शेयर बजार पुनः १२०० को क्षेत्र नजिक
काठमाडाैं, भदाै २१ : यो साता ११९६ दशमलव ६१ विन्दुमा खुलेको नेप्से परिसूचकले ११९८ दशमलव ५८ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियोे। त्....
काठमाडाैं, भदाै २१ : यो साता ११९६ दशमलव ६१ विन्दुमा खुलेको नेप्से परिसूचकले ११९८ दशमलव ५८ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियोे। त्यस्तै, ‘इन्ट्राडे’ न्यून विन्दु ११५६ दशमलव ६८ थियो भने बजार ११९१ दशमलव ०७ विन्दुमा बन्द भएको थियो।
यो अघिल्लो साताभन्दा ५ दशमलव ३५ अंक अर्थात ० दशमलव ४५ प्रतिशतको गिरावट हो। यो साता पाँच कारोबार दिनमा १ अर्ब ९४ करोड २१ लाख बराबर रकमको शेयर कारोबार भएको छ। यो अघिल्लो साताभन्दा १९ दशमलव ५३ प्रतिशतको वृद्धि हो।
प्राविधिक विश्लेषण
चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति
विगत आठ महिनादेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। गत तीन महिनादेखि बजार घट्दो प्रवृत्तिमा रहेको छ।
यो साताको मैनबत्तीले हतौडा आकृति बनाएको छ। यसले हालसम्म घट्दो प्रवृत्तिमा रहेको बजार परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को साताको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। यो मैनबत्तीले साताको पहिलो कारोबार दिनहरुमा विक्रेता हाबी रहे पनि पछिल्ला दिनमा क्रेता हाबी रहेको संकेत गर्दछ।
चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२, गत चार महिनादेखि बजार कस्तो रह्यो भनेर हेर्नलाई दैनिक मैनबत्तीलाई प्रयोग गरिएको छ। नेप्से हालसम्म घट्दो प्रवृत्तिमा भए पनि माथि चित्रमा देखिए बमोजिम बजार तल्लो प्रारम्भिक प्रतिरोध रेखामा रहेको छ।
२१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा बजारको प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गर्दछ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३६ दशमलव २९ अंकमा रहेको छ। आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप बढ्न थालेको र अर्को कारोबार दिनहरुमा पनि केही सयमका लागि क्रेताको चाप हुन सक्ने संकेत गरेको छ।
निष्कर्ष : हालसम्म नेप्सेको प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको छ। समग्रमा बजार हेर्दा यदि बजार १२०० भन्दा माथि स्थिर रहेमा बजार केही समयका लागि सकारात्मक हुन सक्ने देखिन्छ। त्यस्तै, यदि बजार १२५६ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ।