Kathmandu Press

पीरको परफ्युम प्रेम : कतारमा सिकेको सीप नेपालमा खर्चंदै

कतारमा उनी १५ वर्ष बसे– पाँच वर्ष कर्मचारी भएर, १० वर्ष मालिक बनेर। त्यसपछि उनी नेपाल फर्किए, उता पनि उनको लगानीको व्यवसाय छ। आफ्नो व्यवसायबारे बुझ्न उनी बेलाबेला कतार गइरहन्छन्।
पीरको परफ्युम प्रेम : कतारमा सिकेको सीप नेपालमा खर्चंदै

काठमाडाैं, पुस २३ : काठमाडौंको मुटु दरबारमार्गमा पीर मोहम्मद परफ्युम (अत्तर)को व्यवसाय गर्छन्। दरबार मलको भुइँतलामा उनको पसल छ– अरबियन मस्क परफ्युम।

उनको पसलको ढोकाबाहिर गोल्डेन कलरको स्ट्यान्डमा मगमग बास्ना आउने परफ्युम बलिरहेको थियो। ‘बास्ना आउने धुपजस्तै गरी परफ्युमलाई बाल्न मिल्छ,’ पीर मोहम्मद भन्छन्, ‘यसले पसललाई सुगन्ध दिइराख्छ।’

उनको पसलमा विभिन्न आकारका सिसीमा परफ्युम सजिएका छन्। उनले यहाँ परफ्युमको व्यवसाय थालेको एक महिना भयो। ‘यी परफ्युम कतारबाट ल्याएको हुँ,’ पीर भन्छन्, ‘मैले यसको उत्पादन नेपालमै गर्दैछु, अहिले हाम्रो परफ्युम कारखाना निर्माणधीन अवस्थामा छ, इमाडोलमा।’ पीरले परफ्युमसम्बन्धी ज्ञान कतारबाट हासिल गरेका हुन्।

Hardik ivf

पीर, परफ्युम र कतार

एसएलसी सकिएपछि पीर थप अध्ययनका लागि काठमाडौं आए, गोर्खादेखि। त्यतिबेला उनले फुटपाथमा पाइनेदेखि मलसम्मको परफ्युम (अत्तर) संकलन गर्थे। ‘मलाई परफ्युम पहिलेदेखि नै मनपथ्र्यो, पहिलोपल्ट किनेको अत्तरको मूल्य तीन सय रुपैयाँ थियो,’ उनी भन्छन्, ‘सधैँ प्रयोग गर्ने भएकाले यो कसरी बन्छ भनी जान्ने जिज्ञासा हुन्थ्यो।’

सन् २००६ मा उनी कतार गए, रोजगारीका लागि। भिसा आफन्तले नै पठाइदिएका थिए। कतारमा उनले फेन्सी पसलमा काम पाए, मासिक तलब थियो ६ सय रियल अर्थात् नेपाली ९–१० हजार रुपैयाँ। ‘मलाई अर्कै नयाँ पसलका लागि बोलाइएको थियो, तर पसल पूर्ण रूपमा तयार नभएकाले तीन–चार महिना फेन्सी पसलमा काम गरेँ,’ पीर भन्छन्, ‘त्यति तलबले आफैँलाई खान–लाउन मुस्किल हुन्थ्यो।’

तलब कम भएपछि उनी नेपाल फर्कन खोजेका थिए, तर उनलाई बुवाले भने– ‘यहाँको चिन्ता गर्नुपर्दैन, तँलाई खान–लाउन पुग्छ भने त्यहीँ बस।’

पछि राम्रो होला भनेर उनी थोरै तलबमै कतारमा बसे। त्यसको तीन–चार महिनापछि उनी काम गर्न भनी गएको नयाँ पसल पनि सञ्चालनमा आयो। त्यो थियो– ‘परफ्युम स्टोर’।

परफ्युमप्रति पीरको पहिलेदेखि नै रुचि र जिज्ञासा, संयोग पनि त्यस्तै मिल्यो। ‘मलाई त आफूले खोजेकै काम पाएजस्तो भयो,’ पीर भन्छन्, ‘मैले त्यहाँ निकै मेहनत गरेँ।’

