५० वर्षदेखि बारा बेच्दै बिकुमाया
बिकुमायाको नियमित काम चुलोछेउ बसेर बारा बनाउनु हो। जसलाई उनी ‘भुट्ली चोन्यौ’ भन्छिन्। नेपाल भाषामा ‘भुट्ली’को अर्थ चुलो र ‘चोन्यौ’को अर्थ बस्नु भएको उनले बताइन्।काठमाडौं, माघ ४ : भक्तपुरस्थित पाँचतले मन्दिरको उत्तरी दिशामा एउटा सानो गल्ली छ। गल्ली साँघुराे भए पनि सफा र शान्त छ। त्यही गल्लीको एउटा कुनामा बारा बेच्ने सानो पसल छ।
पसलको नाम ठ्याक्कै यही भन्ने उल्लेख छैन। तर, छेउमा राखिएको नेमप्लेटमा भने ‘नेवारी फुड बारा-वो एभाइलेबल हियर’ (यहाँ नेवारी खानेकुरा बारा पाइन्छ) लेखिएको छ। बुढी आमाको हातको स्वादिलो बारा पाइने कारण ग्राहकहरू भने उक्त पसललाई ‘आमाको बारा पसल’ भन्ने गर्छन्।
प्रायः मध्याह्न १२ बजे आमाले पसल खोलिसकेकी हुन्छिन्। मंगलबार भने आमाले एक घन्टा ढिलो गरी पसल खोलिन्। ‘आज अलि बेसी चिसो थियो, घाम तापेर आएको,’ हाँस्दै ढिलो आउनुको कारण स्पष्ट पार्दै उनले भनिन्, ‘नत्र पसल १२ बजे खोलिसकिन्थ्यो।’ उनी अर्थात् बारा पसलकी आमा हुन्, बिकुमाया बज्राचार्य।
‘मैयाँले कति बेर पर्खनुभयो कुन्नि?’ पसलको ढोका खोल्दै गर्दा उनले प्रश्न तेर्स्याइन्। परम्परागत सानो ढोकाबाट छिरेर बारा बनाउने चुला सफा गर्न व्यस्त रहँदा पनि उनी गफिइ नै रहेकी थिइन्। चुलाको छेउमै अन्डाका क्रेट थुपारिएका थिए। बाराका लागि आवश्यक मासको मिक्सचर उनकी बुहारी संगीता बज्राचार्यले छेउमै ल्याएर राखिदिइन्। छेउमै क्रेटहरू फेन्टा अनि कोकाकोला पनि राखिएका थिए।
‘यहाँ सबैभन्दा बढी रुचाइने भनेकै अन्डा बारा हो,’ त्यहाँ आएका एक ग्राहकले पनि बारपसलबारे भने। उनी त्यहाँका नियमित ग्राहक रहेछन्। तिनै ग्राहकका लागि बिकुमाया ‘ताउ’मा बारा बनाउन थालिन्। यसरी उनले बारा बनाउन थालेको झन्डै पाँच दशक भएछ। उनी उमेरले ७५ वर्षकी भइसकेकी रहिछन्। ७५ वर्षको उमेरमा पनि बिकुमायाको मुहारमा कान्ति अनि शरीरमा स्फूर्ति देखिन्थ्यो।
२० वर्षदेखि बारा मात्रै
केही इलम नभएपछि पति अष्टरत्न बज्राचार्यले व्यवसाय थाल्ने उद्देश्यले २०२९ सालमा उक्त पसल सुरु गरेको बिकुमायाले सम्झिइन्। यद्यपि, पसल सुरु गरेको केही समयमै अष्टरत्न सरकारी जागिरे भए। त्यसपछि उक्त पसलको जिम्मेवारी बिकुमायाको काँधमा आयो। छोराबुहारीले पनि पसल सञ्चालनमा नियमित रूपमा सघाउन थाले।
पहिले आलु, नुन, खुर्सानी, चिया आदि सामान बेचेर सुरु गरेको पसलमा बिस्तारै मासु, चिउरा, छोयलासँगै बारा पनि थप्दै गइन्। दुई दशकयता भने उक्त पसलमा बारामात्रै बेच्ने गरिएको उनले सुनाइन्।
‘बारा मात्रै किन?’
