयौंले ज्यान गुमाए। तेस्रो लहरको संघारमा आइपुग्दा सरकारको तयारी भने त्यति देखिँदैन। पहिलो मात्राको खोप नलगाएकाको संख्या पनि उल्लेख्य छ। अस्पतालमा संक्रमितको चाप नदेखिएको भन्दैमा सरकारबाट यसलाई सामान्य रुपमा लिने गल्ती नहोस्। 

‘जब भयो राति अनि बुढी ताती’ भनेझैं संक्रमणको दर उच्च बिन्दुमा पुगेपछि मात्रै सरकार हतारहतार निर्णय गर्नतर्फ लागेको देखिन्छ। यसले पहिलो र दास्रो लहरबाट पाठ सिक्न सरकार बिफल भएको प्रस्ट हुन्छ। 

 
(जनस्वास्थ्यविद् डा. लुना भट्ट शर्मासँग सोनी शाहीले गरेको कुराकानीमा आधारित)
 

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?