कठपुतली : दरबारभित्रका कथा र भूतको कथाको संयोजन
राजतन्त्र, प्रेतात्मा र जनताको चेतना नै कठपुतलीको सार हो।काठमाडौं, पुस २४ : पुरानो सन्दुकभित्र युवराज (कर्मा) ले केही युवतीका तस्बिर भेटाउँछन्। तस्बिरका पछिल्ला भागमा युवतीका नाम र मृत्युको कारण उल्लेख गरिएको हुन्छ। ती तस्बिरमध्ये एउटा शोभा महर्जनको हुन्छ, जसले उनलाई हाल स्याहारसुसार गरिरहेकी छन्।
दरबारबाट अर्कै उद्देश्यले निस्केका उनी दुर्घटनावश त्यस पुरानो दरबारमा पुग्छन्, जहाँ उनलाई सुरुदेखि नै भूतप्रेतको आभास हुन्छ। प्रमाणस्वरूप तस्बिर पाएपछि भने उनी विश्वस्त हुन्छन्।
युवराजलाई आफ्नी आमा (महारानी)ले कुनै समय भनेको सम्झना हुन्छ– रातको समयमा कुनै सुन्दरी युवती भेट्न आए भने युवतीले थाहा नपाउने गरी कालो धागो बाँधिदिनू। फिल्म हेर्दै गर्दा यहाँनेर मौलिक लोककथाको स्वाद पाउन सकिन्छ।
प्रायः हरर शैलीका फिल्ममा प्रेम, धोका त्यसपछि मृत्यु र बदलामा आधारित कथा पाइन्छ। अहिले प्रदर्शन भइरहेको नेपाली चलचित्र कठपुतलीमा भने राजामहाराजाले शारीरिक भोक मेट्न नागरिकका छोरीचेलीलाई कसरी प्रयोग गर्थे भन्ने देखाइएको छ।
शारीरिक, मानसिक अत्याचार मात्रै होइन, अन्ततः मारिने पनि यस चलचित्रमा देखाइएको छ। तिनै चेलीका भड्केका आत्माले राजपुरुषसँग बदला लिन खोजेको कथा फिल्म कठपुतलीमा आएको छ। दरबारभित्रका यस्ता कर्तूत पहिले दरबारभित्रै दबिने सुन्नमा आउँथ्यो। चलचित्र कठपुतलीले यही दरबारभित्रका कथा र लोककथाका किचकन्डी, प्रेतात्मालाई उनेको छ, खास प्रयोजनमा।
चलचित्र सुरु हुन्छ, एकादेशको कथाबाट। राजतन्त्रविरुद्ध आक्रोशित छन्, त्यहाँका जनता। उनीहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलन शान्त पार्न युवराज दरबारबाट भागेका छन्। कारण उनी र उनका पिता (महाराज)बीच राजनीतिक विचार मिल्दैन। राजा आफ्नो अहंका कारण जनता सामु घुँडा टेक्न चाहिरहेका छैनन्, यता युवराज जनतासामु हात जोडेको अभिनय गरी राजतन्त्रको आयु लम्ब्याउन चाहन्छन्। उनलाई पनि पछि गएर राजा हुनु छ।
राजतन्त्र, प्रेतात्मा र जनताको चेतना नै कठपुतलीको सार हो।
अस्पष्ट पटकथा
दरबारभित्रका कथा र सुन्दै आएको भूतप्रेतको कथा मिसाएर कठपुतली बनाइएको छ। तर, दर्शकलाई अस्पष्ट लाग्छ। कुन सपना हो, कुन यथार्थ हो, कुन समय हो भन्ने स्पष्ट खुल्दैन। कतिपय दृश्यलाई संवादले प्रस्ट्याइएको छ। बाहिरी माहोल त्यति नदेखाएर एकादेशको कथा हो कि वास्तविक भन्नेमा भ्रम पार्न खोजिएको भान हुन्छ।
आज राजतन्त्र फर्काउनुपर्छ भन्ने विचार बोकेका मानिस देशमा छन्। हाम्रो भाषाले विगतलाई भूतकाल भन्छ। त्यस्तै, नकारात्मक ऊर्जालाई पनि भूत भनिन्छ। राणाशासन र राजतन्त्रको दमन नेपाली जनताले सम्झनाबाट गइसकेको छैन। फिल्मले राजतन्त्रलाई ‘भूत’को संज्ञा दिएको र यसलाई भूतमै छाड्न उपयुक्त हुने सन्देश दिएको पनि भान हुन्छ, यसर्थ यस फिल्मको विषयवस्तु सार्थक नै लाग्छ। यद्यपि, कथा, पटकथा, दृश्य, कालका दृष्टिले फिल्म त्यति खुलेको छैन।
एकपछि आउने अर्को दृश्यमा दर्शकलाई भ्रम हुन्छ, सपना हो कि वास्तविक भनी। तन्त्रको साधना र अभ्यासमा भने केही खोज गरेकै देखिन्छ। कलाकारको अभिनय पनि सशक्त छ, विशेषतः प्रेतात्माको भूमिका निभाएकी उषा रजक, दरबारकी सुसारेको भूमिका निभाएकी मिथिला शर्माको अभिनय छाप छाड्ने खालको लाग्छ।
यद्यपि अभिनयका हिसाबले युवराज (कर्मा), महारानी (गौरी मल्ल), महाराज, राजगुरु सबै अब्बल देखिएका छन्। तर, खास पात्रको उत्थान र पतनमा कथा केन्द्रित नभई एउटा राजनीतिक व्यवस्थाको पृष्ठभूमिमा कथा घुमेको छ, यसलाई फिल्मको शक्ति र कमजोरी दुवै मान्न सकिन्छ। राजनीति बुझेको दर्शकलाई यो एउटा विम्ब हो भने नबुझ्नेलाई प्रेतको कथा।
कठपुतलीको मेकिङ अब्बल लाग्छ। कथा नै राजदरबारको भएकाले होला, पात्रहरूलाई त्यही किसिमले देखाउन चलचित्रको निर्माण पक्ष सफल देखिन्छ। घरीघरी पौराणिक कथामा आधारित हिन्दी फिल्म वा सिरियल हेरेको पनि आभास गराउँछ, यसलाई नक्कल होइन कि मौलिक कथालाई सशक्त किसिमले देखाइएको मान्नुपर्छ। समग्रमा सम्पदा मल्लको कथा र निर्माण, भीमसेन लामाको निर्देशन रहेको ‘कठपुतली’ मूलधारका कथा र प्रस्तुतिभन्दा फरक छ।