बारा एउटा मात्र परिकार बनाउन पनि सजिलो अनि पारखीको रुचिमा पनि पर्ने भएकाले खासगरी सोही परिकार बनाउनतिर केन्द्रित बनेको बिकुमायाले बताइन्। उनको पसलमा मास र मुँग गरी दुईथरीका बारा पाइन्छन्। त्यसमा प्लेन (सादा) बारा, अन्डा बारा, किमा बारा अनि मिक्स बारा गरी चारथरी बारा बन्छन्। यसका साथै, आलु, तामा, अचार अनि आलुतरकारी पनि बारासँग रुचाइने परिकार हुन्।
‘मान्छे कस्तोकस्तो स्ट्यान्डर्ड खानपिन गर्न खोज्ने हुन्छन्,’ बिकुमाया भन्छिन्, ‘तर मेरोमा त्यही दुईथरीका बाराका लागि आउनुहुन्छ। यही कुराले खुसी लाग्छ। ’ उनीकहाँ बारा खान कलेजका विद्यार्थीदेखि पर्यटकसम्म आउँछन्। काठमाडौं, ठिमीदेखिका बारा खानेहरु आउने गरेको उनी बताउँछिन्।
पसल सुरु गर्ने समयमा तीन मोहरमा एक किलो मास किनेको उनले सम्झिइन्। हाल एक किलो मासलाई ५ सय रुपैयाँभन्दा बढी तिर्नुपर्छ। त्यस्तै, सुरुमा पसल खोल्दा भाडाबापत १५ रुपैया तिर्ने गरेको पनि उनले सुनाइन्। उनका अनुसार अहिले भने भाडा निकै बढिसकेको छ।
कोरोनापछि चाप कम
कोरोना महामारीको प्रत्यक्ष असर बिकुमायाको पसलमा पनि परेको छ। कोरोना महामारीअघि उनलाई पसलमा हरेक दिनजसो भ्याइनभ्याइ हुन्थ्यो। त्यस प्रकारको व्यस्तता हाल भने शनिबार मात्र हुने गरेको उनले सुनाउँछिन्। अन्य दिन भने औसत व्यापार हुने गरेकाे उनकाे भनाइ छ।
‘कोरोनाअघि भक्तपुर आउने पर्यटक नै धेरै हुन्थे। अहिले त्यो चाप कम भएको छ। त्यसको असर उनको बारा पसलमा पनि परेको छ। ‘उमेर बढ्दै गएर पनि होला, ग्राहकको चाप कम हुँदा आराम गर्न समय मिलेको छ,’ उनले भनिन्, ‘पहिलेजस्तो काम गर्न पनि नसकिने भइसकें।’
मध्याह्न १२ बजे उनको पसल खुले पनि दिउँसो खाजा खाने समयतिर ग्राहकको चाप बढी हुन्छ। त्यतिबेला बोल्नसमेत नभ्याइने उनी बताउँछिन्। राति प्रायः ७ बजेतिर उनी पसल बन्द गर्छिन्।
बिकुमायाको नियमित काम चुलोछेउ बसेर बारा बनाउनु हो। जसलाई उनी ‘भुट्ली चोन्यौ’ भन्छिन्। नेपाल भाषामा ‘भुट्ली’को अर्थ चुलो र ‘चोन्यौ’को अर्थ बस्नु रहेको उनले बताइन्।
‘मेरो काम भुट्लीमा बस्यो, बारा बनायो,’ उनी भन्छिन्, ‘बाँकी सबै बुहारीले गर्छिन्।’ ग्राहकलाई बारा दिने, सरसफाइ गर्ने, भाँडा माँझ्ने, आलुतरकारी बनाउने काम बुहारी संगीताले नै गर्छिन्। ‘बुहारी आएदेखि कुचो समाउनुपरेको छैन। बारा बनायो, बस्यो। बानी बिग्रन थालेछ,’ मजाक गर्ने पारामा उनले भनिन्।
संगीता पनि आमालाई सहयोग गर्न पाउँदा खुसी लाग्ने बताउँछिन्। व्यवसाय मात्र नभई संस्कृतिको जगेर्नाका साथै मौलिक परिकार प्रवर्धनमा टेवा पुर्याउन आफूले पनि योगदान गर्न सकेको भन्दै उनले खुसी व्यक्त गरिन्।