Kathmandu Press

निर्वाचनमा 'कलम' को उदय : सम्भावना कम, चुनौती बढी 

गठबन्धन नरहेको अवस्थामा भने पार्टी र चुनाव चिन्हका अगाडि ठूलाठूला चुनौती थपिनेछन्।  स्थानीयस्तरका मतादाता  माझ चुनाव चिन्ह ‘कलम’ चिनाउन एकिकृत समाजवादीले जाेडदार मेहनत गर्नुपर्नेछ।
निर्वाचनमा 'कलम' को उदय : सम्भावना कम, चुनौती बढी 

काठमाडौं, पुस २७ : १५ दिनपछि राष्ट्रियसभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। निर्वाचनमा भाग लिने राजनीतिक दल र निर्वाचनसँग सम्बन्धित निकायका लागि आचारसंहिता समेत लागू भइसकेको छ। 

यसपटकको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुनेछ। १९ सिटका लागि हुने निर्वाचनमा गठबन्धन दलले सहमतिमा सिट बाँडफाट गरेका छन्। 

एमालेबाट टुक्रिएर नयाँ दलको मान्यता पाएको एकिकृत समाजवादीको चुनावी परीक्षण पहिलो पटक हुँदैछ। एउटा राजनीतिक दलको प्रतिनिधित्व गर्दै ‘कलम’ चुनावी मैदानमा उत्रिएको छ। यसको सफलता र असफलताको समीक्षा निर्वाचन पश्चात हुने नै छ। 

Hardik ivf

पार्टीभित्रको आन्तरिक द्वन्द्वबाट जन्मिएको कलम 

कलम चिन्हको उदय करिब ६ महिनाअघि मात्र भएको थियो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भई नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि एमालेभित्रको जुँगाको लडाईँको परिणाम हो– कलम। 

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको द्वन्द्वबाट कलमको जन्म भएको थियो। त्यो बेला एमालेभित्र सम्मानजनक पुनरागमनको माग गरिरहेको माधव समूहले ओली पक्षलाई सशंकित बनाउन नयाँ दल दर्ता गराएको थियो। 

माधव नेपाल निकट मानिने विद्यार्थी नेता जीवन राईले वैशाख ७ गते निर्वाचन आयोगमा नेकपा (एकिकृत) दर्ताका लागि निवेदन दिएका थिए। आयोगले असार १० गते नेकपा (एकिकृत)लाई दलको मान्यता दिँदै चुनाव चिन्ह ‘कलम’ प्रदान गरेको थियो। 

नेपालले एमाले विभाजन गरी नयाँ दल नेकपा (एकिकृत समाजवादी) दर्ता गरेपछि असोज २२ गते जीवन राई नेतृत्वको पार्टी नेपाल नेतृत्वको एकिकृत समाजवादीमा समाहित भएको थियो।

‘कलम’ले जितेको त्यो निर्वाचन 

त्यसो त राष्ट्रियसभा निर्वाचनमा यसअघि नै कलमको प्रयोग भइसकेको छ। यो चिन्हले चिरपरिचित ‘सूर्य’ चिन्हलाई धुलो चटाएको थियो।  
बाग्मती प्रदेशमा राष्ट्रिय सभाको एक सिटका लागि भएको उपनिर्वाचनमा ‘कलम’ चिन्ह पाएका डा. खिमलाल देवकोटाले सूर्य चिन्हका हेभिवेट उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरेका थिए। 
यद्यपि स्वतन्त्र उम्मेदवार भनिए पनि देवकोटा माधव नेपाल निकट हुन्। उनलाई जिताउन र बादललाई हराउन माओवादी केन्द्र, कांग्रेसदेखि सबै विपक्षी दल लागेका थिए। 

गठबन्धनका कारण फाइदामा ‘कलम’

पाँच दलीय गठबन्धनबाट सबैभन्दा बढी फाइदामा रहेको दल नेकपा (एकिकृत समाजवादी) नै हो। 

पार्टीको संगठन समेत बनिनसकेको अवस्थामा दुईवटा प्रदेश सरकारको नेतृत्व, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा उल्लेख्य सहभागीतालगायत विभिन्न राजनीतिक लाभको उपभोग एकिकृत समाजवादीले गरिरहेको छ। 

गठबन्धन कम्तिमा आगामी निर्वाचनसम्म कायम रहेको अवस्थामा त्यसको सीधा लाभ एकिकृत समाजवादीलाई रहने नै छ। आगामी राष्ट्रियसभा निर्वाचनमा एकिकृत समाजवादीबाट पाँच जना उम्मेदवार छन्। गठबन्धनको बलबुतोमा पाँचै जना निर्वाचित हुने सम्भावना बलियो छ। 

ती पाँच उम्मेदवार पार्टीका मात्र नभई सिंगो सत्ता गठबन्धनको साझा उम्मेदवार भएको एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन्। ‘चुनावी उम्मेदवार गठबन्धनकै हुन, हामी विजय हासिल गर्नेछांै, गठबन्धनले सबै सिटमा विजय हासिल गर्छ भन्ने हाम्रो मूल्याकंन छ,’ उनले भने। 