नयाँ भए पनि उनले काम गर्ने पसल फस्टाउँदै गयो। चार–पाँच वर्षमा कतार दोहा सहरकै उत्कृष्ट व्यवसायका रूपमा त्यो स्टोर स्थापित भयो। ‘यहाँ काम गर्ने सिलसिलामा परफ्युमको कच्चा पदार्थ कसरी बनाउने र नयाँ–नयाँ सुगन्ध कसरी ल्याउने भन्ने पनि मैले खोज गर्न थालेँ,’ पीर भन्छन्, ‘मलाई यसमा भाषाले पनि साथ दियो, नेपालमा मुस्लिम समुदायमा हुर्किएकाले त्यहाँको भाषा बुझ्न लामो समय लागेन।’

त्यो स्टोरमा पाँच वर्ष काम गर्दानगर्दै त्यसका मालिकसँग उनको सम्बन्ध सुमधुर हुन पुग्यो। त्यसपछि उनले त्यही स्टोरमा लगानी गरे। ‘मालिकले नै मिलेर व्यवसाय सञ्चालन गरौँ भनी प्रस्ताव राखेका थिए, म त दंग परेँ,’ उनी भन्छन्, ‘पाँच वर्षसम्म काम गर्दा मैले परफ्युमबारे धेरै जानकारी हासिल गरेको थिएँ।’

परफ्युमप्रतिको उनको लगाव देखेरै मालिकले उनलाई लगानीका लागि प्रस्ताव गरेका थिए। कतारमा उनी १५ वर्ष बसे– पाँच वर्ष कर्मचारी भएर, १० वर्ष मालिक बनेर। त्यसपछि उनी नेपाल फर्किए, उता पनि उनको लगानीको व्यवसाय छ। आफ्नो व्यवसायबारे बुझ्न उनी बेलाबेला कतार गइरहन्छन्।

परफ्युम व्यवसाय सञ्चालन गर्ने सोचले नै उनी नेपाल फर्केका थिए। ‘उता बस्दा म बीच–बीचमा नेपाल आइरहन्थेँ। आउँदा यहाँ आफन्त र साथीहरुलाई परफ्युम ल्याइदिन्थेँ,’ पीर भन्छन्, ‘कतारको परफ्युम यहाँ धेरैले मन पराएको पाएँ।’

त्यसैले उनलाई लाग्यो, यसको उत्पादन तथा व्यापार नेपालमै किन नगर्ने ? अब उनी नेपालकै जडीबुटी र फूल तथा फलफूलबाट परफ्युम बनाउँदै छन्।

उनका अनुसार, कतारमा सबैभन्दा राम्रो व्यवसाय परफ्युम हो। कतारमा आफन्त आउँदा उद्को परफ्युम हातमा लगाएर स्वागत गर्ने चलन छ। ‘उद्को रूखबाट बनाइएको परफ्युमलाई उद् भन्ने गरिन्छ,’ उनले भने, ‘कतारमा धेरै रुचाइने उद्को परफ्युम हो।’

कतारकै कच्चा पदार्थमा कारखाना

उनको पसलमा विभिन्न फ्लेभरका र विभिन्न मूल्यका परफ्युम पाइन्छन्। ‘यहाँ तीन सय रुपैयाँदेखि चार–पाँच हजार रुपैयाँसम्मका परफ्युम छन्,’ पीर भन्छन्, ‘सुरुवाती दिन भएकाले महँगो परफ्युम नराखिएको हो, माग आएमा कतारको परफ्युम सोही मूल्यमा यहाँ उपलब्ध गराइन्छ।’

उनले नेपालमै कस्ता परफ्युम उत्पादन गर्दै छन् त ? ‘गोर्खाली, आस्मा, क्याप्टेन लगायत नामको परफ्युम ल्याउने तयारीमा हामी छौँ,’ पीर भन्छन्, ‘ग्राहकको माग अनुसार कतारमा पाइने परफ्युम नेपालमै उत्पादन गर्ने हाम्रो तयारी छ।’

पहिलो चरणका लागि उनले कच्चा पदार्थ कतारबाटै ल्याउँदै छन्। ‘यहीँ पनि कच्चा पदार्थ पाउन सकिन्छ कि भनी अध्ययन भइरहेको छ,’ मोहम्मद भन्छन्।

 

प्रकाशित मिति: १८:५० बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्