गठबन्धन टुट्न हुँदैन, कोहीपछि हटे परिस्थितीअनुसार सामना गर्छौं : प्रवक्ता खतिवडा

प्रवक्ता खतिवडा मुलुकमा प्रतिगमनकोे खतरा समाप्त भइ नभसकेको बताउँछन्। ‘केपी ओली र नेकपा एमालेले दक्षिणपन्थी विसर्जनवादको प्रतिनिधित्व गरिरहेको छ र त्यो दक्षिणपन्थी विसर्जनवादसँग जुध्नुु, राष्ट्रिय आत्मसमर्पणवादसँग जुध्नुु आजको पहिलो कर्तव्य रहेको निष्कर्ष गठबन्धनको छ,’ उनले भने। सोही निष्कर्षको आधार हेर्दा सबै शक्ति आम निर्वाचनसम्म सँगै जाने उनले बताए।

निष्कर्षबाट कुुनै शक्ति पछाडि हट्ने संकेत नदेखिएको उनी बताउँछन्। कांग्रेसमा पनि आधिकारिक नेतृत्वले गठबन्धन नहुने विषयमा कुनै जानकारी प्राप्त नभएको उनको भनाइ छ। ‘व्यक्तिगत धारणा र पार्टीको आधिकारिक धारणा फरक विषय हुन्,’ उनले भने। 

गठबन्धनमा कुनै शक्ति अलग भए परिस्थितिअनुुसार सामना गर्ने उनले बताए। तर, अहिलेसम्म कुनै दलले गठबन्धनबाट अलग हुने घोषणा नगरेको र त्यस्ता बहस पनि सुरु नभएको उनले बताए। 

निर्वाचनको तयारीदेखि संगठन विस्तारलाइ तीव्रता

राष्ट्रियसभा निर्वाचनको तयारीसँगै पार्टी संगठन विस्तारलाई एकिकृत समाजवादीले तिव्रता दिएको प्रवक्ता खतिवडाले बताउँछन्। ७७ वटै जिल्लामा पार्टीले आफ्नो कमिटी विस्तार गरिसकेको छ। उनी भन्छन्, ‘सबै जनवर्गीय संगठन, जिल्ला कमिटी विस्तार भइसकेको छ भने एक तिहाई वडा कमिटी गठन गर्न बाँकी छ।’ 

अहिले सदस्यता विस्तारदेखि गठनका कामहरू भइरहेको खतिवडाले जनाए। अहिलेसम्म पार्टीले गरेको कामहरू उपलब्धिमूलक रहेको मूल्यांकन उनको छ । ‘विद्रोहको मनोविज्ञान र एजेण्डालाई सही ढंगले स्थापित गर्न नसक्दा, विभाजनको पिडाले कार्यकर्ता मौन रहँदा पार्टी विस्तारमा केही समस्या देखिएको छ। तरपनि पार्टीको गतिविधि भने सन्तोषजनक रुपमा ढंगले अगाडि बढिहरेको छ,’ उनले भने।

स्थानीय मतदातासम्म कलमको प्रचारप्रसार 

आगामी राष्ट्रिय सभा निर्वाचन एकिकृत समाजवादीको चुनाव चिन्हको प्रचारप्रसार हुनेछ। राष्ट्रियसभामा जनप्रतिनिधि नै मतदाता रहने हुँदा चुनाव चिन्हमा कुनै अन्योल नहुनेमा एकीकृत समाजवादी विश्वस्त छ। 

तर, नजिकिँदै गरेको स्थानीय निर्वाचनमा भने आम मतदाता चुनाव चिन्हबारे झुक्किन सक्ने सम्भावना देखिन्छ। यसबारेमा पार्टी सजग रहेको र स्थानीय तहसम्म कलमको प्रचारप्रसार गर्ने काममा पार्टी लागिरहेको  प्रवक्ता खतिवडाले बताए। 

‘कम्युनिष्ट पार्टीमा कार्यकर्ताले चुनाव प्रचारप्रसार गर्ने र चुनाव चिन्ह्र लिएर जनताको घरदैलोसम्म पुुग्ने भएकाले सोही कार्यकर्ताको संजाल निर्माणको तयारी पार्टी छ’, उनी भन्छन्, ‘जब हामी देशका सबै पालिकामा आफ्नो कमिटी विस्तार गरि सक्ने छाैं, तब सयौं कार्यकर्ता प्रचारकको रुपमा त्यहीँ तयार हुनेछन्।’ राजनीतिक गतिविधि तीव्र रुपमा बढेको स्थिति नरहेकाले सबै ठाउँमा कलम चुनाव चिन्ह्र पुग्न नसके पनि पु¥याउने तयारीमा आफूहरु रहेको उनले बताए। 

पार्टीको चुनाव चिन्ह चिनाउने खालका प्रकाशन सामाग्री तयार गर्ने क्रममा रहेको उनले बताए। ‘कलम नामको केही अंक समाचार बुुलेटिन सञ्चालन गरेका छाैं, केही दिनभित्रै पार्टीको मुखपत्र प्रकाशन गर्नेछौं’ उनले भने। 

प्रत्येक कमिटीले कलम चुनाव चिन्ह्रको प्रचारको कार्ययोजना बनाउने छन्, खतिवडा भन्छन्, ‘हामीलाई अन्य पार्टीलाई भन्दा चुनौती छ । तर, यो चुुनौतीको सजिलै समाना गर्ने र कलम चुनाव चिन्न जनतामाझ पु¥याउने सफलता प्राप्त गर्नेमा विश्वस्त छौं।’

यता एकिकृत समाजवादी पार्टीविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दा अदालतमा अझै विचाराधिन अवस्थामा नै छ।
 

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्